शुक्रराज शास्त्री

‘मरे पुगिन्छ सहिदको लोकमा, जिते मुलुक सुधार गरौँला ।
लौ जिन्दगीको बाजी लगाऔँ, के बाँच्नु छिःछिः गुलाम बनेर ।’
फल र पात पशुपन्छीको आहारका लागि, काठ झ्यालढोका निर्माण एवं इन्धनका लागि, जरा भूस्खलन रोक्नका लागि, अक्सिजन प्राणीका लागि तथा हरियाली वातावरणका लागि दिने वृक्षवनस्पति उदाहरणीय छन्, जसले आफ्नो हरेक कुरा अरूका लागि सुम्पन्छन् । स्वार्थको जालोमा रुमल्लिरहने मानिस भने जन्मपछिको मृत्यु निश्चित हुँदाहँुदै पनि लोभ, मोह आदिको वशमा परेर निरर्थक जीवन गुजारिरहेको हुन्छ । शताब्दीमा एकाध मानिस मात्र त्यस्ता जन्मन्छन् जो सबैका लागि सोच्छन्, जो सबैका लागि बाँच्छन् र जो सबैका लागि मर्छन् । त्यस्ता व्यक्तित्वहरूमध्ये एक हुन्, शुक्रराज शास्त्री । दासत्व स्विकार्नुभन्दा मृत्युलाई अङ्गीकार गर्नु श्रेयस्कर मान्ने शास्त्री राणाविरोधी अभियानमा लागेका चार सहिदमध्ये पहिलो सहिद हुन् । उनले बालेको चेतनाको चिराग यसरी सल्कियो कि आन्दोलनको ज्वाला दन्केर आखिर राणाहरूले नेपाली जनताका सामु घुँडा टेक्नैप¥यो ।
शुक्रराज शास्त्रीको खास थर जोशी हो । अध्ययनका क्रममा शास्त्री अर्थात् स्नातक तह उत्तीर्ण गरेका हुनाले उनी शास्त्रीका रूपमा परिचित हुँदै गए । वि.सं. १९५० श्रावणपूर्णिमामा बनारसमा उनको जन्म भएको थियो । पिता माधवराज जोशी र माता रत्नमाया कुमारीका सन्तानका रूपमा उनी जन्मिएका थिए । उनको प्राथमिक शिक्षा दरबार हाइस्कुलमा प्रारम्भ भएको थियो । उनका पिता माधवराज जोशी तीर्थयात्राका क्रममा आर्यसमाजका संस्थापक दयानन्द सरस्वतीको सम्पर्कमा पुगेका थिए । त्यसपछि उनका विचारबाट प्रभावित भएर माधवराजले नेपालमा आई आर्य समाजको स्थापना गरे । तत्कालीन समाज वैदिक ज्ञानको योग्यता सबै जातिमा नहुने कुविचारले ग्रसित थियो तर त्यसका विरुद्ध माधवराज लागे । केही पण्डित भनाउँदाहरूले उनको त्यो कदमको विरोध गरे पनि राज्यका तहबाट खासै विरोध आएन । ‘वेद सत्य विद्याका पुस्तक हुन्, वेद पढ्नु र पढाउनु, सुन्नु र सुनाउनु आर्यहरूको धर्म हो’ माधवराजले आफ्नो विचार प्रकट गरेका थिए ।
चन्द्रशमशेरको शासनकालमा भने माधवराजका कारण जनता सचेत हुँदै जाँदा राणाशासन खतरामा पर्न सक्ने आशङ्का गरी उनलाई जेल हालियो तर जेलबाट भागेर उनी परिवार लिई भारत पुगे । उनलाई जेल चलान गरेपछि छोराहरू अमरराज र शुक्रराजलाई दरबार स्कुलबाट निकाला गरियो । पानी नचल्ने बनाइयो । त्यसपछि आमाले वीरगन्ज लगेर ज्यालामजदुरी गर्दै गुजारा गर्न लागिन् । अमरराज र शुक्रराजले सरकारी कार्यालयमा लेखापढीको काम तथा सरसफाइको काम गरेर घर चलाउन सघाउँथे । राणाहरूले कैद सजाय पूरा गरेपछि पनि नछोड्ने बुझी माधवराज भागेर पहिला वीरगन्ज पुगेका थिए र