कृष्णजन्माष्टमी

परिचय
भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्ने नेपालीहरूको महान् पर्व हो – कृष्णजन्माष्टमी । यही दिन द्वापर युगमा द्वारकाधीश कृष्णको मथुरामा जन्म भएको मानिन्छ । यसलाई गोकुलाष्टमी, श्रीकृष्णजयन्ती तथा जन्माष्टमी मात्र पनि भन्ने गरिन्छ । कृष्ण विष्णुका आठौँ अवतार मानिन्छन् । भगवान् कृष्णको जन्म मध्य रातमा भएकाले मध्य रातसम्म जागा बसेर कृष्णपूजन गर्ने परम्परा छ । यो पर्व नेपाल, भारतलगायतका देशहरूमा भव्य रूपमा मनाइन्छ ।
कृष्ण
संस्कृतमा कृष्ण शब्दले कालो वर्ण जनाउँछ । कालो वर्णको भएकाले नै कृष्ण, श्याम, घनश्यामजस्ता नामले यिनलाई पुकारिन्छ । यति मात्र नभई केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, आदि नामले पनि यिनी चिनिन्छन् । कंसले मथुराको जेलमा वसुदेव र देवकीलाई राखेको बेला उनीहरूको आठौँ पुत्रका रूपमा यिनको जन्म मध्य रातमा भएको थियो । रातमा नै यिनलाई गोकुलमा सारियो । यिनको पालनपोषण नन्द र यशोदाले गोकुलमा गरे । मुरलीको धुनले वातावरणलाई सुमधुर बनाएर गोकुलवासीलाई आफ्नो लीलामा भुलाउँदै धेरै राक्षसहरूको यिनले वध गरे । मक्खन अर्थात् नौनी साह्रै मन पराउने गोठाला अर्थात् गोपाल यिनले अरूको अनुमतिबिना नै जोसुकैको घरबाट झिकेर खाइदिन्थे । राक्षसी अत्याचारबाट संसारको रक्षा गर्न यिनले कंस र शिशुपालको वध गरे । असत्य र अन्यायका पक्षधर कौरवको सर्वनाशमा पाण्डवको साथ दिएर यिनले महाभारत युद्ध जिताउन अहम् भूमिका खेलेका कुराहरू पुराणमा वर्णित छन् । भगवद्गीतामा धर्मस्थापना, साधुरक्षा र दुष्टविनाशका लागि अवतार लिने गरेको कुरा स्वयं कृष्णले अर्जुनलाई बताएका छन् :
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।
(हे अर्जुन ! जब–जब धर्मको नाश हुन्छ र अधर्मको उत्थान हुन्छ, तब–तब म आफूलाई उत्पन्न गर्छु । साधुहरूको रक्षा, दुष्टहरूको विनाश र धर्मको स्थापनाका लागि म युग–युगमा जन्म लिन्छु ।
कृष्णसँग भागवत पुराण र भगवद्गीता अभिन्न भएकाले यिनको चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।
श्रीमद्भागवतपुराण
श्रीमद्भागवतपुराण महर्षि वेदव्यासद्वारा रचित अठारौँ पुराण मानिन्छ । कृष्णको गाथालाई समेटेर भागवत महापुराण लेखिसकेपछि व्यासले सत्रओटा पुराण लेख्दा पनि नपाएको शान्तिको अनुभव गरेका प्रसङ्गहरूको चर्चा पौराणिक ग्रन्थहरूमा पाइन्छ । यस पुराणमा १२ स्कन्ध, ३३५ अध्याय र १८ हजार श्लोक रहेका छन् । नैमिषारण्य क्षेत्रमा शौनकादि ऋषिहरूको जिज्ञासा शान्त गर्ने क्रममा ऋषि सूतले उपदेश गरेको प्रसङ्गबाट नै यसको रचना भएको छ । सूतले शुकदेव स्वामीले परीक्षितलाई उपदेश गरेका कुराहरू नैमिषारण्यमा सुनाएका छन् । मुख्य रूपमा कृष्णका अवतारहरूको चर्चा गरिएको यस पुराणले ब्रह्माण्डको उत्पत्तिदेखि राजामहर्षिहरूको प्रसङ्ग, समुद्र, पर्वत, पाताल, नरक आदिको स्थिति, प्राणीको जन्म, वेद, उपनिषद्का सार, विभिन्न दर्शनको विवेचनलाई समेटेको छ । घरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै एवं पितृतारणका लागि सप्ताह लगाई भागवत कथा पारायण र प्रवचन गर्ने चलन पनि छ । भागवत पुराणलाई सङ्क्षेपमा कृष्णकथासँग जोडेर निम्नानुसार हेर्ने गरेको पाइन्छ :
आदौ देवकिदेवगर्भजननं गोपीगृहे वर्धनम्
मायापूतनजीवितापहरणं गोवर्धनोद्धारणम् ।
कंसच्छेदनकौरवादिहननं कुन्तीतनूजावनम्
एतद्भागवतं पुराणकथितं श्रीकृष्णलीलामृतम् ।।
(पहिला देवकीको गर्भबाट जन्मनु, पछि गोपीहरूको घरमा हुर्कनु, जाली पूतनाको जीवन लिनु, गोवर्धन पर्वतको उद्धार गर्नु, कंसको वध गर्नु, कौरवादिको संहार गर्नु, कुन्तीका छोराहरूको रक्षा गर्नुजस्ता लीलामृतको संयोजनलाई नै भागवत पुराण भनिएको हो ।)
श्रीमद्भगवद्गीता
