नव संवत्सर : नयाँ वर्ष

पृष्ठभूमि
कालगणनाका क्रममा वैशाखदेखि चैत्र महिनासम्मको अवधिलाई हामी सामान्यतया वर्ष भन्दछौँ । हाम्रो परम्परामा खास गरेर सूर्य र चन्द्रको गतिअनुसार कालगणना गर्ने चलन छ । सौर्यमान (solar calendar) अनुसार वैशाख एक गते अर्थात् सूर्य मेष राशिमा प्रवेश गरेको दिन (मेषसङ्क्रान्ति/वैशाखसङ्क्रान्ति) बाट नयाँ वर्षको प्रारम्भ भएको मान्ने गरिन्छ भने चान्द्रमान (lunar calendar) अनुसार चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नयाँ वर्ष प्रारम्भ भएको मानिन्छ ।
महिनाको नाम
नेपाली परम्परामा प्रचलित महिनाका नामहरू चन्द्रमा र नक्षत्रको अवस्थितिका आधारमा राखिएका छन् । उक्त महिनामा पूर्णिमाका दिन चन्द्रमा जुन नक्षत्रमा परेको हुन्छ त्यस महिनाको नाम त्यही नक्षत्रबाट बनेको छ । पूर्णिमाका दिन चन्द्रमा विशाखा नक्षत्रमा पर्ने भएकाले महिनाको नाम वैशाख रहन गएको हो । महिनाका नाम र त्यस महिनामा पूर्णिमा पर्ने नक्षत्रलाई निम्नानुसार हेर्न सकिन्छ :
पूर्णिमा पर्ने नक्षत्र महिनाको नाम
विशाखा वैशाख
ज्येष्ठा ज्येष्ठ (जेठ)
पूर्वाषाढा र उत्तराषाढा (कुनैमा पनि पर्न सक्ने) आषाढ (असार)
श्रवण श्रावण (साउन)
पूर्वभाद्रपद र उत्तरभाद्रपद (कुनैमा पनि पर्न सक्ने) भाद्र (भदौ)
अश्विनी आश्विन (असोज)
कृत्तिका कार्तिक (कात्तिक)
मृगशिरा मार्गशीर्ष (मङ्सिर)
पुषा पौष (पुस)
मघा माघ
पूर्वाफाल्गुनी र उत्तराफाल्गुनी (कुनैमा पनि पर्न सक्ने) फाल्गुन (फागुन)
चित्रा चैत्र (चैत)

सौर्यमानका आधारमा १ महिना सूर्य १ राशिमा रहुन्जेल हुन्छ । सूर्य मेष राशिमा रहँदा वैशाख महिना मानिन्छ भने सूर्य वृष राशिमा रहँदा जेठ हुन्छ । यसै गरी सूर्यले १२ राशिको चक्रलाई पार गर्दा एक वर्ष पूरा भएको मानिन्छ त्यसैले नेपालमा वैशाख एक गतेलाई नयाँ वर्षको प्रारम्भ भएको मानी उत्सवका रूपमा मनाउने प्रचलन छ ।
संवत्सर : अर्थ र प्रकार
वर्षको पर्यायवाची शब्दका रूपमा प्रयोग हुने शब्द संवत्सर हो । संस्कृतमा ‘संवसन्ति ऋतवोऽत्र’ (यहाँ ऋतुहरू बस्छन्) भनेर संवत्सर शब्दको व्युत्पादन गरिन्छ । छ ऋतुहरूको एक चक्र पूरा हुने भन्ने सन्दर्भलाई लिएर संवत्सर शब्दलाई अर्थ्याइएको छ । यसका पर्यायवाची शब्दका रूपमा संवत्, वत्सर, अब्द, हायन, शरत्, समा आदि शब्दलाई संस्कृतका ग्रन्थहरूमा प्रयोग गरिएको पाइन्छ ।
संवत्सरो वत्सरोऽब्दो हायनोऽस्त्री शरत्समाः ।
कालवर्ग, अमरकोष ।
ज्योतिषका ग्रन्थहरूमा ६० संवत्सरको चर्चा गरिएको छ । तिनको नामलाई क्रमशः तल प्रस्तुत गरिएको छ ः
