परिचय
नेपाल प्राचीन कालदेखि नै देवताहरूको क्रीडाभूमि र ऋषिहरूको तपोभूमिका रूपमा सुपरिचित छ । पुराणहरूमा पनि नेपालका विभिन्न स्थलहरूको चर्चा भएको पाइन्छ । तिनका धार्मिक तथा सांस्कृतिक महत्त्वका विषयमा जानकार व्यक्तिहरू पिण्डेश्वरलाई एक पवित्र तीर्थस्थलका रूपमा चिनाउने गर्दछन् । इतिहासअनुसार यस क्षेत्रमा विजयपुर राज्य तथा राजधानी पर्दथ्यो भने यो हाल धरान उपमहानगरपालिका – १४, विजयपुरमा अवस्थित छ । विजयपुर पर्वतको सबैभन्दा दक्षिणी भागमा पिण्डेश्वर भगवान्को मन्दिरका साथै गणेश र अष्टभुजलगायतका देवीदेवताका मन्दिरहरू छन् । विजयपुर पर्वतखण्डमा नै दन्तकाली मन्दिर, पञ्चकन्या मन्दिर, बुढासुब्बा मन्दिर, पाथीभरा मन्दिरलगायतका मठमन्दिर एवम् पुरानो विजयपुर दरबार पनि अवस्थित छन् ।
पिण्डेश्वरमा अखण्ड ज्योति पनि छ । यहाँको ज्योति निभेमा रामधुनीबाट आगो ल्याई सल्काउने तथा रामधुनीमा निभेमा पिण्डेश्वरबाट लगी सल्काउने परम्परा रहेको देखिन्छ । कुनै बेला यस ठाउँमा बाघाम्बर र चिताम्बर नाम गरेका बाबाहरू बस्ने गरेको र उनीहरू बाघमा चढेर हिँड्ने गर्दथे भनिन्छ । कोकाकौशिकी (सप्तकोशी) को तटमा चतराधामनजिकै रहेको यो स्थल पूर्वाञ्चलकै अत्यन्त पवित्र स्थल हो । यहाँ अवस्थित सरस्वती कुण्डले यस क्षेत्रलाई अझ शोभायमान बनाएको छ भने संस्कृतका विषयहरूको पठनपाठन हुने पिण्डेश्वर नामकै विद्यापीठको सञ्चालनले यसको गरिमालाई अझ बढाएको छ । नित्यपूजाका कारण शङ्खघण्टध्वनिसँगै वैदिक मन्त्र तथा स्तोत्रहरूको पारायणले वातावरणलाई सुरम्य बनाउनाका साथै थप पवित्रता प्रदान गरेको अनुभूति हुन्छ ।
पौराणिक महत्त्व
पिण्डेश्वर नेपाली पवित्र हृदयमा भने बाबाधामका नामले पनि विराजमान छ । नेपालका धार्मिक स्थलहरूका बारेमा स्कन्दपुराणमा धेरै चर्चा भएको छ । त्यसमा पनि रूद्राक्षारण्य माहात्म्यको रूपमा पिण्डेश्वरको बारेमा उल्लेख भएको पाइन्छ । विजयपुरको वनलाई रूद्राक्षारण्य अर्थात् रूद्राक्षको अरण्य भनिएको छ, जसमा प्रयुक्त ‘अरण्य’ शब्द ‘वन’ को पर्यायवाची शब्द हो । पिण्डेश्वरका बारेमा यसरी चर्चा भएको छ :
तदा तदमृतं देवः कृत्वा वस्त्रेण गालितम् ।
पिष्टिं निष्कास्य निक्षिप्य पाययामास तान् सुरान् ।।३५।।
ततस्तु तां सुधापिष्टिं गृहीत्वा त्रिदशास्तथा ।
पिण्डीकृत्य प्रहृष्टास्ते लिङ्गं चक्रुरनुत्तमम् ।।३६।।
तल्लिङ्गं स्थापयामासुस्तस्मिन् रूद्राक्षकानने ।
स्थापयित्वा ततो लिङ्गं पूजयामासुरादरात् ।।३७।।
नाम चक्रे ततस्तस्य पिण्डेश्वर इति प्रभो ।
सुधापिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृत: ।।३८।।
पिण्डेश्वरको उत्पत्ति देवता र दानवको समुद्रमन्थन तथा अमृत वितरणसँग सम्बन्धित छ । देवता र दानवको युद्धले निम्त्याएको विकराल परिस्थितिलाई साम्य पार्न दुबै पक्षको सहमतिमा समुद्रमन्थनको आयोजना भएको थियो । स्कन्दपुराणका अनुसार मन्थनबाट निस्केको अमृतमा दुधको जस्तै तर वा छोक्रा देखियो र त्यसलाई कपडाले छानेर त्यसैको लिङ्गस्वरूप पिण्ड निर्माण गरी स्थापना गरियो । त्यो लिङ्गको स्थापना रूद्राक्षकानन अर्थात् रूद्राक्षको वनमा भयो । स्थापनापश्चात् देवताहरूले आदरपूर्वक त्यसको पूजा गरे र पिण्डेश्वर भन्ने नाम राखे । अमृतको छोक्रा/तर/सारवस्तुको पिण्ड बनाइएकाले पिण्डेश्वर भनिएको हो भनेर पुराणमा बताइएको छ ।
