प्राचीन कालमा मिथिलाका नामले प्रसिद्ध क्षेत्रलाई अहिले जनकपुरका नामले चिनिन्छ । जनकपुर आसपासका क्षेत्र पनि मिथिला नामबाटै चिनिन्छन् तर राजा जनकले शासन गरेका कारण राजधानीलाई जनकपुर (जनकको पुर/सहर) भन्न थालियो । नेपालको इतिहासमा राजा जनकको विद्वत्ता र त्यागको बढी चर्चा हुने गर्छ । जनककी छोरी भएकै कारण सीतालाई जानकी तथा जनकपुत्री भनेर पनि चिन्ने गरिन्छ । राजा जनकलाई विदेह र विदेहकी छोरी भएकाले सीतालाई वैदेही पनि भन्ने गरिन्छ । यिनकी आमाको नाम भने सुनयना थियो ।
पौराणिक कथनअनुसार राजा जनकले सन्तानप्राप्तिका लागि यज्ञ आरम्भ गरेका थिए । त्यही बेला यज्ञको तयारीका लागि हलो जोत्ने क्रममा जमिनमा परेको हलोको डोबमा भेटिइन् र जनकले छोरीका रूपमा पालनपोषण गरे । वास्तवमा सीता शब्दको अर्थ पनि जोत्दा जमिनमा परेको हलोको डोब हो । यही कारणले यिनलाई सीता भनियो र कालान्तरमा सीता नामबाट नै यिनी चिनिइन् । यिनका ऊर्मिला, माण्डवी र श्रुतकीर्ति नाम गरेका बहिनीहरूको प्रसङ्ग पनि रामायण आदि ग्रन्थमा वर्णित छ र यिनलाई सनातन परम्पराका अनुयायीहरू विष्णुकी पत्नी लक्ष्मी देवीको अवतार मानी श्रद्धा व्यक्त गर्दछन् ।
वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी पनि भनिन्छ । यो हिन्दुहरूको एउटा महत्त्वपूर्ण पर्व हो । सीता त्याग र पतिव्रताकी प्रतिमूर्ति हुन् । राजपरिवारमा हुर्केकी सीताको विवाह विष्णुका अवतार मानिएका रामसँग भएको थियो । त्यसै क्रममा उनका बहिनीहरूको विवाह पनि रामका भाइहरू भरत, लक्ष्मण र शत्रुघ्नसँग भयो । त्यतिखेर राम अयोध्याका राजा दशरथका जेठा सन्तान तथा अयोध्याका उत्तराधिकारी थिए । सीताको स्मृतिमा बनाइएको रामजानकी मन्दिर, विवाहमण्डपको प्रतिकृति अद्यापि जनकपुरमा देख्न सकिन्छ । सीतानवमी, राम र सीताको विवाह भएको दिन विवाहपञ्चमी अनि रामको जन्मोत्सवका रूपमा मनाइने रामनवमी तिथिमा सीताको जन्मस्थल जनकपुरमा भक्तहरूको भीड लाग्ने गर्छ ।
रामसँग विवाह भएपछि कैकेयीले मागेको वरदानस्वरूप दशरथले रामलाई वनवासका लागि आदेश दिन्छन् । पिताको आज्ञालाई शिरोपर गरी वनवास जान लागेका रामले सीतालाई आफूसँग आउँदा वनमा धेरै कष्ट झेल्नुपर्ने बताएर वनवासमा नआउन आग्रह गर्छन् । पति र पत्नीलाई एकअर्काको परिपूरक मानिन्छ । पत्नीलाई सहधर्मिणी भनिन्छ । जीवनसाथीका रूपमा पति र पत्नीलाई लिइने भएकाले पतिको हरेक समयमा साथ दिनु पत्नीको कर्तव्य हुन आउँछ त्यसैले सीताले आफूलाई रामसँग नै वनमा लैजान अनुरोध गर्छिन् । दरबारिया भौतिक सुखसयललाई पतिका लागि सहजै त्याग्न सक्ने सीताको यो कदमलाई आजको विश्वले ससम्मान हेर्ने गर्छ । पतिव्रता पत्नीका रूपमा उनले निभाएको कर्तव्यबाट यस युगका नारीहरूले पनि ठूलो पाठ सिक्न सक्छन् ।
वनवासकै क्रममा रामायणमा वर्णन गरिएका अरू प्रसङ्ग पनि उत्तिकै स्मरणीय देखिन्छन् । सुनको मृगका पछि लागेका रामको सुरक्षाका निमित्त उनले लक्ष्मणलाई तुरुन्त पठाएकी छन् भने दण्डक वनबाट अपहरणमा परेर अशोकवाटिकामा रावणको कब्जामा रहँदा उसको प्रलोभन र धम्कीको परबाह नगरी आफूलाई विचलित हुन दिएकी छैनन् । त्यतिमात्र नभई अग्निपरीक्षामा आफूलाई खरो उतारेर राज्यको प्रजाको सुखका लागि त्यागिँदा समेत हिम्मत नहारेकी सीता वास्तवमै असल छोरी, कुशल पत्नी तथा आदर्श नारी हुन् । वाल्मीकि ऋषिको आश्रममा रहेर छोराहरू लव र कुशप्रति एक्लै आमाको मात्र नभएर बाबुको पनि भूमिका निर्वाह गरेकाले उनी अनुकरणीय आमा पनि हुन् । आजको युगले सीताबाट आँट र दृढनिश्चयताको अनुकरण गर्न सके सायद परिस्थितिले कोल्टो फेर्न सक्छ ।
शिवधनुषलाई सम्हाल्न सक्ने पराक्रमले नै रामसँग सम्बन्ध गाँसिन पुगेको र माइतीले दिएको संस्कारलाई अक्षरशः पालन गर्दै जन्मभूमिको प्रतिष्ठालाई सगरमाथाको उचाइमा पु¥याएकी सीता सच्चा धर्तीकी छोरी हुन् । उनकै त्याग र आदर्शमा संस्कृतको पहिलो काव्य रामायण रचिएको छ । उनको कार्यको अनुसरण गरेर देशको गरिमा बढाउने कार्यमा चेलीहरू अघि सरेका छन् । उनका यिनै कार्यलाई मनन गरेर नेपालको राष्ट्रिय विभूतिको सूचीमा उनको नाम पनि अङ्कित गरिएको छ ।
आफ्ना सद्गुणहरूले विश्वलाई नै चकित बनाउन सक्ने सीताको नाम आदर्श महिलाहरूको पङ्क्तिमा सबैभन्दा अगाडि लिइन्छ । जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने उनी साहसी नारी हुन् । उनी पतिको हरेक कदममा साथ दिने असल जीवनसँगिनी तथा मातृवात्सल्यको न्यानो पछ्यौरीभित्र राखेर सन्तानलाई हुर्काउने सङ्घर्षशील चरित्र पनि हुन् । स्वदेशको गरिमालाई सधैँ शिरमा राखेर हिँड्नु र उनले देखाएको मार्गमा चल्न सक्नु नै आजका मानिसहरूको प्रमुख चुनौती बनेको छ ।



