महान् पर्व शिवरात्रि

पृष्ठभूमि

नेपाल सांस्कृतिक रूपमा समृद्ध मुलुक हो । भौगोलिक तथा जातीय विविधताका कारण नेपालमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । चान्द्रमान र सौर्यमानका आधारमा पर्वहरू मनाउने हाम्रो परम्परा छ । चन्द्रमाको गतिअनुसार हामी लगभग एक दिनका रूपमा एक तिथि मान्ने गर्छौँ । विशेष अवस्थामा तिथिको समय थोरै हुँदा एकै दिन दुई तिथि पर्छन् भने कहिलेकाहीँ दुई दिनमा पनि एकै तिथि पर्ने गर्छ । सङ्क्रान्तिहरूबाहेक अरू पर्वहरू तिथिका आधारमा हामीले मनाउँदै आएका छौँ ।

हामी बसेको भूभागबाट आकाशतिर हेर्दा सबैभन्दा चम्किलो र गोलाकार चन्द्रमा जुन तिथिमा देखिन्छ त्यस तिथिलाई पूर्णिमा (पुर्ने) भनिन्छ भने सबैभन्दा सानो र हँसियाको आकारको चन्द्रमा जुन तिथिमा देखिन्छ त्यस तिथिलाई अमावस्या (औँसी) भनेर चिनिन्छ । अमावस्याको भोलिपल्टदेखि आकाशमा हेर्दा चन्द्रमाको आकार प्रतिदिन ठूलो देखिँदै जान्छ र चन्द्रमाबाट परावर्तित किरण हामी बसेको भूभागमा अधिक मात्रामा पर्दै जान्छ । यो क्रम पूर्णिमासम्म चल्ने भएकाले अमावस्यादेखि पूर्णिमासम्म रातहरू उज्याला हुँदै जान्छन् । संस्कृतमा शुक्ल शब्दको अर्थ सेतो, उज्यालो हुन्छ । अतः अमावस्याको भोलिपल्ट प्रतिपदा नामको तिथिदेखि पूर्णिमा तिथिसम्मको करिब पन्ध्र दिनको अवधिलाई शुक्ल पक्ष भनिन्छ । यसैगरी पूर्णिमाको भोलिपल्टदेखि अमावस्यासम्म चन्द्रमाको आकार सानो देखिँदै जाने र त्यतिखेर चन्द्रमाबाट परावर्तित किरण पनि हामी बसेको भूभागमा कम पर्दै जाने भएकाले रातहरू अँध्यारा हुँदै जान्छन् । संस्कृतमा कृष्ण भनेको कालो हो । तसर्थ पूर्णिमा तिथिको भोलिपल्टदेखि अमावस्या तिथिसम्मको करिब पन्ध्र दिनको अवधिलाई कृष्ण पक्ष भनिन्छ । यही कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्ने नेपालीहरूको राष्ट्रिय मह¤व बोकेको महान् चाड हो – शिवरात्रि ।

परिचय

कतिपय चाडपर्व नेपालको कुनै विशेष जाति र भूगोलमा लोकप्रिय देखिन्छन् भने कतिपय चाडपर्वको प्रसिद्धि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेको देखिन्छ । खास गरेर सनातन धर्मका अनुयायीहरूले मनाउँदै आएको शिवरात्रि पर्व अधिकांश नेपालीको विशेष पर्वका रूपमा परिचित छ । यो हरेक वर्ष फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्ने गर्छ । शिवरात्रि शब्द ‘शिवस्य रात्रिः’ अर्थात् शिवको रात भन्ने अर्थमा संस्कृत भाषाबाट लिइएको शब्द हो । ‘शिव’ शब्दलाई भगवान् महादेव तथा अर्थका हिसाबले श्रेय, भद्र, कल्याण, मङ्गल, शुभ आदि शब्दको पर्यायवाची शब्द मानेर संस्कृतमा व्यवहार गर्ने चलन छ ।
श्वः श्रेयसं शिवं भद्रं कल्याणं मङ्गलं शुभम् ।
अमरकोष ।

