नेपाल विभिन्न धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्त्वका स्थलहरूले मात्र सुसज्जित छैन, यस धराधाममा विभिन्न कालखण्डमा अनेकौँ महात्माहरूले जन्म पनि लिएका छन् । ऋषिमुनिले सृष्टिको आदिकालदेखि नै साधनाका लागि यही भूमिलाई चुनेका थिए भने ऋषिकल्प मनीषीहरूले पनि तपोभूमि यसैलाई बनाएका विभिन्न उदाहरण पाइन्छन् । तिनै ऋषितुल्य तपस्वीहरूमध्ये एक हुन्, गलेश्वर बाबा । म्याग्दीको गलेश्वरमा लामो समय तपस्या गरेका हुनाले ब्रह्मचारी ईश्वरानन्द ‘गलेश्वरका बाबा’ हुँदै ‘गलेश्वर बाबा’का नामले चिनिन पुगे । पूर्वको पहाडी जिल्ला ताप्लेजुङको तत्कालीन गाविस दोखुको वडा नं. ९ मा जन्मन पुगेका यदुनाथ निरौला नै पछि गलेश्वर बाबाका रूपमा परिचित हुन पुगे । बाँसबोटे निवासी भरद्वाजगोत्रीय हरिलाल निरौला र उनकी धर्मपत्नी मनमायाको गर्भबाट वि.सं. १९३० फाल्गुन शुक्ल द्वादशी तिथिका दिन उनको जन्म भएको थियो । स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्के’ मा लेखेअनुसार उनी गिरिनामा संन्यासीका आनन्द ब्रह्मचारी थिए र उनले गलेश्वरमा रहेर २४ वर्ष तपस्या गरेका थिए ।
गलेश्वर बाबा अथक साधक थिए । उनले गलेश्वर क्षेत्रबाहेक नेपाल र भारतका विभिन्न स्थलमा पुगी साधना गरेका थिए, पूर्वको पाथीभरा भगवतीदेखि हरिद्वार, उत्तर काशी, गङ्गोत्री, यमुनोत्री, वाग्द्वारक्षेत्र, गोसाइँकुण्ड, मुक्तिनाथक्षेत्र पनि उनका साधनास्थल हुन् भनी विद्वान्हरू चर्चा गर्दछन् । बाबा वेदमा पूर्ण आस्था राख्दथे । ‘वेदोऽखिलो धर्ममूलम्’ भन्दै वेदलाई धर्मको मूल भएकाले सबैले वेदको अध्ययन गर्ने कुरामा जोड दिन्थे । वेदप्रतिको आस्था व्यक्त गर्ने क्रममा बाबाले उच्चारण गर्ने श्लोकहरू निम्नानुसार छन् ः
यः साङ्गवेदान् विधिवद्वदन्ति
ते ब्राह्मणाः वैदिकनामधेयाः ।
वेदेन हीनाः यदि केऽपि सन्ति
ते शूद्रतुल्याः भुवि सञ्चरन्ति ।।
योऽनधीत्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् ।
स जीवन्नेव शूद्रत्वमाशु गच्छति सान्वयः ।।
गलेश्वर बाबा मुखले भगवान्को नामोच्चारण गरी कर्ममा लाग्न सबैलाई अभिप्रेरित गर्दथे । उनी भन्ने गर्दथे, ‘हातमा काम, मुखले राम ।’ उनकै इच्छा र अठोटअनुसार देवघाटमा वेदवेदाङ्ग विद्यालयको स्थापना भएको थियो भने यज्ञशाला, धर्मशाला, मन्दिर, आश्रम आदिको स्थापना पनि उनले गरेका थिए । अहिले पनि उनले गरेको कार्यहरू हामी देख्न सक्छौँ । उनी रामायण, गीता, मनुस्मृति आदिको वाचन निरन्तर गरिरहन्थे । सत्सङ्गका साथै भजनकीर्तन र यज्ञयागादि उनीबाट नै त्यहाँ प्रचलित भएका हुन् ।