त्यहाँबाट परिवार लिएर भारततर्फ लागेका थिए । उनले आफ्ना छोराहरूलाई भारतको उत्तरप्रदेशस्थित गुरुकुलमा राखिदिए । शुक्रराजले गुरुकुलबाट विदालङ्कार तथा पन्जाबबाट वेदान्त दर्शनमा शास्त्री र अङ्ग्रेजीमा बिए अध्ययन गरेका थिए । पिताको क्रान्तिकारी सोचको प्रभाव सानैदेखि शुक्रराजमा परेको थियो । नेवारसमुदायमा जन्म भए पनि गीता तथा उपनिषद्का उनी प्रखर ज्ञाता थिए ।
शुक्रराज शास्त्री नेपाल पस्नुअगाडि भारतको इलाहाबादमा रहेको दयानन्द आर्य समाजी विद्यालयमा प्रधानाध्यापकका रूपमा काम गरेका थिए । उनी नेपाली, नेपालभाषा, संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषाका ज्ञाता थिए । उनले समाज सुधारका सम्बन्धमा बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयसँग पनि काम गरेका थिए । उनका ‘ब्रह्मसूत्र शङ्करभाष्य’ (पूर्वार्ध तथा उत्तरार्ध), ‘स्वर्गको दरबार’, ‘नेपाल भाषा व्याकरण’, ‘नेपाल भाषा रिडर’, ‘संस्कृत प्रदीपः’ आदि ग्रन्थहरू प्रकाशित छन् । उनले नेपाली, नेपालभाषा, संस्कृत तथा हिन्दी भाषाका पुस्तकहरू लेखेका छन् । आर्यसमाजका अनुयायी तथा वैदिक धर्मका ज्ञाता भएका कारण नेपाल आएर उनले पिताजस्तै जातपात एवं छुवाछुतका विरुद्ध आवाज उठाउन थाले । यसका साथै अशिक्षा, अन्धविश्वास, बालविवाहजस्ता कुसंस्कारको विरोध गर्दै महिला उत्थानमा पनि जोड दिए । भारतका गान्धी, नेहरू र सुभाषचन्द्र बोसजस्ता व्यक्तिहरूसँग भेटेका शास्त्रीको यो कदम तत्कालीन शासक एवं पुरोहितहरूलाई पच्न सकेन । परिणामतः उनी राणाशासकका आँखाको कसिङ्गर बन्न पुगे ।
वि.सं. १९९४ सालमा शुक्रराजले आफू अध्यक्ष भई नागरिक अधिकार समितिको गठन गरे । गीता एवं उपनिषद्को प्रवचनका क्रममा धर्म र न्यायको पक्षमा वकालत गर्ने शास्त्रीले वि.सं. १९९५ मार्ग १३ गते इन्द्रचोकमा भेला भएको जनसभालाई ‘मरे पुगिन्छ …… गुलाम बनेर’ भन्दै सम्बोधन गरेका थिए । आमसभालाई खुलेआम उठेर सम्बोधन गरेको, नेवार भएर गीता, वेद र उपनिषद्को कुरा गरेको, भड्काएकोजस्ता आरोप लगाई उनलाई समातेर ३ वर्षको जेलसजाय सुनाइएको थियो । उनी जेल पर्दा उनकी पत्नी मेनकादेवी गर्भवती थिइन् । केही दिनपछि नै उनीबाट छोरीको जन्म भयो तर विधिको विडम्बना आमाछोरी दुबैको मृत्यु भयो । त्यो पीडासँगै जेलजीवन कष्टकर भए तापनि उनी आफ्नो विचारबाट अलिकति पनि विचलित भएनन् । वेदान्तवेत्ता उनी मृत्युदेखि किन डराउँथे र ? माफी माग्दा माफी हुनेसम्मको आश्वासन पाएका शुक्रराजले निर्धक्क भएर भनेका थिए, ‘मैले के गल्ती गरेको छु र माफी माग्नलाई । त्यहाँमाथि गल्ती गरकै भए माफी होइन सजाय दिनुपर्छ ।’ सत्य र न्यायका पक्षमा वकालत गर्ने स्वाभिमानी शिर याचनाको दृष्टिले निरङ्कुशतन्त्रका अगाडि कहिल्यै झुकेन ।
