कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् ।
सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।
(कपूरजस्ता गोरा, करुणाका अवतार, संसारका सार, सर्पको हार लगाएका, हृदयरूपी कमलमा सधैँ विराजमान गर्ने पार्वतीसहितका शिवलाई नमन गर्दछु ।)
काठमाडौँ उपत्यकाभित्र रहेको सुन्दर सहर हो, ललितपुर । ‘ललित’बाट सुन्दर र ‘पुर’बाट सहर भन्ने अर्थ प्रकाशन हुन्छ । यही ललितपुरको प्रमुख आकर्षण बनेको पाटन दरबार स्क्वायरबाट करिब २०० मिटर उत्तरतर्फ कुम्भेश्वर महादेवको मन्दिर रहेको छ । यो पाटनको प्राचीनतम मन्दिर मानिन्छ । चौधौँ शताब्दीमा बनेको यो मन्दिर सम्पूर्ण अवयवहरूको सुन्दर अनुपात र काष्ठकलाको अनुपम सौन्दर्यले सुसज्जित छ । राजा जयस्थिति मल्लले बनाउन लगाएको यो मन्दिर प्यागोडा शैलीको सुन्दर नमुना हो । भक्तपुरको न्यातपोलजस्तै यो पनि पाँचतले छ । जयस्थिति मल्लले दुईतले बनाए पनि सत्रौँ शताब्दीमा श्रीनिवास मल्लले तीन तला थपेको मानिन्छ । मन्दिरको सम्मुखमा भगवान् शिवका अरू मन्दिरजस्तै सुन्दर बसाहाको मूर्ति छ । महादेवको यो मन्दिरसँगैको परिसरमा बङ्गलामुखी, उन्मत्त भैरव, हारती, गौरीकुण्ड, केदारनाथ, बद्रीनाथ आदि प्रसिद्ध छन् ।
कुम्भेश्वर महादेवसँगै कुम्भेश्वर पोखरी रहेको छ । स्थानीयका अनुसार कुनै समयमा एक वृद्धा श्रावणीपूर्णिमा अर्थात् जनैपूर्णिमामा स्नान गर्न भनेर गोसाइँकुण्ड गएकी थिइन् । उनले बुहारीलाई गोसाइँकुण्डको जल ल्याइदिनका लागि कुम्भ बोकेकी थिइन् । कुम्भ संस्कृत शब्द हो, जसको अर्थ जलपात्र अर्थात् पानी बोक्ने भाँडो भन्ने हुन्छ । यसले अझ माटाको भाँडालाई लक्ष्य गर्छ । गोसाइँकुण्ड पुगेर स्नान गरेकी वृद्धाले भाँडो कतै छुटेको थाहा पाउँछिन् । उनलाई जल कसरी लैजाने भन्ने लाग्छ । त्यति नै बेला उनकी बुहारी कुम्भेश्वर पुग्छिन् र त्यहाँ त्यो कुम्भ भेट्छिन् । पोखरीका सन्दर्भमा यस्तो किंवदन्ती प्रचलित देखिन्छ । कोही भने कुनै मानिसले गोसाइँकुण्डमा हराएको कुम्भ अर्थात् जलपात्र त्यस पोखरीमा भेटेको किंवदन्ती पनि सुनाउँछन् । यसकारण कुम्भेश्वर पोखरीको पानीको स्रोत गोसाइँकुण्ड हो भन्ने मान्यता विकसित भएको अनुमान हुन्छ । कुम्भसँग सम्बद्ध भएर नै यसको नाम पनि रहन गएको देखिन्छ ।
कुम्भेश्वरको सम्बन्ध गोसाइँकुण्डसँग देखिएकाले यहाँ साउन महिनाको पूर्णिमा अर्थात् जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । मेला जम्मा दुई दिनका लागि लाग्दछ । साउनमा हरेक सोमबार कुम्भेश्वर महादेवलाई स्नान गराइन्छ । वर्षभरि मन्दिरमा प्रतिष्ठा गरे पनि साउनमा भने भगवान्लाई बाहिर निकालिन्छ । साउनको शुक्ल पक्षमा पर्ने जनैपूर्णिमाको अघिल्लो रात कुम्भेश्वर महादेवलाई खटमा हालेर विधिपूर्वक मन्दिर छेउको कुण्डमा राखिन्छ । त्यसपछि मात्र मेला सुरु हुन्छ । यो दुई दिनसम्म चल्ने गर्दछ । मेलामा दुई लाखभन्दा बढी श्रद्धालुहरूको सहभागिता रहने गर्छ । मेलाको समापनपछि पुनः विधिपूर्वक भगवान्लाई भित्र्याइन्छ । त्यस पोखरीको स्रोत गोसाइँकुण्ड मानिएकाले जनैपूर्णिमामा गोसाइँकुण्ड जान नसक्नेहरू उत्तिकै फल प्राप्त हुने विश्वासका साथ त्यहीँ आएर स्नान गर्दछन् । कतिपय आस्थावान्हरू त्यहाँ स्नान गर्दा महारोग पनि निको हुने विश्वास गर्दछन् ।
साउनको सोमबार कुम्भेश्वर मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनको सोमबार महादेवको पूजा गर्दा अनन्त पुण्य मिल्ने विश्वास राखिन्छ । अरू समयभन्दा यतिखेर दर्शनार्थीहरूको चापलाई व्यवस्थित गर्न समितिले विशेष ध्यान दिने गर्दछ । यसलाई अझ व्यवस्थित बनाउन पहल गर्नुपर्ने देखिन्छ । प्राचीन सभ्यताको धरोहर बनेको यस मन्दिरको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता टड्कारो रहेको महसुस हुन्छ । धार्मिक आस्थाको मात्र नभएर कलाको इतिहासलाई जीवन्त बनाइरहने यस मन्दिरको चमत्कृतिलाई अझ चम्काउनुपर्छ । जय शम्भो !



