देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा अवस्थित पावनभूमि हो । यो दुई नदीको सङ्गम मात्र नभएर प्रकृतिको मधुर निनाद अनि अहर्निश आस्थाका शङ्खनादको सङ्गम पनि हो । मानवले मन्दिरमा श्रद्धाका पुष्पहरू अर्पण मात्र गर्ने नभएर प्रातःकालमा स्वयम् प्रकृतिले नै देवभूमि देवघाटका प्रत्येक कणकणमा पुष्पवृष्टि गरेको देख्दा जोकाही पनि यस पवित्र धाममा पुगेपछि छक्क पर्ने गर्छन् । यो गलेश्वर बाबाजस्ता तपस्वीको जीवनको उत्तरार्धलाई आफ्नो कोखमा राखेर तपोभूमिका रूपमा भक्तिरसको पानका लोलुपमाझ परिचित छ साथै मानुष, आर्ष, आसुर र दैवमध्ये सर्वश्रेष्ठ मानिएको देवतीर्थका रूपमा देवघाटको महिमा पुराणहरूमा वर्णित छ ।
हरिहरादिको प्रतिष्ठा भएकाले देवघाट हरिहरक्षेत्रका रूपमा पनि चिनिने गर्दछ । दामोदरकुण्डबाट प्रवाहित हुने कृष्णागण्डकी (काली) र गोसाइँकुण्डबाट प्रवाहित हुने शुक्लागण्डकी (त्रिशूली) को सङ्गममा अवस्थित भएकाले आदिप्रयाग भनेर विद्वज्जन यसलाई नै सम्बोधन गर्दछन् । वराहपुराण, स्कन्दपुराण, पद्मपुराण आदिमा देवघाटको महिमाको वर्णन पाइन्छ । वामन अवतारका बेला राजा बलिमाथि विजयी भएका भगवान्ले पाउ राख्दा पोखरी बन्न पुगेको स्थल नै देवघाट हो भन्ने पौराणिक प्रसङ्गले अझ यसको महत्त्वलाई उजागर गरेको छ । भनिन्छ, पृथिवीमा भएका पुण्यप्रद तीर्थहरूभन्दा यहाँ स्नान गरेमा करोडौँ गुना बढी फल प्राप्त हुन्छ ।
पृथिव्यां यानि तीर्थानि सन्ति पुण्यप्रदानि च ।
कोटिकोटिगुणं तेभ्यः स्नात्वा तत्र प्रलभ्यते ।।
चितवन, तनहूँ र हाल नवलपुर गरी तीन जिल्लाको भौगोलिक मेलबाट देवघाटको पूर्ण संरचना तयार भएको छ । नारायणघाटबाट करिब ६ किमिको दूरीमा अवस्थित देवघाट सुगम तीर्थस्थल हो । जुगेडीको पक्की पुल तयार हुनुभन्दा अगाडि झोलुङ्गे पुलले चितवन र तनहूँलाई जोडेको थियो । हाल नवलपुर र तनहूँलाई पनि जोड्ने काम हुँदै छ । धार्मिक तथा सांस्कृतिक महत्त्व मात्र नभएर ऐतिहासिक तथा पौराणिक महत्त्वलाई समेत दर्साउने स्थानहरू देवघाटमा प्रशस्त छन् । यहाँ पुगेर श्रद्धालुहरू वशिष्ठ ऋषिले तपस्या गरेको वशिष्ठ गुफा अनि सीता धर्तीमा समाहित भएको सीता गुफाको अलौकिक बनोटमा मुग्ध हुने गर्दछन् । यहीँ आएर पाल्पाका राजा मुकुन्दसेनले तपस्या गरेका थिए । उनले स्थापना गरेको चक्रेश्वर वा चक्रवर्ती मन्दिरको चक्रैचक्र भएको अद्भुत भगवत्स्वरूपी शिलाको दर्शनले मात्र पनि भक्तहरूको हृदयमा आनन्द प्रवाह हुने गर्दछ ।
नारायणघाटबाट देवघाट जाने बाटोमा रहेको योगी नरहरिनाथले पछिल्लो समयमा साधना गरेको स्थलमा रहेको वागीश्वरी मन्दिर, देवघाटमा नै रहेका लक्ष्मीनारायण मन्दिर, हनुमान् मन्दिर, यज्ञशाला, झोलुङ्गे पुलको पूर्वतर्फ रहेका बद्रीनाथ मन्दिर र केदारनाथ मन्दिर, पुल तरेर अलिकति उकालो चढेपछि पुगिने हरिहर मन्दिर, विद्येश्वर मन्दिर आदिले देवघाटको गरिमालाई अझ बढाएका छन् । पाल्पाली राजा मुकुन्दसेनले नै स्थापना गरेको मौला कालिकाको मन्दिरको दर्शनार्थ धरै मानिसहरूको घुइँचो लाग्ने गर्दछ । गङ्गा मन्दिर, सरस्वती मन्दिर, ज्योतिर्लिङ्गेश्वर मन्दिर, अघोर आश्रम, दुर्गापाञ्चायन मन्दिर, सत्यनारायण मन्दिर, कालीगण्डकीको किनारको साढेबगर, सङ्गमेश्वर पशुपति मन्दिर, शङ्कराचार्य मन्दिर आदिका साथै यहाँ अद्वैत संस्था, शुक्लाकृष्णागण्डकी अखण्ड कीर्तन, राधासर्वेश्वर भजनाश्रमलगायतका संस्थाहरू पनि सञ्चालित छन् ।