शुक्रराजको सजाय पूरा हुन नपाउँदै नेपाल प्रजा परिषद्को स्थापना भएको कुरा राणाहरूले थाहा पाए । त्यसपछि उक्त परिषद्मा संलग्न केही मानिसहरू समातिए । शुक्रराज त्यतिखेर जेलमा नै भए पनि राणाहरूले यस घटनामा समेत उनलाई मुछेर ज्यानसजायको घोषणा गरेका थिए । शुक्रराज शास्त्री नेपाल प्रजा परिषद्सँग आबद्ध थिएनन् तर उनको बौद्धिक चेतना यति बलियो थियो कि उनको मुक्ति राणाहरूका लागि खतरा बन्न सक्ने अनुमान थियो । तसर्थ उनलाई विभिन्न मुद्दा चलाई वि.सं.१९९७ माघ ६ गते मृत्युदण्डको सजाय सुनाइएको हो । त्यतिखेर पनि शिक्षा र चेतनाले धपक्क बलेका शुक्रराजलाई तर्कसङ्गत रूपमा जित्न नसकिने कुराको आकलन गरेर सुनुवाइको अवसर नै नदिई हप्कीदप्कीका भरमा सजाय तोकिएको देखिन्छ । उनलाई मृत्युदण्ड दिनुअगाडि उनको परिवारलाई भेट्न बोलाइएको कुरा उनकी बहिनी चन्द्रकान्तादेवी मल्लले आफ्नो आत्मकथामा भनेकी छन् । भेट्न जाँदा उनको चेहरामा मृत्युको अलिकति पनि डर नरहेको बरु अमरभाव प्रकट भएको बताउँदै चन्द्रकान्तादेवीले पिताले शुक्रराजलाई ज्यानसजायको बेला वेदमन्त्र पढ्नका लागि सुझाएको बताएकी छन् ।
शुक्रराजलाई माघ १० गते टेकुको पचलीमा फाँसी दिइएको थियो । फाँसी दिन लैजानुभन्दा अगाडिको घटनालाई उद्धृत गर्दै उनीसँगै जेलजीवन भोगेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा लेखेका छन्, ‘घरबाट पठाएको दुधसँग खान भनेर रोटी पकाउँदै गरेका शुक्रराजलाई जबर्जस्ती लगियो र जाने बेला उनले मर्नु सबैले पर्छ तर यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो भनेका थिए ।’ आखिर यो नश्वर देहमा रहेको आत्मा अविनाशी छ भन्ने बुझेका उनले मृत्युलाई हाँसीहाँसी स्विकारेका थिए । ‘घाँटीमा फाँसीको फन्दा म आफैँ लगाउँछु । तिमीहरूले गल्ती गरौला । म निरपराधीलाई दण्ड दिएको तिमीहरूले भोग्नुपर्ने हुन्छ । जति प्रायश्चित्त गरे पनि शान्ति पाउनेछैनौ, तिमीहरूको कुलको नाश हुनेछ । अत्याचारी राणालाई सद्बुद्धि देऊ, ओम् तत्सत् ।’ फाँसीमा बस्दा उनले यही भनेका थिए भनेर चर्चा हुने गर्छ । भोलिपल्ट रुखमा झुन्डिरहेको छोराको लासलाई हेरेर संन्यास ग्रहण गरेका पिता माधवराजले ‘स्याबास् छोरा, तिमी धन्य छौ, तिमीले आमाबाबुको मात्र होइन देशको गौरव बढाएका छौ, छोरा हुनु त यस्तो हुनु’ भनेको प्रसङ्ग शुक्रराजकी बहिनी चन्द्रकान्तादेवीको आत्मकथामा सङ्गृहीत छ ।
