परिचय
वैशाख महिनाबाट आरम्भ हुने नयाँ वर्षको उमङ्ग नसकिँदै सनातन संस्कार र संस्कृतिलाई अनुसरण गर्ने नेपालीहरूको ढोका ढकढक्याउन आइपुग्ने अर्को महान् पर्व हो – अक्षय तृतीया । वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिमा यो चाड उल्लासमय वातावरणमा मनाउने प्रचलन छ । यो पर्व चान्द्रमानका आधारमा मनाइन्छ । प्रायः यो चाड वसन्त ऋतुको मध्यतिर अर्थात् वैशाख महिनाको पहिलो हप्तातिर पर्ने गर्छ ।
अर्थ
अक्षय शब्दको अर्थ हुन्छ अनश्वर । क्षय भनेको नाश हुनु वा घट्नु हो । निषेधात्मक अर्थमा अक्षय शब्दमा ‘अ’ आएको छ । तसर्थ अक्षय शब्दको व्युत्पत्तिगत अर्थ हुन्छ, नाश नहुने र नघट्ने । यस तिथिलाई अक्षय भनेर सम्बोधित गर्नुका पछाडिको कारण यस दिन गरिने जप–तप, पूजा–अर्चना, यज्ञ–यागादि, दान–व्रत अक्षय रहन्छन् भन्नु हो । तृतीया भनेको तेस्रो हो र शुक्ल पक्षको तेस्रो दिन पर्ने भएकाले यस तिथिलाई तृतीया भनिएको हो
त्रेतायुग–आरम्भ
सनातन मतअनुसार सृष्टिदेखि प्रलयसम्मको अवधिलाई चार खण्डमा बाँडेर हेर्ने गरिन्छ । हामी तिनै चार समयावधिलाई चार युग भन्ने गर्छौँ । सबैभन्दा पहिलो युगका रूपमा सत्ययुग, दोस्रो त्रेतायुग, तेस्रो द्वापरयुग र चौथो वा अन्तिम युगका रूपमा कलियुगलाई लिने गरिन्छ । त्रेतायुगको अवधि १२,९६,००० वर्ष मानिन्छ । यही युगमा भगवान् विष्णुको चर्चित र लोकप्रसिद्ध राम अवतार भएको थियो साथै यही युगको घटनालाई लिएर रामायणको रचना पनि भएको हो । यो युगको आरम्भ यही तृतीया तिथिदेखि भएकाले पनि यस पर्वको महिमा बढ्न गएको हो ।

परशुराम–जन्मोत्सव
यस सृष्टिका पालनकर्ता भगवान् विष्णुका दश अवतारमध्ये छैटौँ अवतार मानिने परशुराम ऋषिको जन्मोत्सवका रूपमा समेत अक्षय तृतीया मनाउने गरिन्छ । परशु (बन्चरो) हतियार लिएर हिँड्ने भएकाले ऋषिलाई परशुराम नामले चिनिएको प्रसङ्ग पुराणहरूमा वर्णित छ । परशुराम अवतारलाई अष्ट चिरञ्जीवीमध्ये एक मानिन्छ ।
नरनारायण र हयग्रीव अवतार
नरलाई अर्जुन र नारायणलाई कृष्ण वा विष्णुको समरूप मानेर व्यवहार गर्ने चलन छ । मूल रूपमा एउटै माने पनि पुराण तथा महाकाव्यहरूमा दुई र स्वतन्त्र व्यक्तिका रूपमा चर्चा गरिएको छ । महान् तपस्वीका रूपमा नरनारायण चर्चित छन् भने हयग्रीवलाई पनि विष्णुका चौबीस अवतारमध्ये एक मानिन्छ । यिनको पनि धर्तीमा यसै दिन अवतरण भएको विश्वास लिइन्छ । यस अर्थमा पनि अक्षय तृतीयाको गरिमा अझ बढ्न गएको छ ।
सम्बद्ध कथा
