मल मास/अधिक मास/पुरुषोत्तम मास

पृष्ठभूमि
गणनाका आधारमा एक वर्षमा जम्मा बाह्र महिना रहने गर्छन् । सनातन परम्परामा सौरमान र चान्द्रमानका आधारमा महिना निर्धारित हुन्छन् । सङ्क्रान्ति, पन्ध्र गते पर्ने पर्व एवं नयाँ वर्षजस्ता चाडहरू सौरमानअनुसार र तीबाहेकका अरू चाडहरू चान्द्रमानका आधारमा मनाउने परम्परा नेपालमा छ । कार्यालयीय प्रयोजनका लागि सौरमानलाई आधार मान्ने गरे तापनि अधिकांश चाडपर्व चान्द्रमानका आधारमा मनाउने गरेका कारण कुनै बेला सौरमानअनुसार असोजको १७ गते पर्ने दसैँ असोजको कुनै पनि गते पर्न सक्छ भने कात्तिकमा पनि पर्ने गर्छ । नेपालीहरूले गणना गर्ने महिना र गते सौरमानअन्तर्गत पर्दछन् तथा पक्ष र तिथिहरू चान्द्रमानअन्तर्गत पर्दछन् ।
नाम
सौरमानका आधारमा हरेक वर्ष बाह्र नै महिना हुन्छन् भने चान्द्रमानका आधारमा जुन वर्ष तेह्र महिना हुन्छन् त्यो बढी भएको महिनालाई अधिक मास भनिन्छ । ‘अधिक’ तत्सम (संस्कृत भाषाबाट आएको शब्द, जसको नेपाली भाषामा संस्कृतमा जस्तै केही परिवर्तन नभई प्रयोग हुने गर्दछ) शब्द हो र यसको अर्थ धेरै हुन्छ । चान्द्रमानका आधारमा वर्षमा एक महिना धेरै हुने भएकाले यसलाई अधिक मास भनिएको हो । यसैलाई मल मास र पुरुषोत्तम मास पनि भन्ने गरिन्छ । अधिक मासमा काम्य (कामनापूर्वक गरिने) कर्म निषिद्ध हुने, केही संस्कारहरू वर्जित हुने भएकाले यसलाई मल (मलिन) मास भनिएको हो तथा अरू बाह्र महिनाका स्वामी भएका तर अधिक मासको स्वामित्व ग्रहणका लागि देवताहरूले अस्वीकार गरेका कारण स्वयं पुरुषोत्तम भगवान् विष्णु नै यसको स्वामी भई पुरुषोत्तम मासका रूपमा यसलाई स्वीकार गरेकाले यसको नाम पुरुषोत्तम मास पनि रहन गएको चर्चा माहात्म्यमा पाइन्छ ।
अहमेते यथा लोके प्रथितः पुरुषोत्तमः ।
तथायमपि लोकेषु प्रथितः पुरुषोत्तमः ।।
(ममा भएका गुणहरूका कारण म जसरी लोकमा पुरुषोत्तमका रूपमा प्रसिद्ध छु, त्यसरी नै यो अधिक मास पनि तिनै गुणहरूले सम्पन्न भई पुरुषोत्तम मासका रूपमा लोकहरूमा प्रसिद्ध हुनेछ ।)
अधिक मास निर्धारण
ज्योतिषशास्त्रहरूमा मल मासका सम्बन्धमा व्यापक चर्चा भएको पाइन्छ । एघारौँ शताब्दीका प्रसिद्ध ज्योतिर्विद् भास्कराचार्यले यदि कुनै चान्द्रमासमा सौरसङ्क्रान्ति पर्दैन भने त्यहाँ अधिक मास परेको हुन्छ भनेर आफ्नो ग्रन्थ सिद्धान्तशिरोमणिमा बताएका छन् ।
असङ्क्रान्तिमासोऽधिमासः स्फुटं स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
