योग के हो त ?
‘योगश्चित्तवृत्तिनिरोधः’ – योगसूत्र, पतञ्जलि ।
योगसूत्रका प्रणेता पतञ्जलिले भनेका छन्, ‘विषयवासनामा सधैँ लिप्त हुन चाहने चित्तको वृत्तिलाई रोक्नु योग हो ।’ चित्तको वृत्ति भनेको मनको अवस्था हो । यसरी योगको चर्चा विस्तृत रूपमा पतञ्जलिले योगसूत्रमा गरेका छन् । तसर्थ, योगबारे बुझ्न योगसूत्र ग्रन्थलाई हेर्ने गरिन्छ । योग संस्कृतको जोड्नु भन्ने अर्थमा रहेको ‘युज्’ धातुबाट बन्ने रूप हो । त्यसैले योग शब्दको शाब्दिक अर्थ ‘जोड्ने काम’ हुन्छ । दर्शनका तहमा योगले चित्तलाई परमात्मामा जोड्नु अर्थात् परमात्मा साक्षात्कार भन्ने अर्थ दिन्छ । पतञ्जलिले योगसूत्रमा योगका अष्टाङ्गको चर्चा गरेका छन् । उनले आठ अङ्गमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा, समाधिको व्याख्या गरेका छन् ः
यमनियमासनप्राणायामप्रत्याहारध्यानधारणासमाधयोऽष्टावङ्गानि । (योगसूत्र–साधन पाद २९)
अहिंसा, सत्य, अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य र अपरिग्रह (आवश्यकताभन्दा बढी नलिनु) यम हुन् ।
तत्राहिंसासत्यास्तेयब्रह्मचर्यापरिग्रहाः । (यो.सू.सा. ३०)
शौचाचार, सन्तोष, तप, स्वाध्याय (शास्त्रादिको स्वाध्ययन), ईश्वरप्रणिधान (ईश्वरप्रति पूर्ण श्रद्धा राखेर कर्म गर्नु र फल पनि ईश्वरमै समर्पण गर्नु) नियम हुन् ।
शौचसन्तोषतपःस्वाध्यायेश्वरप्रणिधानानि नियमाः । (यो.सू.सा. ३२)
स्थिर भएर आरामपूर्वक बस्नु आसन हो ।
स्थिरसुखमासनम् । (यो.सू.सा. ४६)
यति भइसकेपछि श्वासप्रश्वासको गतिविच्छेदबाट प्राणायाम हुन्छ ।
तस्मिन् सति श्वासप्रश्वासयोर्गतिविच्छेदः प्राणायामः । (यो.सू.सा. ४९)
विषयसँग अनासक्त इन्द्रियहरूको चित्तस्वरूपको अनुकरण वा चित्तस्वरूपमा अवस्थिति प्रत्याहार हो अर्थात् इन्द्रियहरूलाई बाह्य विषयबाट खिचेर चित्तमा लगाउनु प्रत्याहार हो ।
स्वविषयासम्प्रयोगे चित्तस्वरूपानुकार इवेन्द्रियाणां प्रत्याहारः । (यो.सू.सा. ५४)
चित्तलाई एक ठाउँमा बाँध्नु वा एकाग्र बनाउनु धारणा हो ।
देशबन्धश्चित्तस्य धारणा । (यो.सू. विभूति पाद १)
ध्येय वस्तुमा अविच्छिन्न रूपले चित्त लाग्नु ध्यान हो ।
तत्र प्रत्ययैकतानता ध्यानम् । (यो.सू.वि. २)
ध्येय मात्र रहनु, ध्याता, ध्यान र ध्येयको विभेद नहुनु, स्वरूपशून्य अवस्था हुनु समाधि हो ।
तदेवार्थमात्रनिर्भासं स्वरूपशून्यमिव समाधिः । (यो.सू.वि. ३)
गीतामा योगेश्वर भगवान् कृष्णले समता (समत्वं योग उच्यते, २÷४८), कामहरूमा कुशलता (योगः कर्मसु कौशलम्, २÷५०), दुःखरूपी संसारको संयोगबाट रहित हुनु (तं विद्याद्दुःखसंयोगवियोगं योगसंज्ञितम्, ६÷२३) आदिलाई योगका रूपमा व्याख्या गरी अर्जुनलाई उपदेश गरेका छन् । योगका सन्दर्भमा विभिन्न ग्रन्थमा उल्लेख भएको पाइन्छ । अहिले संसारले योगका आठ अङ्गलाई भन्दा पनि आसन, प्राणायाम र ध्यानलाई विशेष रूपमा योगका रूपमा लिने गरेको छ । यी अङ्गहरूले प्रत्यक्ष रूपमा मानिसको शारीरिक र मानसिक स्वास्थ्यसँग सम्बन्ध राख्ने भएकाले पनि योगका रूपमा यिनलाई ग्रहण गर्ने परिपाटी बनेको महसुस हुन्छ । सामान्यतया शारीरिक र मानसिक क्रियाबाट आपूmलाई स्वस्थ राख्न योगको सहारा लिने परम्पराको विकास हुँदै गएको छ ।
