शरणागतदीनार्तपरित्राणपरायणे
सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तु ते ।।
(शरणमा आएका दीनदुःखीको रक्षामा सधैँ तत्पर रहने, सबैको दुःख र सङ्कट हरण गर्ने हे नारायणी देवी ! तिमीलाई नमस्कार छ ।)
कालिन्चोक नेपालको प्रदेश ३ अन्तर्गत पर्ने सुन्दर जिल्ला दोलखामा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो । यो धार्मिक स्थल हुनाका साथै प्रकृतिको अनुपम छटाले सजिएको मनमोहक प्राकृतिक स्थल पनि हो । राजधानी काठमाडौँबाट करिब १३२ कि.मि. मा रहेको चरिकोटबाट कालिञ्चोक ठाडो उकालो १८ कि.मि. मात्र टाढा छ । यो गौरीशङ्कर आरक्षण क्षेत्रअन्तर्गत पर्दछ, जहाँ सुनकोशी तथा तामाकोशीको उद्गम बिन्दु पनि रहेको छ । समुद्री सतहदेखि ३७०० मिटरभन्दा माथिको उचाइमा रहेको कालिन्चोक दोलखावासीको मात्र नभएर सम्पूर्ण नेपालीकै आराध्य स्थल हो ।
हिन्दू तथा बौद्धमार्गी भक्तहरू यस स्थलमा कालिन्चोक भगवतीको दर्शन गर्न आउने गर्दछन् । यो नेपालको उत्तरपूर्वी भागमा पर्दछ । विशेष गरेर शनिबार तथा दसैँमा यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । नेपालबाट अधिकांश मानिसहरू आएर भगवतीको थानमा पूजाअर्चना गर्दछन् । जाडो याममा हिउँले ढाक्ने भएकाले त्यहाँ जान सकिँदैन । खास गरेर हिउँद सकिएर हिउँ पग्लन थालेपछि हिउँ पर्न सुरु नगरुन्जेल यहाँ श्रद्धालुहरूको आवतजावत हुने गर्छ । यहाँ साक्षात् देवीले बास गर्छिन् भन्ने मान्यता छ ।
कालिन्चोक भगवतीको प्रादुर्भावका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । एकजना सधैँ भेडा चराउन त्यस भेगतिर जाने गथ्र्यो तर सधैँ उसको एउटा भेडा हराउन गथ्र्यो । उसलाई अचम्म लाग्थ्यो । भेडा कहाँ जान्छ होला भनेर उसले खोजी गर्न थाल्यो । त्यस क्रममा उसले एउटा भेडा कालिन्चोकतिर जाँदै गरेको देख्यो । ऊ पछि–पछि लाग्यो । त्यहाँ जाँदा उसले अनौठो घटना देख्यो । देवीले आफैँ भेडाको बलि लिने गरेको थाहा पायो । त्यसपछि देवी आफैँले बलि लिने गरेकाले प्रत्यक्ष देवीको थान मानी पूजाआराधना गर्न सुरु गरियो ।
कालिन्चोकका सम्बन्धमा अर्को पनि किंवदन्ती प्रचलित छ । केही वर्षअगाडि कालिन्चोकमा अनौठो घटना भएको थियो । भगवतीलाई बलि दिनका लागि भनेर बाबुछोरा गएका रहेछन् । उनीहरूले पूजा गरी बलि पनि दिएका रहेछन् । धेरै उचाइमा भएका कारण अपराह्नमा हावा चल्ने र चिसो हुने भएकाले प्रायः १२–१ बजेपछि त्यहाँ कोही पनि बस्दा रहेनछन् । ती बाबुछोरा पनि फर्केछन् तर अलि तल आएपछि हतियार माथि नै छुटेको सम्झेछन् र छोरो चाहिँ बाबुलाई त्यहीँ कुर्न भनी माथि गएछ । त्यहाँ जाँदा उसले अद्भुत दृश्य देखेछ । एक आधा मानिस र आधा जनावरजस्तो जिउडाल भएकोे जीवले हतियार चाट्दै गरेको रहेछ । उसलाई