(सङ्क्रान्ति नपर्ने चान्द्रमास अधिक मास हुन्छ । एउटै चान्द्रमासमा दुई सङ्क्रान्ति पर्दा चाहिँ क्षय मास हुन्छ र क्षयमास कहिलेकाहीँ पर्दछ ।)
यो वर्ष (२०७७ सालमा) असोज महिनाको १ गते औँसी परेको छ भने २ गते शुक्ल पक्षको प्रतिपदा परेको छ । २ गतेदेखि सुरु भएको शुक्ल पक्ष १५ गते पूर्णिमामा गएर टुङ्गिएको छ । १६ गतेको प्रतिपदादेखि सुरु भएको कृष्ण पक्ष ३० गते औँसीमा गएर टुङ्गिएको छ । एक शुक्ल पक्ष र एक कृष्ण पक्षको योगबाट एक चान्द्रमास निर्धारित हुन्छ । यसरी हेर्दा असोज २ गतेबाट सुरु भएको चान्द्रमास असोज ३० गते सकिएको देखिन्छ । त्यसकारण यो चान्द्रमासमा कुनै पनि सङ्क्रान्ति परेको देखिँदैन । असोज २ गते सुरु भएकाले असोज सङ्क्रान्ति यसमा परेन भने असोज ३० गते नै सकिने भएकाले कात्तिक सङ्क्रान्ति पनि यसमा परेको छैन । तसर्थ, असोज २ गते सुरु भएर ३० गते सकिने चान्द्रमासलाई अधिक मास भनिएको हो । अरू बेला सुरुमा कृष्णपक्ष आएपछि शुक्ल पक्ष आउँछ भने अधिक मासमा पहिला शुक्ल पक्ष आएर कृष्ण पक्ष आउँछ । असोजको शुद्ध कृष्ण पक्ष सकिएपछि सुरु भएको अधिक मास सकिएपछि मात्र असोजकै शुद्ध शुक्ल पक्ष आउँछ । दुई शुद्ध पक्षका बिचमा परेको हुनाले यो अधिक मासलाई असोज महिनामा परेको भनेर व्यवहार गरिन्छ । ज्योतिःसारशिरोमणि ग्रन्थमा पनि अधिक मास र क्षय मासका बारेमा उल्लेख गरिएको छ ।
असङ्क्रान्तिमासोऽधिमासः स्फुटं स्याद्
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।
क्षयः कार्तिकादित्रये नान्यतः स्यात्
तदा वर्षमध्येऽधिमासद्वयञ्च ।।
अमावस्याद्वयं चैव प्रतिपच्च त्रयं त्रयम् ।
मलमासेन विज्ञेया पराशरवचो यथा ।।
यस ग्रन्थमा भास्कराचार्यकै कुरालाई उद्धृत गर्दै क्षय मास कात्तिक, मङ्सिर र पुसमा मात्र पर्ने कुराको उल्लेख गरिएको छ भने क्षय मास पर्दा दुई अधिक मास क्रमशः पर्ने कुरा बताइएको छ साथै पराशर ऋषिको भनाइलाई सङ्केत गर्दै एउटै महिनामा दुई औँसी वा तीन प्रतिपदा पर्दा अधिक मास पर्छ भन्ने कुरा पनि व्यक्त गरिएको छ । धेरै दिन हुने महिनाहरूमा अधिक मास पर्ने गर्दछ भने थोरै दिन हुने महिनामा क्षय मास पर्ने गर्दछ । चान्द्रमासमा सङ्क्रान्ति नपर्नु भनेको एउटै सौरमासमा दुई औँसी वा तीन प्रतिपदा पर्नु नै हो । त्यही कुरालाई यस ग्रन्थले फरक ढङ्गले पनि अथ्र्याएको हो । क्षय मास परेको वर्ष भने क्षय मासभन्दा अगाडिको अधिक मासलाई संसर्प र पछिको अधिक मासलाई अंहस्पति भनेर नाम दिइएको चर्चा ग्रन्थहरूमा गरिएको छ ।
