स्वस्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्रीडास्थल मानिएको नेपालको आँगन देवदेवीको अनेकौँ कथा र गाथाले सजिएको छ । जसमध्ये अभीष्टसिद्धिका लागि नेपालीहरू बर्सेनी नाम लिने गर्दछन्, स्वस्थानी माताको र स्वस्थानी माताको व्रतकथासँग जोडिएको नदी हो, शाली नदी । माघ महिनामा काठमाडौँको उत्तरपूर्वको साँखु भएर बग्ने शाली नदीमा स्नान गर्न एवं स्वस्थानी माता र माधवनारायणको मन्दिरमा पूजाअर्चना गर्न व्रतालुहरूको ठुलो घुइँचो लाग्ने गर्दछ ।
‘स्वस्थानी’मा ‘स्व’ र ‘स्थान’ दुई शब्दको मेल भएको छ । ‘स्व’ भनेको ‘आफू’ र ‘स्थान’ भनेको ‘ठाउँ’ हो । तसर्थ ‘स्वस्थानी’ शब्दले ‘आफ्नो ठाउँकी’ भन्ने अर्थ प्रकाशन गर्दछ । आफ्नो ठाउँकी देवी भएकाले स्वस्थानी देवी वा माताको रूपमा प्रसिद्धि हुन गएको बुझिन्छ । स्वस्थानी देवीको स्वरूपबारे एक हातमा नीलकमल, अर्कोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा भएको भनी चर्चा भएको पाइन्छ साथै स्वस्थानी माताको व्रतकथाका सम्बन्धमा करिब पाँच सय वर्षको इतिहास भेटिन्छ । स्वस्थानीसम्बन्धी विभिन्न अध्ययन तथा अनुसन्धान भएका छन् । नेपाली मात्र नभई केही विदेशीले पनि यसको अन्वेषण गरेका छन् । जसमध्ये अमेरिकी शोधकर्ता जेसिका भेन्तिन बिर्केनहोल्जको किताब ‘रिसाइटिङ द गडेस ः न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल’ मा विशेष खोज भएको देखिन्छ । उनले उल्लेख गरेअनुसार काठमाडौँको तानाबहालको स्वस्थानी माताको मूर्ति सर्वप्राचीन हो । सन् १६७४ मा तत्कालीन राजा प्रताप मल्लको समयमा उक्त मूर्तिको प्रतिस्थापन गरिएको कुरा शिलालेखमा देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको स्वस्थानी देवीको उक्त मूर्तिसँगै महादेवको पनि मूर्ति छ । जसमा स्वस्थानी देवीको बायाँ हातमा ढाल र दायाँ हातमा खड्ग छ भने महादेवको दायाँ हातमा अक्षयमाला अनि बायाँ हातमा ध्वजायुक्त त्रिशूल छ । यहाँ रहेको स्वस्थानी देवीको मूर्तिलाई कतिपयले पार्वती वा उमा भन्ने गरेको पाइन्छ । आखिर संस्कृत भाषामा पार्वती र उमालाई पर्यायवाची शब्दका रूपमा व्यवहार गरिन्छ । साँखुमा भने स्वस्थानी देवी मन्दिरको निर्माण भएको करिब दुई दशक भएको छ । सुरुमा आठ पानामा प्राप्त भएको स्वस्थानी व्रतकथा अहिले ३१ अध्यायका साथ करिब ४०० पृष्ठको संरचनामा आइपुगेको यसका अनुसन्धाताहरू बताउने गर्छन् ।
माघदेखि सूर्य उत्तरायण हुने गर्दछन् । यसै पनि माघको पहिलो दिन अर्थात् मकरसङ्क्रान्तिमा नदी, तलाउ, जलाशय आदिमा गएर स्नान गर्नाले पुण्य मिल्ने विश्वास गरिन्छ । त्यसमा पनि स्वस्थानी माताको व्रतकथामा बताएअनुसार माघ महिनाभरि माताको कथा सुनी व्रत बस्नाले मनको कामना पूर्ण हुनाका साथै परिवारको समुन्नति पनि हुने गर्दछ । यही आस्थाका साथ लाखौँको सङ्ख्यामा भक्तहरू शाली नदी पुग्ने गर्दछन् । स्वस्थानी माताको व्रत पौष शुक्लपूर्णिमामा सुरु भएर माघ शुक्लपूर्णिमामा सकिन्छ । व्रत सुरु हुनुभन्दा एक दिनअगाडि अर्थात् पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गर्नुका साथै शुद्ध वस्त्र धारण गरिन्छ भने व्रत समाप्तिपश्चात् स्वस्थानी माताको टीकाप्रसाद आदि सेलाउने काम गरिन्छ ।
