तिहार नेपाली हिन्दूधर्मावलम्बीहरूको महान् चाड हो । यो कार्तिक महिनामा पर्दछ । कार्तिकको कृष्ण पक्षको त्रयोदशी तिथिदेखि चतुर्दशी, अमावस्या (औँसी), शुक्ल पक्षको प्रतिपदा र द्वितीयासम्म गरी पाँच दिन यो पर्व मनाइन्छ । यस पर्वलाई दीपावली नामले पनि चिनिन्छ । दीपावली भनेको बत्तीहरूको लहर वा पङ्क्ति हो । यस पर्वमा दियो बालेर वा झिलिमिली बत्ती बालेर घर सजाइने गरिन्छ । त्यसैले यसको नाम दीपावली रहन गएको हो । यस पर्वको अर्को नाम भाइटीका हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने भएकाले यसलाई भाइटीका भन्ने गरिएको हो भने यस पर्वलाई नै यमपञ्चक पनि भनिन्छ । यस पर्वमा पाँच दिन हुन्छन् र यमुनाले यमराजलाई टीका लगाएकाले भाइलाई टीका लगाइदिने परम्परा बसेको हो भन्ने जनविश्वास रहेको छ ।
कार्तिक कृष्ण पक्षको त्रयोदशीबाट तिहार सुरु हुन्छ । यो नै तिहारको पहिलो दिन हो । यस दिनलाई कागतिहार भन्ने प्रचलन छ । यमराजको दूत मानी कागलाई फूलपाती, भोजन आदि अर्पण गरेर मात्र यस दिन खाने गरिन्छ । चतुर्दशी दोस्रो दिन हो । यस दिनलाई कुकुर तिहार भनिन्छ । कुकुर घरपालुवा जनावर हो र यसले घरको रक्षा गर्ने गर्दछ । अतः गृहरक्षकको रूपमा यस दिन कुकुरको पूजा गरी माला लगाइदिएर खाना दिने गरिन्छ अनि मात्र आफूले खाइन्छ ।
तिहारको तेस्रो दिन औँसी हो र यसलाई गाईतिहार भनिन्छ । यही दिनलाई लक्ष्मीपूजा पनि भन्ने गरिन्छ । यस दिन बिहान गाईको पूजा गरिन्छ । गाईलाई माला लगाइदिएर फलफूल र नैवेद्य आदि अर्पण गरिन्छ । हिन्दूहरू गाईलाई लक्ष्मीको स्वरूप मानिन्छ । पञ्चगव्य (गाईबाट प्राप्त हुने पाँच वस्तु : दुध, दही, घिउ, गोबर र गहुँत) लाई अमृतसमान मानिन्छ । बिहान गाईको पूजा सकेपछि बेलुका भने घरमा लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । लक्ष्मी खुसी हुँदा धनको वर्षा गरिदिन्छिन् र समृद्धि छाउँछ भन्ने विश्वास गरिन्छ । लक्ष्मीलाई घरमा भि¦याउनका लागि घर सफा गरिन्छ । फोहोर भएको खण्डमा लक्ष्मी त्यस घरमा प्रवेश गर्दिनन् भन्ने मान्यता विकसित छ ।
घरलाई दियो बालेर सजाइन्छ । आजकल भने विद्युतीय बत्तीहरूले झिलिमिली बनाउन थालिएको छ । कतिपयले मैनबत्ती पनि बाल्ने गर्दछन् । जसरी हुन्छ दीपावली सजाइएको हुन्छ । भारतमा भने त्रेतायुगमा रामले लङ्का विजय गरी फर्केका कारण रामको स्वागतार्थ अयोध्यावासीले दीपावली गरेकाले उक्त दिनदेखि दीपावलीको प्रचलन सुरु भएको विश्वास एकातिर गरिन्छ भने अर्कातिर लक्ष्मीलाई भित्र्याउने उद्देश्यका कारण पनि सजावट गरिएको हो भन्ने मानिन्छ ।
विशेष गरी सेलरोटी पकाएर चढाइने भएकाले यो सेलरोटीको चाड पनि हो । यसै दिनबाट देउसी–भैलो खेल्न सुरु गरिन्छ । साथीहरू जम्मा भई छरछिमेकमा गएर देउसीभैलो गाइन्छ र रमाइलो गरिन्छ । घरधनीले पनि देउसीभैलो खेल्न आउनेलाई नाङ्लोमा बत्ती, सेलरोटी, चामल, पैसा आदि सजाई आँगनमा राखिदिने गर्दछन् । देउसेले त्यो लिएर आशीर्वाद दिई बिदा लिने गर्दछन् ।
तिहारको चौथो दिन कार्तिक शुक्ल पक्षको प्रतिपदालाई गोरुतिहार वा गोवर्धनपूजाका नामले चिनिन्छ । यस दिन बिहान गोरुको पूजा गरिन्छ । द्वापरयुगमा गोकुलवासीलाई श्रीकृष्णले गोवर्धन पर्वतबाट धेरै तरिकाले सहयोग पाइने भएकाले पर्वतको पूजा गर्न लगाएका थिए भन्ने मानी यस दिनबाट गोवर्धनपूजाको प्रचलन चलेको विश्वास गरिन्छ । गोबरको थुप्रोलाई गोवर्धन पर्वतको स्वरूप मानी त्यसमा पूजा गर्ने परम्परा छ । श्रीकृष्णले कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर भीषण वर्षाबाट गोकुलवासीहरूलाई सुरक्षित राखेको कथा पुराणहरूमा पाइन्छ । नेवार जातिमा भने यस दिन म्हपूजा प्रचलित छ । आत्मपूजाका रूपमा यस दिन नेवार जातिका मानिसहरू आफूलाई पूजा गर्दछन् ।
