नेपाली धर्ती विभिन्न कालखण्डमा अनेकौँ मनीषीरत्नहरूद्वारा सुसज्जित रहँदै आएको छ । आर्षसभ्यताको विकासका क्रममा विभिन्न ऋषिमुनिहरूले यहीँ जन्म लिएर यसलाई नै तपोभूमि बनाएका थिए । त्यस क्रमको निरन्तरता अहिलेसम्म पनि देख्न पाइन्छ । यसै क्रममा विद्याको साधनाबाट आफूलाई ज्ञानको कोटीमा उच्च स्थान दिलाउन सफल सुधी पद्मप्रसाद भट्टराईको जन्म पनि यही धर्तीमा भएको थियो । उनी वि.सं. १९५३ वैशाख १४ गते रामेछापको सालुमा पिता दीननाथ र माता कृष्णमायाको सुपुत्रका रूपमा जन्मिएका थिए । सानैदेखि अध्ययनमा रुचि राख्ने यिनै बालक पछि गएर विशिष्ट विद्वान्का रूपमा विश्वभर सुपरिचित भए ।
त्यतिखेर नेपालका धेरै ठाउँहरू विद्यालयविहीन थिए । पढ्न र आफ्ना सन्ततिहरूलाई पढाउन चाहने अभिभावक आफैँ नै सचेत हुनुपर्थ्यो । यस्तै समय र परिस्थितिका कारण ज्ञानपिपासुहरू तृप्तिका लागि आफ्नो गाउँठाउँ छोडेर बाहिरिनुपथ्र्यो । पद्मप्रसाद पनि ११ वर्षको कलिलो उमेरमा पढ्नका लागि काठमाडौँ आए । उनको असाधारण प्रतिभा देखेर गुरुहरूसमेत आश्चर्यमा पर्थे । पढेर छिटो सम्झन सक्ने क्षमतालाई स्मरणशक्ति भनिन्छ । उनको स्मरणशक्ति अद्वितीय थियो । उनी विषयवस्तु पढेर एकै छिनमा कण्ठस्थ गर्न सक्थे । उनको यही प्रतिभा कालान्तरमा फलीभूत भयो ।
नेपालमा उच्च शिक्षाको सुविधा त्यतिखेर नभएका कारण धेरै मानिसहरू बनारस, काशी, कलकत्तातिर अध्ययनका लागि जान्थे । उनी पनि अध्ययनका लागि बनारस गए । विद्यार्थीजीवनमा लगनशील, मिहिनेती र जिज्ञासु भएकाले उनी कक्षामा प्रथम हुने गर्दथे । प्रत्युत्पन्न मति र असाधारण तार्किक क्षमता उनमा विद्यमान थियो । उनले बनारसमा रहँदा धेरै संस्कृतगोष्ठीहरूमा भाग लिएर आफ्नो असामान्य प्रतिभाको परिचय दिएका थिए । उनीसँग सम्पर्कमा आउने विद्वान्हरू उनीबाट अत्यन्त प्रभावित भई उनको क्षमताको मुक्तकण्ठले प्रशंसा गर्थे ।
विद्याको भोकले ग्रसित व्यक्ति सामान्यतया अभ्यास छोडेर सन्तुष्ट भइरहन सक्दैन । वि.सं. १९८० मा उनले संस्कृतकै नव्यन्याय विषयमा आचार्य परीक्षा प्रथम श्रेणीमा प्रथम भएर उत्तीर्ण गरे । त्यसपछि उनलाई पोष्टाचार्य पदवी प्रदान गरियो । संस्कृत भाषामा रहेका आस्तिक दर्शनहरूमा न्यायदर्शनको विशिष्टतालाई सर्वोपरि मानिन्छ । न्यायदर्शनको महत्तालाई निम्नानुसार स्पस्ट्याउन सकिन्छ :
प्रदीपः सर्वविद्यानामुपायः सर्वकर्मणाम् ।
आश्रयः सर्वधर्माणां शश्वदान्वीक्षिकी मता ।।
(आन्वीक्षिकी वा न्यायशास्त्र सबै विद्याहरूको बत्ती, सबै कर्महरूको उपाय र सबै धर्महरूको आश्रय मानिन्छ ।)