गीता कृष्णका उपदेशहरूले सजिएको महत्त्वपूर्ण ग्रन्थ हो । गीता महाभारतको भीष्म पर्वबाट लिइएको अंश हो । यसमा १८ अध्याय छन् भने ७ सय श्लोक रहेका छन् । महाभारतको युद्धमा उपस्थित योद्धाहरूलाई हेर्ने इच्छाले रथलाई दुई पक्षको बिचमा लैजान अनुरोध गरेका अर्जुनले आफ्नै सम्बन्धीहरूलाई देखेपछि युद्ध नगर्ने मनसाय व्यक्त गरे । उनका मनमा शङ्का–उपशङ्काहरू उब्जिए । तिनको निराकरण गर्ने क्रममा कृष्णले अर्जुनलाई उपदेश गरेको महाभारतको अंश नै गीता हो । यति सानो अंशमा पनि कृष्णले ज्ञानयोग, कर्मयोग, साङ्ख्ययोग, भक्तियोग आदिको उपदेश गरेका छन् । गीताको पूर्वीय विद्वान्हरूले मात्र नभई पाश्चात्य विद्वान्हरूले पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीतालाई स्पस्ट्याउन निम्न श्लोकहरू उपस्थापित गर्ने परम्परा छ :
गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिःसृता ।
सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः
पार्थो वत्सः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत् ।
(गीतालाई नै राम्रोसँग गाउन सक्नुपर्छ, अरू शास्त्रविस्तारको कुनै अर्थ छैन, जुन गीता स्वयं विष्णुको मुखकमलबाट निस्किएको हो । सबै उपनिषद्हरू गाई हुन्, दुहुने गोपालनन्दन कृष्ण हुन्, बाच्छो अर्जुन हुन्, विद्वान्हरूले यसको भोग गर्छन् भने गीतारूपी अमृत दुध हो ।)
परम्परा
कृष्णजन्माष्टमीका दिन श्रद्धालुहरू बिहान सबेरै स्नानादि कर्म गर्छन् । बिहानैदेखि कृष्ण मन्दिरहरूमा भक्तहरूको एवं व्रतालुहरूको घुइँचो लाग्ने गर्दछ । यस दिन कृष्णप्रणामी मन्दिर, इस्कोन मन्दिर एवं समस्त कृष्ण एवं विष्णुका मन्दिरहरूलाई सजाइएको हुन्छ भने घण्टानाद, विष्णुसहस्रनामस्तोत्र, गीता, भागवतपुराण आदिको वाचनले वातावरण गुञ्जित हुन्छ । यस दिन दिनभर भजनकीर्तनमा रमाएर भक्तजन गाउने र नाच्ने गर्दछन् । मध्य रातमा कृष्णको जन्म भएकाले मध्य रातपछि कृष्णको पूजा गरेर मात्र प्रसाद लिने चलन छ । विभिन्न मठ, मन्दिर, गुरुकुलमा विधिपूर्वक पूजाको आयोजना गरिन्छ भने घरमा पुरोहित नबोलाएको खण्डमा सामान्य पूजा गरेर भए पनि प्रसाद ग्रहण गरिन्छ ।
जन्माष्टमीमा काठमाडौँलगायत विभिन्न स्थानमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने गरिन्छ । पाटनको कृष्णमन्दिर, गोठाटारको नवतनधाम, बुढानीलकण्ठको श्रीकृष्णभावनामृत सङ्घलगायतका मन्दिरहरूमा भव्यताका साथ पूजाआराधना गरिन्छ भने रथयात्रा तथा शोभायात्रा निकालिन्छ । भारतका विभिन्न स्थानमा झाँकीहरू प्रदर्शन गरिन्छ भने सार्वजनिक बिदा पनि दिने गरिन्छ । यस दिन कृष्णलाई अति मन पर्ने मक्खन अरू प्रसादसँग नै अर्पण गरिन्छ । कृष्णगोपिनीप्रेमको चर्चा विश्वव्यापी भएकाले महिनालाई नै प्रेम–उत्सव वा झुलाउत्सवका रूपमा लिने पनि प्रचलन छ ।
उपसंहार
कृष्णजन्माष्टमी सनातन धर्मावलम्बीहरूको महान् चाड हो । नेपालमा यसलाई महत्त्वपूर्ण चाडका रूपमा लिने गरिन्छ । भक्तिमा झुमेर आफूलाई पूर्णरूपेण भगवान्मा समर्पित गर्ने भक्तका लागि यो विशेष पर्व हो । गीतामा कृष्णले अर्जुनलाई भनेका छन् :
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ।
(ममा मन लगाऊ, मेरो भक्त बन, मलाई पूजा गर, मलाई नमन गर, तिमीलाई म यो प्रतिज्ञा गर्छु कि तिमी ममा नै प्राप्त हुनेछौ किनकि तिमी मेरा प्रिय छौ ।)
संसार र पाञ्चभौतिक देहको नश्वरतामा रुमल्लिनुभन्दा आफूलाई भगवान्मा समर्पित गरेर परमानन्दमा लीन हुनु नै हामी मानवजातिका लागि श्रेयस्कर हुन्छ । जन्माष्टमीले हामीलाई भक्तिरसमा चुर्लुम्म डुबाएर आत्मिक सुख र शान्ति प्रदान गर्ने भएकाले यस पर्वको धार्मिक तथा आध्यात्मिक महत्त्व रहन गएको हो । भगवान् श्रीकृष्णले हामी सबैलाई सद्बुद्धि प्रदान गरून् ।

वसुदेवसुतं देवं कंसचाणूरमर्दनम्
देवकीपरमानन्दं कृष्णं वन्दे जगद्गुरुम् ।
(वसुदेवका छोरा, कंस र चाणूरलाई विनाश गर्ने, देवकीका परम आनन्द, संसारका गुरु कृष्ण भगवान्को वन्दना गर्दछु ।)