किन आएको भनी सोधेछ । हतियार छुटेको कुरा बताएपछि उसलाई हतियार दिई त्यहाँ देखेको कुरा कसैलाई पनि नभन्न र भनेमा मृत्यु हुने चेतावनी दिएछ तर छोराले बाबुलाई भेट्नेबित्तिकै सबै कुरा भनेछ, तत्काल उसको मृत्यु भएछ । त्यसपछि देवीले त्यस्तो अजिब रूप धारण गरी बलि लिएको भन्ने निक्र्यौल गरिएको थियो अरे । २–३ वर्षअगाडि पनि कालिन्चोकका तीर्थयात्रीहरू हराएका र देवीको कृपाबाट उद्धार हुन गएको भनी चर्चा भएको थियो ।
बाटो अलि अप्ठ्यारो भएकाले चरिकोटबाट कुरीसम्म पुग्न साना जिपहरूको व्यवस्था गरिएको छ । कुरी कालिन्चोकको फेदी हो । पहिला कुरीबाट करिब एकडेढ घण्टा हिँडेर भक्तहरू कालिन्चोक पुग्ने गर्दथे भने अहिले त्यहाँ पुग्नका लागि केबलकारको सुविधा छ । वरिपरि पहाडी दृश्य हेर्दै उकालो लागेको केही समयपछि हिमाली दृश्यहरू आँखामा कैद हुन पुग्दछन् भने माथिबाट बादलका टुक्राहरू ठाउँ–ठाउँमा साउती गर्दै बसेका हुन् कि जस्तो भान पर्छ । कुरीबाट हिँडेर जानका लागि सिँढी निर्माण गरिएको छ । पूजासामग्रीका पसल तथा चियानास्ता गर्ने साना होटलहरू पनि त्यहाँ खोलिएका छन् । जाँदा उचाइमा लेक लाग्न सक्ने र गाह्रो हुने भएकाले बाटोलाई अलिकति घुमाउरो बनाइएको छ तर झर्दा भने त्यति असहज नहुने भएकाले ठाडो ओरालो बनाइएको छ । बिचमा अलिकति छुट्टिएको पहाडको टाकुरा नै कालिन्चोक हो जसलाई जोड्न सानो पुलको निर्माण भएको छ ।
कालिन्चोक देवीको थान कुण्डलाई मानिएको छ । त्यति उचाइमा कुण्ड हुनुलाई नै रहस्यका रूपमा लिइन्छ भने श्रद्धालुहरू त्यही कुण्डमा त्रिशूल आदि चढाएर पूजाअर्चना गर्दछन् । अहिले कुण्डलाई बारिएको छ साथै त्रिशूल र ध्वजाहरूले ढाकिएको पनि छ । श्रद्धालुहरू देवीलाई आस्था अर्पण गरेर फर्किहाल्दैनन्, त्यहाँबाट देखिने आकर्षक दृश्य हेर्दै नेपाली प्रकृतिलाई मन पनि अर्पने गर्दछन् । त्यहाँबाट देखिने गौरीशङ्कर, गणेश, जुगल र अन्नपूर्ण हिमालहरूले यात्रीको मनमा कहिल्यै पनि नमेटिने दृश्यबिम्ब कोरिदिन्छन् । तिनका बारेमा वर्णन गरेर कोही पनि थाक्दैन ।
कालिन्चोक धार्मिक मात्र नभएर पर्यटकीय क्षेत्र पनि हो । रमणीय प्रकृतिको काखमा रहेको कालिञ्चोक आस्था, समर्पण र भक्तिको केन्द्र पनि हो । अहिले केबलकारले हिँड्न तथा लेक चढ्न गाह्रो हुने मानिसहरूका लागि पनि कालिन्चोक सहज र सुगम बनाइदिएको छ । कुरीमा उल्लेख्य होटलहरूको सञ्चालन भएको छ जसका कारण यात्रुहरूलाई खान तथा बस्नका लागि सुविधा पुगेको छ । यति हुँदाहुँदै पनि यसको प्रचारप्रसारमा भने त्यति ध्यान पुगेको पाइँदैन । गाउँपालिकाले नयाँ नीतिका साथ धार्मिक पर्यटनको प्रवर्धनमा जोड दिनुपर्ने देखिन्छ भने यात्रुहरूको प्राथमिक उपचारका लागि केही व्यवस्था गर्नुपर्ने पनि देखिन्छ ।