वैदिक वाङ्मय र नैतिक शिक्षामा जोड दिँदै धर्मसंस्कृतिको जगेर्नाका खातिर देवघाट धाममा विभिन्न आश्रमहरूको स्थापना भएका छन् । महेश संन्यास आश्रम, गलेश्वर आश्रम, हरिहर संन्यास आश्रम आदि आश्रममा दैनिक नित्य भगवत्पूजन, भजनकीर्तन, स्तुतिपाठका साथै वेद, उपनिषद्, व्याकरण आदिको अध्ययन तथा अध्यापन हुने गर्दछ । यिनकै मातहतमा निःशुल्क गुरुकुलीय शिक्षा दिने गरिन्छ । सदाचरण र अध्यात्मको मार्गबाट जनसमुदाय विमुख हुँदै गइरहेको वर्तमान परिवेशमा सदाचारी र नीतिमान् जनशक्तिको उत्पादनमा अहोरात्र खटिरहने यी शैक्षिक धरोहरहरू स्तुत्य छन् । अहिले देवघाटमा कन्या गुरुकुलको समेत स्थापना भइसकेको छ । यहाँ छात्रहरूले मात्र नभई छात्राहरूले पनि संस्कृत अध्ययन गर्दछन् ।
पूजापाठ आदि देवकार्यका लागि मात्र नभएर ऋषिकार्य तथा पितृकार्यका लागि समेत देवघाट जाने प्रचलन छ । व्रतबन्धलगायतका संस्कारसँगै अन्तिम संस्कारका लागि पनि देवघाट रोजिने गर्दछ । यहाँ चाडपर्वमा मानिसहरूको भिड लाग्ने गर्दछ । वैशाख सङ्क्रान्ति, ठुली एकादशी, साउन महिना, बाला चतुर्दशी, माघेसङ्क्रान्ति, शिवरात्रि, ग्रहणबेला आदिमा स्नानार्थ एवं स्तवनार्थ मानिसहरू देवघाट जाने गर्दछन् । ईश्वरमा भक्तिभाव अर्पण गरेर मानसिक शान्तिलाई अनुभूत गर्दै देवघाटलाई मुटुभरि सजाएर आउने श्रद्धालुहरूको सङ्ख्या ठुलो छ ।
देवघाटले धार्मिक आस्था बोक्ने व्यक्तिहरूलाई मात्र नभएर अशक्त अवस्थामा पुगेका वृद्धवृद्धाहरूलाई समेत आश्रय दिएको छ । यहाँका वृद्धाश्रममा रहेर धेरै वृद्धवृद्धाहरूले अध्यात्मको रसास्वादन गर्न पाएका छन् । देवघाटको परिक्रमा गर्ने सबैको कानलाई शङ्ख र घण्टाको ध्वनिले मात्र नभएर वेदको ध्वनिले पनि पवित्र पारिरहेको हुन्छ । देवघाट कल्मष पखाल्नका लागि मात्र नभएर मनको मैलो पखाल्नका लागि पनि पुग्नुपर्ने गन्तव्य हो । बटुकहरूको वेदपाठ र स्तुतिपाठ सुनेर आह्लादित मनले दानादि कर्ममा प्रवृत्त हुने सज्जनहरू आफूलाई त्यहाँ पाउँदा गद्गद् हुने गर्दछन् । अभीष्टसिद्धिका लागि पुग्नेहरू पनि निःस्वार्थ मनले देवार्चनमा लाग्ने गर्दछन् । देवघाटले पैदा गर्ने भक्तितरङ्गले त्यहाँ पुग्ने कसको मन नपखालेको होला र !
हाल बढ्दो सहरिया प्रवृत्तिले देवघाटलाई पनि कतै गाँज्न लागेको त छैन ? भन्ने शङ्का उब्जन पुगेको छ । भौतिकतामा डुबेर आध्यात्मिकतालाई वास्ता नगर्ने प्रवृत्ति सदाका लागि घातक हुन सक्छ । भौतिक सुविधाका लागि तँछाडमछाड गर्दै अघि बढिरहेको यो दुनियाँबाट छुट्टै विशेषताका साथ नैतिक तथा आध्यात्मिक सन्देश प्रवाहित गर्ने देवघाटको छातीमा क्रूरताका डोजरहरू चल्न खोजेका त होइनन् भनेर सोच्नुपर्ने बेला आएको प्रतीत हुन्छ । देवघाटको गरिमालाई लत्याएर यसको महिमागान गर्नुको सट्टा साम्प्रदायिकताको हवाला दिँदै हिँड्ने समुदायसित सजग रहनु वर्तमान सन्दर्भमा आवश्यक देखिन्छ । सम्बद्ध निकाय तथा सरोकारवालाहरूले दूरदर्शितालाई ख्याल राखी देवघाटको पौराणिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक गौरवलाई जीवन्त राख्न पहल गर्नुपर्दछ ।