योगलाई विधिअनुसार विभिन्न प्रकारमा विभाजित गरेर हेर्ने गरेको पाइन्छ । सामान्यतया चार प्रकारका योगको चर्चा हुने गर्छ । तिनलाई यहाँ प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । ती हुन् ः मन्त्रयोग, लययोग, हठयोग र राजयोग । मन्त्रयोगमा मन्त्र आदिको जपबाट सिद्धि प्राप्त हुन्छ । लययोगमा दैनिक क्रियाकलापसँगै ईश्वरको ध्यान आदि कार्य सम्पन्न हुन्छ । हठयोगमा विभिन्न मुद्रा, आसन, प्राणायाम आदिको अभ्यासबाट मनको निर्मलता र एकाग्रतालाई निश्चित गरिन्छ । राजयोगमा भने नियमादिको अभ्यासबाट चित्तशुद्धि र आत्मसाक्षात्कार हुन्छ । यीबाहेक फलको आशा नगरी कर्म गर्नु कर्मयोग, भगवान्मा पूर्ण समर्पित भएर भक्तिमा लीन हुनु भक्तियोग आदि गरी योगका प्रकारको उल्लेख गर्ने परम्परा पनि रहेको देखिन्छ ।
योगका सम्बन्धमा वर्तमान परिस्थिति
पूर्वीय ज्ञानविज्ञानको खोज र अनुसन्धानमा अहिले पाश्चात्य जगत् लागिरहेको छ । हाम्रा पूर्वजले आर्जेको र हामीलाई छोडेर गएको सम्पत्तिमा विश्वको चासो बढ्दै गएको देखिन्छ । आयुर्वेद चिकित्साका लागि, ज्योतिष खगोलको अध्ययनका लागि साथै दर्शन सृष्टिविज्ञान र आत्मचिन्तनका लागि विख्यात छन् । यस्ता कैयौँ चिन्तन, प्रयोग र तथ्यले ओतप्रोत भएको पूर्वीय वाङ्मय विशिष्ट गरिमा बोकेर हिमालयको छहारीमा बर्सौँदेखि बसिरहेको छ । वर्तमान परिस्थिति यसकै अनुसन्धान र अनुकरणमा लागेको छ ।
मननशील मुनिबाट प्रतिपादित योगलाई आज विश्वले ग्रहण गरिरहेको छ । उचभखभलतष्यल ष्क दभततभच तजबल अगचभ को सिद्धान्तलाई आत्मसात् गर्न चाहने जोकोहीका लागि पनि योग पहिलो विकल्प हो । अहिले पश्चिमा देशहरूमा योगको प्रशिक्षण, अभ्यास आदि बढेको छ । पूर्वीय ध्यानलाई mभमष्तबतष्यल र पूर्वीय योगलाई थयनब (योगा)का रूपमा संसारले आत्मसात् गरिरहेको छ । हाम्रै सन्ततिले पनि आफ्नै मूलको योगलाई नचिनेर आयातित ‘योगा’का रूपमा कतै ग्रहण त गर्दै छैनन् भनेर सोच्ने बेला बरु आएको महसुस हुन्छ । हाम्रा पूर्वजहरूले गरेको अभ्यासको अनुकरण पराईबाट गर्नुप¥यो भने त्यसभन्दा ठुलो विडम्बना के होला ! जे होस् योगको महत्त्व र आवश्यकताबारे जनचासो दिनानुदिन बढ्दै गएको बुझिन्छ ।
अन्तर्राष्ट्रिय योग दिवस र यसको प्रभाव
अन्तर्राष्ट्रिय योग दिवस मनाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसङ्घले स्वीकार गरेपछि सन् २०१५ बाट जुन २१ लाई योग दिवसका रूपमा मनाउन थालिएको हो । उत्तरी गोलार्धको सबैभन्दा लामो दिन मानिएकाले जुन २१ लाई योग दिवसका रूपमा मनाउन प्रस्तावित गरिएको थियो भनेर उल्लेख भएको पाइन्छ ताकि विश्वका अधिकांश मानिसले यसको महत्त्वलाई बुझेर जीवनमा उतार्न सकून् । जुन २१ योग दिवसका रूपमा स्थापित भएपछि योगका बारेमा चर्चापरिचर्चा हुन पुग्ने, समाचार तथा विभिन्न लेखहरूमा योगलाई समेटिने, थाहा नपाएकाहरूले पनि यसको महत्त्व बुझेर अभ्यासमा लाग्ने, ठुलो सङ्ख्यामा मानवसमुदाय यसबाट लाभान्वित हुने भएकाले योग दिवस मनाउने अवधारणा ल्याइएको हो ।
अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव, समर्थन र घोषणापछि योगबारे धेरैको चासो बढेको छ । मानिसलाई हरेक प्रकारले स्वस्थ राख्ने हाम्रा पूर्वजले अपनाएको विधिको अनुकरण जताततै हुन थालेको छ । ठाउँ–ठाउँमा शिविर राखेर योगको प्रशिक्षण दिने र लिने काम हुँदै आएको छ । केही विद्यालयहरूमा योगप्रशिक्षकको व्यवस्था गरिएको छ । विश्वका अधिकांश देशहरूमा योगका लागि केन्द्रहरूको स्थापना भएको छ । आवधिक प्रशिक्षणका कोर्सहरू बनाइएका छन्, महँगो शुल्क निर्धारण भएको छ र इन्टरनेटमा विज्ञापनहरू राखिएका छन् ।
आजकल मानिसहरूको दैनिकी यान्त्रिक बन्दै गइरहेको छ । यस्तो दैनिकीमा मानिस तनावग्रस्त बन्न पुग्छ । रासायनिक खेतीबाट उत्पादित खाद्यवस्तुको सेवनले शारीरिक रोग निम्त्याउने जोखिम एकातिर छ भने अर्कातिर कामको बोझले पैदा हुने उद्विग्नताका कारण मानसिक रोगले गाँज्ने सम्भावना पनि उत्तिकै छ । योग यी दुबै परिस्थितिलाई साम्य पार्ने अद्वितीय साधना हो । अन्तर्राष्ट्रिय योग दिवसको आयोजनाले यी विषयमा मानिसहरू सचेत हुँदै गएका छन् । हरेक वर्ष आउने जुन २१ ले स्वास्थ्य नै धन हो र यो स्वास्थ्यरूपी धनलाई जोगाइराख्न योग आवश्यक छ भनेर सिकाइरहेको छ, सम्झाइरहेको छ र मानिसहरूलाई त्यसमा लगाइराखेको छ ।
उपसंहार
अहिले कोभिड १९ का कारण विश्व आक्रान्त बनेको छ । भाइरसलाई निष्क्रिय गर्ने कुनै पनि औषधी पत्ता लागेको छैन । प्रतिरोधात्मक क्षमता हुने मानिसलाई उक्त भाइरसले खासै क्षति नपु¥याउने देखिन्छ । त्यो प्रतिरोधात्मक क्षमता योगबाट हामी हासिल गर्न सक्छौँ । योगको अभ्यासले शरीरका बाह्य र आन्तरिक अवयवहरूलाई मजबुत र तन्दुरुस्त बनाउन सकिन्छ । त्यसमा पनि प्राणायाम फोक्सोको व्यायाम हो । यस्ता भाइरसहरू विभिन्न कालखण्डमा देखिँदै र हराउँदै आएका छन् । जतिखेर महामारीका रूपमा फैलन्छन् त्यतिखेर प्राणघातक साबित हुन्छन् । अहिले पनि महामारीको त्रासले पृथ्वीको कुना–कुना काँपिरहेको छ । सायद सबैको अभ्यासमा रहेको भए योग पूर्वरोकथामको कडी बन्न सक्थ्यो ।
योग वास्तवमै जीवन हो । यो हामी मानवका लागि हाम्रा पूर्वजले दिएको सञ्जीवनी हो । ‘सर्वे सन्तु निरामयाः’को शुभ भावना बोकेर सद्भावको पाठ सिकाउने हाम्रो संस्कृतिमा रहेको अमूल्य निधि हो, अभ्यास हो र साधना हो । विश्वकल्याणको चाहना राख्ने सनातन परम्पराका अनुयायी हाम्रा लागि योग दिवसको आयोजना हुनु गौरवको विषय हो । यस दिवसले संसारलाई आरोग्य, दीर्घायु अनि स्वस्थ मन र मस्तिष्क बाँड्ने गर्दछ । शारीरिक र मानसिक सबलताका लागि भए पनि योग दिवसले सबैमा चेतना फैलाएको छ । आध्यात्मिक उन्नति चाहनेका लागि पनि यो एउटा कल्पवृक्ष हो ।



