नेपाल प्राकृतिक तथा सांस्कृतिक रूपमा अत्यन्त समृद्ध देश हो । यो पावन धर्ती ताप्लेजुङदेखि दार्चुलासम्म विभिन्न प्रकारका हिमाल, पहाड, झरना, नदी आदिले सुशोभित छ । त्यसै गरी यहाँ हिमालदेखि तराईसम्म धेरै मन्दिर, चैत्य, दरबार र तीर्थस्थलहरू पनि छन् । बुद्ध, जनक, सीता, भृकुटी तथा ऋषिमुनिहरूको जन्मले यो देशको गरिमा अझ बढेको छ । विविध धर्म, जाति, भूगोल एवम् संस्कृतिको समष्टि बनेको यो भूमि साधनास्थलका रूपमा विश्वमाझ चिरपरिचित छ । कपिल, व्यास, विश्वामित्र, वाल्मीकि, याज्ञवल्क्य आदि महर्षिहरूले यही धरामा तपस्या गरेर सिद्धि प्राप्त गरेका थिए । देवताहरूसमेत स्वर्गको परित्याग गरेर यहीँ बस्न चाहन्छन् भन्ने कुराको वर्णन पुराणहरूमा पाइनाले पनि प्राचीनकालदेखि नै यसको गौरव सगरमाथाभैmँ चुलिएको महसुस हुन्छ ।
नेपालका विभिन्न स्थलहरूको महिमालाई स्कन्दपुराणले परापूर्वकालदेखि नै उजागर गर्दै आएको छ । स्कन्दपुराणले हिमालयक्षेत्रलाई पाँच खण्डमा वर्गीकरण गरेको थियो र सोहीअनुसार हिमालय खण्डलाई पाँच खण्डमा विभक्त गरी हेर्ने प्रचलन अद्यापि विद्यमान छ, जसअन्तर्गत हिमवत्खण्ड, मानसखण्ड, केदारखण्ड, जालन्धरखण्ड र काश्मीरखण्ड पर्दछन् । नेपालको कर्णालीदेखि पूर्वको भाग हिमवत्खण्ड हो । मानसखण्डअन्तर्गत नेपालको कर्णालीदेखि पश्चिमको भाग पर्दछ । तिब्बत र भारतका केही भूभाग पनि मानसखण्डमा पर्दछन् । स्कन्दपुराणमा मानसखण्डको परिचयलाई यसरी प्रस्तुत गरिएको छ ः
नन्दपर्वतमारभ्य यावत् काकगिरिः स्मृतः ।
तावद् वै मानसः खण्डः ख्यायते नृपसत्तम ।।
भारतको कुमाउँ प्रदेशमा नन्दपर्वत छ । नेपालको कर्णालीक्षेत्रमा काकगिरि पर्दछ । ती दुई पर्वतको बिच भागमा अवस्थित भूभाग नै मानसखण्ड हो । भगवान् शङ्करको वासस्थानका रूपमा कैलास पर्वतको चर्चा पौराणिक ग्रन्थहरूमा गरिएको छ । त्यो कैलास पर्वत तिब्बतको पश्चिमतर्पm अवस्थित छ । कैलासको दक्षिणतर्पm मानसरोवर रहेको छ, जसलाई मानस–सरोवरका रूपमा व्याख्या गरिएको छ । मानसरोवर क्षेत्र भगवान् शङ्करको क्रीडास्थलका रूपमा प्रसिद्ध छ । त्यस सरोवरमा राजहाँसहरू विचरण गर्दछन् । सृष्टिकर्ता ब्रह्माले मनबाट नै यस सरोवरको सृष्टि गरेकाले यसको नाम मानस–सरोवर रहन गएको विद्वान्हरू बताउँछन् । यही मानसरोवरको वरिपरि रहेको भूखण्डलाई मानसखण्ड भनिन्छ । मानसखण्ड प्रकृति, धर्म तथा संस्कृतिले विशिष्टतम मानिन्छ ।
