सभापोखरी

सङ्खुवासभा नेपालको पूर्वी क्षेत्रमा पर्ने मनोरम जिल्ला हो । सिद्धकाली, शिवधारा, गुफापोखरीजस्ता प्राकृतिक तथा धार्मिक महत्त्वका स्थलहरूले सुसज्जित सङ्खुवासभाको प्रसिद्ध पोखरी हो, सभापोखरी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि चार दिन हिँडेर सभापोखरी पुग्न सकिन्छ । यही पोखरीको नामबाट उक्त क्षेत्रको गाउँपालिकाको नाम सभापोखरी रहन गएको बताइन्छ । तेह्रथुमबाट पनि पदयात्रा गरेर सभापोखरी पुग्न सकिन्छ । यो समुद्री सतहदेखि करिब एकचालिस सय मिटरको उचाइमा अवस्थित छ । जिल्लाको नाम सभा खोला र सङ्खुवा खोलाको मिश्रणबाट रहन गएको छ भने सभापोखरीका कारण खोलाको नाम सभा रहन गएको मान्दछन् स्थानीयहरू । अनुपम सौन्दर्यको धनी सभापोखरी प्राकृतिक दृष्टिले मात्र नभई धार्मिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ ।
सभापोखरीका सम्बन्धमा विभिन्न किंवदन्तीहरू प्रचलित छन् । गुफापोखरीमा देवगणले बास बस्ने गरेको र सभापोखरीमा सभा बस्ने गरेको किंवदन्ती एकातिर छ भने महर्षि वेदव्यासले महाभारत लेख्नका लागि सभापोखरीमा वेदी बनाई गौरीपुत्र विनायक अर्थात गणेशको सहयोग लिएको अर्को किंवदन्ती छ । यसका साथै परापूर्वकालमा असुरहरूको विनाशबाट धर्तीलाई जोगाउन देवताहरूले त्यहाँ आई सभा बसेको हुनाले त्यस पोखरीको नाम सभापोखरी रहन गएको हो भन्ने किंवदन्ती पनि प्रचलनमा देखिन्छ । केही स्थानीयहरू भने वेदव्यासले समस्त ऋषिगणलाई बोलाई सभापोखरीमा सभा राखेर पुराण सुनाएको, पुराण सकिएपछि ऋषिहरू स्वस्थानमा जानुपर्ने भएकाले व्यास आसनको कसले सुरक्षा गर्छ त भन्दा शिवस्वरूप पर्वतबाट जल आई त्यसको सुरक्षा गर्ने भनिएकाले त्यहाँ पोखरी भएको किंवदन्ती सुनाउने गर्दछन् । तसर्थ पोखरीको बिचमा एउटा सानो थुम्को छ र त्यसलाई व्यास आसन भनेर चिनाउने गरिन्छ ।
सभापोखरीमा नागपञ्चमीदेखि जनैपूर्णिमासम्म मेला लाग्ने गर्दछ । जनैपूर्णिमाका अर्को नाम ऋषितर्पणी पनि हो । व्रतबन्ध संस्कार भएका मानिसहरूले यस दिन पवित्र जलले ऋषिहरूलाई तर्पण दिएर नयाँ जनै धारण गर्ने परम्परा छ । पोखरीको कथा ऋषिहरूसँग सम्बद्ध भएकाले ती दिनहरूमध्ये पनि जनैपूर्णिमाको दिन उल्लेखनीय रूपमा मानिसहरूको घुइँचो लाग्ने गर्दछ । उक्त पोखरीमा स्नान गरी पूजा गर्नाले पुण्यार्जन हुनाका साथै निःसन्तानहरू सन्तानले युक्त हुन्छन् भन्ने मान्यता विकसित छ । उहिले महाभारतकालमा पनि पाण्डवहरू उक्त सभापोखरीमा स्नान गरी विराटनगर झरेका थिए भनी खाँदबारीका पाका मानिसहरू भन्ने गर्दछन् । यात्राका क्रममा प्राकृतिक सुन्दर दृश्यावलीको रसास्वादन गर्न पाइने लालसामा होस् या धार्मिक उद्देश्य परिपूर्तिका साथै कामना पूर्ण हुने आशामा होस् हाल आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरू पनि त्यहाँ आउने गरेको पाइन्छ । पोखरीमा स्नान गर्दा पापमोचन हुने विश्वासका साथ स्नानपश्चात् बत्ती बालेर पूजाअर्चना गर्ने मानिसहरू भेटी पनि समर्पण गर्दछन् ।
सभापोखरीसम्मको यात्रा तय गर्ने कठिन हुने भए पनि आजकल यात्रुहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिन्छ । यात्रामा भेडाको र चौँरीको बथानसँग साक्षात्कार हुनुका साथै अस्थायी प्रकृतिका भेडीगोठ र चौँरीगोठहरूले स्वागत गरिरहेका हुन्छन् । बाटामा पानीको उपलब्धता हेरी चम्का राखेर खाना बनाउनुपर्ने तथा बास बस्नका लागि पनि गोठहरू भेटिने भएकाले यात्रा केही कष्टकर नै हुने देखिन्छ तर पोखरी पुगेका यात्रुहरू प्रकृतिले ती कष्ट बिर्साइदिने कुरा बताउँछन् । आस्थाको बत्ती बालेर समर्पणका साथ यात्रामा निस्कनेहरू सजिलै गन्तव्यमा पुग्ने गर्दछन् नै । हाल भने पोखरीवरपर केही पाटीको निर्माण भएको जनाइन्छ ।
सभापोखरी धार्मिक पर्यटनका रूपमा समेत प्रसिद्ध हुँदै गएकाले त्यस क्षेत्रको विकास, संरक्षण र संवर्धनमा प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । पर्यटनमा गएका मानिसहरूले साथ लगेका वस्तुहरू यत्रतत्र फाल्नाले पोखरी परिसर प्रदूषित बन्दै गइरहेको छ । उनीहरूले प्रयोग गरेका प्लास्टिक, कपडा तथा अन्य सामग्रीहरूका कारण पोखरीवरपरको क्षेत्रमा प्रदूषण फैलन पुगेको हो । पोखरीमा चढाइएका भेटी, धातुका सामग्री आदिको सङ्कलनमा समेत चासो दिनुपर्ने बेला आइसकेको छ । धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको पोखरीको व्यवस्थापनका लागि खासै समिति बन्ने नगरेको, बने पनि समिति तदारुकताका साथ क्रियाशील नभएको र स्थानीय निकाय पनि उदासीन रहेको हो कि जस्तो भान परिसरको अवस्थाले पर्न जानुलाई स्वाभाविक नै मान्नुपर्ने हुन्छ । उक्त क्षेत्र बहुमूल्य जडीबुटीको स्रोत हुनाका साथै लोपोन्मुख वन्यजन्तुको वासस्थान पनि हो भन्ने कुरालाई स्मरण गर्दै उचित संरक्षण र विकासको खाँचो रहेको अनुभव त्यहाँ पुग्ने जोकोहीलाई पनि हुने गर्दछ । तत्काल शौचालय र फोहोर व्यवस्थापनमा सक्रियता देखाई सभापोखरीको महिमालाई सुरक्षित गर्नुपर्ने दायित्व पूरा गर्दा नै स्थानीय पहिचान कायम हुन सक्छ ।