परिचय
श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने चाड जनैपूर्णिमा हो । यो हिन्दूहरूको महान् चाड हो । खास गरेर यज्ञोपवीत अर्थात् जनै धारण गर्नेहरूमा यस पर्वको विशेष महत्त्व रहेको छ । यसलाई रक्षाबन्धन तथा ऋषितर्पणीका नामले पनि चिनिन्छ । नेपालको तराईमा भने यो चाड राखीका नामले प्रसिद्ध छ । पूर्णिमाका दिन जनै मन्त्रिएर धारण गर्ने भएकाले जनैपूर्णिमा, रक्षासूत्र धारण गर्ने भएकाले रक्षाबन्धन र ऋषिहरूलाई तर्पण दिइने भएकाले ऋषितर्पणी नाम रहन गएको हो भने दाजुभाइको हातमा दिदीबहिनीले राखी बाँधिदिने भएकाले यसलाई राखी पनि भनिएको हो । यस चाडमा धरै श्रद्धालुहरू रसुवास्थित गोसाइँकुण्डमा गई स्नान गर्ने गर्दछन् भने पवित्र मानिएका नदी, कुण्ड, पोखरी आदिमा पनि स्नानार्थ जाने गर्दछन् ।
जनै धारण
दुईपटक जन्मिएको भन्ने अर्थमा द्विज शब्दको प्रयोग हुने गरेको छ : एकपटक आमाको गर्भबाट र अर्कोपटक उपनयन संस्कारबाट । हिन्दूका संस्कारहरूमा व्रतबन्धको छुट्टै महत्त्व छ । यसले व्रतमा बाँध्ने गर्छ । व्रतबन्ध गरेपछि जनै धारण गरिन्छ । त्यो जनै यही श्रावण महिनाको पूर्णिमामा पण्डितहरूबाट विधिपूर्वक मन्त्रिएको हुनुपर्छ । यज्ञबाट प्रतिष्ठित गरिएको जनै मात्र धारणयोग्य हुन्छ । यस दिन खास गरेर जनै धारण गर्नेहरू बिहान स्नान गरी पुरोहितबाट जनै तथा रक्षाबन्धन धारण गर्दछन् । जनै लगाउँदा उच्चारण गरिने मन्त्र :
ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।
ॐ यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीतेनोपनह्यामि ।
पुरानो जनै त्याग गर्दा भन्ने मन्त्र :
ॐ एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।
रक्षाबन्धन तथा राखी
रक्षाका लागि बाँधिने भएकाले रक्षाबन्धन भन्ने शब्द प्रचलनमा आएको हो । नेपालको पहाडी भागतिर पुरोहितबाट नै रक्षाबन्धन बाँध्ने परम्परा छ । रक्षाबन्धनले रक्षा गर्छ भन्ने जनविश्वास छ ।
पौराणिक कथनअनुसार एकपटक देव र दानवको महासङ्ग्राम भयो । सङ्ग्राममा हताहत भएका देवताहरू बृहस्पतिको शरणमा पुगी उपाय अवलम्बन गर्न अनुरोध गरे । बृहस्पतिले श्रावण शुक्ल पूर्णिमाका दिन रक्षासूत्र तयार गरी बाँध्न लगाए । त्यसपछि युद्धमा गएका देवताहरूको विजय भयो । त्यसैले रक्षासूत्र अर्थात् डोरोले नेपाली जनमानसमा ठूलो अर्थ राख्छ ।
रक्षाबन्धन बाँध्दा उच्चारण गरिने मन्त्र :
ॐ येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।
ॐ त्वं यविष्ठ दाशुषो नृः पाहि शृणु धीगिरः । रक्षातोकमुतत्क्मना ।।
नेपालको तराईमा भने राखी दिदीबहिनीहरूले दाजुभाइको हातमा बाँधिदिने गर्छन् । राखी बाँधिदिनाले दाजुभाइको रक्षा हुन्छ भन्ने विश्वास लिइन्छ । दाजुभाइले भने दिदीबहिनीलाई उपहार, दक्षिणा आदि दिने गर्छन् । तराईमा यस चाडले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ प्रगाढ बनाउने गर्छ ।
ऋषि–तर्पण
संस्कार तथा शिक्षा ऋषिमुनिबाट प्राप्त भएकाले ऋषिहरूको पूजा गर्ने प्रचलन हिन्दूहरूमा रहेको छ । हिन्दूहरू तीन ऋण चुक्ता गर्नुपर्ने कुरामा विश्वास राख्छन् । तीमध्ये ऋषि ऋण संस्कारहरूको पालना गरे चुक्ता हुने विश्वास लिइन्छ । पवित्रताका लागि श्रावणीस्नानको विशेष चर्चा भएको पाइन्छ । माटो, गोबर, कुश, खरानी, अपामार्ग आदि विभिन्न वस्तुहरूले स्नान गरिसकेपछि ऋषिहरूलाई तर्पण दिने गरिन्छ । तर्पण तृप्तिका लागि हो । यसरी तर्पण दिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामबाट पनि चिनिन्छ ।
प्रचलन
जनैपूर्णिमामा जनै तथा रक्षाबन्धनका लागि खास गरी अभिमन्त्रित जनै तथा रक्षासूत्र लिएर पुरोहितबाहेक भान्जा, ज्वाइँहरू आउने चलन पनि धेरै ठाउँमा देख्न पाइन्छ । जनै पहिरिएर रक्षाबन्धन बाँधेपछि दान–दक्षिणा दिई बिदा गरिन्छ । यस दिन क्वाँटी खाने गरिन्छ । यो नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको मानिन्छ, जसमा ‘क्वा’ले तातो र ‘ति’ले झोललाई बुझाउँछन् । क्वाँटीले विभिन्न भिटामिनका साथै प्रोटिन पनि प्रदान गर्दछ । खेतीकिसानीबाट मानिसहरू थकित हुने भएकाले वर्षाकालमा शारीरिक तन्दुरुस्ती तथा ऊर्जाको प्राप्तिका लागि पनि यो खाने चलन चलेको हो भन्ने मान्यता छ । मास, मुगी, चना, सिमी, केराउ, भटमास आदि नौ थरी गेडागुडीको मिश्रणलाई पानीमा भिजाई टुसा उमारेर पकाउने गरिन्छ । यतिखेर बाँधिएको डोरो भने गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिए गाईले वैतरणी तार्छिन् भन्ने सामाजिक विश्वासका कारण कतिपय मानिसहरू गाईतिहारसम्म डोरो नफुकाई राख्ने पनि गर्छन् ।
द्विजहरूको विशेष चाड जनैपूर्णिमाको महिमा व्यापक रहेको छ । विधिपूर्वक अभिमन्त्रित जनै तथा रक्षासूत्र धारण गरी क्वाँटीको रस पिएर आनन्दपूर्वक मनाइने यस चाडले वैदिक सनातन संस्कृतिलाई अवलम्बन गरी आफ्नो विशिष्टतालाई अझ विशेष बनाएको महसुस हुन्छ । यो नेपालभर भव्यताका साथ मनाइन्छ ।



