करारविन्देन पदारविन्दम्
मुखारविन्दे विनिवेशयन्तम् ।
वटस्य पत्रस्य पुटे शयानम्
बालं मुकुन्दं मनसा स्मरामि ।।
(करकमलले चरणकमललाई मुखकमलमा राख्दै गरेका बरको पातमा सुतेका बालकृष्णलाई मनबाट नै सम्झन्छु ।)
पाटन
नेपालको राजधानीमा रहेका तीन सहरमध्ये काठमाडौँ उपत्यकाको दक्षिणतिर रहेको एक सुन्दर सहर हो – पाटन । यो वाग्मती प्रदेशमा पर्दछ । पाटन शब्दको अर्थ भने अग्ला–अग्ला पहाडबिचका उचाइमा रहेका सम र अर्धसम मैदान हो तर संस्कृतको पत्तन शब्दको अपभ्रंश रूपलाई पाटन मानेर व्यवहार गर्ने प्रचलन छ । यसलाई ललितपत्तन वा ललितपुर पनि भनिन्छ । ललित भनेको सुन्दर र पत्तन वा पुर भनेको सहर हो । वास्तवमा नै नेपालका सुन्दर सहरहरूमध्ये एउटा अनुपम सहर पाटन हो भने यहाँको कलाले विश्वलाई नै आकर्षित गर्दछ । पाटनमा अवस्थित कला, संस्कृति र आस्थाको अनुपम उदाहरण कृष्णमन्दिर हो । यो क्षेत्र युनेस्कोको विश्वसम्पदा सूचीमा समाविष्ट छ ।
कृष्ण
‘कृष्णं वन्दे जगद्गुरुम्’ (जगत्का गुरु कृष्णको वन्दना गर्दछु ।)
विष्णुको दशावतारमध्ये जगद्गुरुका रूपमा मानिएको आठौँ अवतार कृष्णको अवतार हो । भागवतलगायतका पुराणदेखि विश्वकै ठुलो ग्रन्थ महाभारतमा कृष्णको विशेष चर्चा छ । युगगणनामा तेस्रो क्रममा पर्ने द्वापरयुगमा कृष्णको जन्म भएको प्रसङ्गको उल्लेख पुराणमा पाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा वसुदेव र देवकीको आठौँ सन्तानका रूपमा मथुरामा जन्मिएका कृष्णको लालनपालन भने नन्द र यशोदाले गोकुलमा गरेका थिए ।
वसुदेवका छोरा भएकाले वासुदेव, कालो वर्णका भएकाले कृष्ण, बादलझैँ कालो वर्ण भएकाले घनश्याम र योगीका रूपमा योगेश्वर नाम उनका प्रसिद्ध छन् । पूतना, बकासुर, कंस, शिशुपाल, केशि, अरिष्ट आदि राक्षसहरूको वध गरी मुक्ति दिलाएका कृष्णलाई महाभारतमा पाण्डवलाई जिताउने श्रेय पनि दिइन्छ । महाभारतको युद्ध हुनुभन्दा अगाडि उनले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवद्गीताका रूपमा विश्वप्रसिद्ध छ । राधा, रुक्मिणी, सत्यभामाका प्रिय कृष्णको यदुवंशको समाप्तिसँगै जरस नामको सिकारीको बाणबाट वैकुण्ठलोक गमन हुन्छ ।
कृष्णमन्दिर
मल्लकाललाई कलाका हिसाबले स्वर्णयुग मानिन्छ । पाँच सय वर्षभन्दा लामो मल्लकालमा काठमाडौँ उपत्यकामा निर्माण गरिएका मठमन्दिर, दरबार आदिले नेपाली कलालाई विश्वसामु चिनाएका छन् । मल्लकालीन धरोहरहरूमा नेपाली मौलिक काष्ठकला, मूर्तिकला, चित्रकला, प्रस्तरकला, वास्तुकलाको बेजोड सौन्दर्य देख्न पाइन्छ । पाटन दरबारक्षेत्रमा रहेको कृष्णमन्दिर प्रस्तरकला तथा शिखरशैलीको अद्वितीय नमुना हो ।
सन् १६३७ मा राजा सिद्धिनरसिंह मल्लले कृष्णमन्दिर बनाउन लगाएका थिए । मथुरामा रहेको कृष्णमन्दिरकै अनुकरण गरेर यो मन्दिर बनाउन लगाएको बुझिन्छ । सपनामा दर्शन प्राप्त भएकाले राजाले कृष्णमन्दिर बनाउन लगाएका हुन् भन्ने किंवदन्ती छ । भनिन्छ, त्यो कृष्णमन्दिर एउटै पत्थरबाट बनाइएको हो । यस मन्दिरको विशेषता भनेको यसमा काठ, इँट आदिको प्रयोग गरिएको छैन । मन्दिर पूर्ण रूपमा ढुङ्गाले बनेको छ । काठबिनाको घरको कल्पना असम्भव मानिन्छ त्यसैले यो कृष्णमन्दिर असम्भवभित्र गरिएको सम्भाव्यताको खोजी हो ।