नदीहरूलाई सभ्यताको मूल मान्ने गरिन्छ । ब्रह्मपुत्र, सतलज, सिन्धु, कर्णाली, महाकाली, गङ्गा, यमुना, सरस्वती, सरयू, अलकनन्दा, सेती, भेरी आदि नदीहरूको उद्गमस्थल मानसरोवर हो । ती नदीहरूको किनारमा नै मानवसभ्यता विकसित भएको देखिन्छ । तसर्थ, पूर्वीय सभ्यताहरूको मूल मानसरोवर हो भनेर निक्र्योल गरिन्छ । प्राचीनकालमा ब्रह्माले मानवको सृष्टि गर्ने हेतुले मानसरोवरको र त्यसको वरिपरि मानसखण्डको निर्माण गरी मनु र शतरूपाको सृष्टि गरे । पछि गएर तिनै दम्पतीबाट सम्पूर्ण मानवको सृष्टि भएकाले मानसखण्डलाई सृष्टिको मूल पनि मानिन्छ ।
मानसखण्डमा वर्तमान नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेश पर्दछन् । यस खण्डमा काञ्जीरोवा, अपि, सैपाल, छायानाथ, मालिका, व्यास हिमालहरूको अवस्थिति छ, साथै कर्णाली, भेरी, सेती, महाकाली, बुढीगङ्गा, तिला, मोहना आदि नदीहरू पनि यसै क्षेत्रमा प्रवाहित हुन्छन् । रारा, फोक्सुन्डो, घोडाघोडी, वेदकोट आदि तालतलैया एवम् खप्तड, से–फोक्सुन्डो, रारा आदि राष्ट्रिय निकुञ्जले यसको शोभालाई अझ बढाएको अनुभव हुन्छ । अनेक प्रकारका वनस्पति तथा बहुमूल्य जडीबुटीको स्रोत बनेको यस खण्डलाई विविध झरनाको सौन्दर्यले झनै अलङ्कृत गरेको आभास हुन्छ ।
कैलास तथा मानसरोवर क्षेत्र हिन्दू तथा बौद्धहरूको आस्थाको केन्द्र हो । स्कन्दपुराणअनुसार कैलास तथा मानसरोवर यात्राको प्रमुख मार्ग नेपालको मानसखण्डअन्तर्गतको भूभाग नै थियो । जसअनुसार यात्रीहरूले सबैभन्दा पहिला महाकालीमा स्नान गर्नुपर्दछ । महाकालीको किनारमा अवस्थित तीर्थहरूको दर्शन गरी दारूपर्वत चढेर मानसरोवर पुगी त्यहाँ पनि स्नान गर्नुपर्दछ अनि मात्र कैलास पुगेर परिक्रमा गरी मानसरोवरमा फर्केर त्यहाँ फेरि स्नान गरी कर्णालीको किनारमा रहेका तीर्थको दर्शन गर्दै फर्कनुपर्दछ र ज्वालातीर्थको दर्शन गरी महाकाली पुग्नुपर्दछ । त्यसपछि गरिएको ब्रह्मकुण्डको स्नानपश्चात् यात्राले पूर्णता प्राप्त गर्ने विधान रहेको बुझिन्छ । यसरी मानसखण्डमा रहेका चालिस हजार तीर्थको परिक्रमा पनि हुने गर्दछ ।
परापूर्वकालमा मानसरोवरको वरिपरि यक्षहरू बसोबास गर्दथे । यक्ष भनेका शिवका गण हुन् । अहिले पनि मानसखण्डमा प्रमुख रूपमा यक्षका सन्ततिहरूको नै बसोबास रहेको देखिन्छ । तिनलाई वर्तमान सन्दर्भमा खस जाति भनिन्छ । त्यसअन्तर्गत ब्राह्मण, क्षत्रिय, ठकुरी, वादी, दलितहरू पर्दछन् । तीबाहेक यस खण्डमा मगर, थारु, राउटे, राजी, गुरुङ, व्यासी, कुमाल आदि पनि बस्ने गर्दछन् । मानसखण्डको हिमाली क्षेत्रमा शेर्पा जातिको बसोबास पनि रहेको छ । यसरी मानसखण्ड विभिन्न जातिका मानिसहरूको आधारभूमि साबित भएको छ ।
