पृष्ठभूमि
तिज अधिकांश नेपाली महिलाहरूको महान् चाड हो । विशेष गरी हिन्दुधर्मावलम्बी महिलाहरू यसलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिज र भाद्र शुक्ल पञ्चमी अर्थात् तिजको पर्सिपल्ट मनाइने ऋषिपञ्चमी पर्वले महिलासँग विशेष सम्बन्ध राख्दै आएको पाइन्छ । तिज तृतीया तिथिमा भगवान् शिवको पूजाआराधना गरी सम्भव भएसम्म निराहार र निर्जल व्रत बसेर मनाइने पर्व भए पनि आजकल द्वितीयादेखि पञ्चमीसम्म गरी ४ दिनको अवधिलाई तिज भन्न थालिएको छ । बिचमा पर्ने गणेश चौथीलाई समेत तिजअन्तर्गत राखेर हेर्न थालिएको छ । वास्तवमा अलग–अलग पर्व आफ्नै विशेषता, महत्त्व र सांस्कृतिक इतिहासबाट प्रचलनमा रहेका हुन्छन् ।
हरितालिका र दर
तिजलाई हरितालिका नामले पनि नेपाली समाजमा चिन्ने गरिन्छ । कतिपय संस्कृत ग्रन्थहरूमा हरितालिका भनेर चौथीलाई सङ्केत गरिएको पाइन्छ । साथीहरूद्वारा घरबाट हरण गरिएकी पार्वती भन्ने अर्थमा हरितालिका शब्दको प्रयोग भएको भन्ने मत अघि सार्ने गरेको पाइन्छ । अहिले यस पर्वका लागि तिज र हरितालिका दुबै शब्द रुढ भइसकेका छन् । तिजको सुरुवात अघिल्लो दिनदेखि नै हुने गर्दछ । अघिल्लो दिन अर्थात् द्वितीयालाई दर खाने दिन भनिन्छ । यस दिन राति अबेरसम्म बसी खिर, सेलरोटी आदि मिष्ठान्न बनाएर खाइन्छ ।
परम्परित रूपमा तिजको अघिल्लो दिन दर खाने प्रचलन रहे पनि आजकल तिज आउनुभन्दा करिब एक महिनाअगाडिदेखि नै दर खाने परिपाटीको सुरुवात भएको देखिन्छ । भोलिपल्ट व्रत बस्न सहज होस् भनी अघिल्लो दिन खाइने मिष्ठान्नलाई दर भनिएको हो । दर सात्विक भोजन हुनुपर्छ । पछिल्लो समय दरका नाममा धेरै दिनअगाडिदेखि मांसाहार र मद्यपान गर्ने प्रवृत्ति महिलाहरूमा बढेको देखिन्छ । रेस्टुरेन्ट, पार्टी प्यालेसहरूमा भेला भएर मदिराको तालमा नाच्ने, गाउने प्रवृत्तिले पर्वको गरिमामा आँच पु¥याइरहेको छ । कोभिडका कारण गत वर्ष सामूहिक जमघटले त्यति ठाउँ पाएको थिएन भने यस वर्ष पनि सम्भावना त्यस्तै देखिन्छ । तर, कुनै पनि वर्ष संस्कृतिका नाममा मनमोजी गर्नु, स्वतन्त्रताका नारा घन्काएर संस्कृतिलाई विकृतिका रूपमा अपनाउनुभन्दा त्यसको गौरवलाई जीवन्त राख्नु श्रेयस्कर हुन्छ ।
व्रत
तिजका दिन पार्वतीले महादेवको पूजाआराधना गरी महादेवलाई नै पतिका रूपमा प्राप्त गरेको कथा पुराणहरूमा पाइन्छ । पार्वतीका पिताले विष्णुसँग विवाह गरिदिने वचन दिएकामा चित्त नबुझी तपस्या र आराधनाबाट पार्वतीले महादेवलाई खुसी पारेको प्रसङ्गले तिजमा बसिने व्रतको विशिष्टतालाई उजागर गर्दछ । सामान्यतया अविवाहित युवतीहरू राम्रो वरप्राप्तिको कामनाले र विवाहित महिलाहरू आफ्नो पतिका साथै परिवारको आरोग्य, दीर्घायु र उन्नतिको कामनाले व्रत बस्ने गर्दछन् । यस दिन व्रत बस्नाले पार्वतीलाई अभीष्ट प्राप्त भएजस्तै मनको कामना पुरा हुने विश्वास राखिन्छ ।