उनी न्यायदर्शनको मात्र नभएर संस्कृत साहित्य, ज्योतिष, व्याकरण, मीमांसा र वेदका पनि धुरन्धर विद्वान् थिए । भनिन्छ, ‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते’ अर्थात् राजाको स्वदेशमा मात्र पूजा हुन्छ भने विद्वान् सर्वत्र पूजित हुन्छन् । वि.सं. १९८६ मा उनको असाधारण प्रतिभाको कदर गर्दै बनारस संस्कृत विद्यापीठमा प्राध्यापनका लागि उनलाई नियुक्त गरियो । उनले त्यहाँ रहँदा धेरै विद्यार्थीहरूलाई पढाए । त्यस क्रममा उनको कीर्ति चारैतिर फैलन थाल्यो । उनी नेपाल र भारतका मात्र नभएर विश्वकै विद्वान् कहलिन पुगे । उनको शास्त्रचर्चाका अगाडि अरुको जोर चल्दैनथ्यो । उनले नजानेको पूर्वीय विषय नै हुँदैनथ्यो । जस्तो जिज्ञासा लिएर गए पनि उनीकहाँ पुगेको जिज्ञासु सन्तुष्ट भएर फर्कने गर्दथ्यो । त्यतिखेर नेपालमा विश्वविद्यालयको स्थापना भएको थिएन । त्यसैले उनले करिब २३ वर्षसम्म बनारसमा नै रहेर अध्यापन कार्यलाई बढाइरहे ।
उनको विद्वत्ताको चर्चा दरबारमा पनि हुने गर्दथ्यो । यस्ता विद्वान्बाट देशले लाभ उठाउनुपर्छ भन्ने सोचेर तत्कालीन राजा त्रिभुवनले उनलाई वि.सं. २००९ मा नेपाल झिकाए साथै नेपाली विद्यार्थीहरूलाई संस्कृत पढाउने जिम्मेवारी पनि सुम्पे । उनी परिश्रमशील विद्यार्थी देखेर अत्यन्त प्रसन्न हुन्थे । अध्यापन कार्यमा उनलाई बडा आनन्द आउँथ्यो । संसारभरका विद्वान्हरू उनीसँग परामर्श लिन आउँथे । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि उनले त्यहाँको संस्कृत विभागको अध्यक्ष भएर काम गरे । संस्कृतप्रतिको अनुरागलाई उनले आजीवन यसको सेवा गरेर टुट्न दिएनन् ।
भारतमा रहेर प्राध्यापन कार्य सुरु गरिसकेका यिनले राजा त्रिभुवनको आग्रहमा नेपाल फर्केर स्वदेशप्रति अगाध आस्था प्रकट गरेका थिए । संस्कृत शिक्षाको विकासमा अतुलनीय योगदान दिएका भट्टराईको सेवाको कदर गर्दै यिनलाई ‘गोरखा दक्षिण बाहु’ दोस्रो र तेस्रोले सम्मानित गरिएको छ । नियतिको खेलले गर्दा यस्ता विशिष्ट प्रतिभाले आफ्नो निरन्तर सेवाबाट भने विश्राम लिनुपर्यो । उनलाई वि.सं. २०२२ मा पक्षाघात भयो । उनी थलिए तर विद्याको साधनालाई भने उनले चटक्कै छाडेनन् ।
करिब ८ वर्षको अवधि उनका लागि निकै कष्टकर बन्यो । एकै ठाउँमा थलिएर रहँदा पनि जीवनप्रति भने उनी सन्तुष्ट थिए । बाँचुन्जेल पूर्वीय वाङ्मयको सेवा गर्न पाएकाले उनमा छुट्टै आनन्दानुभूति थियो तर दैवको अगाडि कसैको केही जोर चल्दैन । यस्ता विशिष्ट व्यक्तिको वि.सं. २०३० मा इहलीला समाप्त भयो । हजारौँको सङ्ख्यामा मानिसहरू शोकमग्न भए, विद्यासाधकहरूको छाती चिरिएर आयो । आज उनी हाम्रा सामु नभए पनि उनले विश्वभर फैलाएको नेपाली नामका कारण हामी गौरवान्वित छौँ । उनले संस्कृत वाङ्मयको प्रचारप्रसार र उत्थानमा समर्पण गरेको जीवनबाट हामीले ऊर्जा पाएका छौँ । उनी हाम्रा मनमस्तिष्कमा सदैव जीवित रहनेछन् । उनीबाट कर्मशील बनेर आफ्नो लक्ष्यप्राप्तिमा जोड दिनुपर्ने प्रेरणा लिन सकिन्छ ।



