यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड
यो गानाको गगन, जनको कल्पनाको बहाड ।
यो पौडीको सुखजलधिमा फूल रातो असारे
झन्डा सम्झी, मुजुरमन भै पिच्छमा रङ्गधारे ।। (वर्षा, लक्ष्मीप्रसाद देवकोटा)
ग्रीष्म ऋतुअन्तर्गत पर्ने भए पनि वर्षा ऋतुको पूर्वागमनलाई असार महिनाले सङ्केत गर्दछ । वृष्टिका देवता वरुणको उपासना गर्ने नेपाली समाज हरेक वर्ष असारको व्यग्र प्रतीक्षामा रहने गर्दछ । असार संस्कृतको आषाढ शब्दबाट नेपालीमा प्रयोगमा आएको हो । असारको वरिपरि रहेर पहाड र तराईमा रोपाइँ गरिन्छ । असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रूपमा कृषकहरू लिने गर्दछन् । वास्तवमा नेपालको अधिकांश भूभागमा रोपाइँको लहर ल्याउने असार अन्न फलाएर जीवन धानिदिने महिना हो । यतिबेला असारे फूल फुलेर हिलोमय वातावरणमा रौनकता थपिएको हुन्छ भने कर्मठ किसानको मनमा अन्न–ऐश्वर्य घरघरमा भित्र्याउने आशाको फूल फुल्ने गर्दछ अनि त्यस फूलले उत्साहरूपी सौन्दर्य भरेर हरेक हातलाई माटाको सुगन्ध लिन प्रेरित गरिरहेको हुन्छ । हामीले यस महिनालाई ‘असार’ भनेर पुकारिरहे पनि आखिर जीवनको सार रहेको कर्मको महिमा यसले हर्दम सिकाइरहेको हुन्छ । यतिखेर बादलले नेपाली धर्तीमाथि अमृतकणहरूको वर्षा गरेर खेतमा बोलाइरहेको हुन्छ भने खेतमा लहराउने बालीजस्तै परोपकारी हृदयमा आफू बाचेर अरूलाई बचाउने तीव्र उत्कण्ठा लहराइरहेको देखेर धर्तीले पनि बर्सिरहेका अमृतका हरेक बुँदलाई आफूभित्र समाहित गरेको भान पर्छ । परिश्रमी किसानका लागि असार सृष्टिको महिना हो । यही असार महिनाको पन्ध्र गतेलाई हामी नेपाली धुमधामका साथ मनाउने गर्दछौँ । नेपाल सरकारले केही वर्षदेखि यस दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ ।
‘आज नि रोपाइँ, भोलि नि रोपाइँ, पर्सि नि जानु छ
एकै र दिन, गरेको खेती, वर्षदिन खानु छ …’ (असारे गीत)
असारको पन्ध्रमा असारे भाकाले नेपाली आकाश गुञ्जायमान हुन्छ । किसानको महत्त्वपूर्ण पर्व मानिने असार पन्ध्रमा आजकल ग्रामीण केटाकेटी, ठिटाठिटी, बुढाबुढी मात्र नभएर सहरिया परिवेशमा हुर्कँदै गरेका मानिसहरू पनि रोपाइँको सानो अनुभव बटुल्न गाउँ छिर्न थालेका छन् । यस दिन हिलो छ्यापाछ्याप गर्दै असारे गीत गाउने गरिन्छ । बाउसे र रोपारको जुहारीले वातावरणमा उन्माद थप्ने गर्दछ साथै हिलोको होलीले धमिलिएका पहिरन भए पनि उज्यालिएका अनुहारमा देखिने खुसीको चमक वर्णन गरेर सकिँदैन । तन माझ्नुभन्दा मन माझ्न लालायित जनसमुदाय गीतका माध्यमबाट हर्ष, शोक आदिलाई प्रकट गर्दछन् अनि तनको मैलोसँगै मनको मैलो पनि यस दिन पखालेर सहभावको सुर घन्काउने गर्दछन् । एकअर्कासँगको हातेमालोमा दुःखसुख साटासाट गरी जीवन जिएको देखेर प्रकृति पनि दङ्ग पर्ने यो उल्लासमय वातावरण सधैँका लागि आइदिए हुन्थ्यो भन्ने अपेक्षा सबैमा यतिखेर जाग्दछ । प्राकृतिक सौन्दर्यको मधुरिमाले आह्लादित रोपारहरूलाई यतिखेर ब्याडमा बिउ काट्ने, पखाल्ने र मेलो पट्याउने हतारो हुन्छ भने लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउने चटारो हुन्छ । शरीरले अशक्त बनाए पनि मनले सशक्त हुने केही भने रोपार र लाठेबाउसेलाई मसला बाँडेर काममा जोस्याउन अनि दोहोरीमा हौस्याउन पुग्दछन् । नारी र पुरुषको श्रमगत एकताको उदाहरण प्रस्तुत गरेर हरेक असारले प्राकृतिक गुरुको गौरवलाई अझ गह्रुँगो बनाउँदै लगेको आभास हुन्छ । बिउ चढाई अन्नपूर्णको आराधनामा जुट्ने समाज अन्नले परिपूर्ण र समृद्धिले भरिपूर्ण हुँदै जाने कल्पनामा रमाउँछ अनि असार पन्ध्रलाई भव्यताका साथ मनाउँछ ।
