यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।
(जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू रमाउँछन् । जहाँ यिनीहरू पूजित हुँदैनन्, त्यहाँ गरिएका सबै काम निष्फल हुन्छन् ।) – मनु
नारी शक्तिस्वरूपिणी दुर्गा, धनस्वरूपिणी लक्ष्मी र विद्यास्वरूपिणी सरस्वती हो । मानिसलाई आवश्यक पर्ने मुख्य तीन कुरा बल, सम्पत्ति र ज्ञानका अधिष्ठात्री देवीका रूपमा तीन देवीको पूजाआराधना गर्ने परम्परा हाम्रो छ । परम्परा इतिहासबाट सुरु भएर वर्तमानसम्म आइपुगेको हुन्छ । समयको गतिसँगै नारीशक्तिको प्राधान्य भएको समाज एकाएक नारीलाई चुलोचौकामा सीमित बनाई घरको परिधिभित्र थुनिनुपर्ने बाध्यात्मक परिस्थितिको सृजना गर्दछ त्यसैले यिनको सामना गर्दै इतिहास रच्ने नारीहरू हामी कमै भेट्छौँ । तिनै नारीहरूमध्ये चेतनाको बत्ती बालेर जागरणको नौलो बिहानी ल्याउने क्रान्तिस्वरूपिणी साधिका हुन्, योगमाया । परिवर्तनका लागि सङ्घर्ष, सर्वहितका लागि त्याग अनि जागरणका लागि निर्भीकताकी पर्याय हुन्, योगमाया । निरङ्कुशतन्त्रमा पनि अन्याय, अत्याचार, दमन, शोषण, विभेद अनि भ्रष्टाचारका विरुद्ध भक्तिमार्गको अवलम्बनबाट राजधानीसम्म विद्रोहको शङ्खनाद गर्ने योगिनी हुन्, योगमाया ।
नेपालको पहाडी जिल्ला भोजपुरको नेपाले डाँडाको सिम्ले गाउँमा वि.सं. १९२४ मा योगमाया न्यौपानेको जन्म भएको थियो । हाल उक्त स्थान षडानन्द नगरपालिका – १ मा पर्दछ । गाउँको उकाली–ओराली तथा वनपाखाको सुरम्य परिवेशमा उनी हुर्कन थालिन् । बालविवाहले जरो गाडेको त्यस बेलाको सोचले यिनलाई अछुतो राख्न सकेन । यिनको विवाह हुँदाको उमेरमा कसैले ५, कसैले ७, कसैले ९ वर्ष भनी फरक समय तोके पनि कोइराला परिवारसँग विवाह भएकामा भने खासै विवाद देखिँदैन । सुरुको तथ्यले पतिको नामका सन्दर्भमा फरक–फरक धारणा प्रस्तुत गर्दै बालविधवा भनेर देखाए पनि पछिल्लो अध्ययनबाट ईश्वरोपाध्याय कोइरालासँग उनको विवाह भएको र बालविधवा नभई घर खान कठिन भएर उनले घर त्यागी हिँड्नुपरेको भनी पत्ता लागेको छ । घरको बुहार्तनबाट प्रताडित उनी घर छोडी निस्किन् र माइतमा बस्न पनि अनुकूल नभएपछि भारतको आसाम पुगी फूलबारी भन्ने ठाउँमा अर्कै युवकसँग वैवाहिक जीवन बिताइरहेकी थिइन् । पछि वि.सं. १९७३ मा मात्र उनी माइत फर्केकी थिइन् । पुराण लगाएको प्रसङ्ग थाहा पाएर उनी त्यतिखेर माइत आएकी हुन् भनेर केही विद्वान्ले उल्लेख गरेका छन् ।
मार्छन् भन्ने डर छैन केही
आखिर काल गतिले भिरेको छ देही । – ‘सर्वार्थ योगवाणी’
भोजपुर फर्केपछि उनको आध्यात्मिक जीवनको सुरुवात भएको छ । तत्कालीन अन्धविश्वासी बर्बर सोचबाट दिक्क हुँदै उनले सिम्लेभन्दा तल अरुणको किनार मझुवाबेसीमा कुटी निर्माण गरिन् र साधना गर्न थालिन् । गर्मीमा पञ्चाग्नि तापेर अनि जाडोमा आधा दिनसम्म नदीमा शरीर आधा डुबाएर उनले साधना गर्ने गरेको चर्चा त्यस ठाउँका मानिसहरू गर्दछन् । महिनौँसम्म फलफूल र जडीबुटीको सेवन मात्र गरेर उनले निर्वाह गर्ने गरेको कुरा सुन्दा उनलाई दृढनिश्चयी तपस्विनीका रूपमा उभ्याएर हेर्न सकिन्छ । उनले नेपालका स्वर्गद्वारीलगायत भारतका बद्रीनारायण आदि तीर्थस्थलको भ्रमण गरिन् । यसै क्रममा उनलाई स्वर्गद्वारी महाप्रभुबाट दीक्षित भनेर पनि चर्चा गरिएको पाइन्छ ।
