परिचय
भाद्र महिनाको शुक्ल पक्षको पूर्णिमादेखि आश्विनको कृष्णपक्षको अमावस्या (औँसी) सम्मको अवधिलाई सोह्र श्राद्ध भनिन्छ । वर्षाकालको अन्त्यसँगै कृषिकर्मको समाप्ति हुने र पितृहरूलाई तृप्त पार्नका लागि सोह्र दिनसम्म नेपाली समाज शुद्ध आचरणमा रहने गर्छ । यतिखेर आफ्ना पूर्वजहरूको सम्झना गर्नाका साथै उनीहरूबाट प्राप्त गुण, धर्म, कर्म आदिलाई ससम्मान हेर्ने गरिन्छ । आश्विन कृष्णपक्षको प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, अमावस्या र मातामह (मावलका हजुरबा) श्राद्ध चाहिँ शुक्ल पक्षको प्रतिपदा (घटस्थापनाका दिन) मा हुने गर्छ त्यसैले यी सोह्र तिथिमा हुने पितृकार्यलाई सोह्र श्राद्ध भनिएको हो । यसलाई पितृपक्ष, जितिया, महालय पक्ष आनि नामले पनि चिनिन्छ ।
अर्थ
श्राद्ध शब्द सुन्नेबित्तिकै पितृहरूको तृप्तिका लागि गरिने कार्य भन्ने बुझिन्छ । यो वास्तवमा पितृहरूलाई सम्झेर नै सम्पादन गरिन्छ पनि । यो दिवङ्गत आत्माहरूको सम्मानमा अनुष्ठेय संस्कार हो । श्राद्ध शब्द श्रद्धासँग सम्बन्धित छ । ‘श्रद्धा’ शब्दमा ‘अण्’ प्रत्यय लागेर निष्पन्न हुने संस्कृत भाषाको यो शब्दले श्रद्धापूर्वक दिइने कुरा भन्ने अर्थको प्रकाशन गर्दछ – ‘श्रद्धाहेतुत्वेनास्त्यस्य’ ।
श्रद्धया दीयते यस्मात्तस्माच्छ्राद्धं निगद्यते । (श्रद्धाद्वारा दिइने भएकाले श्राद्ध भनिन्छ ।)
सम्बद्ध कथा
महाभारतमा अत्यन्त दानीका रूपमा सूर्यपुत्र कर्णको चर्चा गरिएको छ । उनी महाभारतको युद्धमा वीरगति प्राप्त गरेपछि स्वर्गवासी भए । स्वर्गप्राप्त त भयो तर उनलाई भोजन भने सुन, चाँदीलगायतका जवाहरत दिइयो । धातुरत्न आदिले भोकतृप्ति हुन सक्दैन किनकि यी खाद्यवस्तु नै होइनन् । उनले खानेकुरा दिनुको सट्टा ती वस्तुहरू दिनाको तात्पर्य स्वर्गका राजा इन्द्रलाई सोधे । जीवनकालमा उनले सुवर्ण आदि मात्र दान गरे, अन्न आदि दान गरेनन् साथै पितृहरूको सम्झनामा दान, दक्षिणा आदि उनीबाट भएन भन्ने प्रत्युत्तर प्राप्त भयो । त्यसपछि उनलाई आफ्नो गल्ती सुधार्न सोह्र श्राद्धका सोह्र दिन पृथ्वीलोकमा पठाइयो । त्यसैले सोह्र श्राद्धमा पितृहरूलाई सम्झेर उनीह्रूको तृप्तिका लागि श्राद्धकर्म गरिन्छ ।
महत्त्व
हिन्दू शास्त्रहरूमा तीन ऋणको उल्लेख भएको पाइन्छ : देव ऋण, ऋषि ऋण र पितृ ऋण । पितृ ऋण आमाबुबालगायत आफ्नो कुलमा जन्मिएका पितृसमान व्यक्तिह्रूको सेवाबाट चुक्ता हुने विश्वास गरिन्छ । जीवित अवस्थामा मात्र नभएर दिवङ्गत अवस्थामा पनि तीन पुस्तासम्मका पितृहरूलाई तर्पण, श्राद्ध आदि आदिद्वारा तृप्त गर्नाले पितृहरू खुसी भई सौभाग्य र समृद्धिको आशीर्वाद प्रदान गर्छन् भन्ने शास्त्रमा उल्लेख गरिएको छ । पितृबाट प्राप्त धनसम्पत्तिमा हक खोज्ने नेपाली समाजले उनीहरूप्रतिको कर्तव्य पनि निर्वाह गर्नुपर्छ । जीवित अवस्थामा सेवा र दिवङ्गत आत्माका लागि श्राद्धकर्मबाट कर्तव्य पूरा गरिन्छ ।
श्राद्धमा पिण्डदानको विशेष मह¤व छ । पिण्ड भात वा जौको गोलाकार डल्लो हो । पिण्ड पितृलाई अर्पण गरिन्छ । मन्त्रशक्तिद्वारा पृथ्वीलोकमा दिइएको पिण्ड पितृहरू जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा भोजनका रूपमा पुग्छ भन्ने मान्यता विकसित छ । श्राद्धमा पिण्डलाई अमृत स्वरूप मानेर अर्पण गरिन्छ । पितृ रुष्ट हुँदा अनिष्ट हुने र पितृ तृप्त हुँदा इष्टसिद्धि हुने शास्त्रीय विश्वासका कारण श्राद्ध गरिन्छ ।
विधि