‘हलगोरु झरे, खेताली झरे, बेँसीको रोपाइँमा
सङ्गी र साथीको झझल्को आउँछ, एकलो बेलैमा…’ (असारे गीत)
असार पन्ध्रमा बेठी लगाउने, पन्चेबाजा घन्काएर नाचगान गर्ने, रुमाल बाँड्ने आदिका साथै दहीचिउरा खाने प्रचलन छ । रोपाइँमा सरिक नहुनेहरू पनि घरमै बसी दहीचिउरा खाएर असार पन्ध्रको स्वागत गर्दछन् । खेती र पशुपालनलाई सँगसँगै अगाडि बढाउँदै आएको नेपाली समाज आफ्नै गाउँघरमा बनाइने दहीसँग आफूले नै कुटेको चिउरामा चौरासी व्यञ्जनको स्वाद लिने गर्दछ । संस्कृतिका रूपमा मात्र नभएर दहीचिउराको प्रयोग वैज्ञानिक रूपमा पनि हितकर साबित भएको छ । गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने दहीमा क्याल्सियम, पोटासियम, सोडियम र भिटामिन पाइन्छ भने चिउरामा कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ । अझ यसमा फलफूल मिसाएर खाने प्रचलन बढेको छ । यसो गर्दा भने थप खनिज र भिटामिन प्राप्त हुन्छ । दहीले हाड र मांसपेशीलाई कसिलो बनाउने, पाचनक्रियामा सहयोग गर्ने, रोगप्रतिरोधात्मक क्षमता बढाउने, शरीरमा क्याल्सियम र खनिज पूर्ति गर्ने आदि कार्य गर्दछ । चिउरामा कार्बोहाइड्रेड बेसी हुने भएकाले काममा शक्ति प्रदान गर्ने गर्दछ । फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा समेत बढी हुने गर्दछ । यतिमात्र नभई दहीले शरीरमा शीतलता प्रदान गरी पानीको मात्रा परिपूर्तिसमेत गर्दछ । यसरी हेर्दा रोपाइँका बेला शक्तिवर्धक दहीचिउरा खाने प्रचलन चलाउने हाम्रा पूर्वजप्रति अझ श्रद्धा बढ्ने गर्दछ ।
‘त्यो पारि वनको खहरे खोला उर्लेर आएछ
पूर्वको ढोका खोलेर हेर्दा असारै लाएछ …’ (असारे गीत)
अर्मपर्म गरेर रोपाइँका कार्यहरूलाई सम्पन्न गर्ने नेपाली समुदायले परापूर्वकालदेखि मनाउँदै आएको असार पन्ध्रले नेपाली संस्कृतिलाई जीवन्त राखेको छ । विविध संस्कृतिलाई मनाउने नेपालीहरूलाई यस पर्वले एकै दिन खेत र गह्राहरूमा ओरालेर सांस्कृतिक रूपमा पनि एउटै सूत्रमा उनेको देखिन्छ । यतिखेरको बर्सातसँगै आँत हर्हराउँछ अनि कर्मयोगी पुत्रहरूलाई धर्तीमाताले आशीर्वादको हात शिरमा राखिदिएर जीवनका लागि उत्प्रेरणा दिने गर्दछिन् । कृषिबाट नै जीवन चल्ने भए पनि आधुनिक पुस्ता कृषिबाट विमुख हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा आधुनिक कृषिका लागि राष्ट्रिय स्तरबाट पहल गरिँदा मात्र असार पन्ध्रले सम्मान पाएको ठहथ्र्यो । रासायनिक खेतीको दलदलमा भासिएर कतै विषादीको सेवनबाट हाम्रा सन्ततिमा रोगका कीटाणुहरूको सङ्क्रमण बढ्ने हो कि भन्ने शङ्का उत्पन्न भएको छ । जैविक खेतीलाई बढावा दिएर सचेतनाका कार्यक्रम नचलाउने हो भने खाद्यान्न नभई विषान्नको भोजनले चित्त बुझाउन हामी बाध्य हुनुपर्ने कुरालाई नकार्न सकिन्न । भावी पुस्ताले असार पन्ध्रको दिनमा मात्र खेतमा टेकेर रोपाइँ गरेजस्तो गर्दैमा अनाजले फलेजस्तो गर्दैन भन्ने तथ्यलाई हृदयङ्गम गर्नुपर्ने बेला आइसकेको छ । असार पन्ध्रले एकै ठाउँमा छरछिमेकीलाई उतारेर जसरी सहअस्तित्वको पाठ पढाउँछ, आपसी सद्भावको राग आलाप्छ अनि नयाँ स्फूर्ति र उत्साहलाई दहीचिउरासँग घोलेर पिलाउँछ त्यसरी नै यसको गरिमालाई यथावत् राख्न हाम्रा पूर्वजले अपनाएको जैविक कृषिको पाठ पढाउनुपर्छ, स्वच्छ दाना स्वस्थ खानाको राग आलाप्नुपर्छ अनि जीवनको सार कृषि हो भन्ने दिव्यज्ञानलाई विज्ञानसँग घोलेर पिलाउनुपर्छ । असार पन्ध्र हामी समस्त नेपालीको पर्व भएकाले यसको महिमागान गरेर मात्र हुँदैन यसले बताएको मार्गमा प्रवृत्त हुनुपर्छ ।
‘पाकेर गयो मालभोग केरा पाकेन लोहोरी
एकोहोरोमा के माया हुन्छ लाऔँ माया दोहोरी …’ (असारे गीत)



