नेपालमा वैशाख शुक्ल पूर्णिमाको विशेष महत्त्व छ । यस दिनलाई नेपालीहरू बुद्धजयन्ती, साकेला वा उँभौली पर्वका साथै चण्डी पूर्णिमा आदि नामले चिन्ने गर्दछन् । उँभौली पर्व सनातन परम्पराका अनुयायी नेपालको किराँत समुदायले मनाउँदै आएको पर्व हो । उँभो शब्दमा औली प्रत्ययको संयोजन भएर उँभौली शब्दको निर्माण हुने गर्दछ । उँभो भनेको माथि हो त्यसैले उँभौली पर्वले पनि चराचुरुङ्गी, माछा, जनावर आदिले दिन लामो हुँदै जाँदा पहाड वा लेकतिर गर्मी चढ्दै जाने भएकाले मास्तिर बसाइँ सार्दै लाने प्राकृतिक परिवर्तनलाई लक्ष्य गरेको पाइन्छ । यस पर्वको नामकरणका सन्दर्भमा त्यही प्रकृतिमा देखापर्ने परिवर्तनलाई मुख्य रूपमा लिने गरिन्छ । यस समयमा विशेष गरेर क¥याङकुरुङ चराको हुल आकाशै ढाक्ने गरी उत्तरतिर अर्थात् माथितिर लाग्ने गरेको कुराको चर्चा गर्दै गाउँघरतिर अब काँक्राफर्सी रोपे राम्रोसँग फल्छ भन्ने विश्वास गरिन्छ । उँभौली पर्व अन्नबाली सप्रिएर राम्रो होस्, रोगव्याधिले कसैलाई दुःख नदेओस्, प्राकृतिक विपत्ति नपरोस् आदि कामना गरेर मनाउने गरिन्छ । यो पर्व किराँत समुदायका चाम्लिङ, बान्तवा, सुनुवार, राई, याक्खा, लिम्बूलगायतका मानिसले भव्यताका साथ मनाउँदै आएका छन् ।
उँभौली पर्वको अर्को प्रसिद्ध नाम साकेला पर्व हो । राई, चाम्लिङहरूले यसलाई साकेला पर्वका रूपमा मनाउँछन् । उनीहरू साकेला नाच नाचेर यो पर्व मनाउने गर्दछन् । यस नाचलाई सिली नाच पनि भन्ने चलन छ । लिम्बूहरूले यस पर्वलाई यासोक वा यक्वा तङनाम भनेर चिन्ने गर्दछन् । सुनुवारहरूले फोलस्यादर वा स्याँदरपिदार भन्दछन् भने बान्तवाहरूले साकेवा वा साकेन्वा भन्ने गर्दछन् । दुमीले तोसी वा तोसु, याक्खाहरूले युच्याङ र थामीहरूले भूम्या भन्ने गरेको पनि पाइन्छ । भौगोलिक हिसाबले ठाउँअनुसार र जातिअनुसार केही फरक ढङ्गले किराँत समुदायले यो चाड मनाउने गरेको पाइए पनि प्रकृतिको पूजा गर्दै प्राकृतिक परिवर्तनलाई स्वागत गर्ने कुरामा समानता नै पाइन्छ । यस पर्वको सुरुवात कृषियुगमा प्रवेश भएपछि भएको मानिन्छ भने किराँत समुदाय सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन पनि यही दिन थियो भनी आस्था प्रकट गर्दछ ।
यस पूर्णिमाको नाम चण्डी पूर्णिमा रहनुमा पौराणिक प्रसङ्ग पाइन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएकी हुन् र तिनै भगवतीले चण्ड नामको राक्षसको वध गरेकी हुन् । चण्डनामक असुरको विनाश गरेकी हुनाले उनको नाम चण्डिका र उक्त पूर्णिमाको नाम चण्डी पूर्णिमा रहन गएको मानिन्छ । किराँत समुदायले सुम्निमा अर्थात् पार्वतीको प्रकट भएको दिन मानेर मनाउनु अनि चण्डिका देवीको यसै दिन प्रकट भएको प्रसङ्ग भेटिनुले उँभौली पर्वको सम्बन्ध शक्तिकी देवीसँग रहेको स्पष्ट हुन्छ । अन्य धेरै थरी मानिसहरू भने यस दिनलाई कुलपूजा गरेर मनाउँछन् ।