भाद्र शुक्ल तृतीयाका दिन बिहान उठेर स्नानादि कार्य गरी पवित्र भइन्छ । स्नानका लागि पहिला नदी, तलाउ आदिमा जाने प्रचलन भए पनि प्रदूषणका कारण स्वास्थ्यको ख्याल गरी आजकल घरकै पानीको उपयोग गर्न थालिएको छ । यस दिन राष्ट्रभर शिवमन्दिरहरूमा महिलाहरूको घुइँचो लाग्ने गर्दछ । रातो पहिरनमा सजिएर शिवको भजनकीर्तन गर्दै यस दिन व्रत बस्ने गरिन्छ । काठमाडौँको पशुपतिनाथलगायतका मन्दिरहरूमा लामबद्ध भएर पूजा गर्न जाने महिलाहरू बिहानदेखि पालो नपाउन्जेलसम्म भजनकीर्तन गाउँदै उभिन्छन् । उनीहरू विशेषतः मूल्यवान् आभूषणमा सजिएर महादेवको भजन गाउँदै नाच्ने गर्दछन् । पार्वतीले अन्न तथा जलको सेवन नगरी व्रत बसेको कथा पाइने भएकाले अधिकांश महिलाहरू पानी पनि नपिईकन व्रत बस्ने गर्दछन् । शरीर नै धर्मको पहिलो साधन भएकाले व्रत कसरी बस्ने भन्ने सम्बन्धमा व्रतालु स्वयम् सचेत भने रहनुपर्दछ । साँझमा पनि बत्ती बाली पूजाअर्चना गर्ने प्रचलन यस दिन रहेको छ ।
सामाजिक पक्ष
तिजका लागि चेलीहरू माइत जाने गर्दछन् । माइत लैजान दाजुभाइ लिन आउने चलन पनि छ । अहिले यातायातका साधनको सुविधा भएकाले प्रायः आफैँ चेलीहरू माइत जाने गर्दछन् । यतिखेर घरको कामकाजबाट मुक्त भएर माइतमा गई आमाबुबा तथा दाजुभाइसँग भलाकुसारी गर्न पाउँदा महिलाहरूलाई शान्ति महसुस हुने गर्दछ । तिजमा गाइने गीतहरूमार्फत आफ्ना वेदना र मर्मलाई व्यक्त गर्ने भएकाले मानसिक रूपमा उनीहरू स्वस्थ हुन्छन् । यति मात्र नभई भक्ति त्यस्तो कुरा हो, जहाँ सम्पूर्ण कुरा परमेश्वरमा समर्पित हुन्छन् र मानिस आनन्दमा मग्न हुन्छ ।
समाजले आधुनिकताका नाममा संस्कृतिलाई विकृतिका रूपमा भित्र्याउन थालेको हो कि भन्ने प्रश्न आजकल उठ्न थालेको छ । तिज भक्तिको तथा आराधनाको पर्व नभई गहना प्रदर्शन गर्ने पर्व बन्न पुगको हो कि भन्ने आशङ्का व्याप्त हुँदै गइरहेको छ । सम्पन्न वर्गले आडम्बरका रूपमा प्रदर्शन गर्ने गहनाले विपन्न वर्गलाई अवहेलना गरेको हो कि भनेर सोच्नुलाई स्वाभाविक नै मान्नुपर्दछ । आफ्ना कथा र व्यथालाई पोखेर गाइने गीतले पनि आफ्नो स्वरूप परिवर्तन गरेको त होइन ? भन्ने कुरा तिजका लागि निस्कने गीतहरूबाट अनुमान गर्न सकिन्छ । ठुला–ठुला स्पिकर राखेर कानको जाली फुट्ने गरी पार्टीका लागि तयार पारिएका गीत तिजका बेला टोल–टोलमा घन्किने गर्दछन् । तिजमा गाइने गीतको परम्परालाई यथावत् राख्न नसके भावी पुस्ताले यसको महत्त्व नै नबुझ्ने डर उत्पन्न भइसकेको छ ।
व्रतको बहस