पिण्डेश्वरमा कुम्भमेला
कुम्भमेला नेपाल तथा भारतका विभिन्न क्षेत्रमा १२–१२ वर्षको अन्तरालमा लाग्ने गर्छ । अमृतको घडा लैजाने क्रममा अमृतको थोपा खसेको ठाउँमा कुम्भमेलाको आयोजना हुँदै आएको हो :
विष्णुद्वारे तीर्थराजेऽवन्त्यां गोदावरीतटे ।
सुधाबिन्दुविनिक्षेपात् कुम्भपर्वेति विश्रुतम् ।।१८।।
भारतको विष्णुद्वार अर्थात् हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी उज्जैन तथा गोदावरीको किनार नासिकमा अमृतको थोपा खस्नाले यिनलाई कुम्भस्थलका रूपमा स्वीकार गरी कुम्भपर्व मनाउने गरिन्छ ।
अमृतको थोपा खसेको ठाउँमा त कुम्भ आयोजना हुन्छ भने नेपालको पिण्डेश्वरमा अमृतको सारवस्तु वा तरकै पिण्डको स्थापना भएकाले वि.सं. २०५९ देखि पिण्डेश्वर कुम्भमेला महोत्सवको आयोजना गरिँदै आएको छ । हरेक १२ वर्षमा एक महिनासम्म यो महोत्सव लगाउने योजनामुताबिक काम चलिरहेको बुझिन्छ । पुराणहरूमा उल्लेख भएको यस क्षेत्रको गरिमा र महिमालाई ध्यान नदिएका कारण यसको त्यति खोज र अनुसन्धान भएको भने पाइँदैन ।
श्रावण मासमा पिण्डेश्वर
श्रावण मास भगवान् शिवको पूजाका लागि अत्यन्त विशेष समय मानिन्छ । श्रावण महिनाका सोमबारहरूमा शिवको अर्चना गर्नाले अनिष्ट शान्ति भई शिवसायुज्य मिल्छ भन्ने विश्वासका साथ भक्तजनहरू शिवमन्दिरमा जाने गर्दछन् । पिण्डेश्वर नेपालको पूर्वी भागमा अवस्थित पवित्र शिवस्थल हो । श्रावणमा यहाँ बोल बम मेला लाग्ने गर्दछ । करिब ४ दशकअगाडिबाट यस मेलालाई व्यवस्थित गर्न समिति निर्माण गरी काम गर्न थालिएको हो । भक्तहरू चतराधामको कोशीबाट जल बोकेर औलियाबाबाको परिक्रमा गर्दै लगभग १३ किमिको यात्रा तय गर्छन् र पिण्डेश्वरमा आई अर्पण गर्दछन् । यतिखेर बाटाभरि बोल बम, ॐ नमः शिवाय, जय शिव शङ्कर, हर हर महादेवलगायत शिवका स्तुतिहरू गुन्जिने गर्छन् । नेपालबाट मात्र नभई भारतबाट पनि बोल बमको नारा घन्काउँदै श्रद्धालुहरू जल चढाउन आउने गर्दछन् ।
पिण्डेश्वरमा साउन महिनाका साथै बालाचतुर्दशी, तीज तथा शिवरात्रिमा पनि मेला लाग्ने गर्दछ । त्यति मात्र नभई कार्तिक महिनामा वराहक्षेत्रमा आउने साधुसन्तका लागि पिण्डेश्वरमा हण्डीको व्यवस्था गरिएको हुन्छ ।
उपसंहार
पिण्डेश्वरको धार्मिक मात्र नभएर ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक महŒव पनि रहेको छ । अमृतको सारवस्तुबाट लिङ्गस्वरूप निर्मित शिवलिङ्ग र देवताहरूबाट नै प्रतिष्ठा गरिएकाले यसको विशेष महत्त्व रहेको स्पष्ट हुन्छ । नेपालको पूर्वाञ्चलको प्रसिद्ध तीर्थस्थल पिण्डेश्वरका बारेमा खोज तथा अनुसन्धान गरी यसको प्रचारमा सरोकारवालाहरू लाग्नुपर्ने बेला आइसकेको छ ।