पितृकर्ममा पवित्रताको निकै ख्याल राख्नुपर्छ । श्राद्धको अघिल्लो दिनलाई एकछाकी भनिन्छ । अघिल्लो दिन नै स्नानादि गरी चोखोनितो गरेर एक छाकमात्र खाने गरिन्छ । श्राद्ध छोरानातिको मात्र कर्म होइन त्यसैले विवाहिता नारीले पनि आफ्नो पतिले जस्तै शुद्धतामा ख्याल गर्नुपर्छ । विवाहपश्चात् गोत्रपरिवर्तन हुने भएकाले पतिको गोत्रमा आइसकेपछि घरका पितृहरूलाई तृप्त गर्नु पत्नीको दायित्व हुन्छ । यसै दिन मुण्डन गर्नाका साथै दाह्रीजुँगा आदि खौरेर नङ पनि लामो भए काटिन्छ । यसलाई कतै–कतै हविष्य पनि भन्ने चलन छ । हविष्य भनेको व्रत, यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन सेवन गर्ने सा¤िवक भोजन हो ।
भोलिपल्ट श्राद्धका दिन बिहान स्नानादि गरी गुरूपुरोहितको आगमनसँगै श्राद्धकर्म सुरु गरिन्छ । यस दिन पनि एकछाकीमा झैँ श्राद्धकर्मको समाप्तिपश्चात् एकपटक मात्र भोजन ग्रहण गरिन्छ । सोह्र श्राद्ध भने अपराह्नमा गरिन्छ ।
पूर्वाह्ने दैविकं कार्यम्, अपराह्ने तु पैतृकम् ।
एकोद्दिष्टं तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।।
(देवतासम्बन्धी कार्य पूर्वाह्नमा, पितृसम्बन्धी कार्य अपराह्नमा, एकोद्दिष्ट चाहिँ मध्याह्नमा र नैमित्तिक नान्दीमुख श्राद्ध चाहिँ बिहानको समयमा गर्नुपर्छ ।)
जुन तिथिमा देहावसान हुन्छ त्यही तिथिमा पितृपक्षमा श्राद्ध गरिन्छ । यदि कुनै कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न पाइएन वा नपाइने अवस्था छ भने अष्टमी, एकादशी तथा औँसीका दिन श्राद्ध गरिन्छ । मृत्युको तिथि नै थाहा हुन नसकेको खण्डमा पनि औँसीमा श्राद्ध गर्ने चलन छ । पितृपक्षको नवमी तिथिलाई माता तथा चतुर्दशीलाई शस्त्रादिबाट अकालमा मृत्युवरण गर्नेहरूका लागि छुट्याइएको छ । पहिला छुट्टाछुट्टै गरिने भए पनि अहिले सकृद् महालयका रूपमा सबैलाई हुने गरी एउटै तिथिमा श्राद्ध गर्न थालिएको छ । सात पुस्तालाई तर्पण गर्नाका साथै तीन पुस्ताको श्राद्ध हुने भएकाले आफ्ना पूर्वजको यसबाट सम्मान हुन जान्छ ।
श्राद्धमा सामान्यतया रातो फूल, रातो अक्षता र अबिरको प्रयोग गरिँदैन । पितृहरूका लागि सेतो वर्ण प्रिय मानिन्छ । अन्त्येष्टि संस्कारमा पनि सेतो नै प्रयोग गरिन्छ । सेतोका साथै पहेलो वर्णको पनि पितृकार्यमा प्रयोग हुने गर्छ । यसमा प्रयोग हुने कुशलाई मूलसहित र चोखो स्थानमा उम्रिएको हुनुपर्छ भनिएको छ ।
समूलस्तु भवेद्दर्भः पितृणां श्राद्धकर्मणि ।
पितृलाई अर्पण गरिने पिण्ड र श्राद्ध गर्न लागिएको ठाउँमा अरुलाई जान तथा सामग्री छुन दिइँदैन । यसमा मन्त्र र विधिअनुसार जनै धारणमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । जनै धारणका दुई विधि छन् : सव्य र अपसव्य । सव्य भनेको बायाँ र अपसव्य भनेको सव्यको उल्टो दायाँ हो । जनै सामान्य अवस्थामा बायाँ काँधमा हुन्छ भने पितृकार्यमा भने यो विधिले बताएअनुसार दायाँ काँधमा राख्नुपर्ने पनि हुन सक्छ ।
उपसंहार
श्राद्ध नेपाली जनमानसमा पितृकर्मको रूपमा प्रख्यात छ । वैज्ञानिक रूपमा पनि वंशाणुगत हिसाबले हाम्रा पितृबाट धेरै कुरा हामीले पाएका हुन्छौँ । त्यसका लागि हामीले उनीहरूप्रतिको दायित्वलाई पूरा गर्नुपर्ने हुन्छ । उनीहरूप्रति श्रद्धा अर्पण गर्ने दिनका रूपमा श्राद्ध आदिलाई मानिन्छ तर अहिलेको पुस्ताले मन्त्रशक्ति र साधनाबाट प्राप्त हुने सिद्धिलाई नबुझ्नाले नै यस्ता कर्महरूबाट विमुख हुन खोजेको देखिन्छ । हाम्रा संस्कारमा निहित अर्थ बुझनु र उनीहरूलाई बुझाउनु जरुरी छ ।