स्वस्थानी व्रतकथामा विभिन्न घटनाप्रसङ्गको उल्लेख भएको पाइन्छ । महादेवलाई पति पाउनका लागि हिमालय पर्वतकी छोरी पार्वतीले विष्णुको सहयोगमा स्वस्थानी व्रत गरेकी थिइन् भनेर स्वस्थानी कथामा भनिएको छ । नागनागिनीको वियोग भएको अवस्थामा स्वस्थानीको व्रतले नै पुनर्मिलन भएको प्रसङ्गको त्यसमा उल्लेख छ । सप्तर्षिको उपदेशअनुसार गोमाले स्वस्थानी माताको व्रत गर्दा छोराको वियोगबाट छुट्कारा मिल्न गएको तथा छोरा नवराजले लावण्य देशको सिंहासन प्राप्त गरेको सन्दर्भसमेत त्यसमा सङ्कलित छ । लावण्य देशका रूपमा हालको साँखुलाई लिने गरिन्छ । त्यही देशमा लिएर आउनका लागि नवराजले चन्द्रावतीलाई लिन पठाएको, डोलेहरूले लिएर आउँदै गर्दा वनमा स्वस्थानीको व्रत बसेका मानिसले दिएका प्रसाद चन्द्रावतीलाई दिएका, चन्द्रावतीले त्यो प्रसादको तिरस्कार गरेकाले शाली नदीमा पुगेपछि बाढी आएको र चन्द्रावतीले दुःख पाएको कुरा स्वस्थानी व्रतकथामा समेटिएको छ । कथामै शाली नदीबारे चर्चा भएकाले र पछि चन्द्रावतीले त्यहीँ किनारमा बसी स्वस्थानी देवीको व्रत बसेर त्यस दुःखद अवस्थाबाट उन्मुक्ति पाएको बताइएकाले माघ महिनामा शाली नदीमा पुगेर स्नान गरी स्वस्थानी माताको पूजाअर्चना गर्नुको विशेष महत्त्व रहेको देख्न सकिन्छ ।
अध्यायको अन्तिममा स्वस्थानी व्रतकथामा ‘इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमाराऽगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्याः व्रतकथायाम्’ भनेर उल्लेख गरिएको पाइन्छ । यसको अर्थ ‘स्कन्दपुराण, केदारखण्ड, माघमाहात्म्यमा कुमार र अगस्त्यको संवादमा स्वस्थानी देवीको व्रतकथामा’ भन्ने हुन्छ । यसपछि त्यस अध्यायमा के भयो त्यसको सङ्केत गरिएको हुन्छ । यसबाट स्वस्थानी देवीको चर्चा स्कन्दपुराणमा विशेष रूपमा भएको बुझ्न सकिन्छ । व्रतअवधिभर अर्थात् माघ महिनाभरि साँझमा पुष्पाञ्जलिका साथ नेपालीहरू घरघरमा व्रतकथा सुन्ने गर्दछन् । व्रतकथाअनुसार एक महिनासम्म व्रत बस्नेले नित्य पूजा गरी माघको शुक्लपूर्णिमामा १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षतालगायत विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, सिन्दूर, भेटी, कपडा आदि चढाउनुपर्छ । त्यसबाट कामना पूरा हुने विश्वास गरिन्छ । चढाइएका प्रसादबाट आठ–आठ ओटा निकालेर पतिलाई, पति नभए छोरा, छोरा नभए मितछोरा र मितछोरा पनि नभएमा नजिकको पवित्र नदीमा लगेर बगाउनुपर्ने विधिमा निर्देश गरिएको छ साथै त्यसपछि व्रत समाप्त हुने मानिएको छ ।
राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय आदिमा स्वस्थानीका पाण्डुलिपिहरू भेटिन्छन् । यसका साथै केही घरहरूमा पनि यसका पाण्डुलिपिहरू पाइएको अनुसन्धानबाट खुलेको छ । स्वस्थानी देवी मनको कामना पूर्ण गरिदिने देवीका रूपमा जनमानसमा स्थापित छिन् । स्वस्थानी व्रतकथामा लावण्यदेश, जसलाई अहिले शङ्खरापुर नगरपालिकास्थित साँखु भन्ने गरिन्छ र शाली नदीको उल्लेख भएकाले हरेक वर्ष माघ महिनामा यस क्षेत्रमा मेला लाग्ने गर्दछ । भक्तहरूको सहजताका लागि नगरपालिकालगायत समितिले सक्रियतापूर्वक व्यवस्थापनमा ध्यान दिँदै आएको छ । काठमाडौँको चक्रपथबाट करिब १२ किमिमा पर्ने यो क्षेत्र प्राकृतिक दृष्टिकोणले अत्यन्त मनमोहक छ । खास गरी महिलाले यस अवधिभर व्रत लिने गर्दछन् । यस अवधिमा दानको पनि विशेष महिमा रहेको छ । कतिपयले माधवनारायण व्रतका रूपमा समेत चर्चा गर्ने स्वस्थानी व्रतबाट सबैको कामना पूर्ण होओस् ।