महामानव गौतम बुद्ध

सिद्धार्थ गौतम
नेपाल ऋषिमुनिहरूको जन्मभूमि एवं तपोभूमि हो । विभिन्न कालखण्डमा यस धराधाममा पुण्यात्माहरूले जन्म लिएका छन् र यस भूमिलाई पावनभूमिका रूपमा विश्वमाझ परिचित गराएका छन् । तिनै पुण्यात्मामध्ये शान्तिको दीप बालेर विश्वलाई नै अहिंसाको बाटोमा हिँड्न उत्प्रेरित गर्ने महामानव हुन् – गौतम बुद्ध । इसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा गौतम गोत्रमा राजा शुद्धोदन र रानी मायादेवीको सन्तानका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म भएको थियो । तिलौराकोट राज्यको उत्तराधिकारी बुद्ध शाक्यवंशमा जन्मिएकाले शाक्यमुनि भनेर पनि चिनिन्छन् तर उनको खास नाम भने सिद्धार्थ गौतम थियो । उनी जन्मेको हप्ता दिनमै मायादेवीको देहान्त हुन गएकाले सौतेनी आमा प्रजावती गौतमीको लालनपालनमा उनी हुर्कँदै, बढ्दै गए । कुनै विद्वान् ज्योतिषीले उनलाई कि सम्राट् कि त महान् योगी हुने भविष्यवाणी गरेका थिए भन्ने सुनिन्छ । नभन्दै पछि गएर तिनै सिद्धार्थ गौतम महाज्ञानी बुद्धका नामले संसारभर सुपरिचित हुन पुगे ।

महाभिनिष्क्रमण
राजा शुद्धोदन आफ्नो छोरालाई चक्रवर्ती राजा बनाउन चाहन्थे । उनले छोरा त्यागी, योगी, साधु नबनोस् भनेर भोगविलासमा कुनै कमी हुन दिएनन् । १६ वर्षको उमेरमा दण्डपाणिकी छोरी यशोधरासँग राजकुमार सिद्धार्थको विवाह गराइदिएका थिए । उनीहरूबाट पुत्ररत्न राहुलको जन्म भएको थियो । सांसारिक प्रपञ्चले जति नै उनलाई घेरा हाल्दै लगे पनि महान् कार्यका लागि जन्म लिएको मानिसलाई कुनै बन्धनले बाँधेर राख्न सक्दो रहेनछ । एकपटक आफ्नो सारथि छन्दकलाई लिएर उनी राज्यपरिक्रमामा निस्केका थिए । त्यस क्रममा उनले रोगी, वृद्ध र मृत व्यक्तिलाई देखे । सारथिसँगको वार्तालापमा मानिसलाई रोग, बुढ्याइँ र मृत्युले गाँज्ने गरेको थाहा पाएपछि यिनबाट छुट्कारा पाउने उपायको खोजीमा उनी २९ वर्षको उमेरमा दरबारिया सुखसयललाई त्यागेर राती निस्किए । उनको यो कदम सांसारिक दुःखबाट उन्मुक्ति पाउनका लागि गरेको महान् त्याग साबित भएको छ ।

साधना
उनी दरबारबाट निस्केर विभिन्न ठाउँमा गई तपस्यारत भए । कठोर तपबाट प्रभावित भएर पाँचजना अनुयायीहरूले उनलाई पछ्याए । भोक र शारीरिक यातनाबाट ज्ञान प्राप्त नहुने देखी उनले अन्न ग्रहण गरे । त्यसपछि ती अनुयायीहरूले उनलाई छोडिदिए । ७ वर्षको साधनापछि ३६ औँ वर्षको प्रारम्भमा उनलाई गयाको बोधिवृक्षमुनि ध्यान गरिरहेको अवस्थामा ज्ञान प्राप्त भयो अर्थात् उनले बुद्धत्व प्राप्त गरे । त्यो दिन पनि वैशाख शुक्ल पूर्णिमा नै थियो । आपूmले प्राप्त गरेको ज्ञान, पत्ता लगाएको सत्य उनले बाँड्न थाले । आज करोडौँको सङ्ख्यामा उनले बताएको मार्गलाई अनुसरण गर्ने अनुयायीहरू छन्, जसले बुद्धलाई नमन गरेपछि मात्र बिहानीलाई स्वागत गर्छन्, बुद्धका उपदेशको मन्थनले दिन बिताउँछन् र बुद्धमै आँखा चिम्लन्छन् ।