केही विद्वान्हरूले गलेश्वर बाबालाई स्मरण गर्दै बाबासँगको साक्षात्कार र बाबासँग सम्बद्ध रोचक प्रसङ्गहरूको उल्लेख गरेर विभिन्न लेखरचनाहरू प्रकाशित गरेका छन् । तीमध्ये केही विद्वान्ले बताएका कुराहरूलाई यहाँ समेट्ने जमर्को गरिएको छ ।
प्रा. विष्णुप्रसाद न्यौपानेको ‘देववाणी’ पत्रिका (संयुक्ताङ्क ११,१२,१३,१४, भाग–३, २०६८–६९) मा प्रकाशित ‘गलेश्वर बाबाप्रतिको मेरो अतीतको स्मृतिपटल’ शीर्षकको लेखअनुसार बाबाले उनलाई मनुस्मृति छपाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बाँड्नुपर्ने कुरा बताएका थिए । यसका साथै २०३० सालतिर काठमाडौँमा भएको बृहद् आध्यात्मिक सम्मेलनमा पं. सोमनाथ घिमिरे व्यास र योगी नरहरिनाथलाई पनि बाबाले मनुस्मृति छपाएर बाँड्ने प्रेरणा दिएका थिए ।
चन्द्रमणि शास्त्री रेग्मीको ‘देववाणी’ पत्रिका (अङ्क–३, वर्ष–३, २०५७) मा प्रकाशित ‘गलेश्वर बाबाको देवघाट धाम ः मेरो स्मृतिमा’ शीर्षकको लेखमा तत्कालीन राजा वीरेन्द्र, अधिराजकुमार धीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र २०३१ साल पौष १८ गते बाबालाई भेट्न गएका थिए भन्ने प्रसङ्गको उल्लेख पाइन्छ । भेटका सिलसिलामा बाबाले वीरेन्द्रलाई ‘तिम्रा घरमा कुर्सीटेबल होलान्, यहाँ सुकुलमा बस्नुपर्छ’ भनेका थिए र साथमा गएका बडाकाजी पुष्पलालले वीरेन्द्रले पेटी बाँधेको कुरा बताएपछि ‘तिम्रा बुबा महेन्द्रले पेटी बाँध्दैनथे । आजकलका ठिटाहरूलाई पेटी बाँध्नुपर्ने’ भनी बाबाले भनेको कुरा उनले त्यसमा सङ्केत गरेका छन् । उनले त्यस लेखमा उल्लेख गरेको अर्को सन्दर्भअनुसार बाबाले चारपटक काललाई फर्काएका र ब्रह्मलीन हुने दिन चाहिँ ‘अब म जानुपर्छ’ भनेका थिए साथै स्थलसमाधिको इच्छा पनि व्यक्त गरेका थिए ।
स्वामी रामानन्द सरस्वतीको ‘देववाणी’ पत्रिका (देवघाट धाम विशेषाङ्क, संयुक्ताङ्क ७,८,९,१०, भाग–२, २०६४) मा प्रकाशित ‘गलेश्वर बाबाप्रति मेरो अतीतको संस्मरण’ शीर्षकको लेखअनुसार भक्तहरूले बाबाका सम्बन्धमा विभिन्न रोचक प्रसङ्ग सुनाउने गरेका थिए र बाबासँग साक्षात्कार गर्ने तथा ती प्रसङ्ग सुन्ने मौका उनले पनि पाएका थिए । जसअन्तर्गत एउटा प्रसङ्ग हो, बाबा नारायणीमा खराउ लगाएर वारिपारि गर्नुहुन्थ्यो । अर्को प्रसङ्गमा जोड दिँदै उनले लेखेका छन्, वशिष्ठ गुफामा ठुलो सिँढी हाल्नलाई सालको रुखको लिस्नो तयार गरी त्यहाँ राख्ने बेलामा