रुरुक्षेत्र (रिडी)

नेपाल आध्यात्मिक दृष्टिकोणले निकै समृद्ध देश मानिन्छ । यहाँका तीर्थस्थलहरूको वर्णन विभिन्न ग्रन्थहरूमा गरिएको छ । विशेषतः पितृमुक्तिका लागि नेपालका चार क्षेत्रहरूमा गई श्राद्ध, तर्पण आदि गर्नुपर्ने कुराको उल्लेख पुराणहरूमा पाइन्छ :
मुक्तिनाथं प्रथमतो रुरुक्षेत्रं ततः परम् ।
ततः पाशुपतं क्षेत्रमथ वाराहसंज्ञकम् ।।
मुक्तिनाथक्षेत्र, रुरुक्षेत्र, पाशुपतक्षेत्र तथा वाराहक्षेत्रलाई नेपालका चार धामका रूपमा लिने गरिन्छ । यिनै चार धाममध्ये छुट्टै विशेषता बोकेको पवित्र तीर्थस्थल हो रुरुक्षेत्र । यो रिडी खोला र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित छ । कालीगण्डकीमा चक्रयुक्त शालग्रामहरू पाइन्छन् । यसलाई चक्रनदी पनि भनिन्छ । पुराणहरूमा कालीगण्डकीको विशेष महिमागान गरिएको छ । यसको किनारमा रहेको रुरुक्षेत्र स्याङ्जा, गुल्मी र पाल्पाको मिलनस्थल पनि हो । यो क्षेत्र पाल्पाको तानसेनबाट करिब १० किलोमिटरको दूरीमा रहेको छ ।
वराहपुराणमा रुरुक्षेत्रको नामकरणसम्बन्धी चर्चा हुनाका साथै त्यस क्षेत्रको पौराणिक इतिहासको पनि उल्लेख गरिएको छ । परापूर्वकालमा त्यस ठाउँमा देवदत्त नाम गरेका ऋषि थिए । उनी भगवान्को तपस्यामा लीन भएका थिए । उनको तपस्याका कारण स्वर्गका राजा इन्द्रको आसन पनि डगमगाउन थालेको थियो । त्यस कारण इन्द्र भयभीत भएर उनको तपस्या भङ्ग गर्न प्रम्लोचा अप्सरासँग वसन्त ऋतु, मलयवायु, सङ्गीतका लागि गन्धर्व र कामदेवलाई त्यस ठाउँमा पठाए । तिनले रसिक वातावरण निर्माण गरी देवदत्तको तपस्या भङ्ग गर्न सघाए । रसरङ्गमा देवदत्त रमाइरहँदा प्रम्लोचा गर्भवती भइन् र एक कन्यालाई जन्म दिइन् । कन्यालाई त्यहीँ छोडेर प्रम्लोचा स्वर्गतिर लागिन् । यता ऋषिलाई भने आफ्नो तपस्या भङ्ग भएकामा पछुतो भयो र उनी कालीगण्डकी पार गरेर भृगुतुङ्ग ऋषिको गुफामा गई भगवान् शिवको तपस्यामा लीन भए । त्यस ठाउँमा भृगुतुङ्ग ऋषिको मन्दिर पनि छ ।
देवदत्त ऋषिको कठोर तपस्याबाट प्रसन्न भएका शिवले प्रकट भएर उनलाई भने, “देवदत्त ! तिमीले पहिला विष्णु र ममा भिन्नता देखेर तपस्या गरेका थियौ त्यसैले तिम्रो तपस्या भङ्ग भएको थियो । म र विष्णुमा भेद देख्नेले कहिल्यै मुक्ति प्राप्त गर्न सक्दैन किनकि म र विष्णुमा नामभेद भए पनि हामी एकै हौँ । अहिले चाहिँ अभेददृष्टिले तिमीले तपस्या गरेका कारण तिम्रो तपस्या पूर्ण भयो । अब वरदान माग ।” देवदत्तले शिवपद प्राप्तिको वरदान मागे र शिवसायुज्य प्राप्त गरे । त्यस गुफामा भगवान् शिवको कृपाले हजार शिवलिङ्ग उत्पन्न भए । त्यहीँ बसेर सनक, सनन्दन, सनातन र सनत्कुमारहरूले पनि तपस्या गरेका र महादेवले डमरु बजाएर वरदान दिने बखत पाणिनिले त्यही डमरुको आवाजबाट व्याकरणका अइउण् आदि चौध सूत्र सुनेको प्रसङ्गको वर्णन पाइन्छ । जुन सूत्रका माध्यमबाट पाणिनिले अष्टाध्यायी अर्थात् संस्कृत भाषाको व्याकरणको रचना गरेका थिए । यस ग्रन्थलाई विश्वमै उत्कृष्ट व्याकरणको रूपमा लिने गरिन्छ । यिनै कारणहरूले पनि त्यस ठाउँको महिमा अझ बढ्न गएको महसुस हुन्छ ।