उनी कुरीति र विकृतिलाई संस्कृतिका रूपमा अँगालिँदा विक्षिप्त बनेकी थिइन् । तत्कालीन समाजका यस्ता नराम्रा पक्षहरूमाथि उनले प्रहार गर्न थालिन् । जङ्गबहादुरले १६ वर्षभन्दा मुनिका विधवा र ९ वर्षभन्दा मुनिका सन्तान भएकालाई सती जान रोक लगाए पनि त्यसको ठुलो पीडाबाट नारीसमुदाय त्यतिखेर गुज्रिरहेको थियो । यसका साथै मानवबाट नै अमानवीय व्यवहारको सिकार बन्न पुगेका दासदासीहरूको अवस्था दयनीय थियो । साधनामा कठोर भए पनि व्यवहारमा सरल यिनको कोमल हृदयले त्यस किसिमका कार्यलाई क्षम्य मान्न सकेन । फलस्वरूप यिनले आफ्ना अनुयायीसहित उरालेको स्वरले सार्थकता पाउँदै गयो । वि.सं. १९७७ मा पूर्णतया सतीप्रथा अनि वि.सं. १९८१ मा दासप्रथाको उन्मूलन हुन पुग्यो । तसर्थ यिनलाई निरक्षर भनी सम्बोधित गर्नु सायद जायज हुँदैन किनकि यिनले आफ्नो आवाजलाई अक्षर अर्थात् अविनाशी बनाएर गएकी छन् ।
धर्म सम्झी विचार गरी इन्साफ गरेन
पैसा भए बेरोहालाई दण्ड परेन । – सर्वार्थ योगवाणी
नारीवादी स्वर उराल्ने योगमायालाई महिला मुक्ति आन्दोलनकी अग्रणी मान्न सकिन्छ । तत्कालीन समाजमा व्याप्त अनमेल तथा बालविवाहको यिनले घोर विरोध गरिन् । प्रगतिवादी तथा मानवतावादी चेतले जातीय छुवाछुतको विरोध मात्र गरिनन्, आफ्नो कुटीमा सबै वर्ण र आश्रमका मानिसहरूलाई स्वागत गरेर अनुकरणीय उदाहरणसमेत प्रस्तुत गरिन् । शास्त्रज्ञानबाट विमुख गराइएका महिलाहरूलाई अध्ययनको अवसर दिनुपर्ने कुरामा जोड दिँदै उपनिषद् र शास्त्रमा चर्चा गरिएका गार्गी, मैत्रेयी, कात्यायनी बन्न यिनले उत्प्रेरित गरिन् । सबैको कल्याणको कामना गर्ने योगमायामा ‘वसुधैव कुटुम्बकम्’को भावना थियो ।
राणाकालमा हाकाहाकी शोषक र सामन्तीको चर्को आलोचना गर्न यिनी डराइनन् । कर्जा लिँदा आसामी मारमा पर्नुपर्ने अवस्थाको अन्त्यका लागि आवाज उठाइन्, घुसखोरी तथा भ्रष्टाचारको विरोध गरिन् । विरोधका लागि अस्त्र उठाइनन्, चेतनाको लहर ल्याइन्, सोझै भनिनन्, कवितामा भनिन् । जसबाट यिनका विचारको मनन मात्र नभई मन्थन गर्न पनि सहज हुन्थ्यो । सम्भ्रान्त तथा सामन्त वर्गबाट हुने अन्याय, शोषण तथा दमनको भत्र्सना गर्दै असमान दण्डव्यवस्थाप्रति आक्रोश पोख्नु, त्यो पनि राणाशासकका अगाडि चानचुने कुरा थिएन । आज पनि योगमायाको साहस भरिएको मुटु राष्ट्रका लागि उत्तिकै खाँचो छ ।
जागिरदार लोभी छन् निया हेर्दैनन्
मर्नुपर्ने शरीर हो विचार गर्दैनन् । – सर्वार्थ योगवाणी
समाज सुधारका लागि कुरीति एवं अन्धविश्वासको विरोध गर्दै गाउँमा जागरणको कदम चाल्दा धर्म भिक्षाका लागि तत्कालीन श्री ३ सँग भिक्षुणी योगमायाले पटकपटक याचना गरिन् । अनुयायी प्रेमनारायणमार्फत श्री ३ बाट धर्मभिक्षाको आश्वासन मिले पनि सरकार उदासीन रह्यो । रामराज्यको सपना सजाएकी योगमायाले प्रयास जारी राखिन् । पुराणमा वर्णन गरिएको धर्मराज्यको स्थापना यहीँ गर्नुपर्छ भनी यिनी क्रियाशील रहिन् । पछि श्री ३ जुद्धशमशेरसँग भेट गरी आफैँले धर्म भिक्षाको याचना गरिन् । त्यतिखेर पनि उनलाई आश्वासन दिइयो कार्यान्वयन भने गरिएन ।
