रामनवमी

परिचय
हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन नेपालीहरूले मनाउँदै आएको पर्व हो – रामनवमी । सर्वव्यापक भगवान् विष्णुका दश अवतारमध्ये सातौँ अवतारका रूपमा रामको पूजा–आराधना गर्ने परम्परा नेपालमा मात्र नभई भारतलगायत सनातन संस्कृतिलाई अपनाउने धेरै मुलुकहरूमा देख्न सकिन्छ । समस्त सृष्टिका पालनकर्ता भगवान्ले यस दिन राक्षसको अत्याचारबाट सम्पूर्ण प्राणीहरूलाई रक्षा गर्न रामको अवतार लिएको कथा पुराणहरूमा लेखिएको छ । लङ्काको अधिपति रावणको संहार गर्ने उद्देश्यले रामको यस धर्तीमा अवतरण भएको विश्वास लिइन्छ । तसर्थ रामनवमीले पूर्वीय परम्पराका अनुयायीहरूमाझ विशेष महत्त्व राख्छ ।
राम – व्युत्पत्ति
‘रमन्ते योगिनः अस्मिन्’ (यसमा योगीहरू रमाउँछन्) विग्रहबाट राम शब्दको निर्माण हुन्छ । यसको मतलब योगी तथा साधकहरू राम अर्थात् आनन्दमय परमात्मामा रमाउँछन् भन्ने हुन्छ । संस्कृतको रम् धातुमा घञ् प्रत्ययको योगबाट राम शब्दको निष्पत्ति हुन्छ । संस्कृत व्याकरणमा पनि अजन्त पुंलिङ्गी शब्दको रूपनिर्माण प्रक्रिया राम शब्दबाट नै सिकाउन सुरु गरिन्छ ।
रमन्ते योगिनोऽनन्ते सत्यानन्दचिदात्मनि ।
इति रामपदेनासौ परब्रह्माभिधीयते ।।
(योगीहरू सत्यस्वरूप, आनन्दस्वरूप र ज्ञानस्वरूप अनन्त परमात्मामा रमाउँछन् । यसरी राम शब्दबाट परब्रह्म भन्ने अर्थ बुझिन्छ ।)
कथा
त्रेतायुगमा अयोध्याका सूर्यवंशी राजा दशरथ र कौशल्यावतीका सुपुत्रका रूपमा रामको जन्म हुन्छ । दशरथका अरू रानीहरू कैकेयी र सुमित्राबाट पनि भरत, लक्ष्मण र शत्रुघ्नको जन्म हुन्छ । हुर्कँदै गरेका यी दाजुभाइबिच बडो प्रेम हुन्छ । दुःख दिएका राक्षसहरूको वध गर्नका लागि विश्वामित्रले राम र लक्ष्मणलाई दशरथको अनुमति लिएर आफ्नो आश्रममा लैजान्छन् । राक्षसको संहारपछि उनले रामलाई अस्त्रादि दिन्छन् । विश्वामित्रले नै राम र लक्ष्मणलाई मिथिला अर्थात् राजा जनकको राजधानी जनकपुर लिएर जान्छन् । शिव धनुषमा ताँदो चढाउन समर्थ भएकाले राम र सीताको विवाह हुन्छ ।
अयोध्या आएपछि दशरथले रामको राज्याभिषेक गर्न खोज्छन् तर कैकेयीको सर्तअनुसार भरतलाई राज्याभिषेक र रामलाई बाह्र वर्ष वनवास पठाउनुपर्ने बाध्यता आइपर्छ । भरतले आफ्नी आमा कैकेयीको प्रस्तावलाई मर्यादाविपरीत ठहर्याउँछन् तर रामले सहर्ष स्वीकार गरेर अयोध्याको दरबार त्यागी लक्ष्मण र सीतालाई लिएर वनतर्फ लाग्छन् । यसरी पिताको आज्ञालाई शिरोपर गरेर राज्यसुखसमेत त्यागेका कारण रामलाई पितृभक्त तथा मर्यादाको पालनमा कुनै पनि कसर नराख्ने भएकाले मर्यादापुरुषोत्तमका नामले चिनिन्छ ।
