नेपाल बहुसांस्कृतिक देश भएकाले यहाँ विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ । भूगोल, जाति आदिका आधारमा पर्व पनि भिन्न–भिन्न किसिमले मनाउने प्रचलन अद्यापि विद्यमान छ । यस्तै राष्ट्रिय महत्त्व बोकेको पर्व हो – मकरसङ्क्रान्ति । यसलाई माघे सङ्क्रान्तिका नामले पनि नेपालभर चिनिन्छ भने यही पर्व नेपालको तराई भेगका आदिवासी थारु समुदायमा माघी नामले प्रसिद्ध छ ।
हामी १२ राशिका आधारमा १२ महिना मान्ने गर्छौँ । सूर्य मेष राशिमा रहँदा वैशाख महिना हुन्छ भने वृष राशिमा रहँदा जेठ हुन्छ । यसै क्रममा १० औँ राशि मकर हो र यस राशिमा रहँदा माघ महिना हुने गर्छ । सङ्क्रान्ति भनेको सङ्क्रमण गर्नु, सल्कनु अथवा प्रवेश गर्नु हो । धनु राशिबाट मकर राशि (पुस महिनाबाट माघ महिना) मा सूर्यले सङ्क्रमण गर्ने अर्थात् प्रवेश गर्ने भएकाले माघ महिनाको १ गतेलाई मकरसङ्क्रान्ति भनिन्छ । हरेक महिनाको १ गते सूर्य अर्को राशिमा सङ्क्रमण गर्ने भएकाले १ गतेलाई नेपाली समाजमा सङ्क्रान्ति भन्ने गरिन्छ ।
पृथ्वीको परिभ्रमणले गर्दा सूर्यले दुईवटा बाटो अपनाएको जस्तो प्रतीत हुन्छ । गुरुत्वाकर्षणका कारण पृथ्वीको स्थितिमा परिवर्तन आउने हुँदा साउने सङ्क्रान्तिदेखि पुसे मसान्तसम्म दक्षिणतिर एवम् माघे सङ्क्रान्तिदेखि असारे मसान्तसम्म उत्तरतिर सूर्य ढल्केजस्तो आभास हुन्छ । तसर्थ सूर्यका दुई बाटाका रूपमा दक्षिणायन र उत्तरायण भनेर शास्त्रहरूमा चर्चा गरिएको पाइन्छ । माघे सङ्क्रान्ति उत्तरायणको पहिलो दिन हो । सौर्यमानका आधारमा मनाइने भएकाले यसको विशेष मह¤व छ ।
पुराणहरूमा उल्लेख भएअनुसार यस दिन पवित्र नदी (गङ्गा)मा गएर खाली पेट बिहान स्नान गर्दा पापमोचन हुने विश्वास गरिन्छ । त्यसैले नेपालका देवघाट, त्रिवेणी, पनौती आदि तीर्थस्थलहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । यस्ता तीर्थस्थलहरूमा केही दिनसम्म मेला पनि लाग्ने गर्छ । टाढा–टाढाबाट बस रिजर्भ गरेर हिन्दू धर्मावलम्बीहरू तीर्थ गएर स्नान, जप आदि गरी सङ्क्रान्ति मनाउने गर्दछन् । सङ्क्रान्तिको दिन गङ्गा पुग्न नसक्नेहरू अघिल्लो दिन नै त्यहाँ पुग्ने गर्दछन् । यस दिन दानादि कर्म गर्दा अनन्त पुण्य मिल्ने विश्वास रहेकाले कतिपय श्रद्धालुहरू दान गर्दछन् । भगवान्को स्तुतिपाठ गर्ने र आस्था व्यक्त गर्ने काम पनि यस दिनमा हुने गर्छ ।
नेपालको तराई क्षेत्रमा आदिकालदेखि नै थारु समुदायको बसोबास रहेको छ । तराईका आदिवासी थारु समुदायका मानिसहरू नयाँ वर्षका रूपमा भव्य हर्षोल्लासका साथ माघी भनी यो चाड मनाउने गर्दछन् । यस चाडमा नेपालको तराई भूभाग उमङ्गमा डुबेको हुन्छ । कामका सिलसिलामा आफ्नो ठाउँ छोडेर अन्यत्र गएका मानिसहरू पनि सकेसम्म घर फर्कने गर्दछन् । यी समुदायका मानिसहरू बिहान केही नखाई पवित्र नदीहरूमा पुगेर स्नान गर्ने गर्दछन् । पश्चिम तराईका कतिपय ठाउँहरूमा उनीहरू घर फर्केर चामल, नुन, तेल, बेसार आदि छोएपछि आफू चोखिएको विश्वास गर्दछन् साथै यस दिन आफ्नो समुदायमा रहेका हरेक ठुलाबडाहरूको चरणमा ढोगी आशीर्वाद पनि लिने गर्दछन् । मध्य तराईका केही स्थानहरूमा भने यस दिन आफ्नो भान्जालाई सिद्धान्न (सिधा) दान गर्ने चलन छ । नयाँ वर्षका रूपमा माघी मनाइने भएकाले वर्षभरिका योजनाका सम्बन्धमा छलफल आदि गर्ने परम्परा पनि यस समुदायमा रहेको छ । शुभ भावना आदान–प्रदान गर्ने यस चाडले थारु समुदायमा विशेष मह¤व राख्छ ।
मकरसङ्क्रान्तिका दिन मानिसहरू विशेष गरेर घ्यू, चाकु, तिलको लड्डू, तरुल र खिचडी खाने गर्दछन् साथै घरमा आउने मानिसहरूलाई यिनै कुराहरू खान दिएर खुसी साटासाट गर्दछन् । यी सामग्रीहरू सम्भव भएसम्म घरमै बनाउने गरिन्छ । जाडो याम भएकाले शक्तिवर्धक खाद्यका रूपमा यी खानेकुराहरू बनाउने र खाने गरिएको विश्वास लिइन्छ । यसै दिन मेला लाग्ने स्थलहरूमा स्थानीय बिदा दिने प्रावधान पनि रहेको छ । यसरी मनाइने यो पर्व नेपालीहरूको मह¤वपूर्ण पर्वका रूपमा जनमानसमा स्थापित देखिन्छ ।



