मौला कालिका

नेपालको मध्यभागमा पर्ने पहिलाको नवलपरासी तर अहिलेको नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकामा अवस्थित प्रसिद्ध मन्दिर हो – मौलाकालिका । यसलाई डाँडाकालिका, मौलाकाली आदि नामले पनि स्थानीयहरू चिन्ने गर्दछन् । मौलो भनेको बलि चढाउनका लागि स्थापना गरिएको किलो हो । पाल्पाका राजा मणि मुकुन्द सेनले सोह्रौँ शताब्दीमा यसको स्थापना गरेका हुन् भन्ने मान्यता छ । त्यसपछि डाँडालाई मौला नामले चिन्न थालिएको विश्वास गरिन्छ । समय–समयमा त्यस क्षेत्रमा जीर्णोद्धारको काम भएको पाइन्छ भने वि.सं. २०५२ मा प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर भव्य देखिन्छ ।
चितवनको प्रसिद्ध सहर नारायणगढ र नारायणी नदीमा निर्मित पुलको आसपासका क्षेत्रबाट मौलाकालिका मन्दिर देख्न सकिन्छ । देशविदेशबाट यात्रुहरु आउने भए पनि विशेष गरेर मन्दिरको दर्शनार्थ गैँडाकोट, नारायणगढ तथा भरतपुरका श्रद्धालुहरू जाने गर्दछन् । कालिकालाई शक्तिस्वरूपिणी देवी मानिन्छ । दुर्गाका रूपमा पनि पूजा गरिन्छ । मन्दिरको दर्शन गरेपछि मनको इच्छा पूरा हुने विश्वासका साथ हिन्दूधर्मावलम्बीहरू अर्चनाका लागि त्यहाँ जाने गर्दछन् । डाँडाको फेदीसम्म यातायातका साधन पुग्ने गर्छन् । फेदीबाट छिटो हिँड्न सक्नेहरू एक घण्टामा मन्दिर पुग्न सक्छन् । मन्दिर पुग्नका लागि सिँढीहरूको निर्माण गरिएको छ । बाटोमा बस्नका लागि बेन्च र चौताराहरू पनि छन् । सिँढी बन्नुभन्दा अगाडि वर्षाकालमा भने बाटो चिप्लो भएर पुग्न कठिन हुने गरेको स्थानीयहरू बताउँछन् ।
मौलाकालिका धार्मिक दृष्टिकोणले मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । तराईको समथर भागमा हरिया रुखहरूले ढाकेको डाँडा हेर्दा पनि मन शान्त हुन्छ । वनको बिचमा सिंढी चढ्दै जानुको मजा त्यहाँ जाने यात्रुहरू सबैले उठाउँछन् । ठाउँ–ठाउँमा धाराको पनि व्यवस्था गरिएको छ । जति डाँडा चढ्दै गइन्छ त्यति गैँडाकोट र नारायणगढको मनमोहक दृश्य आँखाले कैद गर्दै जान्छन् । मन्दिरमा पुग्दा लाग्छ, स्वर्गको एक टुक्रा कतैबाट आफ्नो आँखाअगाडि झरेर चट्ट बसेको छ । उत्तरतिर रहरलाग्दो हिमशृङ्खला, नागबेली परेका पहाड, अलि नजिक तनहुँ जिल्लाको सेरोफेरो र नेपालको पवित्र तीर्थस्थल देवघाटको पावन सौन्दर्य दृृष्टिगोचर हुन पुग्छन् । त्यही देवघाटमा शुक्लागण्डकी अर्थात् त्रिशूली र कृष्णागण्डकी अर्थात् कालीगण्डकीको मिलन हुन्छ अनि नारायणी बनेर बग्न थाल्छ । नारायणीलाई नै सप्तगण्डकीको नामले चिनिन्छ । डाँडाकालिकाको पूर्वतिर रहेको जङ्गली शोभाले मन लोभ्याउँछ भने दक्षिणतिर पूर्वबाट नै बग्दै आएको नारायणीको परिदृश्य अत्यन्त मनोहर लाग्छ । नारायणी नदीपारिको नारायणगढ र भरतपुरलाई आँखा नअघाउन्जेल त्यहाँ पुग्ने जोकोहीलाई पनि हेरिहन मन लाग्छ । पश्चिमतिर नवलपुरका समथर फाँटहरूमा झुमेर यात्रुहरू अविस्मरणीय सृष्टिशोभालाई मनमा सजाई फर्कने गर्दछन् ।
देवीको मन्दिर भएकाले विशेष गरेर शनिबार, बडादसैँ र चैतेदसैँमा डाँडाकालिकामा भक्तहरूको भिड लाग्ने गर्दछ । श्रद्धासुमन अर्पण गरेर देवीको प्रसाद घर लगी सबैलाई बाँड्ने गरिन्छ । थोरै समय मात्र हिँड्नुपर्ने भएकाले बालबालिका, किशोरकिशोरी, युवायुवती, वृद्धवृद्धा सबैको यो गन्तव्य बन्ने गरेको छ । मन्दिरको दर्शनसँगै पदयात्रा पनि हुने भएकाले यसको छुट्टै विशेषता रहेको छ । कतिपय मानिसहरू पूजाअर्चना गरेपश्चात् वनभोज पनि गर्दछन् । केबलकारको सम्भावनाका कुराहरूको चर्चा भए पनि अहिलेसम्म निर्माणकार्यको थालनी भने भएको छैन । केबलकारको व्यवस्था गरिएको खण्डमा श्रद्धालुहरू पदयात्राको अवसर, लाभ र अनुभवबाट वञ्चित हुनुपर्ने भएकाले कतिपय बुद्धिजीवीहरूले निर्माण गर्न नहुने राय व्यक्त गरेका छन् ।
डाँडाकालिका भक्तजनहरूका लागि सजिलो गन्तव्य हो भने पर्यटकका लागि पनि पदयात्रा गर्न तथा सुन्दर एवम् रोमाञ्चक दृश्यावलीको रसास्वादनका लागि राम्रो गन्तव्य बनेको छ । समय–समयमा यात्रुको सुविधाका लागि विकासनिर्माणका कामहरू हुनु यसको राम्रो पक्ष हो । विगत ४०–४५ वर्षदेखि यसको प्रचार–प्रसार हुँदै आएको पाइन्छ । पूर्व राष्ट्रपति रामवरण यादव, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले भ्रमण गरिसकेको यस मन्दिरमा भारतका योगगुरु बाबा रामदेव पनि पुगिसकेका छन् । कतिपय ट्रेकिङ कम्पनीहरूले यस मन्दिरलाई उपयुक्त गन्तव्यका रूपमा समेटेका छन् र वेब साइटहरूमा यसको महत्त्व र परिचय प्रस्तुत गर्दै प्रचार गरेका छन् ।
मौलाकालिका जाने क्रममा सिद्धिगणेश, हनुमान्, श्रीकृष्ण, देउराली देवीको दर्शन पनि हुने गर्दछ । यात्रुहरूले गर्ने फोहोर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहोरदानीको व्यवस्था गरिएको छ । वनक्षेत्रको संरक्षणका लागि विभिन्न नियमहरूको तर्जुमा पनि गरिएको छ । यस मन्दिरको इतिहासलाई जोगाइराख्नु, यसबाट अभिव्यक्त संस्कृतिलाई हृदयङ्गम गर्नु, यसको प्रकृतिलाई नष्ट हुन नदिनु सबै यात्रुको कर्तव्य हो साथै यस्ता पुरातात्त्विक स्थलहरूको संरक्षण तथा संवर्धन गर्नु हामी सबैको दायित्व हो ।