हिमाल, पहाड र तराईमा विभाजित नेपाली भूखण्डमध्ये मधेस वा तराईमा अत्यधिक आस्था र श्रद्धाका साथ छठ मनाउने गरिन्छ । भारतका उत्तरप्रदेश तथा विहारका केही क्षेत्रमा पनि यो भव्यताका साथ मनाइन्छ । छठ सूर्य र छठीमाईको पूजा गरेर कार्तिक शुक्ल षष्ठीका दिन मनाइने चाड हो । संस्कृतको षष्ठी शब्दबाट अपभ्रंश भएकाले यसलाई जनसमुदाय छैठी, छइठ आदि नामले चिन्ने गर्दछ । यो चाड विशेष गरेर तराईमा मनाइन्छ तर हिजोआज भने देशव्यापी हुँदै गएको छ । भाइटीकाको तीन दिनपछि धुमधामसँग यो चाड मनाइने यस चाडले आपसी सद्भाव बढाउँछ । यसमा पवित्रतालाई बढी ख्याल गरिन्छ । छठभन्दा दुई दिनअगाडिदेखि नै चोखोनितो गरेर यसको स्वागत गर्ने चलन छ भने छठको भोलिपल्ट मात्र समापन गरिन्छ । त्यसैले यो कार्तिक शुक्ल चतुर्थी, पञ्चमी, षष्ठी र सप्तमी गरी लगभग चार दिनसम्म मनाइन्छ । यसमा व्रत बस्नाले मनको इच्छा पूरा हुने विश्वास गरिन्छ ।
सबैभन्दा पहिला अत्रि ऋषिकी पत्नीले सूर्यको पूजा गरेकी थिइन् भन्ने मान्यता छ । अयोध्याका अधिपति राम सूर्यवंशी भएकाले उनले पनि सूर्यपूजा गरेका थिए साथै महाभारतमा वर्णित कर्णले पनि सूर्यपूजा गरेको चर्चा भए तापनि छठलाई पाण्डवसँग लगेर जोड्ने गरिन्छ । पाण्डवले अज्ञात वासको सफलताका लागि सूर्यको पूजा गरेको प्रसङ्ग भेटिन्छ । त्यसपछि छठ मनाउन थालिएको विश्वास अधिकांशले गर्दछन् । जे होस् धेरै वर्षअगाडिदेखि यो चाड मनाउन थालिएको हो । यसमा घरकी मूल महिलाले नेतृत्व गर्छिन् । यस पर्वको स्मरणीय कुरा के छ भने यसमा सूर्यपूजाका लागि पुरोहितको आवश्यकता पर्दैन । श्रद्धालुले भक्ति र आस्थापूर्वक आफ्नै रीतले यस पर्वमा पूजाअर्चना गर्दछन् ।
दसैँ तथा तिहारपछि लगत्तै आउने यस चाडले अहिंसाभावलाई फैलाउने गर्दछ । मधेसतिर तिहारपछि छठको समाप्तिपर्यन्त मत्स्य, मांस, मदिरा आदिको सेवन नगर्ने परम्परा छ । घरआँगन लिपपोत गरी सफा राखिन्छ भने चतुर्थीदेखि नै पहिरन तथा खानपानमा विशेष ध्यान दिइन्छ । चतुर्थीको दिनलाई जनबोलीमा नहाखाए भनिन्छ । स्नान गरी चोखो खाने प्रचलन छ । दोस्रो दिन अर्थात् पञ्चमीको दिनलाई खरना भनिन्छ । यसलाई पापनाश गर्ने दिनका रूपमा लिइन्छ । यस दिन मानिसहरू लिपपोत गरी अरबा चामलको झोलले जमिनलाई संशोधित गर्दछन् । व्रतालुहरू बेलुका चन्द्रोदयसम्म पानी पनि नपिई व्रत बस्दछन् भने चन्द्रोदयपछि चन्द्रदेवलाई पायस अर्थात् खीर चढाएर प्रसादका रूपमा त्यही खाने गर्दछन् ।
छठको तेस्रो दिन मुख्य दिन हो । यस दिन प्रसादका लागि गहुँ र चामलका पिठोबाट विभिन्न थरी नैवेद्य बनाउने गरिन्छ । ठेकुवा, भुसुवा, खजुरी, पेरुकिया आदि बनाई केरा, सुन्तला, नरिवल, ज्यामिर, अदुवा, माटाको हात्ती, पूजासामग्री आदिलाई ठुलो ढक्कीमा राखेर श्रद्धालुहरू नजिकको पोखरी, तालतलैया, नदी वा खोलानालामा जाने गर्दछन् । केही भने पूजासामग्रीलाई नाङ्लामा राखी जलाशयतर्फ लाग्दछन् । पूजास्थान बनाई त्यस दिन अस्ताउन लागेको सूर्यलाई अर्घ दिइन्छ । यसलाई जनबोलीमा सँझिया अरघ भनिन्छ । यसै दिन छठीमाईको पनि पूजा हुने गर्दछ । सक्नेहरू जलाशयमा आधा शरीर डुबाई सूर्यको उपासना गर्दछन् । कठोर व्रत लिनेहरू पानी पनि पिउँदैनन् । रातभर जाग्राम बसी भजनकीर्तन गर्दछन् । केही भने साँझ अर्घ दिइसकेपछि घर फर्कन्छन् र बिहान उदाउँदो सूर्यलाई अर्घ दिन जलाशयतर्फ जाने गर्दछन् । बिहान सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समाप्ति हुन्छ । त्यसरी दिने अर्घलाई जनबोलीमा भोरुकवा अरघ भनिन्छ । त्यसपछि व्रतकथा श्रवण गरिन्छ । यसको प्रसाद सकेसम्म धेरैलाई बाँड्नुपर्छ भन्ने मान्यता छ । तसर्थ, आफन्त तथा छरछिमेकमा प्रसाद बाँड्ने गरिन्छ । यसमा परिवारको आरोग्य र सुखको कामना गरिन्छ । छठको व्रतलाई कठोर किसिमको व्रत मानिन्छ ।
छठमा यो जीवनका लागि सूर्यदेवलाई धन्यवाद प्रकट गरिन्छ । यसले प्रकृतिको पूजा गर्ने नेपाली परम्पराको चिनारी गराउँछ । यसमा नदी तथा पोखरीको किनारलाई सजाइएको हुन्छ र एकै ठाउँमा सबै जातजातिका मानिसहरू भेला हुने गर्छन् । यसले सबैमा एकता र भाइचारा बढाउँछ । सामाजिक सद्भाव कायम राख्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ । बन्धुत्वभाव फैलाउँदै एकै ठाउँमा भेला हुने मानिसहरूले परस्परमा सद्भाव प्रकट गरिरहेका हुन्छन् । सरसफाइका लागि हातेमालो गर्दै काममा अग्रसर भएको जनसमूह हेर्दा एकताको भावना छताछुल्ल पोखिएको भान हुन्छ । तसर्थ छठ सामूहिक एकताको पर्व हो, प्रकृतिप्रति व्यक्त श्रद्धाको पर्व हो, कृतज्ञताको पर्व हो, भक्तिको पर्व हो र आपसी सद्भावको पर्व हो ।