वनवासका क्रममा विभिन्न राक्षसहरूको संहार गरी ऋषिमुनिहरूबाट उपदेश लिँदै उनीहरूको समय बितिरहेको हुन्छ । त्यही क्रममा लङ्काको अधिपति रावणले सीतालाई छल गरेर अपहरण गर्छ । त्यसपछि रामले सुग्रीव, उनको वानरसैन्य तथा हनुमान्, जाम्बवान्लगायत शूरवीरहरूको सहयोगमा दुष्ट रावणको वध गरी सीतालाई अपहरणमुक्त बनाउँछन् । यस्ता दुष्टविनाशक रामको राज्यमा कुनै पनि प्रजा दुःखी थिएन भन्ने वर्णन पुराणहरूमा पाइन्छ । आजकल पनि राम्रो शासनप्रणाली भएको र प्रजाको हितलाई मध्यनजर गरी सञ्चालन गरिएको राज्यलाई रामराज्य भनिन्छ । तिनै रामको जन्मोत्सवका रूपमा रामनवमी मनाउन थालिएको हो ।
व्रत–परम्परा र मेला
रामनवमीका दिन श्रद्धालुहरू ब्रह्ममुहूर्तमा उठी स्नानादि नित्यकर्म गर्छन् । यसका लागि कतिपय भक्तजनहरू नदी, तलाउ वा जलाशयमा जाने गर्छन् भने कतिपय तीर्थस्थलका रूपमा रहेका सङ्गम, त्रिवेणी आदिमा पुग्छन् । शौचादि कर्मपश्चात् सम्भव हुनेहरू राममन्दिर गई पूजा–आराधना गर्छन् त कतिपय व्रतालुहरू घरमै भगवान् रामको प्रतिमा स्थापना गरी पूजा–अर्चना गर्छन् । दिनभर उपवास बसेर बेलुका पनि पूजा आरती गरी प्रसाद लिने प्रचलन नेपालमा देखिन्छ । यस दिन भानुभक्तद्वारा लिखित रामायणको वाचन गर्नाका साथै रामका स्तोत्रहरूको पाठ पनि गरिन्छ । यसका साथै केही भक्तहरू रामनवमी पूजाविधिअनुसार घरमा पुरोहितलाई बोलाई पूजा गर्दछन् । यस दिन व्रत राख्नाले वैकुण्ठवास तथा मङ्गल कायम हुने विश्वास राखिन्छ ।
जनकपुरस्थित रामजानकी मन्दिरमा रामनवमीका दिन मेला लाग्ने गर्छ । जनकपुरमा रहेको रामजानकी मन्दिर टिकमगढकी महारानी वृषभानुकुमारीले वि.सं. १९६७ मा बनाउन लगाएकी थिइन् । यसको निर्माणमा त्यतिखेर नौ लाख खर्च भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । राम र सीताको विवाह यहीँबाट भएकाले यस दिन नेपालबाट मात्र नभई भारतबाट पनि आएका भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । यतिखेर यो मन्दिर सिँगारिएको हुन्छ र श्रद्धालुहरूलाई कुनै पनि असुविधा पर्न नजाओस् भन्ने हेतुले व्यवस्थापनमा विशेष ध्यान दिइएको हुन्छ ।
काठमाडौँको बत्तीसपुतलीस्थित राममन्दिरमा पनि रामनवमीको दिन व्रतालुहरूको भिड लाग्ने गर्छ । खास गरेर काठमाडौँ उपत्यकाका बासिन्दाहरू यस मन्दिरमा गई पूजा–आराधना गर्दछन् । बिहानैदेखि लाइनमा बसेर दर्शन गर्न लालायित हिन्दूधर्मावलम्बीहरू भजन तथा स्तोत्र गाउँदै रमाइरहेका हुन्छन् । देशभरका राममन्दिरहरूमा यस दिन भक्तहरूको व्यापक उपस्थिति रहने गर्छ ।
उपसंहार
रामलाई विष्णु र सीतालाई लक्ष्मीको अवतार मानेर नेपालीहरू श्रद्धा व्यक्त गर्दछन् । भक्तहरूको आस्था र श्रद्धा अर्पण गर्ने पर्व भएकाले यस दिन विभिन्न मठ, मन्दिर, आश्रम आदिमा व्रतमाहात्म्य तथा रामकथाको श्रवण गर्ने परम्परा छ । अधिकांश हिन्दूधर्मावलम्बीहरूको बसोबास रहेको नेपालमा रामनवमी पर्वले विशेष स्थान ओगटेको छ ।