नेपाल हिन्दुराष्ट्र !

‘ने’ नाम गरेका ऋषिले पालन गरेको भूभाग भएकाले यस देशको नाम नेपाल रहन गएको हो भन्ने किंवदन्ती नेपालको नामकरणका सम्बन्धमा बहुप्रचलित छ । ‘ऋषि’ शब्दको व्युत्पत्ति संस्कृतमा ‘ऋषति पश्यति इति’ भनेर गरिन्छ । व्युत्पत्तिअनुसार ‘ऋषि’ शब्दले जसले देख्दछ भन्ने अर्थ प्रकाशन गर्दछ । तसर्थ ऋषि भनेर त्यस्ता व्यक्तिलाई भनिन्छ, जो मन्त्रका द्रष्टा हुन्, ‘ऋषयः मन्त्राणां द्रष्टारः ।’ यस धर्तीमा विभिन्न ऋषिहरूले जन्म लिई साधना गरेका छन् । जसका कारण नेपाल ऋषिमुनिको तपस्याबाट पावनस्थलका रूपमा विश्वमा आफ्नो छुट्टै परिचय कायम गर्न सफल छ । हिन्दुसभ्यताका प्रवर्तक ऋषिमुनिहरूको जन्मभूमि तथा कर्मभूमि भएकाले पनि नेपाल हिन्दुराष्ट्र कायम हुनुपर्छ ।
संस्कृत व्याकरण ‘अष्टाध्यायी’का रचयिता पाणिनिको अर्घाखाँची, संस्कृतको आदिकाव्य रामायणका रचयिता वाल्मीकिको आश्रम रहेको क्षेत्र चितवन, महर्षि वेदव्यासको जन्मस्थल रहेको तनहुँ, रामायणकालीन काकभुशुण्डीले तपस्या गरेको क्षेत्र काग्बेनी, याज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रेयी आदिले सुशोभित सभा हुने गरेको र सीताले जन्म लिएको जनकपुर, स्कन्दपुराणका अनुसार मन्थनबाट निस्केको अमृतमा दुधको जस्तै तर वा छोक्रा देखिएको र त्यसलाई कपडाले छानेर त्यसैको लिङ्गस्वरूप पिण्ड निर्माण गरी स्थापना गरिएको पिण्डेश्वर मन्दिर रहेको धरान, गोसाइँकुण्ड, हलेसी, वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरुक्षेत्र आदि नेपालका पुरातात्त्विक सम्पदा हुन् । यी क्षेत्र मात्र नभएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हजारौँको सङ्ख्यामा मन्दिरहरूको स्थापना भएको, दैनिक पूजाअर्चना हुने गरेको र अधिकांश नेपालीले आस्था प्रकट गर्दै आएको कुरा यहाँ स्मरणीय देखिन्छ । अधिकांश नेपालीले हिन्दु सनातन परम्परालाई अपनाउँदै आएकाले पनि नेपाल हिन्दुराष्ट्र कायम हुनुपर्छ ।
शिक्षाको सुरुवातका सन्दर्भमा घोषित शिक्षाविद् तथा इतिहासविद्हरू नेपालमा विक्रमको बिसौँ शताब्दीलाई अघि सार्ने गर्दछन् । आर्षसभ्यताको विकाससँगै नेपाली भूमि शिक्षाको आलोकले प्रकाशित भएको कुरालाई सरासर नकार्नु वा पौराणिक कालसम्म पुगेर नखोज्नु देशका लागि ठुलो विडम्बना हो । नेपालको पूर्वी भागमा कोसीको किनारमा कौशिक ऋषि विश्वामित्र, मध्य भाग गण्डकीको किनारमा कुलपति मैत्रावरुणि वशिष्ठ अनि पश्चिमी भाग कर्णालीको किनारमा सिद्धनाथ ऋषि वामदेवले ससर्परी, ब्राह्मी र सौरी विद्याको साधना गरेको कुरालाई गौणमा राख्ने गरिन्छ । ती ऋषिमहर्षिले सञ्चालन गरेका गुरुकुलहरूको कुनै चर्चा गरिँदैन । हरेक वर्ष आदिगुरुका रूपमा व्यासलाई लिएर उनको जन्म भएको पुण्यतिथि आषाढको शुक्लपूर्णिमामा गुरूपूर्णिमा मनाउने अधिकांश नेपालीहरूको श्रद्धामाथि हिन्दुराष्ट्रको पहिचान झिकेर कुठाराघात गरिएको अनुभव हुन्छ । शिक्षा र चेतनाको ज्योति बाल्ने पूर्वज र तिनका योगदानलाई कदर गर्न पनि नेपाल हिन्दुराष्ट्र कायम हुनुपर्छ ।