किराँत समुदायको मुख्य बस्ती नेपालको पूर्वी पहाडी क्षेत्रमा देखिन्छ । दोलखा, रामेछाप, सिन्धुलीलगायतका जिल्लाहरू वल्लो किराँत, सुनकोशीदेखि अरूण नदीसम्मको भूभाग खोटाङ, भोजपुर, ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बुलगायतका जिल्ला माझ किराँत र अरूण नदीदेखि मेचीसम्मका भूभाग इलाम, पाँचथर, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभालगायतका जिल्लालाई पल्लो किराँत भनेर चिन्ने गरिन्थ्यो । माझ किराँतलाई खुम्बुवान र पल्लो किराँतलाई लिम्बुवान पनि भन्ने गरिन्छ । यही किराँत समुदाय वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डी पूर्णिमामा उँभौली पर्व मनाउने गर्दछ ।
उँभौली पर्वमा किराँतहरूको भूमिपूजा गर्ने परम्परा रहेको छ । आफूलाई प्रकृतिपूजक मान्ने किराँती समुदायका मानिसहरू यस पर्वमा पूर्वजहरूले अवलम्बन गर्दै आएको परम्परालाई पछ्याएर पितृहरूप्रति सम्मान गर्दै प्रकृतिको पूजा गर्ने गर्दछन् । यस पर्वका सम्बन्धमा केही मानिसहरू भिन्न मत राख्ने गर्दछन् । उनीहरू पहिला दिनगणनाको प्रारम्भ नहुँदा चरा आदिको बथानलाई मास्तिर जाँदै गरेको देखेपछि उँभौली पर्व मनाउन थालिएको र पछि समयगणना हुन थालेपछि मात्र वैशाख शुक्ल पूर्णिमाको दिनलाई उपयुक्त मानेर उक्त दिन उँभौली पर्व मनाउन थालिएको जिकिर गर्दछन् । जे भए पनि उँभौलीपछि बिउबिजन रोप्ने, बालीनाली लगाउने कार्य गर्दा फसल राम्रो हुने विश्वास किराँत समुदायमा रहेको देख्न सकिन्छ । उँभौली पर्वबाट उक्त याममा लगाउनुपर्ने बालीनालीका लागि उपयुक्त समय आएको विश्वास गरिन्छ ।
बाली लगाउँदा उँभौली पर्व मनाइन्छ भने बाली भित्र्याउँदा उँधौली पर्व मनाउने गरिन्छ । यस पर्वमा बाली सप्रियोस्, कुनै किसिमका विपत्तिले नसताऊन्, निरोगिता रहोस् आदि कामनाका साथ पूजा गर्ने गरिन्छ । पर्वको पहिलो दिन शुद्धीकरणको काम हुने गर्दछ । घरआँगन लिपपोत गर्ने, घर–घरमा तीन चुल्हो पूजा गर्नुका साथै पहिलादेखि नै स्थापना गरेको भूमेथानको पूजा गर्ने तथा नागनागिनीको पनि पूजा गर्ने काम यस दिन हुने गर्दछ । पूजाको काम पुजारीले गर्दछन् भने थान नभएको ठाउँमा कटुसको हाँगा गाडेर भूमि र नागनागिनीको पूजा गर्ने प्रचलन यस पर्वमा रहेको छ । पूजाका लागि पूmल, पाती, धूप, अक्षता, केराको पात, अदुवा, ढोल, झ्याम्टा, धनुकाँड आदि सामग्रीको व्यवस्था गरिन्छ र पूजा समाप्तिपश्चात् पूजास्थानमा नाचगान गरिन्छ । ठाउँअनुसार महिनाभर मनाइने यस पर्वमा पूर्णिमापछिका दिनमा अन्यत्र पनि नाचगान गर्ने प्रचलन रहेको छ ।
