माघ महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने प्रसिद्ध चाड हो – श्रीपञ्चमी । यसलाई वसन्तपञ्चमी र सरस्वतीपूजाका नामले पनि चिनिन्छ । श्री भनेको विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिको पूर्णताबाट झल्कने शोभा वा कान्ति हो भने धनसम्पत्तिलाई पनि श्रीले समेट्ने गर्दछ । श्री शब्दले धनकी प्रतीक लक्ष्मीका साथै विद्या र गुणकी प्रतीक सरस्वतीलाई पनि चिनाउने गर्दछ । श्रीपञ्चमी पर्व भने सरस्वतीको प्राकट्य दिवसका रूपमा मनाउने प्रचलन छ । यस दिन भव्य रूपमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत यसले गर्ने भएकाले र पूर्वकालमा यस दिन वसन्तको स्वागतार्थ वसन्तोत्सव आदि आयोजना गर्ने प्रचलन रहेकाले यसलाई वसन्तपञ्चमीका रूपमा व्यवहार गर्ने गरिएको हो । वसन्तका प्रतीक कामदेव र उनकी पत्नी रतिको पनि यस दिन पूजा गर्ने प्रचलन छ । नेपालमा यस दिन हनुमानढोकाको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने गरेको पाइन्छ ।
सृष्टिको प्रारम्भमा ब्रह्माजीले पूर्णताका लागि देवीको उत्पत्ति गरे, जसले हातमा वीणा, पुस्तक र माला लिएकी थिइन् । ती सरस्वती थिइन् । ब्रह्माबाट निर्देशन पाएर तिनले वीणा बजाइन् । त्यसपछि वाणी र सङ्गीतको प्रादुर्भाव भएको विश्वास गरिन्छ । त्यसैले यिनी वाणीकी देवी हुनाका साथै सङ्गीत र कलाकी पनि देवी हुन् ।
सरस्वतीबाट श्रीकृष्ण खुसी भएर उनलाई माघ शुक्ल पञ्चमीका दिन तिम्रो आराधना हुनेछ भनेर वरदान दिएका थिए र सरस्वतीको पूजा हुन थालेको हो भन्ने सन्दर्भको चर्चा पुराणमा भएको पाइन्छ । यसै दिन वनवासका क्रममा राम शवरीको कुटीमा पुगेको हुनाले शवरी माताको आश्रम परिसरमा स्थित एक शिलामा राम बसेका थिए भन्ने विश्वास गरी त्यो शिला पूजा गर्ने परम्परा पनि रहेको देखिन्छ ।
वाग्देवी अर्थात् वाणीकी देवी राजहंसमा विराजमान हुन्छिन् । उनका चार हातहरूमा वीणा, पुस्तक, स्फटिकको माला र अभयमुद्रा देख्न पाइन्छ । उनी सेतो वस्त्रमा सजिएकी हुन्छिन् । यसले ज्ञानको निर्मलता र चारित्रिक शुद्धतालाई सङ्केत गर्दछ । उनको हातको पुस्तकले शिक्षार्थीको लगाव सधैँ पुस्तकमा हुनुपर्ने कुरालाई सूचित गर्दछ भने मालाले चिन्तनशील हुनुपर्ने कुरामा जोड दिँदै आर्जित ज्ञानलाई हमेसा मनन गरिराख्नुपर्ने बताउँछ । वीणावादनले सङ्गीतजस्तो ललितकलामा पनि विद्यार्थीको चाख हुनुपर्ने कुरालाई जोड दिन्छ । सरस्वतीको वासस्थान नदीकिनार, तलाउ आदिले अध्ययनका लागि एकान्त स्थान आवश्यक रहने कुरातर्फ इसारा गर्नाका साथै दुध र पानी छुट्याउन सक्ने राजहंसबाट सत् र असत्को विवेक हुनुपर्ने कुरालाई साङ्केतिक रूपमा प्रस्तुत गरेको महसुस हुन्छ ।
श्रीपञ्चमीलाई सरस्वतीको जन्मोत्सवका रूपमा मनाइने भएकाले यस दिन शुभकर्महरू गर्न साइत जुराइराख्नुपर्दैन भनिन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्नेदेखि लिएर अक्षरारम्भ गराउनेजस्ता कामहरू गरिन्छन् । विद्यार्थीहरूका लागि त यो एउटा उत्सव नै हो । अधिकांश विद्यालयमा सरस्वतीपूजाको आयोजना गरिएको हुन्छ । पण्डित बोलाएर विद्यालयमा पूजा लगाउने प्रचलन बढ्दै गएको छ । कतिपय विद्यालयहरूमा सरस्वतीको मन्दिर बनाइएको हुन्छ भने श्रीपञ्चमीका दिन त्यहाँ भव्य पूजाको आयोजना गरिन्छ साथै विद्यार्थीहरूका अभिभावकलाई पनि निमन्त्रणा गरी पूजामा सरिक गराइन्छ । विद्यार्थीहरू बाहिरी पोसाकमै पूजामा सरिक हुन्छन् र प्रसाद ग्रहण गर्दछन् । विद्यालय पठाउने बेला भएका नानीबाबुहरूलाई यस दिन पहिलो अक्षर पढ्न र लेख्न सिकाइन्छ । यस दिन अक्षरारम्भ गराउँदा बालबच्चामा विद्या, बुद्धिको सहज विकास हुने विश्वास राखिन्छ । सरस्वतीलाई चढाएर सात अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धिको स्फुरण हुन्छ भन्ने जनधारणा छ ।
यस दिन विद्याकी देवीलाई प्रसन्न पार्नका लागि सरस्वतीका स्तोत्रहरू पाठ गर्ने चलन छ । सरस्वतीका विभिन्न नामहरू लिएर पुकार्ने पनि गरिन्छ । बौद्धमार्गीहरू सरस्वतीलाई मञ्जुश्री मानी पूजाअर्चना गर्दछन् । यस दिन देशभरका सरस्वती मन्दिरहरूमा भिड लाग्ने गर्दछ । तराई क्षेत्रमा भने माटाका सरस्वतीको मूर्ति बनाएर पनि पूजा गर्ने चलन छ र तिनलाई पूजा सकेर जलाशयमा लगी विसर्जन गरिन्छ ।
मानिस भएर जन्मेपछि उसको सिक्ने क्रम मृत्युपर्यन्त रहन्छ । त्यसैले हरेक मानिसका लागि विद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइने श्रीपञ्चमीले विशेष महत्व राख्छ । भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी आदि नामबाट पुकारिने सरस्वतीले सबैमा सद्बुद्धि प्रदान गरून् ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती । तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी ।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा । सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी ।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी । एकादशं चन्दघण्टा द्वादशं भुवनेश्वरी ।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः । जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।
शारदायै नमः