बुद्ध
‘बुद्ध’ शब्द संस्कृतको ‘बुध्’ धातुमा ‘क्त’ प्रत्यय लागेर निष्पन्न हुने कृदन्त शब्द हो । ‘बुध्’ धातुको अर्थ जान्नु, बुझ्नु वा ज्ञान गर्नु भन्ने हुन्छ भने ‘बुद्ध’ शब्दले बुझेको वा जानेको भन्ने अर्थ दिन्छ । संसारको वास्तविकता वा रहस्यलाई जानेको भन्ने हिसाबमा सिद्धार्थ गौतमबाट उनी ‘बुद्ध’ कहलिएका हुन् । हिन्दु र बौद्ध धर्मावलम्बीका यिनी संयुक्त आस्थाका केन्द्र हुन् । अध्यात्मले सधैँ मुक्तिको मार्गमा हिँड्न हामी सबैलाई अभिप्रेरित गरिरहेको हुन्छ र त्यही मुक्ति प्राप्त गर्न जान्नुपर्ने वा बुझ्नुपर्ने कुरालाई अध्यात्ममा तत्त्वज्ञान भनिन्छ । वैदिक दर्शनहरूमा तत्त्व अर्थात् रहस्य÷यथार्थ÷वास्तविकता÷सत्यको ज्ञान भएपछि मोक्ष प्राप्त हुने कुराको उल्लेख भएको पाइन्छ । त्यही ज्ञान भएको वा बुझेको भनेर राजकुमार सिद्धार्थलाई ‘बुद्ध’ भन्ने नामले जानिएको हो । खैर, वैदिक दर्शनहरूमा मोक्ष, मुक्ति, कैवल्य आदि शब्दको प्रयोग हुन्छ भने त्यसकै लागि बौद्ध अनुयायीहरू निर्वाण शब्दको प्रयोग गर्दछन् ।

उपदेश ः आचरण, दर्शन र मत
बुद्धका उपदेशहरू ‘त्रिपिटक’मा सुरक्षित छन् । बुद्धकाल प्राकृत काल भएकाले ‘पाली’ भाषामा रचना गरिएका विभिन्न ग्रन्थ बुद्धका वचनामृतले अभिषिक्त छन् । उनका पूर्वजन्महरूको कथा चाहिँ ‘जातककथा’मा सङ्गृहीत छन् । बुद्धले आचरणका विषयमा धेरै ध्यान दिएका छन् । बौद्ध अनुयायीहरू पञ्चशीलमा विश्वास गर्दछन् । पञ्चशीलअन्तर्गत अहिंसाको पालन अर्थात् प्राणीहरूको मारकाट नगर्नु, चोरी नगर्नु, झुटो नबोल्नु, मैथुनमा लिप्त नहुनु र दुव्र्यसनी नबन्नु पर्दछन् । यिनको पालनाबाट नै निर्वाणको अधिकारी बन्न सकिने विचार बौद्ध ग्रन्थहरूमा पाइन्छ ।
जीवन र जगत्लाई हेर्ने दृष्टिकोणलाई दर्शन भन्ने गरिन्छ । बुद्धले आफ्ना उपदेश एवं दार्शनिक व्याख्यानहरूमा वेदलाई प्रमाणका रूपमा नस्विकारेकाले बौद्धदर्शन नास्तिक दर्शनका रूपमा व्यवहृत हुन्छ तर बौद्ध धर्मका विस्तारित केही शाखामा ईश्वरीय सत्तालाई भने स्विकारेर बुद्धलाई नै भगवान् मान्ने गरिन्छ । बौद्धदर्शनले सामान्यतया दुःखको मूल कारण आशालाई मानेको पाइन्छ । जबसम्म आशा रहन्छ, तबसम्म दुःखले पछ्याइरहन्छ । बौद्धदर्शनमा विशेष गरेर चार मतहरू प्रचलित छन् ः माध्यमिक, योगाचार, सौत्रान्तिक र वैभाषिक ।
मुख्यो माध्यमिको विवर्तमखिलं शून्यस्य मेने जगत्
योगाचारमते तु सन्ति मतयस्तासां विवर्तोऽखिलः ।
अर्थोऽस्ति क्षणिकस्त्वसावनुमितो बुद्धेति सौत्रान्तिकाः
प्रत्यक्षं क्षणभङ्गुरञ्च सकलं वैभाषिको भाषते ।।
बौद्ध मतहरूमा मुख्य मत माध्यमिक मानिन्छ । माध्यमिकहरू संसारलाई शून्यको विवर्त मान्छन् । विवर्त भनेको ‘स्वस्वरूपम् अपरित्यज्य स्वरूपान्तरेण भानम्’ अर्थात् आफ्नो स्वरूपलाई नछोडी अर्को स्वरूपमा देखापर्नु हो । संसारलाई खोतल्दै जाँदा अन्तिममा शून्य भेटिन्छ र शून्य नै संसारका रूपमा देखापरेको छ भनेर मान्ने माध्यमिक सम्प्रदाय हो । योगाचार विज्ञानलाई बुद्धि मान्छन् र बुद्धिको विवर्त जगत् हो भन्दछन् । सौत्रान्तिकहरू संसारलाई देखापरेको कारणले यो छ भन्दछन् । देखापर्नुलाई अनुमानको कारण मान्दछन् भने वैभाषिकहरू संसारलाई अनुमानद्वारा नभई प्रत्यक्ष रहेको स्वीकार गर्दछन् । यिनका मतमा विविधता भए पनि यी सबै संसारलाई क्षणभङ्गुर मान्दछन् । संसार केही समयका लागि मात्र छ र यो नाशवान् छ भनेर यी स्विकार्दछन् ।
जुन चिज नित्य छैन अर्थात् नाशवान् छ, त्यसको आशा गर्ने मानिसले स्वतः दुःख पाउँछ । यी विषयहरू अर्थात् सांसारिक पदार्थहरू अनित्य भएकाले यसको प्राप्तिका लागि मरिमेट्ने मानवसमुदाय सधैँ दुःखी रहन्छ । शून्य नै शाश्वत सत्य भएकाले नाश भएर जाने क्षणिक विषयतिर लाग्नुहुँदैन । हाम्रा इन्द्रियहरू विषयतिर आकृष्ट भइरहन्छन् । इन्द्रियलाई यी दुःखका कारण मानिएका विषयबाट निग्रहण गरेर ध्यानमा लगाउनुपर्छ । शून्यबाट सुरु भएको जगत् शून्यमा नै गएर मिल्ने भएकाले विषयको इच्छा त्याग्ने मानिसले निर्वाण प्राप्त गर्न सक्दछ । बौद्धदर्शनले वकालत गरेका तथ्य यिनै हुन् । दर्शनसँगै बौद्ध तन्त्रहरूको पनि विकास हुँदै आएको पाइन्छ ।

