दसैँ र यसको सामाजिक महत्त्व

पर्व–परिचय
दसैँ नेपाली हिन्दूधर्मावलम्बीहरूको महान् चाड हो । यसलाई विजया दशमी पनि भन्ने गरिन्छ । दुर्गा भवानीले दानवी शक्तिमाथि विजय प्राप्त गरेको तिथि दशमी भएकाले यसको विशेषणका रूपमा विजया शब्दको प्रयोग गरिएको हो । रामले रावणमाथि पनि विजय प्राप्त गरेको दिन यही नै मानिन्छ । यो पर्व असोज महिनाको शुक्ल पक्षभरि मनाइन्छ । प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म रहने शुक्ल पक्ष करिब १५ दिनको अवधि हो । विजया दशमी पनि १५ दिन नै देशभर धुमधामका साथ मनाउने गरिन्छ ।
पहिलो दिन प्रतिपदालाई घटस्थापना भनिन्छ । घटस्थापना भनेको घडाको स्थापना हो । यस दिन घडा स्थापना गरेर जमरा राख्ने चलन छ । यही दिनदेखि नवमीको रात्रिसम्म नौ दिन हुन्छन् र यी नौ दिनमा नौ देवीको पूजा गरिन्छ । यो अवधिलाई नवरात्र भनेर चिन्ने गरिन्छ । यसका महत्त्वपूर्ण दिनहरूमा घटस्थापनासँगै सप्तमी, अष्टमी, नवमी, दशमी र पूर्णिमालाई लिने चलन छ तर हरेक दिन उत्तिकै महत्त्वपूर्ण छन् । सप्तमीलाई फूलपाती पनि भनिन्छ । यस दिन फूलपाती भि¦याइन्छ । अष्टमीमा बलि दिने (आफूभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदिको विनाश गर्ने) प्रचलन छ । नवमीको दिन विशेष गरेर कलकाँटा, यन्त्र, औजार, वाहन आदिको पूजा गर्नाका साथै नवदुर्गाको प्रतीक मानेर नवकन्याको पूजा गरिन्छ र नवरात्रभर दुर्गा सप्तशती अर्थात् चण्डीको पारायण गरिन्छ । नौ दिनसम्म पूजा हुने नवदुर्गालाई निम्नानुसार जान्न सकिन्छ :
पहिलो दिन – शैलपुत्री (हिमालयकी छोरी)
दोस्रो दिन – ब्रह्मचारिणी (ब्रह्मचर्य व्रत पालन गरेकी)
तेस्रो दिन – चन्द्रघण्टा (निधारमा चन्द्र र हातमा घण्टा धारण गरेकी)
चौथो दिन – कुष्माण्डा (कुभिन्डोस्वरूप ब्रह्माण्डको सृष्टि गरेकी)
पाँचौ दिन – स्कन्दमाता (कुमारकी आमा)
छैटौँ दिन – कात्यायनी (ऋषि कात्यायनद्वारा उपासना गरेर छोरीका रूपमा आएकी)
सातौँ दिन – कालरात्रि (रात्रिसमान घना कालो वर्ण भएकी)
आठौँ दिन – महागौरी (गोरी/सेतो वर्ण भएकी र सेतो पहिरनमा सजिएकी)
नवौँ दिन – सिद्धिदात्री (सिद्धि प्रदान गर्ने)
दशमी विशेष एवम् मुख्य दिन हो । दुर्गा भवानीको पूजा गरी यस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद थापिन्छ । अक्षता र अबिर दहीमा मुछेर टीका बनाइएको हुन्छ । घटस्थापनामा रोपेको जमरा घरभित्र राखेकाले पहेलिएको हुन्छ । यस पर्वमा फूलको सट्टा जमराको प्रयोग गरिन्छ । दशमीमा सुरु भएको टीका नेपालका केही भागमा त्यही दिन मात्र लगाइन्छ भने केही भागमा पूर्णिमासम्म लगाई सेलाउने गरिन्छ । दसैँको पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ ।
सामाजिक महत्त्व
मातृदेवो भव । पितृदेवो भव । आचार्यदेवो भव ।
उपनिषद् जसलाई वेदको ज्ञानकाण्ड भनिन्छ । उपनिषद्मा अनुशासनशिक्षामा प्रयोग भएका वाक्यहरू माथि उद्धृृत गरिएका छन् । जसको अर्थ ‘आमा, बुबा र गुरुलाई देवतासमान मान’ भन्ने हुन्छ । उपनिषद्, नीतिग्रन्थ आदिले दिएको यही अनुशासनको शिक्षालाई व्यवहारमा ल्याउने काम दसैँले गरिरहेको हुन्छ । आमा, बुबा र गुरु मात्र नभएर आफ्ना मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने तथा आफूभन्दा सानालाई आशीर्वाद प्रदान गर्ने चाड भएकाले यसले आफन्तजनमा आत्मीयता बढाउने काम गर्दछ । त्यति मात्र नभई आफ्ना वंशजहरूसँग चिनाजानी गरी भावना आदानप्रदान गर्ने मौका हरेक वर्ष नेपालीहरूलाई यसले दिएको छ । आपसी सद्भावमा वृद्धि गरी सम्बन्धलाई अझ प्रगाढ बनाउने चाडका रूपमा समेत यो परिचित छ ।