चारपाँचजनाले पनि बोक्न नसकेको बाबा एक्लैले बोकेर राखेका थिए । त्यो देखेर त्यहाँ भएका मानिस छक्क परेर हेरिरहेका थिए । त्यस्तै अर्को प्रसङ्गको चर्चा गर्दै उनले उल्लेख गरेका छन्, कुनै पर्वको समयमा भण्डारा भएको बेलामा भण्डारेले भोजनप्रसाद बनाएका थिए तर त्यतिखेर पारि चितवनबाट भक्तहरू धेरै आएकाले विष्णुलाल सुब्बाले बाबालाई भोजनप्रसाद नपुग्ने कुरा बताए । विष्णुलाल सुब्बा बाबाको दर्शन गर्न आइरहने गर्दथे । ‘अन्नपूर्ण माताले पु¥याउनुहुन्छ’ भनी एउटा पर्दा राखेर बाबा भित्र पसे अनि भक्तजनलाई पङ्क्तिमा राखेर अरूलाई पर्दाभित्र नपस्न आज्ञा दिँदै भित्रैबाट खिर, पुरी, सब्जी, चटनी, दही आदि दिन थाले । त्यसरी बाबाले आएका सम्पूर्ण व्यक्तिलाई तृप्त गराए । सोही लेखमा विष्णुलाल सुब्बाले ‘बाबालाई के सेवा गरूँ ? म बाबालाई पक्की कुटी बनाइदिन्छु’ भन्दा ‘मलाई यही ठिक छ, बरु अध्ययन–अध्यापनका लागि वेद विद्यालय बनाइदेऊ’ भनेको र विष्णुलाल सुब्बालगायतको पहलमा वि.सं. २०२३ सालमा विद्यालयको स्थापना भएको कुरा पनि उनले बताएका छन् ।
अझै अर्को सन्दर्भलाई प्रस्तुत गर्दै स्वामी रामानन्द सरस्वतीले लेखेका छन्, एकपटक तत्कालीन राजा महेन्द्र चितवनको देवघाटनजिकै पर्ने दियालो बङ्गलामा आएर बस्दा एकजना ताप्लेजुङका मन्त्रीलाई गलेश्वर बाबासँग भेट्न चाहेको सन्देश पठाएछन् । त्यतिखेर बाबाले एकछिन घोरिएर ती मन्त्रीका भूतका कुरा बताउँदै तिमी फलानाको छोरा हौ, तिम्रा बाजेलाई मैले मन्त्रदान गरेको थिएँ आदि भनेछन् । उनले बताउन नपाउँदै बाबाले सबै कुरा भनिदिएकाले ती मन्त्री बाबाका पाउमा परेछन् । त्यसपछि आफ्नो अखण्ड व्रत १२ वर्षको रहेको र त्यस अवधिसम्म आफू गण्डकी पारि जान नहुने तथा देवघाटमा मणि मुकुन्दसेन चक्रवर्ती शिलाको स्थापना भएको हुँदा त्यहाँ जान मुकुट लगाएका राजालाई श्राप परेकाले महेन्द्र पनि देवघाट आउन नहुने कुरा बाबाले बताएछन् । यस्तो अवस्था हुँदाहुँदै पनि महेन्द्रको बाबासँग भेट्ने तीव्र उत्कण्ठाका कारण महेन्द्र चढेको डुङ्गा र बाबा चढेको डुङ्गालाई त्रिशूलीको बिचमा डोरीले नहल्लिने गरी बाँध्ने काम भएछ र एक घण्टाजति राजा र बाबाबिच कुराकानी भएछ । त्यस क्रममा महेन्द्रले बाबालाई ‘म के सेवा गरूँ ?’ भन्दा ‘मलाई केही गर्नुपर्दैन, बटुकहरूलाई पढ्नका लागि विद्यालय र अध्यापकको व्यवस्था गरिदिनू’ भनी बाबाले निर्देशन दिएछन् । सोही व्यवस्थाका लागि वचनबद्धता प्रकट गरी महेन्द्रबाट १००० हजार रोपनी भूभागको हुकुम प्रमाङ्गीको कागज दिइएको कुरा बुढापाकाले गर्ने गरेको स्वामी रामानन्द सरस्वतीको संस्मरणात्मक लेखमा उल्लेख गरिएको छ ।
