निङ्गलाशैनी मन्दिर

नेपालको सुदूर पश्चिम भूभागमा पर्ने प्रसिद्ध मन्दिर हो – निङ्गलाशैनी मन्दिर । यसलाई सुदूर पश्चिमका प्रसिद्ध नौ शक्तिपीठहरूमध्ये एक मानिन्छ । यो बैतडी जिल्लाको देहीमाडौँ गाउँमा पर्दछ । देवीको मन्दिर भएकाले यहाँ विभिन्न चाडपर्वहरूमा बलि दिने गरिन्छ । यस मन्दिरमा विशेष गरेर भाद्र शुक्ल चतुर्दशी, आश्विनको महाष्टमी, मार्गशीर्ष (मङ्सिर) शुक्ल पूर्णिमा र चैत्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने पूजाआजाका लागि भक्तजनहरूको घुइँचो हुने गर्दछ ।
भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशीका बेला निङ्गलाशैनी मन्दिरमा चार दिनका लागि मेला लाग्ने गर्दछ । बलिको प्रचलन नभएको यो मेला पूर्णिमासम्म लाग्दछ । निङ्गलाशैनी मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार भित्र्याएसँगै मेला सुरु हुन्छ । यतिखेर मन्दिरको भण्डार प्रदर्शन गर्ने परम्परा पहिलादेखि नै चलिआएको विश्वास गरिन्छ । यस समयमा मन्दिर परिसरमा तीन रात बसी उभिएर बत्ती बालेमा मनको इच्छा पूर्ण हुने विश्वासका साथ भक्तजनहरू आउने गरेको देखिन्छ । नेपालबाट मात्र नभएर भारतबाट पनि मेला भर्न मानिसहरू आउने गर्दछन् । यस मेलालाई स्थानीय भाषामा ठुली जात भन्ने गरिन्छ भने मेलाको रौनक बढाउन देउडा प्रदर्शनीको पनि आयोजना हुने गर्दछ । खास गरेर महिला भक्तजनहरू आफ्नो मनकामना पूर्ण गर्न मेलामा सरिक हुने गरेको बताइन्छ ।
नेपाली समाजमा असोजको दसैँलाई बडा दसैँ तथा चैतको दसैँलाई चैते दसैँ भनेर मान्ने गरिन्छ । दसैँ दुर्गा भवानीको पूजा गरेर असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइने चाड हो । निङ्गलाशैनी शक्तिपीठ भएकाले यी अवसरमा यहाँ श्रद्धालुहरू दर्शनार्थ आउने गर्दछन् । दसैँका बेला अरू देवीमन्दिरजस्तै देवीका स्तोत्रहरूले मन्दिर क्षेत्र ध्वनित हुने गर्दछ । दुर्गा सप्तशतीको पाठपारायण हुनाका साथै घण्टानादले त्यो ठाउँ गुञ्जायमान हुन्छ । बलिप्रथालाई परम्पराका रूपमा यहाँ स्विकारिएको पाइन्छ । मन्दिरमा नवरात्रभरि दर्शनार्थीहरूको भिड जम्मा हुने भए पनि महासप्तमी अर्थात् फूलपातीको दिन र महाष्टमीका दिन गरी दुई दिन भव्य मेला लाग्ने गरेको पाइन्छ । चैते दसैँमा भने अष्टमीका दिन श्रद्धालुहरूको विशेष भिड लाग्ने गर्दछ ।
मङ्सिरको पूर्णिमामा पनि निङ्गलाशैनी मन्दिर भरिभराउ हुन्छ । खास गरेर कुलपूजा तथा स्थानीय देवीदेवताको पूजा गर्ने दिनका रूपमा यस दिनलाई लिइन्छ । कुलपूजा आफ्नै किसिमले चलनचल्तीअनुसार गर्ने गरिन्छ । कतिपयले कुलदेवीका रूपमा त्यहाँ आई पूजा गर्ने गरेको पाइन्छ भने यस पर्वमा पनि त्यहाँ भव्य मेला लाग्ने गर्दछ ।
परम्पराअनुसार विवाह, व्रतबन्ध, चाडपर्व आदिमा दमाहा बजाउने गरिन्छ । आजकल संस्कारहरूमा यसको चलन घट्दो छ । परम्परित रूपमा दमाहा बजाउने मानिसहरू विभिन्न चाडपर्वमा निङ्गलाशैनी मन्दिरमा आई दमाहा बजाउने गर्दछन् । उक्त समूहमा पाँचदेखि दस जनासम्म रहने गर्दछन् । सुदूर पश्चिमको संस्कृतिमा विशेष महत्त्व राख्ने दमाहा बजाउने चलनलाई अझैसम्म पनि केहीले निरन्तरता दिएको पाइन्छ । दमाहा बजाएर अनाज माग्ने परम्पराका रूपमा यो विकसित भएको मानिन्छ ।
निङ्गलाशैनी मन्दिर सांस्कृतिक धरोहर हो । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरले बैतडीको थप परिचय दिएको छ । मेलाजात्रा आदिमा कहिलेकाहीँ हुने गरेको अवाञ्छित क्रियाकलाप रोक्न समिति सक्रिय रहनु राम्रो कुरा हो । समितिले मदिराजन्य वस्तुको प्रयोगमा निषेध गर्दै आए तापनि मेला भर्न जाने मानिसहरू आफैँ नै बढी सजग रहनुपर्ने देखिन्छ । विकृतिलाई हटाई आफ्नो संस्कृतिको संरक्षणमा लाग्दा नै यसको गरिमा बढ्न जाने हुँदा सबैले समुचित विवेकको प्रयोग गरी यसको प्रचारप्रसारमा ध्यान दिनु जरुरी देखिन्छ ।