‘जननी र जन्मभूमिका लागि तनमनधन अर्पण गर्नेछौँ, नश्वर शरीरको माया त्यागी धर्मयुद्धमा मर्नेछौँ’ यस्तो उद्गार व्यक्त गर्ने अमर सहिद शुक्रराज शास्त्री वास्तवमा धर्मको स्थापनाका लागि लडेका सच्चा योद्धा थिए । गीता, वेद र उपनिषद्सम्बन्धी प्रवचनका माध्यमबाट सबैलाई राष्ट्रका निम्ति जुट्न आह्वान गर्ने उनमा क्रान्तिकारी चेत थियो । ‘अहिले पनि साधारण धार्मिक विचारमा परस्परमा मतिभेदले हिन्दुहरू विभिन्न भइरहेका छन् । अलि धार्मिक विचारभेद मात्रैले एक भाइले अन्य भाइलाई जातीय बहिष्कार गरी शत्रुवत् सम्झी सबै पृथक्पृथक् भइरहेका छन् । भाइभाइहरूका यस्तायस्ता विरोधभावले समयमा अनेकौँ राष्ट्र नष्टभ्रष्ट भए । यसकारण भाइभाइमा स्नेह गर्नु सबै राष्ट्रको कल्याण छ ।’ स्वर्गको दरबार नामक पुस्तकमा उनको धर्मसम्बन्धी यस्तो चिन्तन पाइन्छ ।
मृत्युका बेला उनको पहिरनमा डम्बर कुमारीको वस्त्र, घरबाट आमाले पठाएको फलाटिनको खैरो भोटो, निलो मसिनो किनारा भएको सेतो गम्छा देखिन्छ । जनैमा झुन्डिएको साँचो भोटो बाहिर थियो भने मुडुलो टाउको र लामा दाह्रीमा उनी सहिद भएका थिए । माघ ११ गते दिनभरि राणा सरकारविरोधी अभियानमा जुट्नेको दुर्दशा यस्तै हुन्छ भनी नेपाली जनतालाई तर्साउनका लागि शास्त्रीको शव त्यत्तिकै राखिएको थियो । वि.सं. १९९७ माघ १० गते राति शुक्रराज शास्त्री, १२ गते राति धर्मभक्त माथेमा र १४ गते राति गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो । यी चार सहिदहरूको सम्मानका लागि सहिदगेटको निर्माण गरी मूर्ति राखिएको छ भने शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको टेकुमा साढे पाँच फिट अग्लो पित्तलको प्रतिमाको स्थापना गरिएको छ ।
शुक्रराज शास्त्री पूर्वीय तथा पाश्चात्य वाङ्मयका विद्वान् थिए । उनी शास्त्रीय प्रवचनका क्रममा राजनीतिको चर्चा गर्थे र मानिसहरूलाई धर्मराज्यको स्वरूप बताउँदै देशमा न्याय तथा मौलिक हकको स्थापनाका लागि लाग्न अभिप्रेरित गर्थे । उनको समग्र व्यक्तित्व हेर्दा निडर, न्यायप्रेमी, शास्त्रज्ञ एवं प्रखर वक्ता देखिन्छन् । राणाहरूलाई धर्म र न्यायका सम्बन्धमा अकाट्य तर्क प्रस्तुत गर्ने उनमा मृत्युको भय देखिँदैन । मानिसले कपडा फेरेर अर्को लगाएझैँ आत्माले पनि शरीर फेरेर अर्को शरीरमा प्रवेश गर्ने रहस्यको उद्घाटन गर्दै गीताले र वेदान्तले बताएको आत्माको अमरत्वलाई बुझेका शास्त्री देश र जनताका लागि सहिद भएका हुन् । उनले सोचेको धर्म र न्यायको स्थापना भएको छ कि छैन ? यो मननीय विषय हो भने माघ १६ गते एक दिन सहिदलाई सम्झँदैमा उनीहरूप्रतिको कर्तव्य पूरा होला त ? यो अर्को विचारणीय पक्ष हो । लखन थापालाई पहिलो सहिद मानिन्छ भने वि.सं.१९९७ माघ पछि पनि धेरै सहिद भएका छन् । वास्तवमा देशमा न्यायको स्थापनाका लागि प्राणको आहुति दिन अलिकति पनि नहिचकिचाएका यी सहिदप्रति हामीले चाहिँ न्याय गरेका छौँ त ?
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेको सहिदको प्यारो लासले धिक्कार्ला
धर्तीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला ।
– भूपी शेरचन