जनकविकेशरी धर्मराज थापाको ‘देववाणी’ पत्रिकाको देवघाट धाम विशेषाङ्क (संयुक्ताङ्क ७,८,९,१०, भाग–२, २०६४) मा प्रकाशित ‘देवघाटको कविगोष्ठी र गलेश्वर बाबासँगको भेट’ शीर्षकको लेखअनुसार गलेश्वर बाबाको प्रतापले देवघाटको महिमा र गरिमाको प्रचार नेपाललगायत भारतसम्म भएको थियो । एकपटक साहित्यिक मन भएका तत्कालीन राजा महेन्द्रले कवि केदारमान व्यथितको संयोजकत्वमा २०२२ सालमा काली गण्डकी र त्रिशूलीको बिचमा कविसम्मेलन पनि गराएका थिए, जसमा डा. मोहनहिमांशु थापा, भीम विराग, भूपी शेरचन, सिद्धिचरण श्रेष्ठ, लैनसिंह वाङ्देल, पं. पूर्णप्रसाद ब्राह्मण, पोषण पाण्डे, विजयबहादुर मल्ल, प्रेमविनोद नन्दन आदि सहभागी थिए । गलेश्वर बाबा वि.सं. १९९२ तिर देवघाट आएको प्रसङ्ग पनि उनले त्यसमा उल्लेख गरेका छन् । गलेश्वर बाबासँग साक्षात्कार हुँदा उनलाई बाबाले सरकारसमक्ष देवघाटवासी माताहरूले दुःख पाएको कुरा सुनाउन निर्देशन दिएका रहेछन् । महात्माहरू आफ्नो नभई अरूको ख्याल राख्छन् र अरूको दुःख देख्न सक्दैनन् भन्ने कुराको ज्वलन्त उदाहरणका रूपमा यस प्रसङ्गलाई लिन सकिन्छ । उनले संस्मरणात्मक लेखमा बाबाले लेखनाथ पौड्यालको भाइ बन्धुराज पौडेलको सद्गत गरेको घटनाको समेत स्मरण गरेका छन् ।
यस्ता सिद्ध साधु गलेश्वर बाबा वि.सं. २०३२ साल जेठ २७ गते राति द्वितीया तिथि मङ्गलबार कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल परिसर देवघाट, तनहुँमा ब्रह्मलीन भएका थिए । बाबाको इच्छाअनुसार उनको स्थलसमाधि नै भएको थियो । आदिप्रयाग र हरिहरक्षेत्रका नामले देवघाटको प्रसिद्धि हुनका लागि बाबाको अभूतपूर्व योगदान सदैव अविस्मरणीय रहनेछ । देवघाटको कृष्णा र शुक्ला गण्डकी अर्थात् काली र त्रिशूलीको सङ्गमबाट उत्तरतर्फ तनहुँ जिल्लास्थित बाबाको आश्रममा विभिन्न उत्तराधिकारीहरू रहँदै आएका छन् । हाल पनि बाबाले जग बसालेको त्यस ठाउँमा विद्यालय सञ्चालन हुँदै आएको छ भने विशाल संरचनाहरू वेदमन्त्रले प्रतिदिन ध्वनित हुने गर्दछन् । सन्तमहन्तहरूका लागि आवास र आहारको व्यवस्था गर्दै भक्तहरूको दानबाट गलेश्वर आश्रम चलिरहेको छ । त्यहाँ पुग्दा जोकोहीलाई पनि लाग्छ कि यो अलौकिक धामको महिमागानमा बाबाले सुर दिइरहेका छन् र अहिले पनि गलेश्वर बाबा भक्तजनका हृदयमा सिद्ध बाबाका रूपमा प्रतिष्ठित छन् ।