नेपाली व्यवहारमा भने ‘शिव’ शब्द भगवान् महादेवलाई बुझाउन प्रयोग गरिन्छ । देवताका पनि देवताका रूपमा शिव भगवान्को वर्णन पुराणहरूमा भएको देखिन्छ । संसारका सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ताका रूपमा शिव भगवान्को विशेष चर्चा हुने गर्छ । शिव भगवान्लाई सबैको पाप हर्ने भएकाले ‘हर’, सम्पूर्ण अज्ञानी जीवहरूलाई पशु मानेर यिनको मालिकका रूपमा पशुपति, कल्याण गर्ने भएकाले शङ्कर र शम्भु, छिटै प्रसन्न हुने भएकाले आशुतोष, सबैका ईश्वर भएकाले महेश्वर र महादेव, मृत्युलाई जितेकाले मृत्युञ्जय, तीन आँखा भएकाले त्रिलोचन र त्रिनेत्र, गङ्गालाई धारण गरेकाले गङ्गाधर आदि नामले पुकारिन्छ । यस्ता शिव भगवान्को पूजा–आराधना गर्ने विशेष दिनका रूपमा नेपाली जनमानसमा यो पर्वले विशिष्ट स्थान ओगटेको छ ।

सन्दर्भ

शिवरात्रि पर्व धेरै अगाडिबाट मनाउन थालिएको हो । यसको प्रारम्भबिन्दुलाई यकिन गरेर भन्न भने सकिँदैन तर यसका सम्बन्धमा विभिन्न मान्यताहरूको विकास नेपाली समुदायमा भएको पाइन्छ । यस दिन रूद्र रूपमा भगवान् शिवको प्रादुर्भाव भएको तथा उहाँको पहिलो स्वरूप देखिएको हो भन्ने धारणा एकातिर छ भने भगवान् शिव र माता पार्वतीको विवाह पनि यसै दिन भएको हो भन्ने जनविश्वास अर्कातिर छ । त्यति मात्र नभएर परापूर्वकालमा देवता र दानव मिलेर समुद्र मन्थन गर्ने क्रममा निस्किएको कालकूट विषलाई भगवान्ले यसै दिन पान गरी समस्त चराचरजगत्को कल्याण हुन गएको विश्वास पनि राखिन्छ । यस पर्वका बारेमा खास गरेर पद्मपुराण, लिङ्गपुराण, स्कन्दपुराण र शिवपुराणमा उल्लेख गरिएको छ ।

शिवपुराणमा वर्णित कथा

प्राचीन कालमा एक गुरुद्रुह नामको सिकारी थियो । ऊ सिकार गरेर आफ्नो परिवारको भरणपोषण गर्दथ्यो । एकपटक संयोगवश शिवरात्रिको दिन ऊ सिकार गर्न भनेर जङ्गलतिर निस्कियो । दिनभरि खोज्दा पनि उसले सिकार भेटेन । साँझपख ऊ एउटा जलाशयनजिक पुग्यो । त्यहाँ पानी पिउन पक्कै पनि कुनै न कुनै जनावर आउला भन्ने आशले आपूmलाई पिउनका लागि अलिकति पानी लिएर ऊ नजिकको रुखमा चढ्यो । त्यो रुख बेलको रुख थियो र त्यसको फेदीमा एउटा शिवलिङ्ग पनि थियो तर सुकेका पातहरूले ढाकिएका कारण शिवलिङ्ग देखिँदैनथ्यो ।
दिनलाई प्राचीन गणनामा आठ प्रहरमा विभाजन गर्ने चलन थियो । जसमध्ये रातको चार प्रहर र दिनको चार प्रहर हुन्थ्यो । एक प्रहर भनेको तीन घण्टाको अवधि हो । त्यस जलाशयमा रातको पहिलो प्रहर बित्न नपाउँदै एउटी हरिणी पानी पिउन आई । सिकारीले धनुषमा बाण चढाएर हरिणीलाई ताक्यो । त्यस क्रममा उसले लगेको पानी अलिकति पोखियो र बेलको पात पनि शिवलिङ्गमा झ¥यो । उसको पहिलो प्रहरको पूजा अनजानमै भयो । हरिणीले आफ्ना सन्तानलाई पतिको जिम्मा लगाएर आउने वाचा गरी जीवनको भिख मागी । उसलाई दया लाग्यो र हरिणीको अनुरोधलाई स्विकार्दै उसले जान दियो ।