तिजको व्रतका सम्बन्धमा स्वतन्त्रता, अधिकार र विभेदका कुराहरू पनि बहसका विषय बन्ने गरेका छन् । सबैभन्दा पहिला व्रत मनबाट लिइने कुरा हो र यो देखावटी विषय होइन भन्ने बुझ्नु जरुरी छ । व्रत आफ्नो इच्छाले लिइन्छ, करकापले होइन । परिवार चल्नका लागि पारिवारिक दायित्व परिवारका सदस्य मिलेर निर्वाह गर्दछन् । आफूले गरेको कामले सबैको भलो हुन्छ भने त्यसमा गौरव गर्ने संस्कृति हाम्रो हो । घरको कामकाजमा तराजु राखेर तौलने गरिँदैन । परिवारको कुनै पनि सदस्यले गरेको धर्मकर्मको फल सबै सदस्यलाई मिल्ले विश्वास राखिन्छ । तसर्थ, यसमा कसले कति ग¥यो भन्ने लेखाजोखा हुँदैन । व्रतको कथामा पार्वतीले लिएको प्रसङ्ग भएकाले परम्परामा तिजको व्रत महिलाले लिँदै आएका हुन् ।
व्रतका बारेमा खोज नगरी रुढिवादी परम्पराको उपज भन्दै प्रवचन छाँट्ने परम्परा आजकल सुरु भएको पाइन्छ । व्रत कायिक, वाचिक र मानसिक कार्यको समष्टि हो । काय भनेको शरीर हो । कायिकले शरीरले हतियारको प्रयोग, हत्या, हिंसाजस्ता नराम्रा काम नगर्नु र शरीरका इन्द्रियलाई वशमा राख्नु भन्ने कुरा बुझाउँछ । वाक् भनेको वाणी वा बोली हो । वाचिकमा बोलीलाई पवित्र राख्ने कार्य हुन्छ भने मानसिकमा मनले समेत अनर्थको कल्पना नगर्नुजस्तो कार्य पर्दछ । यसबाट व्रतले आत्मसंयमको अभ्यासलाई जोड दिएको स्पष्ट हुन्छ ।
सन् २०१६ मा फिजियोलोजीतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानिज अनुसन्धाता योशिनोरी ओहसुमीले अनुसन्धानबाट व्रतको महत्त्वमाथि प्रकाश पारेका छन् । अटोफेजी ९ब्गतयउजबनथ० को सिद्धान्तबाट व्रतको वैज्ञानिकतालाई पुष्टि गरेका छन् । अटोफेजी भनेको आफैँ खाने वा आफैँ खाना तयार गर्ने हो । व्रतका बेला खाली पेट हुँदा फ्याटलाई नै पेटले इन्धनका रूपमा प्रयोग गर्न थाल्दछ । जसले गर्दा सुगर आदिलाई घटाएर शरीरलाई स्वस्थ राख्न मद्दत पुग्दछ । आजकल यही अनुसन्धानबाट प्रेरित भएर कतिपय डाक्टरहरूले सुगरका बिरामी तथा फ्याट बढी भएका मानिसहरूलाई हरेक दिन १६ घण्टा उपवास बस्ने सल्लाह दिन थालेका छन् । विना व्यायाम वजन कम गर्ने यो सरल विधिका रूपमा हाल उपयोगमा रहेको छ । यस्तो वैज्ञानिकतालाई हाम्रा पूर्वजले उहिले नै बुझेर व्रतलाई संस्कृतिका रूपमा विकास गरेका थिए । अतः हाम्रो संस्कृतिमा वैदिक कालदेखि नै व्रतको परम्परा विद्यमान छ ।
उपसंहार
तिज विशेष महत्त्व बोकेको पर्व हो । यसलाई अनावश्यक रूपमा विवादित बनाउनुभन्दा यसको महिमालाई बुझेर अगाडि बढ्दा संस्कृतिको संरक्षण तथा संवर्धन हुन पुग्छ । व्रतको प्रत्यक्ष फाइदा व्रतालुलाई नै हुने कुराको वैज्ञानिक पुष्टि भइसकेको सन्दर्भमा महिलाले सम्पूर्ण परिवारका लागि व्रत बस्नु अझ सराहनीय कार्य हो । परिवारका सबै सदस्यको मङ्गल कामना गर्ने महिलावृन्दप्रति समाज सदैव अनुगृहीत हुनुपर्छ । आभूषणको आडम्बरले शरीर सजाउनुभन्दा भगवान्को भक्तिले मन सजाएर पूजा–आराधना गर्नु नै हितकर हुन्छ, दरका रूपमा अभक्ष्यको भोजन गर्नुभन्दा घरमै पकाएको मिण्ठान्नको आस्वादन नै स्वस्थकर हुन्छ साथै तिजको गीतका नाममा पारिवारिक मर्यादा र सद्भाव बिथोल्ने कर्कश स्वर उराल्नुभन्दा स्वेच्छाले भक्तिगानमा रमाउनु नै आनन्दकर हुन्छ ।
शुभकामना !