चान्द्रवर्ष, सौरवर्ष र अधिक मास
एउटा सूर्योदयदेखि अर्को सूर्योदयसम्मको अन्तराललाई १ सावन दिन मानिन्छ । यसरी हेर्दा चान्द्रमासमा औसत २९ दिन, ३१ घडी र ५० पला हुन्छन् भने सौरमासमा ३० दिन, २६ घडी र १७ पला हुन्छन् । ज्योतिषशास्त्रको महत्त्वपूर्ण ग्रन्थ मानिने सिद्धान्तशिरोमणिको गोलाध्यायमा सौरवर्ष र चान्द्रवर्षको चर्चा गरिएको छ । यसका रचनाकार भास्कराचार्यका अनुसार सौरवर्ष ३६५ दिन १५ घडी ३० पला २२÷३० (२२.५) विपला र चान्द्रवर्ष ३५४ दिन २२ घडी ० पला ० विपलाको हुन्छ । यसका आधारमा सौरवर्ष र चान्द्रवर्षको अन्तर १० दिन ५३ घडी ३० पला २२÷३० विपला हुन आउँछ । यसरी हेर्दा सामान्यतया सौरवर्ष ३६५ दिनको हुन्छ भने चान्द्रवर्ष ३५४ दिनको हुने गर्छ । १ सौरवर्षभन्दा १ चान्द्रवर्ष लगभग ११ दिन कम हुन्छ । यसरी हरेक वर्ष ११ दिनले कम हुँदै जाँदा करिब ३ वर्षमा ३३ दिनको हाराहारीमा चान्द्रवर्ष छिटो भएको हुन्छ । त्यही चान्द्रवर्षलाई सौरवर्षसँगसँगै मिलाएर लान अधिक मासको आवश्यकता हुन्छ । यस्तो नहुँदा करिब ३३ वर्षमा एक सौरवर्षभन्दा एक चान्द्रवर्ष बढी हुने गर्छ र तिथिअनुसार मनाइने दसैँ, तिहारजस्ता चाडपर्वहरू जुनसुकै महिनामा पनि पर्न सक्छन् ।
अधिक मास कति समयपछि आउँछ भन्ने सन्दर्भमा ज्योतिःसारशिरोमणि ग्रन्थमा स्पष्ट उल्लेख भएको छ । ३२ महिना १६ दिन ४ घडीपछि अधिक मास पर्दछ अर्थात् २ वर्ष ८ महिना १६ दिन १ घण्टा ३६ मिनेटपछि अधिक मास आउने गर्दछ । त्यसैले क्षय मास नपरेको खण्डमा करिब ३ वर्षमा एकपटक अधिक मास पर्दछ भन्ने लोकव्यवहार भएको हो ।
द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः ।।
(३२ महिना १६ दिन ४ घडी बितेपछि अधिक मास पर्दछ ।)
ज्योतिष शास्त्रका समयवाचक केही शब्द
पूर्वीय परम्परामा समयलाई प्रहर, मुहूर्त, घडी, पला, विपला आदिका आधारमा मापन गरिन्थ्यो भने पञ्चाङ्ग पात्रोमा यी मानकहरूलाई समावेश गरिएको हुन्छ । प्रहर ३ घण्टाको समय वा पानीघडी
(पानीमा सानो छिद्र भएको भाँडो राखेर छिरेको पानी भरिएपछि १ घडी हुने पुरानो चलनको घडी, जलयन्त्र)का हिसाबले साढे सात घडीको समय हो । यसलाई याम पनि भनिन्छ । मुहूर्त दुई घडीको समय अर्थात् ४८ मिनेटको समय हो । ज्योतिषशास्त्रका अनुसार यात्रा, विवाह, व्रतबन्ध आदिमा शुभ र अशुभ निश्चित गर्न मुहूर्त तोकिएको हुन्छ । यसलाई साइत, लगनका रूपमा नेपाली समाजमा चिनिन्छ । घडी २४ मिनेट, पला २४ सेकेन्ड र विपला २४ सेकेन्डको ६०औँ अंश वा भाग हो । पलालाई लोकव्यवहारमा पल भन्ने गरिन्छ । यसप्रकार हेर्दा ६० विपलाको १ पला, ६० पलाको १ घडी र ६० घडीको १ दिन हुन्छ । चान्द्रमानअनुसारको दिन तिथि हो भने करिब १५ दिनको अवधि पक्ष हो । तसर्थ यिनै मानकको प्रचलनका कारण ज्योतिषशास्त्रमा घडी, पला आदिको उल्लेख हुने गर्छ ।