१. प्रभव, २. विभव, ३. शुक्ल, ४. प्रमोद, ५. प्रजापति, ६. अङ्गिरा, ७. श्रीमुख, ८. भाव, ९. युवा, १०. धाता, ११. ईश्वर १२. बहुधान्य, १३. प्रमाथी, १४. विक्रम, १५. वृष, १६. चित्रभानु, १७. सुभानु, १८. तारण, १९. पार्थिव, २०. व्यय, २१. सर्वजित्, २२. सर्वधारी, २३. विरोधी, २४. विकृत, २५. खर, २६. नन्दन, २७. विजय, २८. जय, २९. मन्मथ, ३०. दुर्मुख, ३१. हेमलम्बी, ३२. विलम्बी, ३३. विकारी, ३४. शर्वरी, ३५. प्लव, ३६. शुभकृत्, ३७. शोभन ३८. क्रोधी, ३९. विश्वावसु, ४०. पराभव, ४१. प्लवङ्ग, ४२. कीलक, ४३. सौम्य, ४४. साधारण, ४५. विरोधकृत्, ४६. परिधावी, ४७. प्रमादी, ४८. आनन्द, ४९. राक्षस, ५०. नल, ५१. पिङ्गल, ५२. कालयुक्त, ५३. सिद्धार्थ, ५४. रौद्र, ५५. दुर्मति, ५६. दुन्दुभि, ५७. रुधिरोद्गारी, ५८. रक्ताक्षी, ५९. क्रोधन, ६०. क्षय ।
प्रभवो विभवः शुक्लः प्रमोदोऽथ प्रजापतिः । अङ्गिरा श्रीमुखो भावो युवा धाता तथैव च ।।
ईश्वरो बहुधान्यश्च प्रमाथी विक्रमो वृषः । चित्रभानुः सुभानुश्च तारणः पार्थिवो व्ययः ।।
सर्वजित् सर्वधारी च विरोधी विकृतिः खरः । नन्दनो विजयश्चैव जयो मन्मथदुर्मुखौ ।।
हेमलम्बी विलम्बी च विकारी शर्वरी प्लवः । शुभकृच्छोभनः क्रोधी विश्वावसुपराभवौ ।।
प्लवङ्गः कीलकः सौम्यः साधारणो विरोधकृत् । परिधावी प्रमादी च आनन्दो राक्षसो नलः ।।
पिङ्गलः कालयुक्तश्च सिद्धार्थो रौद्रदुर्मती । दुन्दुभी रुधिरोद्गारी रक्ताक्षी क्रोधनक्षयौ ।।
ज्योतिःसारः ।

संवत्सर प्रारम्भ
कालगणनामा चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदादेखि नयाँ संवत्सर सुरु हुने विश्वास राखिन्छ । विक्रम संवत्को गन्ती वैशाख १ गतेबाट गरिए पनि संवत्सर त्यसभन्दा अगाडिबाट नै सुरु हुन्छ । हाम्रा सङ्क्रान्तिलगायतका केही चाडपर्वबाहेक अधिकांश चाडपर्वहरू चान्द्रमानका आधारमा मनाइन्छन् । चान्द्रमान तिथिमा आधारित हुन्छ । पूर्णिमाको भोलिपल्ट अर्थात् प्रतिपदादेखि अमावस्या (औँसी) सम्म लगभग १५ दिनको अवधि कृष्णपक्ष र अमावस्याको भोलिपल्ट अर्थात् प्रतिपदादेखि पूर्णिमा (पुर्ने) सम्म लगभग १५ दिनको अवधिलाई शुक्लपक्ष भनिन्छ । चान्द्रमानअनुसार पनि कृष्णपक्षका १५ दिन र शुक्लपक्षका १५ दिन गरी करिब ३० दिनको एक महिना हुने गर्छ । एउटा तिथिको अवधि करिब १ दिन भए तापनि कहिलेकाहीँ घटीबढी हुने भएका कारण १ पक्ष ठ्याक्कै १५ दिनको भने नरहन पनि सक्छ अर्थात् दिनको सङ्ख्या घटबढ हुन सक्छ । यही कारणले गर्दा संवत्सरको प्रारम्भ चैत्र महिनाको यति नै गतेबाट हुन्छ भन्न सकिँदैन । जुन दिन चैत्र महिनाको कृष्णपक्ष सकिएर शुक्लपक्ष लागी प्रतिपदा तिथि पर्छ त्यही दिनबाट नयाँ संवत्सर सुरु हुन्छ ।