उत्तरार्ध
बुद्ध बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म उपदेश दिँदै हिँडे । करिब ८४ हजारपटक उनले प्रवचन गरेको पाइन्छ । पछि फर्केर उनले आफ्नी पत्नी र छोरालाई समेत आफ्ना अनुयायी बनाएको देखिन्छ । उनकै उपदेशहरूबाट प्रभावित भएर उनीभन्दा पछिका सम्राट् अशोकले हतियार त्यागी उनले बताएको मार्गको अनुसरण गरेका थिए । अशोकले लुम्बिनीमा बनाएको अशोक स्तम्भ त्यसको जिउँदो–जाग्दो उदाहरण हो । जीवनलाई मानवमुक्तिमा समर्पित गरेका बुद्धले ८० वर्षको उमेरमा उत्तरप्रदेशको कुशीनगरमा निर्वाण प्राप्त गरे । संयोगवश यो दिन पनि वैशाख शुक्ल पूर्णिमा नै थियो ।

उपसंहार
सम्पूर्ण प्राणीको मुक्तिका लागि लाग्ने मानिस दरबारको चौघेराभित्र कुँजिएर रहन सक्दैनन् । बुद्ध पनि उपायको खोजीमा निस्केका थिए । शान्ति र अहिंसाको उपदेशले विश्वलाई नै नयाँ बाटो देखाउने गौतम बुद्ध शान्तिका अग्रदूत मानिन्छन् । ‘एसियाका ज्योति’ भनेर यिनलाई एसियाभित्र खुम्च्याइए पनि यिनी विश्वकै मार्गदर्शक हुन् । हिन्दुधर्मावलम्बीहरू यिनलाई पालनकर्ता विष्णुको अवतार मान्ने गर्दछन् भने यिनीप्रति अगाध आस्था र श्रद्धाको पुष्प अर्पण गर्न बर्सेनी हजारौँ पर्यटक यिनको जन्मभूमि लुम्बिनी आउने गर्दछन् । सम्पूर्ण जाति, वर्ग र लिङ्गलाई हृदयदेखि नै स्वागत गरेर एउटै छानामुनि राख्ने बुद्धले सबै किसिमको असमानतालाई उहिलेदेखि नै ललकारेका थिए । वस्त्र, अन्न र भिक्षापात्रमा स्वामित्व जनाउने भिक्षु सङ्घ सबैले उपयोग गर्ने वस्तुलाई साझा मान्दछ, तेरो–मेरो व्यवहार गर्दैन र विषयसुखप्रति अनासक्त भएर दैनिकी चलाउँदछ । वर्तमान परिप्रेक्ष्यमा भ्रष्टाचारले जरो गाडेको यो समाजलाई बुद्धका उपदेशको अवलम्बन गर्नुपर्ने खाँचो रहेको छ भने अनेक द्वन्द्वमा फसेको विश्वले यिनीबाट शान्तिको पाठ पढ्नुपर्ने देखिन्छ । आउनुहोस्, हामी पनि परम शान्ति प्राप्तिहेतु यिनको शरणमा जाऔँ ।
बुद्धं शरणं गच्छामि ! धम्मं शरणं गच्छामि !! सङ्घं शरणं गच्छामि !!!