मलमास र वर्जित कार्य
हरेक महिनाका देवता, देवी र सूर्य हुन्छन्, जसलाई मासदेवता वा स्वामी, मासदेवी र मासार्क भन्ने गरिन्छ ः
क्र.सं. मास मासदेवता मासदेवी मासार्क
१ वैशाख मधुसूदन मोहिनी भानु
२ जेठ त्रिविक्रम पद्माक्षी इन्द्र
३ असार वामन कमला रवि
४ साउन श्रीधर कान्तिमती गभस्ति
५ भदौ हृषीकेश अपराजिता यम
६ असोज पद्मनाभ ईशा सुवर्णरेता
७ कात्तिक दामोदर राधा दिवाकर
८ मङ्सिर केशव विशालाक्षी मित्र
९ पुस नारायण लक्ष्मी विष्णु
१० माघ माधव रुक्मिणी अरूण
११ फागुन गोविन्द धात्री सूर्य
१२ चैत विष्णु रमा वेदाङ्ग
पुरुषोत्तम माहात्म्यअनुसार कुनै पनि देवीदेवताबाट स्वीकृत नभएका कारण अधिक मास मल मासका रूपमा व्यवहृत भयो भने पुरुषोत्तम भगवान्बाट वरदान प्राप्त भएर स्वामित्व स्वयं भगवान्ले नै ग्रहण गरी पुरुषोत्तम मासका रूपमा स्थापित हुन पुगेको हो । नारायण भगवान्लाई पुरुषोत्तम भगवान् मानिन्छ र पुरुषोत्तम मासमा अर्चना गरिन्छ । यतिखेर व्रतबन्ध, विवाह, नयाँ व्यवसाय वा नयाँ कामको थालनी, सप्ताह, ग्रहपूजा, गृहनिर्माण, गृहप्रवेश आदि निषिद्ध मानिन्छन् भने नेपालमा नवदम्पतीले मलमास छल्ने वा बार्ने चलन छ ।
आचरणीय कार्य र व्रतविधि
जन्म र मृत्यु प्राकृतिक प्रक्रिया हुन् । यी निश्चित हुँदैनन् । त्यसकारण यस अवधिमा जन्मपछिको नामकरण, अन्नप्राशन, मृत्युसंस्कारसम्बद्ध कर्महरू गर्ने प्रावधान छ । अधिक मास परेको महिनामा २ शुद्ध पक्ष र २ अधिक पक्ष गरी ४ पक्ष हुने गर्छन् । यदि अधिक मासमा कसैको जन्म वा मृत्यु भयो भने अर्को वर्ष अधिक मास नपर्ने भएकाले शुद्ध पक्षको त्यही तिथिमा जन्म हुनेले जन्मोत्सव पूजा र मृत्यु हुँदाको अवस्थामा पनि त्यही पक्षको तिथिमा श्राद्ध गर्नुपर्दछ । यसका साथै नित्य (दिनहुँ बिहानबेलुका गरिने भगवान्को पूजाअर्चना, भजनकीर्तन आदि कर्म) र निष्काम (कुनै पनि कामना नराखी गरिने) कर्म गर्न मिल्छ ।