प्रम्लोचाको स्वर्गगमनपछि ती नवजात कन्याको पालनपोषण दैवी इच्छाले आफ्नो दुध खुवाएर रुरु नाम गरेको हरिणले ग¥यो । उसको रेखदेखमा हुर्किएकी कन्याको नाम पनि रुरु रहन गयो । आफ्ना बारेमा थाहा पाएर गृहस्थ जीवनमा प्रवेश नगरी तिनले त्यही गुफामा गएर भगवान् हृषीकेश (हृषीक = इन्द्रियहरूका, ईश = स्वामी) को तपस्या गरिन् । हृषीकेश विष्णुको अर्को नाम हो । भगवान् हृषीकेशलाई प्रसन्न पारी उनले त्यस ठाउँको नाम आफ्नो नामबाट प्रख्यात रहनाका साथै भगवान् हृषीकेशको निवास पनि रुरुक्षेत्रमा हुनुपर्ने वरदान मागिन् । उनको वरदानलाई सफलीभूत बनाउन भगवान् हृषीकेश शालग्राम शिलामा परिणत भए । २४ प्रकारका शालग्राममध्ये हृषीकेश १६औँ नाम मानिन्छ । त्यसपछि त्यस क्षेत्रको नाम रुरुकन्याकै नामबाट प्रसिद्ध रहन गएको विश्वास गरिन्छ । त्यस क्षेत्रकी अधिष्ठात्री देवीका रूपमा हृषीकेश मन्दिरनजिकै तिनको स्थापना पनि गरिएको छ ।
शालग्रामलाई विष्णुस्वरूप मानी पूजा गर्ने प्रचलन अद्यापि छ । लोकहितका लागि वृन्दाको श्रापका माध्यमबाट भगवान् विष्णु शालग्राम भए भनी हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ :
विष्णुर्बभूव तस्यां वै शालग्रामः शिलातनुः ।
सर्वलोकहितार्थाय वृन्दाशापेन निश्चितम् ।।
कालीगण्डकीमा स्नान गर्ने क्रममा पाल्पाका तत्कालीन राजा मणिमुकुन्दसेनले भगवान् हृषीकेशको शिलास्वरूपलाई फेला पारे भनिन्छ । सपनामा आएर भगवान्ले आफ्नो मन्दिर स्थापना गर्न उनलाई निर्देशन दिएको किंवदन्ती पनि प्रचलित छ । उनले कालीगण्डकीमा प्राप्त त्यस मूर्तिलाई भरियाहरू लगाई बोक्न लगाए र तानसेन ल्याएर स्थापना गरे । बर्सौँदेखि कालीगण्डकीको गर्भमा रहेको भगवान् हृषीकेशको मूर्तिलाई ल्याएर स्थापना गर्ने श्रेय मणिमुकुन्दसेनलाई दिइन्छ । उनैले मन्दिर सञ्चालनका लागि गुठीको व्यवस्था गरेका थिए ।
रुरुक्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले निकै नै महत्त्वपूर्ण छ । यस क्षेत्रमा विभिन्न चाडपर्वहरूमा मानिसहरू तीर्थाटनका लागि आउने गर्छन् । विशेष गरेर माघेसङ्क्रान्तिमा यहाँ स्नान गर्नका लागि श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले मकरसङ्क्रान्तिका नामले समेत जानिने यस पर्वबाट उत्तरायण सुरु हुने हुँदा यस दिन गरिने गङ्गास्नानको विशेष फल पुराणहरूमा बताइएको छ । चक्रनदी कालीगण्डकीमा स्नानार्थ वरपरका क्षेत्रबाट मात्र नभएर टाढा–टाढाबाट पनि यस दिन आस्थावान्हरू आउने गर्दछन् ।
रुरुक्षेत्र नेपालको एक धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व बोकेको तीर्थस्थल हो । यसको गरिमालाई मध्यनजर गरेर यसलाई युनेस्कोको विश्वसम्पदा सूचीमा पनि समावेश गरिएको छ । नेपालको चार धामअन्तर्गत पर्ने यस क्षेत्रको प्रचारप्रसारमा स्थानीय निकायहरूको ध्यान जानु अपरिहार्य देखिन्छ । यसको गरिमालाई सबैसामु पुर्याई यसको विशिष्टतालाई कायम राख्नु आवश्यक छ ।