चण्डेश्वरी जात्रा

बनेपा काठमाडौँ उपत्यकानजिकै पर्ने सुन्दर सहर हो । बनेपाको उत्तरपूर्वी कुनामा चण्डेश्वरीको मन्दिर अवस्थित छ र त्यसको छेउमा एउटा वन पनि छ । चण्डेश्वरी मन्दिरको स्थापना आनन्ददेवले गराएका थिए भन्ने मानिन्छ भने जगज्ज्योतिर्मल्लले मन्दिरको जीर्णोद्धार गराएको बुझिन्छ । मध्यकालतिरको यो मन्दिर तले शैली अर्थात् प्यागोडा शैलीमा निर्माण गरिएको छ । चण्डेश्वरीलाई कन्या देवीका रूपमा पुजिने भएकाले यिनको पूजा पनि १० वर्षमुनिकी कन्याबाट गराइने प्रचलन रहेको बुझिन्छ । चण्डेश्वरी मन्दिरसँगै गणेश र शिवको पनि मन्दिर देख्न सकिन्छ । प्रसादका रूपमा लगाइने टीकामा पानी नभई तेलको मिश्रण गरिएको हुन्छ ।
चण्डेश्वरी मन्दिरको मूल प्रवेशद्वारभित्र दायाँ बालकुमारी र बायाँ सरस्वतीको मूर्ति छ । चण्डेश्वरीको मूर्ति काठको रहेको छ । चण्डेश्वरीले वृक्षबाट प्रकट भएर राक्षसको वध गरेको किंवदन्तीसँग मूर्तिको विशेष सम्बन्ध देखिन्छ । चण्डेश्वरीको स्थापना रुखको फेदमा गरिएको हो भनेर स्थानीय बताउँछन् । यिनको मूर्तिसँगै शीतला माईलाई पनि राखिएको छ । मन्दिरमा बायाँपट्टि राखिएका राक्षससँगको युद्धमा हताहत भएका देवताका मूर्ति प्रतीकात्मक देखिन्छन् । मन्दिरको भित्तामा आकर्षक मध्यकालीन चित्र देख्न सकिन्छ । चण्डेश्वरीलाई श्वेतकाली (नरदेवी)की छोरी मान्ने गरिन्छ भने हरेका १२ वर्षमा १ पटक श्वेतकालीबाट मुखुन्डो नृत्य चण्डेश्वरी लगिन्छ । स्कन्दपुराणमा चण्डेश्वरीको चर्चा भएको पाइन्छ ।
कुनै बेला चण्डासुर नाम गरेको राक्षस थियो । ऊ भगवान् शिवको भक्त थियो । शिवको आशीर्वादबाट ऊ बलवान् भएको थियो । उसले देवताहरूलाई दुःख दिन थाल्यो । देवताहरू वृक्षवनस्पतिका रूपमा चण्डासुरको त्रासबाट बच्न लुके । त्यहीँ चण्डेश्वरी पनि अदृश्य रूपमा बसेकी थिइन् । चण्डासुरले उत्पन्न गरेको बाधाबाट रुष्ट भएर त्यसको वध गरिदिइन् । यसरी चण्डासुरको आतङ्कबाट सबैको रक्षा गरेकी उनलाई चण्डेश्वरी नामले पुकारिन थालेको कथा पाइन्छ । चण्डासुरको वधपश्चात् नाभिस्थलबाट उत्पन्न भएको शिवलिङ्गका रूपमा मन्दिरनजिकै अद्यापि विद्यमान शिवलिङ्गलाई लिने गरिन्छ । चण्डेश्वरीलाइ शक्तिस्वरूपिणी देवी मानी पूजाआजा गर्ने परम्परा छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन बनेपालीहरू चण्डेश्वरी जात्रा मनाउँछन् । पूर्णिमाको अगाडिदेखि नै मन्दिरको सरसफाइमा ध्यान दिइन्छ । पूर्वपट्टिको पुरानो ढोकादेखि मन्दिरसम्म विशेष तरिकाले सरसफाइ गरिन्छ । स्थानीय जातिको कुलपूजापछि त्यहाँ पञ्चबलिलगायतका पूजा गरिन्छन् । पूर्णिमाको बिहान मातापूजा हुन्छ । यसमा बनेपाको पुरानो दरबारदेखि मानिसहरू राँको बालेर मन्दिर जान्छन् र जाँदाखेरि धिमेलगायत अनेक थरी बाजागाजा बजाइन्छन् । देवीको मूर्तिलाई आकर्षक खटमा लैजाने तयारी गरिएको हुन्छ भने त्यो खट मानन्धर समुदायले बनाउने गर्छन् । दिउँसो जात्रा हेर्ने मानिसहरूको भिडभाड हुन्छ भने देवीलाई परिक्रमा गराउन बनाइएको खाली खट तीनधाराबाट दिउँसो नै मन्दिरमा ल्याइन्छ ।
बेलुका विधिमुताबिक भजन गाउँदै मन्त्रोच्चारणपूर्वक विशेष धातुले बनेको देवीको पुरानो मूर्तिलाई चार खुट्टा भएको खटमा विराजमान गराइन्छ । अर्को दिन जात्रा निकालेर सहर परिक्रमा गराइन्छ । स्थानीय जातिका दुई कन्याले देवीको विशेष पूजा गर्दछन् । बाटोमा मानिसहरूले खान मिल्ने चिजका साथै बत्तीहरू पनि चढाउने गर्छन् । बलिका रूपमा चढाइएको प्रसाद बजारमा जात्रा हेर्न तथा पूजा गर्न आउने श्रद्धालुहरूको भिडभाडमा फ्याँक्ने गरिन्छ र त्यो प्रसाद प्राप्त गर्ने व्यक्तिलाई भाग्यमानी ठानिन्छ । त्यसपछि जात्रालाई मन्दिरमा फिर्ता ल्याइन्छ । यसको भोलिपल्ट भक्तजनहरूले सगुनका साथ देवीको पूजा–आराधना गर्ने चलन छ । धातुको देवीको मूर्ति राखिने घर वर्षभरिमा यिनै दुई दिनका लागि मात्र खुला गरिन्छ ।
चण्डेश्वरी जात्रा बनेपावासीको ठुलो उत्सव हो । यिनलाई बनेपाको संरक्षिका मानिने र यिनकै कारण बनेपाकी छोरीले कहिल्यै दुःख नपाउने विश्वास गरिन्छ । यो जात्रा आस्था र भक्ति अर्पणका लागि मात्र नभएर सहकार्य र परम्पराको निरन्तरताका लागि पनि हो । खट निर्माणको शैली, पूजाको विधि र छुट्टै परम्परा बोकेको चण्डेश्वरी जात्रामा सरिक हुने जनसमुदाय आपूmलाई साँच्चै भाग्यमानी सम्झन्छ । सम्पूर्ण श्रद्धाले मनलाई देवीमा समर्पित गरेर बनेपा ढुक्कसँग निदाउने गर्छ । यस्ता परम्परा हाम्रा अमूल्य निधि भएकाले यिनको जगेर्ना गर्दै यिनलाई निरन्तरता दिनु हामी सबैको कर्तव्य हो ।