केही समयपछि अर्की हरिणी पानी पिउन आई । सिकारीले धनुषमा बाण चढाउँदा पहिलेझैँ जल र बेलपत्रले उसको दोस्रो प्रहरको पूजा भयो । उसले पनि फर्केर आउने प्रतिज्ञा गरी । त्यसको केही बेरपछि एउटा हरिण जलपानका लागि आयो । त्यतिखेर पनि सिकारीको पूर्ववत् तेस्रो प्रहरको पूजा सम्पन्न भयो । यसले पनि फर्केर आउने कसम खायो । रातको अन्तिम प्रहरको अन्त्यतिर भने हरिण र हरिणीहरू बच्चासहित त्यहाँ आए । उसले पहिलाको जसरी नै धनुषमा बाण चढायो । जल र बेलको पातबाट चौथो प्रहरको पूजा पनि अनजानमै उसबाट हुन गयो ।
शिवरात्रिको दिन नजानेरै भए पनि सिकारीबाट पूजा हुन गएकाले भगवान् शिवको प्रसादले उसमा सद्बुद्धि आयो । उसले सोच्यो, ‘यी पशुहरू भएर पनि परोपकार गर्न र आफ्नो वाचा पूरा गर्न तयार छन् तर म भने यस्तो कुकृत्य गर्दै छु ।’ उसले सबै हरिण, हरिणी र बच्चाहरूलाई फर्काइदियो । भगवान् शिवले उसलाई आफ्नो दिव्य स्वरूपको दर्शन दिनुभयो । ऊ सबै पापबाट मुक्त भयो साथै उसको जीवन धन्य भयो ।

लोकभावना

शिवरात्रि भगवान् शिवका भक्तहरूका लागि मह¤वपूर्ण दिन हो । यस दिन आशुतोष शिवको पूजा–अर्चना गर्नाले मनकामना छिटै पूरा हुने विश्वास लिइन्छ । काठमाडौँमा अवस्थित पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्ग स्वयम् उत्पन्न मानिन्छ । नेपालको आराध्यदेवका रूपमा पशुपतिनाथको पूजा गर्ने चलन छ । पशुपतिनाथले यस देश र देशवासीको सधैँ रक्षा गर्नुहुन्छ भनेर हामी सबै नेपालीहरू आस्था प्रकट गर्छौँ । माघ महिनामा घरघरमा वाचन गरिने स्वस्थानी व्रतकथाका माध्यमबाट पनि भगवान् शिवको कथा अधिकांश नेपालीहरूको मन र मस्तिष्कमा पुग्ने भएकाले धेरै नेपालीहरू यस दिन व्रत राख्न लालायित हुन्छन् ।

व्रत–परम्परा

शिवरात्रिका दिन महिला तथा पुरुषहरू धेरैको सङ्ख्यामा व्रत बस्छन् । त्रयोदशीको दिन चोखो खाने गर्छन् । चतुर्दशीको दिन सम्भव भएसम्म ब्रह्ममुहूर्तमा नै नजिकको नदी वा जलाशयमा गएर स्नान गरी नित्य कर्म सकेर व्रतारम्भ गर्छन् । यस दिन देशभर शिवमन्दिरहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । बेलपत्र, दूध, धतुरो, चन्दन, पूmल, अक्षता, धूप, दीप, नैवेद्य आदिद्वारा शिवको अर्चना हुन्छ । यस दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नका लागि नेपालबाट मात्र नभई भारतबाट पनि भक्तहरू आउने गर्छन् । नटराज शिवलाई भजन गाएर र नाचेर खुसी पार्नुपर्छ भन्ने मान्यता भएकाले व्रतालुहरू नाच्दै गाउँदै मन्दिरमा दर्शन गर्न जान्छन् । यस पर्वमा जागरण र रात्रिपूजाको विशिष्ट मह¤व छ ।

यस पर्वमा ठाउँ–ठाउँमा धुनी जगाइएको हुन्छ भने साधु, संन्यासी बाबाहरू पनि धुनी बालेर बसेका हुन्छन् । भक्तजनहरू रातभर भजनकीर्तन गर्दै जाग्राम बस्छन् । सक्नेहरू रातको हरेक प्रहरमा शिवको पूजा गर्ने गर्छन् । मठ, मन्दिर र गुरुकुलहरूमा रूद्राभिषेक गर्ने चलन छ । चौथो प्रहरको पूजा सकेर स्नानादि कार्यपश्चात् व्रत समाप्त गरिन्छ । पर्व मनाउनका लागि भनेर खास गरी केटाकेटीहरू यस दिन डोरीले बाटो छेकेर बस्छन्, सवारी साधनलाई जान दिँदैनन् र पैसा माग्छन् । पैसा पाएपछि बाटो छोडिदिन्छन् ।

अभीष्ट प्राप्त गर्ने हेतुले यस पर्वमा व्रतालुहरू व्रत लिने गर्छन् । शिवको पूजामा मूर्तिको भन्दा पनि शिवलिङ्गको पूजा हुने गर्दछ । शिवमन्दिरहरूमा पनि शिवलिङ्गको स्थापना गरिएको हुन्छ । जलको अभिषेक, दूधको अभिषेक आदिबाट चारै प्रहर शिवलिङ्गको पूजा गर्ने परम्परा अद्यापि विद्यमान छ । व्रतालुहरू घण्टौँ कुरेर पनि मन्दिरमा गई पूजा गर्छन् । कोही भने रूद्राक्षको माला लिएर ‘ॐ नमः शिवाय’ जप्दै बसिरहेका हुन्छन् । मन्दिर नजिक नहुने तथा जान नसक्नेहरू घरमै पूजाआराधना गरी दिन बिताउँछन् ।

