पृष्ठभूमि
सनातन परम्परामा सौर्यमान तथा चान्द्रमानका आधारमा कालगणना गरिन्छ । जसमध्ये चान्द्रमानका आधारमा नै तिथि निश्चित हुन्छन् । एक महिनामा शुक्ल र कृष्ण पक्ष गरी दुई पक्ष हुन्छन् भने प्रत्येक पक्षमा लगभग पन्ध्र दिनको अवधि हुन्छ । दुवै पक्षको एघारौँ तिथि एकादशी हो । संस्कृतमा एकादशी शब्दको अर्थ एघारौँ भन्ने नै हुन्छ । यसरी हेर्दा एक महिनामा दुईपटक एकादशी तिथि पर्छ र वर्षभरि २४ वटा एकादशी पर्छन् । यदि अधिक मास परेको छ भने थप दुई एकादशी गरी वर्षमा २६ वटासम्म एकादशी हुन्छन् । हरेक महिनाको शुक्ल र कृष्ण पक्षमा पर्ने एकादशीहरूलाई निम्नानुसार हेर्न सकिन्छ :
महिना कृष्ण पक्ष शुक्ल पक्ष
वैशाख वरूथिनी एकादशी मोहिनी एकादशी
जेठ अपरा एकादशी निर्जला एकादशी
असार योगिनी एकादशी देव (हरि) शयनी एकादशी
साउन कामिका एकादशी पुत्रदा एकादशी
भदौ अजा एकादशी परिवर्तिनी एकादशी
असोज इन्दिरा एकादशी पापाङ्कुशा एकादशी
कात्तिक रमा एकादशी प्र (हरि) बोधिनी एकादशी
मङ्सिर उत्पन्ना एकादशी मोक्षदा एकादशी
पुस सफला एकादशी पुत्रदा एकादशी
माघ षट्तिला एकादशी जया एकादशी
फागुन विजया एकादशी आमलकी एकादशी
चैत पापमोचनी एकादशी कामदा एकादशी
अधिक मास परमा एकादशी पद्मिनी एकादशी
नारदपुराणमा व्रत एवम् उपवासजस्तो अर्को तपस्या हुँदैन भन्ने सन्दर्भको उल्लेख पाइन्छ भने व्रतहरूमा पनि एकादशीको व्रतलाई सबैभन्दा उत्तम भनेर चर्चा गरिएको छ । एकादशीमा पालनकर्ता भगवान् विष्णुको पूजा–आराधना गरी व्रत राखिन्छ ।
परिचय
जेठ महिनाको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस एकादशीको नामका रूपमा निर्जला भन्ने शब्दको प्रयोग गरिन्छ, जसको अर्थ हुन्छ – जलरहित । यसबाट स्पष्ट हुन्छ कि यस एकादशीमा व्रत लिने भक्तहरू पानी पनि नपिई भगवान्को आराधनामा तल्लीन हुन्छन् । पानीको सेवनलाई समेत वर्जित मानेकाले यस एकादशीको व्रतलाई कठोर मानिन्छ । पाँच पाण्डवमध्ये माहिला भीमसेनसँग यस एकादशीको सम्बन्ध रहेकाले यसलाई भीमा, भीमसेनी वा पाण्डव एकादशी भनेर पनि चिनिन्छ ।
सम्बद्ध कथा
एकपटक पाण्डुपुत्र भीमसेनले वेदव्यासलाई सोधेछन्, “हे सन्त, हे पितामह, मेरा दाजुभाइ, आमा कुन्ती र पत्नी द्रौपदी हरेक एकादशीमा भोजन नगरी व्रत बस्ने गर्छन् साथै मलाई पनि भोजन नगर्न अनुरोध गर्छन् तर म भोक सहन सक्तिनँ । बरु विधिमुताबिक पूजा–अर्चना गर्छु, दान गर्छु । तसर्थ कृपा गरेर व्रत नबसीकन एकादशीको फल प्राप्त हुने उपाय बताइदिनुहोस् ।” महर्षि व्यासले पनि एकादशीमा व्रत लिनाले ठूलो पुण्य मिल्ने भएकाले व्रत लिन नै भीमसेनलाई सुझाएछन् । भीमसेनले भने आफ्नो भोक खप्न नसक्ने भएकाले वर्षमा कुनै एउटा एकादशीका बारेमा बताउन भनेछन्, जसमा व्रत लिनाले सम्पूर्ण फल प्राप्त होओस् । भीमसेनको यस्तो जिज्ञासा सुनेर व्यासले उनलाई निर्जला एकादशीका बारेमा बताएछन् । निर्जला एकादशीमा व्रत लिनाले अरू एकादशीमा व्रत लिन नसकेको खण्डमा पनि सबै फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
व्रत–विधि
दशमीको दिन चोखो खानेकुरा खाएर एकादशीको व्रतका लागि श्रद्धालुहरू तयार रहन्छन् । भोलिपल्ट ब्रह्ममुहूर्तमा उठी स्नानादि कर्म गरेर पवित्र वस्त्र लगाउँछन् । एकादशीमा सर्वव्यापक भगवान् विष्णुको अर्चना गरिने भएकाले विष्णुका मन्दिरहरूमा गई पूजाका साथै स्तोत्रपाठ गर्छन् । खास गरेर विष्णुसहस्रनामस्तोत्रको पारायण यस दिन गरिन्छ । कतिपय भक्तहरू घरमै पूजा–आराधना गर्दछन् । स्तोत्रपाठ गर्न नसके पनि ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्नु राम्रो मानिन्छ । यस दिन विष्णुको पूजा गरी गोदान, सुवर्णदान, अन्नदान, वस्त्रदान आदि गर्नाले विष्णुलोक प्राप्त हुन्छ भन्ने प्रसङ्ग पुराणहरूमा पाइन्छ । यस दिन सम्पन्न गरिने यज्ञ, होम आदिको फललाई अवर्णनीय मानिन्छ । व्रतको पूर्णताका लागि ब्राह्मणभोजन गराउने प्रचलन पनि विद्यमान छ ।
उपसंहार
एकादशी व्रत सामान्यतया विष्णुलोक प्राप्तिका लागि हो भन्ने जनविश्वास रहिआएको छ । विष्णु भगवान्कै विशेष आराधना गरेर यस दिन व्रत लिइन्छ । शरीरशुद्धि र चित्तशुद्धिका लागि व्रत वैज्ञानिक रूपमा पनि लाभकारी छ । श्रद्धालुहरूका लागि यो दिन विशेष फलदायी मानिन्छ ।



