सिद्धकाली पीठ

भूगोल
नेपालको एकीकरणपूर्व पल्लो किरात राज्यमा पर्ने सङ्खुवासभा मनोरम जिल्ला हो । पूर्वमा ताप्लेजुङ र तेह्रथुम, दक्षिणमा तेह्रथुम र धनकुटा, पश्चिममा सोलुखुम्बु र भोजपुर अनि उत्तरमा चिनसम्म सिमाना फैलिएको यो जिल्ला मकालु हिमाल तथा विश्वको नै सबैभन्दा होचो उपत्यका ‘अरूण’ले सुसज्जित छ । सङ्खुवा र सभा नदीको संयोजनबाट नाम रहन गएको सङ्खुवासभा जिल्लाको सुन्दर नगरी हो, चैनपुर । करुवालाई आफ्नो पहिचान बनाएको र एकीकरणपश्चात् पूर्व ६ नं. भनेर चिनिएको चैनपुरको किरातकालीन नाम गोलाबजार रहन गएको बुझिन्छ । चन्द्रपुरबाट अपभ्रंश भई चैनपुर नाम रहन गएको मानिने यस नगरीको प्रसिद्ध मन्दिर सिद्धकाली पीठ पौराणिक तथा धार्मिक महत्त्वले युक्त छ । सदरमुकाम खाँदबारीबाट ५० किमिको दूरीमा रहेको सिद्धकाली मन्दिर दुर्गम भूगोलमा अवस्थित छ तर पनि ट्याक्सी, टेम्पोजस्ता सवारी साधनले श्रद्धालुहरूलाई त्यहाँ पुग्न अलि सजिलो भएको स्थानीय बताउँछन् ।
महत्त्व
सिद्धकाली मन्दिर शक्तिपीठका रूपमा परिचित छ । महादेवले यज्ञमा डढेको सतीदेवीको शरीर बोकेर हिँड्दा अङ्गहरू ठाउँ–ठाउँमा पतन भएको चर्चा पुराणहरूमा पाइन्छ । यहाँ पनि सतीदेवीको दायाँ आँखा पतन भएको मानिने हुनाले यस शक्तिपीठको महत्त्व अझ बढ्न गएको स्पष्ट हुन्छ । प्राचीन कालदेखि नै मनको कामना पुरा गर्ने देवीका रूपमा सिद्धकालीलाई स्थानीयहरू लिने गर्दछन् । अनिष्टका साथै रोगव्याधि पनि टर्ने विश्वासका साथ विभिन्न कामना लिएर भक्तजनहरू यहाँ आई पूजा गर्ने गर्दछन् । धार्मिक पर्यटन हुनाका साथै वनभोज आदिका लागि पनि अहिले यस क्षेत्रमा मानिसहरूको घुइँचो लाग्ने गरेको छ ।
मेला–उत्सव
विजयादशमी नेपालीहरूको महान् चाड हो । यतिखेर यस मन्दिरमा पनि दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ । केही वर्षअगाडिसम्म खासै प्रचारमा नरहेको यस मन्दिरमा आजकल भने टाढाटाढाबाट श्रद्धालुहरू आउने गरेको र यसको व्यवस्थापनका लागि नगरपालिकाले पहल गर्दै आएको बुझिन्छ । यस मन्दिरपरिसरलाई यतिखेर सजाइएको हुन्छ भने व्यवस्थापनमा विशेष सतर्कता अपनाइएको हुन्छ । चैते दसैँमा पनि मन्दिर परिसर भव्य हुन्छ । यसका साथै बालाचतुर्दशीमा पनि मेलाको आयोजना हुने गर्छ । सनातन धर्मावलम्बीहरू विशेष गरेर पर्वहरूमा, जन्मोत्सवका अवसरमा तथा शुभ कार्यको थालनीमा मन्दिरमा आई पूजाअर्चना गर्दछन् ।
उपसंहार
साधकहरू शक्तिपीठमा गई साधना गर्दछन् र अष्टसिद्ध प्राप्त गर्दछन् । सिद्धकाली पीठ साधकहरूको मात्र गन्तव्य नभई, देवीप्रति आस्था प्रकट गर्ने हरेक श्रद्धावनत व्यक्तिहरूको आराध्य स्थल हो । अहिले आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरू पनि भित्रिन थालेको यस मन्दिरको व्यवस्थापनमा अझ ध्यान दिनुपर्ने देखिन्छ । यसको प्रचारप्रसारबाट भक्तजनहरूले लाभ लिन सक्छन् भने धार्मिक पर्यटनमा वृद्धि हुन गई स्थानीय सरकारका साथै देशले आर्थिक लाभ पनि उठाउन सक्छ । मन्दिर आस्थाको केन्द्र हो, सद्भावको स्रोत हो, भक्ति र समर्पणको अभ्यास हो । यस पुरातात्त्विक स्थलको संरक्षण र संवर्धन गर्नु हामी सबैको कर्तव्य हो ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखम् ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।
(जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नामले जानिने देवी ! तिमीलाई नमस्कार छ । मलाई सौभाग्य तथा आरोग्य देऊ, परम सुख देऊ, रूप देऊ, जय देऊ, यश देऊ र कामक्रोध आदि शत्रुहरूको नाश गर ।