जुद्धशमशेरबाट धर्म भिक्षाको वचन त प्राप्त भएको थियो तर वचनअनुसार कुनै काम नगरी भ्रममा राख्ने काम भएको यिनले महसुस गरिन् । सत्य र न्यायको युग सकिएकाले भक्तहरूको बाँच्नुको अर्थ नरहेको निष्कर्ष निकाल्दै श्री ३ को सरकारलाई चुनौती दिएर यिनले आफ्ना २४० भक्तहरूका साथ अरुण नदीछेउ यज्ञको समाप्तिका दिन पूर्णाहूतिका रूपमा अग्निदाह गर्ने घोषणा गरिन् । अग्निदाह तोकिएको अघिल्लो दिन धनकुटा र भोजपुरका बडाहाकिमहरू पाँच सय जति सैनिक लिएर मझुवाबेसी पुगी राधाकृष्ण मन्दिरको पाटीमा योगमाया र उनका अनुयायीलाई बन्दी बनाए, जसमा पुरुष अनुयायीलाई धनकुटा झ्यालखानामा लगभग २ वर्ष र महिलालाई ३ महिनाको हाराहारीसम्म सजाय दिएको बुझिन्छ । यसरी वि.सं. १९९५ मा यिनी थुनुवामा परेकी थिइन् । तीन वर्षभित्र सबै बन्दी थुनामुक्त भएपछि ६८ जना अनुयायीसहित विसं. १९९८ असार महिना हरिशयनी एकादशीका दिन अरुण नदीमा योगमायाले जल समाधि लिइन् । यसरी विरोध जनाउनु त्यतिखेर कत्तिको सान्दर्भिक थियो, यो बहसको विषय हो तर विद्यालयको ढोकासम्म पनि पाइला नटेकेकी एउटी नारीले धर्मका लागि लिएको नेतृत्व भने अकल्पनीय ठहर्छ ।
अहिले गर्छौ भलाद्मी हो, आफ्ना खुसैले
भित्री जरा हालिसक्यो लोभी घूसैले । – सर्वार्थ योगवाणी
योगमायामा एउटा छुट्टै कविहृदय पनि थियो । तुरुन्त कविता रचना गरेर व्यक्त गर्न सक्ने योगमायालाई आशुकवयित्रीका रूपमा पनि चिन्न सकिन्छ । आपूmले रचना गर्दै भन्नुबाहेक उनीसँग लिपिबद्ध गर्ने विकल्प थिएन । विद्यालयको आलोकबाट वञ्चित आमा योगमायाले रचना गरेका कविताको सँगालो छोरी नैनकलाबाट कण्ठस्थ सुनेर योगमायाका अनुयायी पण्डित पे्रमनारायण भण्डारीले वि.सं. १९८८ मा ‘सर्वार्थ योगवाणी’ नाम दिएर लिपिबद्ध गरेका थिए, जसमा २३४ श्लोक रहेका छन् । पछि गएर भने उनका सम्बन्धमा व्यापक खोज तथा अनुसन्धान हुन थाले । भोजपुरमै योगमायाका अनुयायी गन्जबहादुर बस्नेतका माहिला छोरा डम्बरबहादुरबाट ‘भक्ति योगमायाको जीवनी’ रचना गरिएको कुरा उनको जीवनीलाई उपन्यासको स्वरूप प्रदान गर्ने ‘योगमाया’ उपन्यासकी रचयिता नीलम कार्की ‘निहारिका’ ले उल्लेख गरेकी छिन् । योगमाया खोजमा मात्र होइन, सोचमा आउनुपर्छ ।
योगमायाको जीवन गतिशील देखिन्छ । यिनका विचारलाई सुन्दा, यिनले चालेका कदमलाई हेर्दा अनि यिनका व्यवहारलाई नियाल्दा साधनारत महिषी (पटरानी)को झल्को आउँछ, जो आफ्नो धर्मबाट जस्तोसुकै परिस्थिति आए पनि विचलित हुँदिनन् । योगमाया हावाको एक झोँक होइन, हुरी हो, आगाको एक फिलिङ्गो होइन, ज्वालामुखी हो, खहरेको एक लहर होइन, समुद्रको तुफान हो साथै आफ्ना विचारलाई मूर्त रूप दिनका लागि निरन्तर लड्ने योद्धा हो, जो मङ्गलको कामना गर्दै कार्यसिद्धिका लागि सबैलाई आफूसँग जोड्छ अनि अघि बढ्छ । आजका नरनारीहरूले योगमायाजस्तै हुरी बनेर विकृतिलाई उडाउनु छ, ज्वालामुखी बनेर अन्याय र अत्याचारलाई खरानी बनाउनु छ, तुफान बनेर शोषक र भ्रष्टाचारीलाई बगाउनु छ अनि योद्धा बनेर देशनिर्माणको महासमरमा अरुसँगै आफूलाई बढाउनु छ । त्यसपछि मात्र योगमायाको त्याग सार्थक बन्न सक्ला ।
अन्त्य कालमा त्यही घूसले फुटाइदेला धाँदा
बडो कष्ट मिली जाला त्यही घूस निक्ली जाँदा । – सर्वार्थ योगवाणी



