धान्यपूर्णिमाको एक गन्तव्य : दुप्चेश्वर

नुवाकोट सुन्दर पहाडी जिल्ला हो । सांस्कृतिक रूपमा अति नै सम्पन्न नुवाकोटको जिल्ला सदरमुकाम विदुरदेखि करिब ३५ किलोमिटर पूर्वमा पर्ने प्रसिद्ध धार्मिक स्थल हो – दुप्चेश्वर । सुमधुर सङ्गीतमय तादी खोलाको किनारमा अवस्थित दुप्चेश्वर पहाडी चट्टानमा निर्मित अद्भुत शिवलिङ्गका कारण प्रसिद्ध छ । हाल दुप्चेश्वर गाउँपालिकाको वडा नं. ३ मा अवस्थित यस पावन स्थलमा हरेक वर्ष धान्य पूर्णिमाका दिन भव्य मेला लाग्दछ भने हरेक दिन नुवाकोट तथा आसपासका श्रद्धालुहरू यसको दर्शनका लागि त्यहाँ पुग्ने गर्दछन् ।
तादी खोलाबाट जल बोकेर अर्पण गर्न उकालो लाग्ने श्रद्धालुहरू आफूलाई पहाडको लगभग मध्य भागमा अवस्थित दुप्चेश्वरको दर्शनले धन्य भएको महसुस गर्दछन् । काठमाडौँबाट छहरे हुँदै होस् वा ककनी हुँदै होस् अथवा गल्छी हुँदै होस् दर्शनार्थीहरू सडकबाट नै तादी किनार पुग्ने गर्दछन्, तादीको कञ्चन जलले मन र मस्तिष्कका कुत्सित कल्पना र विचारलाई धोएर सानो झोलुङ्गे पुल तर्छन् अनि सिँढीबाट बिस्तारै उकालो लाग्छन् । करिब १० मिनेटको अवधिमा गन्तव्यमा पुग्दा लाग्छ, अगाडिपट्टि चट्ट कसैले खोपेर शिवलिङ्गको निर्माण गरिदिएको छ, चट्टान आफैँ अलिकति भित्र पसेर माथिबाट ओत दिइरहेको छ अनि हरेक बिहान ब्रह्ममुहूर्तमा शीतसँगै पहाडले अभिषेक गर्दछ । झट्ट हेर्दा त्यो प्राकृतिक स्वरूपलाई कलाकारले अमूल्य वरदान मान्न सक्छ भने कविहृदयले शिवभक्तिको अनुपम काव्यधाराबाट अभिषेक गर्न पुग्दछ ।
दुप्चेश्वरका सम्बन्धमा स्थानीयहरूमाझ एउटा किंवदन्ती प्रचलित छ । कुनै गोठालो गाई चराउन गएको हुन्छ । गोधूलीमा फर्कन लाग्दा बाच्छो चरिरहेको देख्छ तर उसले गाई भेट्दैन । गाई हराएको हल्ला गाउँभरि फैलन्छ । केही दिनसम्म गाई भेटिँदैन । हाल दुप्चेश्वर भएको पहाडको वारिपट्टि फाँटमा भेला भएका गाउँलेहरूले गाई बाघको सिकार भएको आशङ्का गर्दछन् । त्यत्तिकैमा दुप्चेश्वर भएको पहाडबाट गाई कराएको आवाज आउँछ । पहरो भएका कारण केही युवाहरू लहरो समाउँदै त्यहाँ पुगेर हेर्दा आश्चर्यमा पर्छन् । गाईले आफ्नो थुनबाट दुग्धधारा बगाएर अभिषेक गरिरहेको त्यो दृश्यले उनीहरू विस्मित भावमा महादेवको प्रार्थना गर्दछन् । त्यहाँबाट कुनै पनि उपायले गाई फिर्ता लैजान नसक्ने सोची फेरि तादीकिनारमा झर्छन् । उनीहरू झर्नुभन्दा अगाडि नै त्यही गाईलाई मुनि चरिरहेको पाउँछन् । झन् आश्चर्यमा परेका उनीहरू भगवान्को शक्ति र लीलाका अगाडि नतमस्तक हुन्छन् । त्यसपछि दुप्चेश्वरको पूजा हुन थालेको परम्परा रहेको हो भन्नेमा स्थानीयहरू विश्वास गर्दछन् । त्यो घटना घटेको दिन धान्य पूर्णिमा परेको थियो भन्ने विश्वासका साथ हरेक वर्ष यस दिन दुप्चेश्वरमा विशाल मेला लाग्दछ । यसरी दुग्धेश्वर तथा गोपालेश्वरका रूपमा प्रतिष्ठित तथा परिचित दुप्चेश्वरमा दुध अर्पण गर्नुको विशेष महत्त्व देखिन्छ ।