तिहारको मुख्य र अन्तिम दिन द्वितीया हो । यस दिनलाई भाइतिहार वा भाइटीका भनिन्छ । यमुनाले यमराजलाई टीका लगाई पूजा गरेकाले भाइपूजा गर्ने परम्परा बसेको धार्मिक विश्वासका कारण यस दिन दिदीबहिनीले दाजुभाइलाई सम्भव भएसम्म आफ्नो घरमा बोलाई टीका लगाइदिने गर्दछन् । भाइटीकाले दाजुभाइको अकाल मृत्यु हुँदैन भन्ने विश्वास लिइन्छ । भाइटीकामा लगाइने टीका सप्तरङ्गी हुन्छ भने माला मखमली, सयपत्री आदि फूल टिपेर बनाइएको हुन्छ । भाइटीका दाजुभाइको आरोग्य र दीर्घायुको कामना गर्दै लगाइन्छ । यस दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमराजको पूजा गर्छन्, तेल र पानीले दाजुभाइलाई छेकी दैलामा ओखर फुटाएर टीका लगाउनाका साथै मिष्टान्न भोजन खुवाउने गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई उपहार एवम् दक्षिणा दिने गर्दछन् ।
पन्छी र पशुमा समेत देवत्व देख्ने पर्व तिहार हो । कागले खबर ल्याउँछ भन्ने विश्वास नेपालीहरूको रहेको छ । कुकुरले अपरिचितहरूलाई भुकेर र लखेटेर चोरी, डकैती हुन दिँदैन । यी सहयोगी छन् । देवताहरू पनि मानवलाई वर्षा, वायु, किरण आदि प्रदान गरेर सहयोग गरिरहन्छन् । नेपालीहरू तिनै कुरालाई वरदानका रूपमा स्विकार्छन् र देवताको पूजाआराधना गर्दछन् । गाईलाई हिन्दूधर्मावलम्बीहरू लक्ष्मीको स्वरूप मान्दछन् । लक्ष्मी धनकी देवी हुन् । उनी धन बर्साउँछिन् । गाई आरोग्यकी देवी हुन् । उनी सुस्वास्थ्य बर्साउँछिन् । तिहारले दुबैको सम्झना गर्छ । त्यति मात्र नभएर यसले लक्ष्मी भित्र्याउन घरको रङरोगन गराउँछ, मर्मतसम्भार गराउँछ र सरसफाइ पनि गराउँछ ।
गोरु महादेवको वाहन हो । बालीमा सहयोग गरी यसले अन्न प्रदान गर्दछ । पर्वत प्राणीका लागि प्रकृतिको उपहार हो । बहुमूल्य जडीबुटीदेखि वातावरणको स्वच्छताको सुरक्षासम्म यसले गरेको हुन्छ । यसका साथै दृढ रहन र अविचलित हुन पनि यसले सिकाएको हुन्छ । धन, आरोग्य र अन्न भयो भने जीवन सुखी तथा आनन्दित रहन्छ । यी प्राप्त हुने वस्तु तिहारमा पूजित हुन्छन् ।
गीत र सङ्गीत मन बहलाउने साधन हुन् । शरद् ऋतुले रङ्गीन बनाएको प्रकृतिमा तिहारले गीत र सङ्गीत भर्छ । देउसी र भैलोको धुन तथा गीतले वातावरणलाई अझ रोमाञ्चक बनाउँछ । त्यसमाथि साथीभाइसँगको बसाइ, घुमाइ र नचाइले सारा दुःखकष्ट भुलाइदिने गर्दछ । रात्रिको अन्धकारमा पनि मनका कुना–कुना भने उज्यालिएका हुन्छन् । त्यसैले तिहारले साथीसँगातीसँगको आत्मीयता र मनोरञ्जनको बहार बोकेर ल्याएको हुन्छ ।
तिहार दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ सुदृढ बनाउने चाड हो । सामान्यतया नेपाली परम्परामा चेलीबेटीको घर कमै गइन्छ । यस पर्वमा भने दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा बोलाउने भएकाले दाजुभाइहरू चेलीबेटीकहाँ पुग्ने गर्दछन् । यसले आफ्ना दिदीबहिनीहरूको अवस्था बुझ्ने मौका प्रदान गरेको हुन्छ भने उनीहरूलाई बाँध्ने मायाको डोरीलाई पनि झन् कसिलो बनाउने गर्छ ।
तिहार हिन्दूधर्मावलम्बी नेपालीहरूको विशेष चाड हो । यसलाई विशेष रूपमै मनाउने गर्नुपर्छ । यो नेपालीहरूको एउटा चिनारी बनिसकेको छ । आजकल भने अगाडिदेखि नै देउसीभैलो खेल्ने, ठुलो आवाजमा बाजाहरू बजाउने, जाँडरक्सी सेवन गरी भाँडभैलो गर्ने, मौलिक परम्पराको जगेर्ना गर्नुभन्दा यसलाई अझ विकृत बनाउने चेष्टा भइरहेको देखिन्छ । अझ देउसीभैलोको नाममा अरूको घरघरमा गएर बारुदपटकाहरू पड्काउने र तोडफोड गर्ने निन्दनीय कार्य हुन थालेको सुनिन्छ । यस्ता कामलाई रोकी मौलिक परम्परालाई निरन्तरता दिँदा मात्र यसको महत्त्व रहने गर्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।