संवत्सर : सृष्टिको वर्षगाँठ
सनातन परम्परामा भगवान् ब्रह्माबाट यो सारा ब्रह्माण्डको सृष्टि भएको विश्वास गरिन्छ । ब्रह्मालाई सृष्टिकर्ताका नामले पनि पुकारिन्छ । चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदाबाट नै विधाता ब्रह्माले सृृष्टिको आरम्भ गरेका थिए भन्ने मत पाइन्छ । यही विशेष दिनबाट सृष्टिको सुरुवात भएका कारणले संवत्सर परिवर्तन पनि यही तिथिबाट हुने गर्दछ । गणनाको प्रथमबिन्दु सृष्टिलाई नै मानेर ऋषिमुनिहरूले संवत्सरका रूपमा यस दिनबाट गन्ती आरम्भ गरेको विश्वास लिइन्छ ।
संवत्सरोत्सवका रूप्मा मनाइने भएकाले यस दिन सनातन परम्परामा सृष्टिका घटकहरू जल, वायु, वनस्पति आदिको पूजन गरी यिनको सुरक्षित अस्तित्वका लागि प्रार्थना गरिन्थ्यो । यति मात्र नभएर सृष्टिका अङ्गहरू वृक्ष, नदी आदिलाई देवत्वभावले हेर्ने परम्पराको विकास हाम्रो पूर्वीय संस्कृतिमा हुनामा पनि यसको विशेष भूमिका देखापर्छ । अहिले उपेक्षाका कारण पर्यावरणीय सन्तुलन बिग्रँदै गएको सन्दर्भमा हामीले हाम्रा पूर्वजले सिकाएको कदमको अनुसरण गर्नु अपरिहार्य हुन गएको महसुस हुन्छ ।
उत्सव
नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ मनाइन्छ । नयाँ वर्षबाट नयाँ जोस र ऊर्जा लिएर अघि बढ्ने प्रण गरिन्छ । जानकार व्यक्तिहरू चैत्र शुक्ल प्रतिपदाका दिन नयाँ संवत्सर र वैशाख १ गते नयाँ विक्रम संवत् सुरु हुने भएकाले पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । नेपालमा भने वैशाख १ गतेलाई नै नव वर्षको प्रारम्भ मानी मनाउने चलन छ । बिहान स्नानादि कर्म गरी नयाँ वर्ष/संवत्सरको सुरुवात गरिन्छ । मन्दिरहरूमा गई दर्शन गर्नाका साथै स्वादिष्ट भोजन गरी मनाउने संस्कृति छ । यस दिन सम्भव भएसम्म परिवारसँग घुम्न गई रमाइलो गरिन्छ । सचेत मानिसहरू वर्षलाई कसरी मनाउने भनी योजना पनि गर्छन् ।
उपसंहार
सनातन परम्पराका अनुयायीहरू हामीले अहिले आएर आफ्ना चालचलन र परम्परालाई बिर्सँदै गइरहेका छौँ जसका कारण नयाँ संवत्सरको आगमनलाई स्वागत गर्नबाट चुकिरहेका छौँ । संवत्सर परिवर्तनका आधार र पूर्वीय परम्पराका मान्यताहरूलाई भुल्दै जाँदा आफ्नै चिनारी गुमाउनु हाम्रो नियति बन्न पुग्छ । नयाँ वर्ष मनाउने सन्दर्भमा माछामासु तथा मदिराको सेवन गर्नु राम्रो होइन । हाम्रो नयाँ वर्षमा हाम्रो सांस्कृतिक पहिचान लुकेको हुन्छ तथा हाम्रो मौलिक चिनारी हाम्रै चाडपर्व हुन् । विदेशी संस्कृतिको अन्धानुकरणमा रुचि राख्नुभन्दा आफ्ना चाडपर्वका महत्त्वलाई बुझेर उचित ढङ्गमा मनाउनु हाम्रा लागि श्रेयस्कर हुन्छ ।