दोलखा भीमसेन

हिमाल, पहाड र तराईमा समेटिएको नेपालको अधिकांश भूभाग पर्वतशृङ्खलाले ढाकेको छ । तिनै पर्वतशृङ्खलाले सुशोभित सुन्दर जिल्ला हो – दोलखा । दोलखाका प्रसिद्ध ठाउँहरूमा दोलखा भीमसेन पनि पर्दछ । काठमाडौँबाट करिब ५ घण्टाको बसयात्रापश्चात् त्यहाँ पुगिन्छ । दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट उत्तरतिर मोडिएपछि दोलखा बजार पुगिन्छ । भीमसेन मन्दिर बजारमै अवस्थित छ । यसलाई भीम, भीमसेन, भीमेश्वर आदि नामले पुकारिन्छ । यसको दर्शनका लागि नेपालका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गर्दछन् ।
महाभारतअनुसार भीम पञ्च पाण्डवहरूमा माहिला छोरा हुन् । उनी अत्यन्त वीर तथा पराक्रमी मानिन्छन् । वनवासका क्रममा अरू पाण्डव तथा माता कुन्तीलाई परेका अप्ठ्याराहरूमा भीमसेनको बलवत्ताको भरपुर उपयोग भएको थियो । पाण्डवहरूमा नै सबैभन्दा बलिया भीम मानिन्छन् । भीम शब्दको शाब्दिक अर्थ भयानक वा डरलाग्दो भन्ने हुन्छ । भीम शिवलाई बुझाउन पनि प्रयोग गरिन्छ । जे होस्, दुष्टको वध गरेर सत्कार्यको अनुसरण गर्ने भीम पूज्य छन् । मन्दिरमा स्थापना गरिएको शिलालाई भीमसेन मानी श्रद्धालुहरू पूजा गर्दछन् ।
भीमसेन मन्दिरका सम्बन्धमा विभिन्न किंवदन्तीहरू प्रचलित छन् । एकपटक बाह्रजना भरियाहरू कतै जाँदै थिए । जाँदा–जाँदै भोक लागेपछि उनीहरू अहिलेको भीमसेन मन्दिर भएको ठाउँमा रोकिए । उनीहरूले खाना पकाउन भनेर तिनवटा ढुङ्गा जम्मा पारे । ती ढुङ्गाको चुलो बनाएर भाँडामा भात बसाले । एक छिनपछि हेर्दा भाँडाको एकातिरको भात पाकेको थियो भने अर्कातिर चामल नै थियो । त्यो देखेर उनीहरूलाई अचम्म लाग्यो । उनीहरूले काँचोलाई पाकेकोतिर र पाकेकोलाई काँचो भएकोतिर पारेर फेरि त्यो भाँडा बसाले । झन् अचम्म भयो । यसपटक भने काँचो भएको पाक्यो तर अघि पाकेको चाहिँ काँचो नै भयो । त्रिकोणाकार शिलामा स्पर्श भएको भागतिर भात काँचो रहने गर्दथ्यो । त्यो देखेर एउटा भरिया रिसले चुर भयो अनि पनिउँले त्यस ढुङ्गालाई हान्यो । ढुङ्गा चोइटियो । त्यसबाट रगत मिश्रित दुध बग्न थाल्यो । उनीहरूले त्यो ढुङ्गा सामान्य शिला नभएर भीमसेन भएको महसुस गरे । त्यसपछि त्यस शिलालाई श्रद्धालुहरूले पूजा गर्न थाले । कालान्तरमा त्यो दोलखाको प्रसिद्ध तीर्थस्थल बन्न पुग्यो ।
भीमसेन मन्दिरका सम्बन्धमा अर्को भनाइ पनि प्रचलित छ । केहीले भीमेश्वर शिवपुराणमा यस्तो घटनाको वर्णन भएको कुरा उल्लेख गरेका छन् । दोलखामा कुनै बेला भीम नाम भएको राजा राज्य गर्दथ्यो । उसले ब्रह्माबाट आशीर्वाद पाएको थियो । ऊ अत्यन्त क्रूर शासक थियो । उसको राज्यमा प्रजाहरूले धेरै समस्या भोग्नुपरेको थियो । उसले दिएको सास्ती सहन नसकेर जीवनरक्षाका लागि प्रजाहरूले भगवान् शिवको प्रार्थना गरे । भगवान् शिव प्रसन्न भएर गौरीशङ्कर हिमालबाट आई त्यस भीमको रक्षा गरे । भीमको संहार गरेकाले भीमेश्वर नामले प्रसिद्ध हुन गई त्यस ठाउँको महत्त्व रहन गएको हो ।
भीमसेनलाई पसिना आउने कुरा त्यहाँका पुजारीहरू बताउने गर्दछन् । शिलामा देखिने पसिनाका कणहरूले देशमा अनिष्ट हुने सम्भावनालाई सङ्केत गर्दछ भन्ने जनविश्वास रहेको छ । विगतका केही दुःखद ऐतिहासिक घटनाहरू घट्नुभन्दा पहिला भीमसेनलाई पसिना आएको खबर फैलिएको चर्चा भएको स्थानीयहरू बताउँछन् । २०५८ को राजदरबार हत्याकाण्ड, २०७२ सालको भूकम्प जानुअगाडि पनि भीमसेनलाई पसिना आएको जिकिर उनीहरूको छ ।
भीमसेन मन्दिरमा स्थापित शिला त्रिकोणाकारको छ । त्यसले तिन देवता बिहान भीमसेन, दिउँसो शिव र साँझमा नारायणलाई प्रतीकात्मक रूपमा बुझाउँछ भन्ने मत केहीको छ भने केही भीमसेन, शिव र देवीलाई बुझाउने कुरामा विश्वास गर्छन् । त्यहाँ कुनै पनि देवीदेवताको आकृति छैन । मन्दिरमा स्थापित शिलालाई नै भीमसेन/भीमेश्वरको रूपमा पूजा गर्ने प्रचलन रहेको छ । खास गरेर भीमा एकादशी अर्थात् निर्जला एकादशी, बाला चतुर्दशी, रामनवमी, चैत्र–अष्टमी आदि चाडपर्वमा मानिसहरूको घुइँचो लाग्ने गर्दछ ।
दोलखाको भीमसेन मन्दिरले सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको छ । विशेष गरेर दोलखावासीको सभ्यतालाई पनि यसले केही हदसम्म प्रतिनिधित्व गरेको छ । यसको उचित व्यवस्थापनमा ध्यान पुग्नु जरुरी छ भने प्रचार–प्रसारका लागि पनि कदम चाल्नुपर्ने देखिन्छ । उचाइमा रहेको कालिन्चोकको दर्शनका लागि लालायित श्रद्धालुहरू भीमसेनको पनि दर्शन गर्न आउने भएकाले यसको समुचित संरक्षण र संवर्धनका लागि सरोकारवालाहरूले चासो दिनु जरुरी छ ।