दुप्चेश्वरको दर्शनका लागि हालसालै दोहोरो सिँढीको निर्माण भएको छ । जाने र फर्कने तीर्थालुहरूलाई ध्यानमा राखी व्यवस्थित गर्न यसको निर्माण गरिएको हो । केही वर्षअगाडिसम्म लहरा र बुट्यान समाउँदै तन्नेरी र बलिया मानिसहरू मात्र त्यहाँ जाने गरेको स्थानीय बताउँछन् भने दर्शनका अभिलाषाले त्यहाँ जाँदा शिवगतिमा प्राप्त हुने गरेको कहानी पनि सुनाउँछन् साथै चिप्लिने र चोटपटक लाग्ने गरेको कुरालाई स्वाभाविक ढङ्गले व्याख्या गर्दछन् । त्यतिमात्र नभई शिवलिङ्गको आकार पहिला सानो रहेको, अझ वृद्धवृद्धाहरू आम्खोरा घोप्ट्याएजस्तो भनेर त्यसको सानो स्वरूपको चर्चा गर्दछन्, साथै समयको गतिसँगै महादेवको शक्तिले अहिलेको विशाल स्वरूपमा आएको कुरा निःशङ्क भएर बताउँछन् ।
दुप्चेश्वरको महत्त्वलाई पुराणका प्रसङ्गसँग जोडेर हेर्ने गरिन्छ । महादेव कालकूट विषको सेवनपछि पशुपतिनाथ हुँदै दुप्चेश्वरमा पुगी बास बसेको र विष शमनका लागि त्यहाँबाट गोसाइँकुण्ड पुगेको चर्चा हुने गर्दछ । जसका आधारमा दुप्चेश्वरलाई सानो पशुपतिनाथ भनी चिनाउने गरिन्छ । श्रद्धालुको कामना तत्काल पूर्ण हुने विश्वासका साथ यस ठाउँमा पूजा गर्न भक्तहरूको घुइँचो लाग्ने गर्दछ । विशेष गरेर यहाँको पूजाअर्चनाले बोली नफुटेका बच्चाहरू बोल्न थाल्छन्, सन्तान नहुनेहरू सन्तानका धनी हुन्छन्, थारा गाईभैँसीहरूको दाम्लो चढाए ब्याउँछन् भन्ने जनविश्वास छ ।
धान्य पूर्णिमा मङ्सिर महिनामा पर्ने पूर्णिमा हो । यस दिन दुप्चेश्वरमा ठुलो मेला लाग्ने गर्दछ । हजारौँको सङ्ख्यामा उपस्थित हुने भक्तजनहरूको स्तुतिपाठ, भजनकीर्तन, पूजाआजा आदिले यो ठाउँ गुञ्जायमान हुन्छ । मेलालाई व्यवस्थित बनाउने काममा स्थानीय प्रशासन यतिखेर लागिपरेको हुन्छ । स्थानीय हस्तकलाका सामग्रीहरू बेच्नेहरूको पनि उल्लेख्य उपस्थिति रहन्छ । जात्राले धार्मिक तथा सांस्कृतिक आस्थालाई जोगाएको मात्र छैन, स्थानीय कला र सामग्रीलाई चिनाएको पनि छ ।
पछिल्ला वर्षहरूमा नुवाकोटको चिनारी दुप्चेश्वरसँग जोडिँदै गएको छ । यसको व्यवस्थितिका लागि अहिले पहल हुँदै गएको देख्न सकिन्छ तर यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वको प्रचारप्रसार भने सन्तोषजनक देखिँदैन । धार्मिक पर्यटकका लागि मात्र नभएर प्राकृतिक दृश्यहरूलाई मनको क्यानभासमा उतार्न चाहने जोकोहीका लागि पनि विशेष गन्तव्य हो यो । यहाँ धन अर्पण गर्न नसक्नेहरूले मन अर्पण गर्न सक्दछन्, भ्रान्तिको भुँवरीमा अल्झिएकाहरूले शान्तिको अनुभव गर्न सक्दछन् अनि विलासको दलदलबाट माथि उक्लेर कैलाशको दर्शन गर्न सक्दछन् । यो नेपालको सांस्कृतिक धरोहर हो, यसका कथा र गाथाबाट मनको आस्था अझ विशाल हुँदै जान्छ । यसको संरक्षण, प्रचारप्रसार र व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।