मानसखण्ड सांस्कृतिक रूपमा पनि विकसित छ । यस खण्डमा मनाइने चाडपर्व, उत्सव आदिले यस क्षेत्रको मौलिक संस्कृतिको परिचय दिन्छन् । खस जातिको संस्कृतिको यहाँ विशिष्ट स्थान छ । यहाँ हिन्दू, बौद्ध तथा बोन धर्मावलम्बीको पनि बसोबास छ । यस क्षेत्रका बासिन्दाहरू मस्टोको पूजा गर्दछन् । मस्टोपूजा खस जातिका मानिसहरूको संस्कृति हो । मस्टो उनीहरूका कुलदेवता मानिन्छन् । यिनलाई शिवको नै स्वरूप मानिन्छ । खसहरू नागराज वासुकिको पनि पूजा गर्दछन् । यी खस जातिका मानिसहरू ग्रामदेवता, वनदेवता तथा मार्गदेवताको पनि पूजाअर्चना गर्दछन् । प्राचीनकालमा मानसखण्ड मातृसत्तात्मक रहेको कुरा गौरा पर्वले सूचित गर्दछ । गौरीले स्वतन्त्र रूपले शिवलाई वरका रूपमा स्वीकार गरिन् । त्यही नारीस्वतन्त्रताको सम्झनामा यस क्षेत्रका बासिन्दा गौरा पर्व मनाउँछन् । यस पर्वले मानसखण्डको सामाजिक सद्भावलाई पनि सङ्केत गर्दछ । परिवारको शान्ति, समृद्धि, एकता एवम् प्रसन्नताका लागि पनि नारीहरूको सहभागिता आवश्यक रहेको कुराको सूचना गौरा पर्वले दिने गर्दछ । यस क्षेत्रमा बसोबास गर्ने अरू जातिका मानिसको पनि विभिन्न संस्कृति रहेको छ । यहाँका संस्कृतिले सहिष्णुता अपनाउन तथा आपसी सद्भावपूर्वक जीवनयापन गर्न सुझाउँछन् । यहाँका मानिसहरू सबैका संस्कृतिको उच्च सम्मान गर्दछन् ।
मानसखण्डअन्तर्गत चालिस हजार तीर्थस्थलहरू छन् । तिनले यस क्षेत्रको धार्मिक महत्त्वलाई बढाएका छन् । यहाँ भुवनेश्वरी, उग्रतारा, मालिका, त्रिपुरासुन्दरी आदि धेरै शक्तिपीठहरू छन् । वैद्यनाथ, चन्दननाथ, खार्पुनाथ आदि शिवालयहरू छन् । रेन्छेलिङ आदि बौद्धमन्दिरहरू पनि छन् । खप्तड, वैद्यनाथ आदि तीर्थस्थलका कारण यस क्षेत्रको महिमा अझ मुखरित भएको छ । त्यसैले धार्मिकदृष्टिले पनि मानसखण्ड महत्त्वपूर्ण देखिन्छ ।
जुम्लाको सिञ्जाक्षेत्र नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सिञ्जाक्षेत्रका ताम्रपत्र आदिमा नेपालीभाषाको प्राचीन स्वरूप देख्न पाइन्छ । अहिले पनि यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू प्रायः नेपाली भाषाको प्राचीन स्वरूपको नै प्रयोग गर्दछन् । त्यसकारण भाषाको इतिहासका दृष्टिले पनि मानसखण्ड अत्यन्त गौरवशाली छ ।
यसरी हेर्दा मानसखण्डको पौराणिक, धार्मिक, ऐतिहासिक, भौगोलिक तथा सांस्कृतिक गरिमा उच्च कोटिको साबित हुन्छ । यो प्राकृतिक रूपले मनोरम हुनाका साथै अन्य विविध दृष्टिकोणले पनि समृद्ध छ । यस क्षेत्रको प्रचारप्रसार खासै भएको पाइँदैन । यसको गरिमालाई ख्याल राख्दै भौगोलिक विकटतालाई चिरेर यसको चौतर्फी विकासमा लाग्नु नै अहिलेका लागि श्रेयस्कर हुन्छ ।