नेपालका धेरै जातजातिहरू हिन्दु परम्पराको अनुसरण गर्दछन् । चाहे ब्राह्मण तथा क्षत्रिय हुन्, चाहे आदिवासी जनजाति हुन्, चाहे दलित नै हुन्, उनीहरूले हिन्दु चाडपर्वहरूलाई खुलेर मनाउँदै आएका छन् भने तिनको सांस्कृतिक तथा सामाजिक महत्त्व विशिष्ट किसिमको देख्न सकिन्छ । आपसी सद्भाव, शुभकामना, बन्धुत्व, भगिनीत्व, आतिथ्यको कोटिमा हिन्दु चालचलन उच्च कोटिको भएकाले नेपालमा गैरहिन्दु समाजले पनि तिनलाई अपनाउँदै आएको छ । जीवन सञ्चालनका लागि आवश्यक प्रकृतिका यावत् वस्तुहरूमा देवत्व देख्ने, तिनको संरक्षणमा धार्मिक आस्थालाई मिसाएर मानवधर्मको स्थापना गर्ने काम नेपाली समाजमा हुँदै आएको छ । त्यस अर्थमा पनि नेपाल हिन्दुराष्ट्र कायम हुनुपर्छ ।
हिन्दुपरम्पराको दैनिकीलाई अपनाउने बहुसङ्ख्यक नेपालीहरू यस देशमा बसोबास गर्दै आएका छन् । पञ्चगव्यको वैज्ञानिक महत्त्वलाई बल्ल बुझ्न थालेका पश्चिमाहरूको अनुसन्धानले निरोगिताका लागि यसको बहुउपयोगितालाई प्रमाणित गरिसकेको अवस्था छ अहिले । यति मात्र नभएर कोभिडको सङ्क्रमणले हामीले सब्जी पकाउनका लागि प्रयोग गर्ने बेसार, अदुवा, जिरा आदि हिन्दु परम्पराबाट ग्राह्य कुराको विशिष्टतालाई प्रमाणित गरिसकेको छ । आयुर्वेदले बताएको कुरालाई अनुसरण गर्दै परम्परित रूपमा औषधोपचारका लागि वनस्पतिको रस र लेपको प्रयोग गर्ने कैयौँ आमाहरू अझै पनि छन् । देवनागरी लिपिमा लेखिएका वर्णहरूमा यस्तो सामथ्र्य छ कि तिनको उच्चारणबाट प्रत्येका लबजमा नेपालीहरूलाई योगसम्बद्ध व्यायाम भइरहेको हुन्छ । यी वैशिष्ट्यलाई कायम गर्न पनि नेपाल हिन्दुराष्ट्र कायम गर्नुपर्छ ।
हिन्दुराष्ट्र पहिचान हो । विश्वमा इस्लाम राज्यका रूपमा, इसाई राज्यका रूपमा विभिन्न देशहरू रहेका छन् र तिनले इस्लामसम्बद्ध तथा इसाईसम्बद्ध वाङ्मय, परम्परा, इतिहासको आधिकारिक रूपमा संरक्षण तथा संवर्धन गर्दै आइरहेका छन् भने हिन्दुसम्बद्ध वस्तुहरूको संरक्षणका लागि मात्र नभई विश्वमै एउटा बेग्लै पहिचानका लागि पनि नेपाल हिन्दुराष्ट्रमा दरिनुपर्छ । हिन्दुराष्ट्रका रूपमा रहँदा अरु परम्पराका अनुयायीप्रति कुनै अन्याय भएको इतिहास थिएन । धार्मिक सहिष्णुताको अद्वितीय उदाहरणका रूपमा यही देशको नाम लिने गरिन्थ्यो । राई, लिम्बू, थारु, यादव, मगर, मैथिल, अवधी, नेवार आदि जातिका मानिसहरू यही हिन्दुसभ्यताको छत्रछायामा अगाडि बढ्दै छन् । यिनको अस्तित्व र मौलिक पहिचानलाई जोगाइराख्न पनि हिन्दुराष्ट्र कायम हुनुपर्छ ।
कुनै पनि व्यक्ति उसको आचरणले चिनिने गर्दछ । त्यसै गरी कुनै पनि राष्ट्र त्यसको मौलिक पहिचानले चिनिने गर्दछ । पशुपतिनाथले अँगालेको यो देशको हिन्दुराष्ट्रको चिनारीलाई हटाइदिनु कदापि राम्रो होइन । विश्वका सम्पूर्ण हिन्दुहरूको आस्थाको धरोहरका रूपमा नेपाल विश्वमा चिनिन पाउनु आफैँमा गौरवको विषय हुन्थ्यो । ०६२÷०६३ को जनआन्दोलनमा पनि कहीँ कतै नउठेको विषयलाई एक्कासि उठाएर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनु युक्तिसङ्गत देखिँदैन । लोकतन्त्रमा जनभावनाको कदर हुनुपर्छ र जनभावना हिन्दुराष्ट्रका पक्षमा उर्लिरहेको छ । अहिलेसम्म नेपाली भूभागको शासन हिन्दुपरम्पराका अनुयायीबाट मात्र भएको इतिहास छ । वीरपुर्खाले यही सनातन संस्कृति जोखिममा पर्छ भनेर बलिदान दिएको कुरालाई चटक्कै भुल्नु कृतघ्नताको पराकाष्ठा हो । अधिकांश नेपालीको मौलिक पहिचानलाई बर्करार राख्न पनि नेपाल हिन्दुराष्ट्र कायम हुनुपर्छ ।