नेपाल विभिन्न धार्मिक स्थलहरूका कारण विश्वमाझ परिचित छ । यहाँका मठमन्दिरको चर्चा सर्वत्र हुने गर्छ । आस्था र परम्परा बोकेका यी मन्दिरमा विशेष–विशेष पर्वहरूमा मेला लाग्ने गर्दछ । नेपालको प्रदेश दुईअन्तर्गत बारा जिल्लाको बरियापुरमा अवस्थित गढीमाईको मन्दिरमा पनि ५–५ वर्षमा ठुलो मेला लाग्ने गर्दछ । यो नारायणी अञ्चल, बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब ८ किलोमिटर पूर्वमा पर्दछ । नेपालको राजधानी काठमाडौँबाट झन्डै १६० किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा यस वर्ष (२०७६) पनि मेला लागेको छ ।
गढीमाईले मनको कामनालाई पूरा गरिदिने विश्वास लिइन्छ । यहाँ नेपालको तराई मात्र नभएर विभिन्न ठाउँबाट दर्शनार्थ भक्तजनहरू आउने गर्दछन् साथै भारत, बंगलादेश, भुटान आदि देशबाट पनि हजारौँको सङ्ख्यामा मेला भर्न मानिसहरू आउने गरेका छन् । बरियापुरको खुला चउरमा रहेको त्रिशूलले त्रिविध ताप शान्त गर्दछ भन्ने विश्वास गरिन्छ । मानिसमा रहने शूलरूपी आधिदैविक, आधिभौतिक र आध्यात्मिक तापको शान्ति त्यस त्रिशूलले गर्दछ भन्ने मानिन्छ । त्रिशूल, पीपलबोट, देवीको मन्दिर, ब्रह्मास्थान आदि यहाँको दर्शनीय स्थानहरू हुन् । गढीमाईको पूजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पूजा गर्नाका साथै गढीमाईका बहिनीका रूपमा कटवासीमाई, राजदेवी, वनशक्ति आदिको पनि पूजा गरिन्छ । यहाँका पुजारी थारू जातिका छन् ।
मेलालाई व्यवस्थापन गर्नका लागि यहाँ मूल व्यवस्थापन समितिसहित उपसमितिको व्यवस्था गरिएको छ । कलैया, कवही, सिम्रौनगढ, बरियापुर, मटिअर्वा गरी पाँच स्थानमा ५ वटा मूल प्रवेशद्वारहरू बनाइएका छन् । आसपासका क्षेत्रमा करिब १०००० कक्ष राख्ने गरी काम गरिएको बताइएको छ । त्यसै गरी ८० भन्दा बढी सिसीटिभी, ५०० स्वयंसेवक र ६०० भन्दा बढी शौचालयको व्यवस्था भएको बताइन्छ । अस्थायी स्वास्थ्य चौकीहरू पनि राखेर यस मेलालाई सुव्यवस्थित पारिएको छ ।
पूर्वतिर रहेको ब्रह्मास्थानबाट मार्ग शुक्ल सप्तमीको दिन लिपपोत गरी पाँच दिनसम्म पूजा गरेपछि अरुका लागि दर्शन खुल्ला गर्ने चलन यहाँ रहेको छ । यहाँ पहिला भाकल गर्ने र भाकल पूरा भएपछि बलि दिने परम्परा छ । यस वर्षको मेलामा पनि बलिका लागि मङ्सिर १७ र १८ गते विशेष मेला लाग्दै छ । धेरैको सङ्ख्यामा बलि दिइने भएकाले यसका सम्बन्धमा विश्वभर चासो बढ्न गएको छ । पशुहत्याको सवालमा भने यो मेलाका सम्बन्धमा धेरै टीकाटिप्पणी हुने गर्दछन् । यसको निरुत्साहनका लागि पहल भइरहेको छ ।
गढीमाई मेला नेपालको सबैभन्दा ठूलो मेला हो । नेपालको तराईमा यस वर्ष पनि ५ वर्षको अन्तरालपछि मेला लागेको छ । अहिले यस क्षेत्रमा भक्तजनको व्यापक भिड हुन थालेको छ । पशुहत्यालाई निरुत्साहित गर्दै यस क्षेत्रको धार्मिक महत्त्वलाई उजागर गर्न सके सबैको कल्याण हुने देखिन्छ । तान्त्रिक विधिबाट पूजा गरी देवीको अर्चना हुने यस मेलामा सरिक भएर लाभ लिऔँ ।
जय गढीमाई !