दसैँका अवसरमा वर्षभरि घरबाहिर तथा विदेशमा रहेर आफ्नो व्यवसाय गरिरहेका मानिसहरू सकेसम्म आफ्नो घर फर्कन्छन् । कामको खोजीमा सहरतिर बसाइँ सरेकाहरू पनि आफू जन्मेहुर्केको गाउँ जाने गर्दछन् । एकल परिवारको अवधारणाले आजकल जरो गाडेकाले यसको सङ्ख्या दिनानुदिन बढ्दो देखिन्छ । यसका साथै गाउँमा जीवन व्यतीत गरेर वृद्ध अवस्थामा गाउँकै माटोमा सिरानी गरेर सुत्न चाहने बुबाआमा एवम् हजुरबा–हजुरआमाहरूको सहरप्रतिको अनास्थाका कारण पनि सन्ततिहरूले त्यो न्यानो मायाको स्पर्श पाएका हुँदैनन् । यसै अवसरमा जे–जस्तो परिस्थिति तथा कारणले भए पनि बिछोडिएका हजुरबा तथा हजुरआमाहरूको न्यास्रो नातिनातिनाले मेट्ने गर्दछन् । भौतिक तथा मानसिक रूपमा निकट रहेर मानिसहरू आत्मीयताको जगमा मायाको स्तम्भ खडा गरी परिवाररूपी भवनको निर्माण गर्दछन् । यस चाडले नेपालीहरूलाई पूर्ण परिवारमा समेट्न अहम् भूमिका खेल्ने गर्दछ ।
मानसिक शान्तिका लागि पनि दसैँले विशेष भूमिका खेल्छ । एउटै दिनचर्याले मन भारी हुन्छ । भारी भएको मनबाट त्यसमा जमेर बसेका कुराहरू आफन्त, इष्टमित्रसामु पोख्नाले मन हलुका हुन पुग्छ । दसैँले यस्तो खालको अवसर जुटाइदिने भएकाले मानिसहरूले स्फूर्ति तथा पुनर्ताजगी प्राप्त गर्दछन् । आनन्दित परिवेश, शान्त चेत र स्वस्थ मन यस चाडका सहगामी विषय हुन् ।
धेरै समयसम्म भेट नभएका साथीभाइ तथा छिमेकीहरूसँग बसेर खुसी साटासाट गर्ने अवसर दसैँले सृजना गरिदिन्छ । व्यस्त दैनिकीका कारण बेखबर हुन पुगेका साथीसँगातीको हालचाल बुझ्ने अनि आफ्नो अवस्थाको अवगत गराउँदै रमाइलो गर्ने चलन यसमा चलेको छ । जसका कारण खिया लाग्न लागेको सम्बन्धमा थप चमक र रौनक थपिन पुग्छ । अझ सानासाना केटाकेटीहरू शारदीय पुष्पहरूले प्रकृतिमा सौन्दर्य छरेझैँ विद्यालयीय बोझलाई केही समयका लागि थन्क्याएर नयाँ लुगा, चङ्गा, दक्षिणा आदिमा पूर्णतया आफूलाई भिजाई उन्मुक्त मुस्कान वातावरणमा छरिदिन्छन् अनि आफूलाई अलि बुजु्रग ठान्नेहरू त्यही मुस्कानबाट अलिकति सापटी लिएर र अलिकति थपेर नेपाली धर्तीलाई अक्षताले निधार रङ्गाएजस्तै रङ्गाइदिन्छन् । यतिखेर जसरी प्रकृतिले धानमा हरियोपन भरेर हरियाली छाउँछ त्यसरी नै दुर्गा भवानीको आशीर्वादले जमरामा खुसी भरेर खुसियाली पनि ल्याउँछ ।
उपसंहार
हुन त नेपाली परम्परालाई खुम्च्याउन हो वा अरू कुनै कारणले हो, दसैँको बिदाको अवधि क्रमशः साँघुरिँदै गएको छ । यो साँघुरोपनभित्र पनि नेपालीहरूको विशाल छाती हर्ष र उल्लासले ढक्क फुलेको हुन्छ । दसैँ समस्त नेपालीहरूको महान् चाड हो । यसको गरिमा र महिमालाई हृदयङ्गम गरी हामीले यसलाई मनाउनुपर्छ । जुवातास, जाँडरक्सीको सेवन एवम् पशुबलिको दुर्गन्धले यसको सुगन्धलाई ढाक्न दिनुहुँदैन । दुर्गा भवानीको उपासना गरेर प्रसाद ग्रहण गर्नुपर्छ, बन्धुत्वको बीज विश्वभर रोपेर सम्बन्धको बलियो उदाहरण विश्वमाझ प्रस्तुत गर्नुपर्दछ साथै गुुराँसले सौन्दर्य वनपाखमा फैलाएझैँ सद्भावको सौन्दर्य जहाँतहीँ फैलाउनुपर्छ । दसैँका बेला हुने आन्तरिक पर्यटनलाई नजरअन्दाज गरी पर्यटन वर्ष २०२० को आयोजना गरेर आर्थिक उन्नतिको लक्ष्य लिने सरकारले पारिवारिक मिलन तथा सामाजिक सद्भावको अभिवृद्धिमा बिदा कटौती गर्दै नेपाली परम्परामाथि प्रहार गर्न पनि छोड्नुपर्छ ।
जय दुर्गे !

विजया दशमीमा प्रसाद र आशीर्वाद प्रदान गर्दा उच्चारण गरिने मन्त्र :
आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे/दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
(तपाईँको आयु चिरञ्जीवी अश्वत्थामाको, श्रीसम्पत्ति दशरथको, शत्रुको विनाश रघुको वंशमा जन्मिएका रामको, ऐश्वर्य नहुषको, गति वायुको, मान दुर्योधनको, शूरता शन्तनुको/दान सूर्यपुत्र कर्णको, बल हलो धारण गर्ने बलरामको, सत्य कुन्तीपुत्र युधिष्ठिरको, विज्ञान विदुरको र कीर्ति भगवान् नारायणको जस्तो होस् ।)