उभौली पर्वमा नाचिने नाचलाई साकेला नाच, सिली नाच वा सिली टिप्ने पनि भनिन्छ । नाचका क्रममा जातीय पहिचान झल्कने पहिरन लगाउने गरिन्छ । जसमा पुरुषहरू खाँडीको कपडा, कालो कोट, अल्लोको धागोले बनेका दौरासुरुवाल, टोपी, पटुका, बुकीफूल आदिले सजिएका हुन्छन् भने बिनायो, मुर्चुङ्गा, ढोल, झ्याम्टाको तालमा हातमा चौँरीको पुच्छर, सेउली आदि लिएर हल्लाउँदै नाच्ने गर्दछन् । महिलाहरू पनि चौबन्दी चोलो, फरिया, पटुका परम्परागत गहना आदिमा सजिएर त्यसैगरी नाच्ने गर्दछन् । पुरुषहरूले कम्मरमा खुकुरी भिर्ने गर्दछन् भने महिलाहरू हँसिया भिरेर नाच्दछन् ।
साकेला नाच्दा शरीरको हाउभाउ र अभिनयबाट जीवजन्तुको नक्कलका साथै खोरिया फाँडेको, गोडमेल गरेको, अन्नबाली लगाउनुका साथै काटेको, उठाएकोजस्ता कृषिकर्मलाई प्रस्तुत गर्ने गरिन्छ भने धागो कातेको, तानमा कपडा बुनेको, सिँगारपटार गरेको जस्ता अभिनय पनि यसमा गर्ने चलन छ । भूगोल र जातिअनुसारका नृत्यमा केही हदसम्म स्थानीय रङ पोतिने भएकाले एउटा भूगोलभन्दा अर्को भूगोलमा केही पृथक्ता भने भेट्न सकिन्छ । नृत्य समूहमा प्रस्तुत गरिन्छ । गोलाकार बसेर मानिसहरू नाच्ने गर्दछन् । चण्डी नाचलाई साकेलाकै रूपमा लिइए पनि यो नाच भने किराँत समुदायअन्तर्गत सुनुवार जातिमा बढी प्रचलित छ । चण्डीथानमा विशेष गरी नाचिने भएकाले यसलाई चण्डी नाच भनिएको हो । यो नाच भने सामान्यतया पूर्णिमादेखि पञ्चमीसम्म नाच्ने गरिन्छ ।
किराँत समुदायको विशेष पर्व हो उँभौली । माटोबाट नै जीवन प्राप्त गर्ने भएकाले भूमिपूजाले यस पर्वमा खास महत्त्व राख्दछ । प्रकृतिबाट मानिसले धेरै कुराको उपयोग गरेको हुन्छ भने यस पर्वमा प्रकृतिप्रति कृतज्ञता प्रकट गरिन्छ । पितृहरूप्रति उच्च सम्मान प्रकट गर्दै सामूहिक रूपमा यो पर्व मनाइन्छ । दाजुभाइ, दिदीबहिनी, आमाबुबा, इष्टमित्र आदि भेला भएर एकआपसमा हर्ष प्रकट गर्दै मनाइने यस चाडले आपसी सद्भावको विकास गर्नुका साथै प्रकृतिसँगको अन्योन्याश्रित सम्बन्धलाई पनि दर्साउने गर्दछ । अहिले किराँत समुदायको बस्ती विश्वभर नै फैलिसकेको छ र किराँती पहिचानले स्थान पाउँदै आएको छ । किराँत समुदायको मौलिक चिनारीलाई जीवन्त बनाउने यो पर्व विशेष पर्वका रूपमा आफ्नो स्थान बनाउन सफल छ ।