व्रतालुका साथै श्रद्धालुहरू पनि पुरुषोत्तम मासमा पुरुषोत्तम भगवान्का लीलाकथाहरू पण्डितबाट श्रवण गर्ने वा आपैmँले भन्ने गर्दछन् । यस अवधिमा व्रत बस्नेहरूले ब्रह्मचर्यमा रहनुपर्ने, शुद्ध सात्विक खाना खानुपर्ने, त्यो पनि एक छाक मात्र खानुपर्ने, सत्य आचरण एवं सत्य व्यवहार गर्नुपर्ने विधान छ । व्रतालुहरू तिलको तेल वा गाईको घ्यूमा एक महिनासम्म दियो बाल्छन्, उद्यापनका बेला त्यो दियो दान गर्छन् र पुरुषोत्तम मास माहात्म्यमा बताएअनुसारका कर्म गर्दा पुण्यार्जन हुने विश्वास गर्दछन् । दैनिकजसो पुरुषोत्तम माहात्म्य पाठपारायण गर्ने वा सुन्ने गर्दछन् । भगवान्का ३३ नामबाट तुलसीपत्र, तिल, मालपुवा श्रद्धापूर्वक अर्पण गर्ने र योग्य ब्राह्मण अथवा भान्जा, ज्वाइँचेलालाई दान गर्ने चलन छ । विभिन्न कर्मको यतिखेर निषेध भए पनि कांस्य पात्रमा मालपुवा राखेर कांस्य पात्रले नै छोपी पीताम्बरले ढाकेर त्यसमाथि घ्यू, सुनको प्रतिमा राखी सङ्कल्पपूर्वक दान गरेर पुरुषोत्तम मासको सदुपयोग गर्न सकिन्छ । यतिखेर गरिने दान आदि पुण्य कर्मको करोडौँ गुना फल मिल्ने कुरा पुरुषोत्तम माहात्म्यमा गरिएको छ ।
सीतानिक्षिप्तबीजानि वर्धन्ते कोटिशो यथा ।
तथा कोटिगुणं पुण्यं कृतम् मे पुरुषोत्तमे ।।
(जसरी खनेको वा जोतेको जमिनमा छरिएका बिउहरू करोडौँ भएर बढ्छन् त्यसरी नै मेरो पुरुषोत्तम महिनामा गरिएको कर्म करोडौँ गुना बढ्नेछ ।)
उपसंहार
अधिक मास ज्योतिषशास्त्रका हिसाबले चान्द्रवर्ष र सौरवर्षलाई मिलाउने उपयुक्त कडी हो । यसको चर्चा विभिन्न यज्ञ, अनुष्ठान आदि गर्न नमिल्ने अवधिको रूपमा हुने गरेको छ । वास्तवमा यसलाई मल मासका रूपमा नभएर पुरुषोत्तम मासका रूपमा लिई तदनुरूप कर्म गरेर लाभ उठाउन सकिन्छ । मौसमी फलपूmलको आस्वादन त्यही मौसममा गरेजस्तै यसमा पनि व्रत, दान आदि कर्म गरेर पुण्यार्जन गर्नु उपयुक्त हुन्छ । पूजा गर्न प्रयोग हुने ३३ नाम तल दिइएको छ । यिनको शुद्ध उच्चारण गरी पूजा गरौँ । पुरुषोत्तम भगवान्ले समस्त लोकको कल्याण गरून् ।
ॐ विष्णवे नमः, ॐ जिष्णवे नमः, ॐ महाविष्णवे नमः, ॐ हरये नमः, ॐ कृष्णाय नमः, ॐ अधोक्षजाय नमः, ॐ केशवाय नमः, ॐ माधवाय नमः, ॐ रामाय नमः, ॐ अच्युताय नमः, ॐ पुरुषोत्तमाय नमः, ॐ गोविन्दाय नमः, ॐ वामनाय नमः, ॐ श्रीशाय नमः, ॐ श्रीकण्ठाय नमः, ॐ विश्वसाक्षिणे नमः, ॐ नारायणाय नमः, ॐ मधुरिपवे नमः, ॐ अनिरुद्धाय नमः, ॐ त्रिविक्रमाय नमः, ॐ वासुदेवाय नमः, ॐ जगद्योनये नमः, ॐ अनन्ताय नमः, ॐ शेषशायिने नमः, ॐ सङ्कर्षणाय नमः, ॐ प्रद्युम्नाय नमः, ॐ दैत्यारये नमः, ॐ विश्वतोमुखाय नमः, ॐ जनार्दनाय नमः, ॐ धरावासाय नमः, ॐ ब्रह्मणे नमः, ॐ भास्कराय नमः, ॐ श्रीपतये नमः ।