सेना दिवसका रूपमा शिवरात्रि

भगवान् शिवले धेरै राक्षसहरूको वध गरेका कथा विभिन्न पुराणहरूमा सङ्कलित छन् । त्रिपुरासुरको संहार गरेका कारण नै त्रिपुरारि एवम् त्रिपुरान्तक नामले चिनिने भगवान्का भूतप्रेतपिशाच आदि गणहरू थिए, सेना थिए । शिवलाई संहारकर्ताका रूपमा पनि लिइने भएकाले नेपाली सेनाले यसै दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । यसै दिन टुँडिखेलमा सेनाले परेड आदि सैनिक प्रदर्शनी आयोजना गर्छ । हिमाली देश भएकाले यस धर्तीलाई शिव र पार्वतीको क्रीडास्थल मान्ने गरिन्छ साथै यसको रक्षा उहाँबाट नै भइरहेको छ भन्ने विश्वास पनि गरिन्छ ।

उपसंहार

शिवरात्रि पर्वमा पशुपतिनाथको दर्शनका लागि देशविदेशबाट मानिसहरू आउने भएकाले पशुपति क्षेत्र विकास कोषले विभिन्न उपसमितिको गठन गरेको हुन्छ । ती समितिमार्फत दर्शनार्थीहरूको सम्पूर्ण व्यवस्थापन कोषले गर्दै आएको छ । यस पर्वमा लाखौँको सङ्ख्यामा भक्तहरू आउने भएकाले शिवरात्रिले धार्मिक पर्यटनमा धेरै टेवा पुर्याएको छ । यसपालि कुम्भ मेलालगत्तै पर्व परेकाले र कुम्भस्नानपछि ज्योतिर्लिङ्गको दर्शन गर्नुपर्ने धार्मिक आस्थाका कारण शिवरात्रिमा पहिलाको भन्दा धेरै श्रद्धालुहरूको आगमन हुने अनुमान गरिएको छ र त्यसैअनुसार व्यवस्था पनि गर्न लागिएको छ ।

शिवको प्रसादका रूपमा नेपाली समाजमा गाँजा, भाङ आदि नसालु पदार्थको सेवन गर्ने प्रवृत्ति पाइन्छ । गाँजा आदिको बेचबिखनलाई सरकारले अवैध घोषणा गरे पनि यस दिन भने दुर्व्यसनीमा नलागेका मानिसहरू पनि यसको सेवनमा प्रवृत्त हुने गर्छन् । यसको निगरानीका लागि सरकारले पहल गरे तापनि अझ पर्याप्त हुन भने सकेको छैन । यसको सेवनबाट स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई मनन गरी यसबाट टाढा रहनुमा नै सबैको भलो हुन्छ ।

शिवरात्रि नेपालीहरूको महान् चाड हो । यतिखेर भगवान् शिवको भक्तिरसले सबै लट्ठिएका हुन्छन्, स्तुतिगानमा रमाउँदै नाचमा झुमेका हुन्छन् । व्रत लिने तथा नलिनेहरू पनि मन्दिर अथवा धार्मिक क्षेत्रमा गई पूजाआजामा सरिक हुने गर्छन् । घण्टानादले मन्दिर क्षेत्र तथा मादल, बाँसुरी, खैँजडी आदिको सुमधुर ध्वनिले आवास क्षेत्र यस दिन ध्वनित हुने गर्छ । जटामा गङ्गा र निधारमा भस्म धारण गरेका, तीन नेत्र भएका, नागको माला पहिरिएका, बाघको छाला लगाएका, श्मशानवासी भगवान् शिवले हामी सबैको कल्याण गरून् ।

ॐ नमस्ते रूद्रमन्यव उतोत इषवे नमः । बाहुभ्यामुत ते नमः ।
यजुर्वेद ।

( हे संहारकर्ता शिव ! हजुरको प्रलयकारी रिसलाई नमस्कार गर्छु; त्यसैगरी हजुरको लक्ष्यभेदी बाणलाई पनि नमस्कार गर्छु साथै हजुरका ती पराक्रमी हातलाई पनि नमस्कार गर्छु ।)