पुराणहरूका अनुसार प्राचीन कालमा युधिष्ठिरले कृष्णसँग अक्षय तृतीयाको महिमाका बारेमा जिज्ञासा राखेको पाइन्छ । कृष्णले उत्तर दिने क्रममा यस दिनलाई अत्यन्त पावन दिनका रूपमा व्याख्या गरी यस दिन गरिएको जप, तर्पण, यज्ञ, दान आदि अत्यन्त फलदायी हुन्छ भनेर पवित्र कार्य गर्न सुझाएको देखिन्छ ।
यस्तै अर्को कहानी पनि यस पर्वसँग सम्बद्ध देखिन्छ । परापूर्वकालमा एक जना विपन्न व्यक्ति थिए । आर्थिक विपन्नताका कारण उनी सधैँ चिन्तित अवस्थामा रहन्थे । त्यस परिस्थितिमा कसैले उनलाई अक्षय तृतीयाको व्रत लिन सल्लाह दियो । त्यसपछि उनले विधिवत् व्रत लिए । तिनै व्यक्ति अर्को जन्ममा कुशावतीका राजा भए ।
व्रत–विधि
अक्षय तृतीयाले धेरै हदसम्म भगवान् विष्णुसँग सम्बन्ध राख्ने भएकाले यस दिन विष्णुको विशेष आराधना गरिन्छ । विष्णु पीताम्बर (पहेँलो वस्त्र धारण गर्ने) भएकाले विष्णुको आराधनामा पहेँला वस्तुले विशेष अर्थ राख्छन् । सबैभन्दा पहिला बिहान उठेर सम्भव भएसम्म गङ्गास्नान गरिन्छ नत्र घरमै स्नान गरी पहेँलो वस्त्र धारण गरिन्छ । पूजामा गङ्गाजल, तुलसीजल र पहेँला पूmलहरू अर्पण गरिन्छ । दीप–प्रज्वलन गरी पहेँलो आसनमा बसी भगवान् विष्णुका स्तोत्रहरू पाठ गरिन्छ । यस दिन कतिपय ठाउँमा विष्णुसहस्रनाम तथा विष्णुचालीसा पाठ गरिन्छ । अन्तिममा विष्णुको आरती हुन्छ । अशक्त तथा दीनदुःखीहरूलाई भोजन गराउने एवम् दान आदि कर्म गर्नाले अझ राम्रो हुने विश्वास गरिन्छ ।
परम्परा
यस पर्वमा तीर्थस्थलहरूमा व्रतालुहरूको घुइँचो लाग्ने गर्छ । अधिकांश विष्णुमन्दिरहरूमा विष्णुका स्तोत्रहरूको पारायण हुने गर्छ । पूरा दिन उपवास राख्न नसक्नेहरू पनि बिहान पूजा–आराधना गरी भोजन गर्दछन् । यस दिन सुवर्ण आदि किनेर राख्दा त्यो कहिल्यै नहराउने, नाश नहुने तथा झन् ढुकुटी भरिँदै जाने विश्वास लिइन्छ । यस दिन पुण्यकामना गर्ने मानिसहरूले धेरै ठाउँमा बटुवाहरूका लागि सर्बत र सातुको व्यवस्था गर्दछन् । गर्मी चढ्दै जाने भएकाले सर्बत र सातुले शीतलता प्रदान गर्ने हुँदा यसको महत्व रहन गएको हो ।
उपसंहार
हिन्दूधर्मावलम्बीहरूको महान् चाड अक्षय तृतीया नेपाली जनमानसमा विशेष चाडका रूपमा स्थापित देखिन्छ । पालनकर्ता विष्णुका विभिन्न अवतार तथा त्रेतायुगको प्रारम्भ यसै दिन भएकाले विष्णुपूजनको यस दिन ठूलो महत्व छ । श्रद्धाका साथ नेपाललगायत धेरै देशहरूमा मनाइने यस चाडले सांस्कृतिक गरिमा बढाएको छ ।



