आदिकवि भानुभक्त आचार्य

जीवनी
नेपाली साहित्यको काव्यिक धरातलमा अवतरित भएर प्रथम पदचिह्न छोड्न सफल स्रष्टा हुन् – भानुभक्त आचार्य । पूर्वीय दर्शन र संस्कारलाई सबल रूपमा आफ्ना रचनामा प्रस्तुत गर्ने आचार्य नेपाली साहित्यजगत्मा आदिकविको उपनामले सुपरिचित छन् । पिता धनञ्जय आचार्य र माता धर्मावतीका सन्तानका रूपमा तनहूँ जिल्लाको रम्घा भन्ने गाउँमा वि.सं. १९७१ असार २९ गते उनी जन्मिएका थिए । परम्परागत शिक्षा प्राप्त गरेका आचार्यको अक्षरारम्भ घरमै पाँच वर्षको उमेरमा भएको थियो ।
आफ्ना हजुरबा श्रीकृष्ण आचार्यबाट संस्कृतको राम्रो ज्ञान पाएका भानुभक्त आचार्य परिवारको धार्मिक संस्कारले निकै नै प्रभावित थिए । संस्कृत भाषामा लेखिएका ग्रन्थहरूको सघन अध्ययनमा रुचि राख्ने आचार्यमा अद्भुत काव्यप्रेम थियो । घाँसीले आफ्नो नाम पछिसम्म राख्नका लागि कुवा खनाएको देखेर त्यसबाट नै प्रेरणा पाई नाम राख्ने काम गर्न उनी काव्य लेखनमा लागेका हुन् भन्ने किंवदन्ती प्रचलित छ । सरल नेपाली भाषामा कविता लेख्ने आचार्यका ‘रामायण’, ‘भक्तमाला’, ‘वधूशिक्षा’, ‘प्रश्नोत्तर’ आदि कृतिहरू प्रकाशित देखिन्छन् । राम भक्तिधाराका केन्द्रीय प्रतिभा आचार्यले रामायण लेखी विभिन्न जाति र संस्कृतिमा विभाजित नेपालीलाई भावनात्मक रूपले एकताको सूत्रमा बाँधेका थिए ।
जीवनको आदर्श र मर्यादा पुरुषोत्तम रामचन्द्रको गाथालाई आफ्ना कृतिका माध्यमबाट जनजनको जिब्रोमा पुर्याउने आचार्य धार्मिक, आध्यात्मिक, नैतिक र सामाजिक चेतना भएका कविका रूपमा परिगणित छन् । यस्ता नेपाली साहित्यका आदिकविको निधन वि.सं. १९२५ असोजमा भएको थियो । आफ्नो भाषासाहित्यको उत्थानमा सतत प्रयत्नशील हुने प्रेरणा दिएका आचार्य अहिले हाम्रा सामु नरहे पनि आफ्ना अमर कार्यबाट अनुकरणीय व्यक्तित्वका रूपमा सदा जीवित रहने छन् ।
सार्थक नाम
‘भानुभक्त’ शब्द षष्ठी तत्पुरुष समासबाट निर्मित शब्द हो । यसको विग्रह ‘भानुको भक्त’ भन्ने हुन्छ । ‘भानु’ अर्थात् ‘सूर्यको भक्त’ भन्ने अर्थ ‘भानुभक्त’ शब्दले दिन्छ । खासमा भानुभक्त साँच्चै नै सूर्यका भक्त थिए । संस्कृत काव्य रामायणअनुसार राम सूर्यवंशमा जन्मिएका प्रतापी राजा हुन्, जसले रावणलगायतका दुष्टहरूको वध गरेका थिए । तिनै सूर्यको कीर्ति फैलाउने वंशमा जन्मिएका रामको चरित्रगाथालाई नेपाली भाषामा लेखेकाले उनको नाम सार्थक देखिन्छ ।
जयन्ती
भानुभक्तको जन्मजयन्ती असार २९ गते नेपाललगायत विभिन्न मुलुकमा मनाइन्छ । भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने चलन छ । कतिपय विद्यालयहरूले उनको सम्झनामा र्याली निकाल्दै उनको साहित्यिक स्थानलाई स्पस्ट्याउने काम गर्छन् भने केही विद्यालयहरूमा भानुभक्तद्वारा रचित कृतिको वाचन पनि गराउँछन् । रामायणवाचन प्रतियोगिता, कविता लेखन तथा वाचन प्रतियोगिताहरूको आयोजना गरेर उनीप्रति सम्मान प्रकट गर्ने गरिन्छ । यसै सन्दर्भमा नेपाली साहित्यको सतत समुन्नतिका लागि अनवरत प्रयत्नशील स्रष्टाहरूलाई सम्मान गर्नेलगायतका कार्यक्रमहरू पनि आयोजना गरिएका हुन्छन् । भानुप्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान आदिले उनको योगदानको कदर गर्दै व्यक्तित्वलाई चिनाउने कार्यक्रम आयोजना गर्छन् । नेपाली विद्वान्हरू उनले नेपाली साहित्य तथा भाषाको विकासमा दिएको देनका सम्बन्धमा चर्चा गर्ने गर्छन् ।
नेपालमा मात्र नभएर भारतका दार्जिलिङ, सिक्किम आदि ठाउँमा यसलाई उत्सवका रूपमा मनाउने परम्परा छ । आजकल बिदेसिएका नेपालीहरू मिलेर आफू गएको ठाउँमा कार्यक्रम आयोजना गरी भानुभक्तप्रति आस्था प्रकट गर्न थालेका छन् । नेपाली भाषामा फाट्टफुट्ट रचना भए पनि संस्कृतमा लेख्न सक्नुलाई विद्वत्ताको कसीमा उतार्ने तत्कालीन समाजमा नेपाली भाषामा यति धेरै कृति दिएर वाङ्मयको उत्थान गर्न अविस्मरणीय योगदान दिने भानु आकाशको भानुझैँ युगयुगान्तरसम्म नेपाली हृदयाकाशमा चम्किरहनेछन् ।