मन्दिरको पहिलो तलामा कृष्णको मूर्तिसँगै दुई छेउमा सत्यभामा र रुक्मिणीका मूर्तिहरू छन् । भुइँतलाका स्तम्भहरूमा रामायणकालीन आकर्षक दृश्यहरू कुँदिएका छन् भने पहिलो तलाका स्तम्भहरूमा महाभारतकालीन दृश्यहरूको प्रतिबिम्बन पाइन्छ । यसका साथै दोस्रो तलामा अवलोकितेश्वरको मूर्ति बनाइएको छ । यस मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको छ । शिखर भनेको अग्लो चुचुरो हो । यसमा जम्मा २१ शिखरहरू छन् ।
सामान्यतया हामी मन्दिर, भवन, दरबार आदि बनाउने कलालाई वास्तुकलाका दृष्टिले हेर्ने गर्छौँ तर यो मन्दिरलाई हेरेर कुनै पनि कलाकार सायद वास्तुकलाभित्र मूर्तिकलालाई राख्ने कि मूर्तिकलाभित्र वास्तुकलालाई राख्ने भनेर दोधारमा पर्छ होला । यति मात्र नभई उसले काष्ठकलालाई मूर्तिकलामा रूपान्तरित गर्दछ भने चित्रकलालाई स्तम्भहरूमा कुँदिएको पाउँछ । कल्पना गर्दा पनि अचम्म लाग्छ कि एकपटकको छिनोले अलिकति बेसी गहिराइ लिएको भए, अलिकति पत्थर चर्काइदिएको भए, अलिकति बढी चोइट्याइदिएको भए यो कृष्णमन्दिरको अनुपम कला हाम्रो अगाडि यसरी नै मुस्कुराउन पाउँथ्यो र !
कृष्णमन्दिरमा बनोटका दृष्टिले कलाको जादुगरी देख्न पाइन्छ तर यो यतिमा मात्र सीमित छैन । भावनाको दृष्टिले यो करोडौँ हिन्दूहरूको आस्थाको केन्द्र हो । पुराणहरूमा वर्णित लीलाको कल्पना गर्दै भक्तिको दियो बालेर उनको आरती गर्ने नेपाली समाज हरेक बिहान मन्दिरको अगाडि लामबद्ध हुने गर्छ, लोभलालचलाई जितेर दानका लागि हात अगाडि बढाउँछ, शान्ति र मङ्गलको कामना गर्दै सौहार्द र सदाशयता प्रकट गर्छ तथा सत्कार्य गर्ने प्रण गर्दै दैनिक व्यवहार सम्पन्न गर्न सरिक हुन्छ ।
ऊँचनीचको सङ्कीर्णतालाई मन्दिरको प्राङ्गण अगाडि नै त्यागेर भक्ति र श्रद्धाको पुष्प अर्पण गर्न पुगेको जनसमुदायलाई भावनात्मक रूपमा एक बनाउने काम पनि मन्दिरले गरिरहेको हुन्छ । यो एकताको केन्द्र हो, सत्यको खोजीमा लाग्न अभिप्रेरित गर्ने उत्प्रेरक हो, धर्मको बाटो देखाउने पथप्रदर्शक हो, वैराग्य र भक्तिको तालमा नचाउने वाद्यवादक हो साथै आन्तरिक सौन्दर्यको अभिवृद्धि गरी सदुपदेशको सुवास छर्ने अध्यात्मपुष्प हो । मन्दिरलाई भौतिक संरचनाका रूपमा मात्र नहेरी आत्मिक उन्नतिको संवाहकका रूपमा पनि हेर्नु जरुरी हुन्छ ।
उपसंहार
पाटनमा अवस्थित कृष्णमन्दिरको परिसर कृष्णको जन्मतिथि कृष्णाष्टमीमा भक्तहरूको घुइँचोले खचाखच भरिएको हुन्छ । ब्रह्ममुहूर्तमा नै उठेर स्नान गरी टाढा–टाढाबाट मन्दिरको दर्शन गर्न श्रद्धालुहरू आउने गर्दछन् । यस दिन दर्शनका लागि भनेर विशेष व्यवस्था गरिएको हुन्छ । कतिपय भक्तजनहरू व्रत बस्ने गर्दछन् । दर्शनार्थीहरूको लामो लाइन हुन्छ । कृष्णको जन्म मध्य रातमा भएकाले रातको १२ बजे पूजा गरी प्रसाद लिने चलन छ ।
२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेको थियो भने अहिले यो पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । यो आस्था, भक्ति र कलाको त्रिवेणी हो । यस किसिमको अविश्वसनीय अद्भुत कलाकारितालाई त्यहाँ पुग्ने मानिसले मात्र विश्वास गर्न सक्छ । तसर्थ, यस्ता ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण, जीर्णोद्धार र व्यवस्थापनमा सरकारलगायत सरोकारवाला सबैले चासो दिनुपर्छ ।
राधे ! राधे !



