वाल्मीकि आश्रम

महर्षि वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् । उनले रचना गरेको रामायण संस्कृत भाषाको आदिकाव्य हो । तिनै वाल्मीकि ऋषिको जन्मथलोलाई वाल्मीकि आश्रम भनेर चिनिन्छ । वाल्मीकि आश्रम चितवन जिल्लाको ठोरीमा पर्दछ । यो चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित छ । त्रिवेणी धामबाट करिब २ किलोमिटर पूर्वमा रहेको वाल्मीकि आश्रममा नेपाल तथा भारतबाट श्रद्धालुहरू जाने गर्दछन् । सन् १९६५ मा नेपाल तथा भारतको संयुक्त टोलीले यस स्थानलाई पौराणिक वाल्मीकि ऋषिको आश्रमका रूपमा घोषित गरेको बुझिन्छ ।
पहिला रत्नाकर नाम गरेको डाँकु थियो । रत्नाकर डाँकु बाटो ढुकेर आउनेजाने मानिसलाई लुट्ने गथ्र्यो । एक दिन त्यही बाटो गरेर देवर्षि नारद आएका थिए । उसले नारदलाई पनि लुट्न खोज्यो तर उनीसँग केही थिएन । रत्नाकरको उद्धार गर्ने उद्देश्यले देवर्षिले रत्नाकरसँग लुटेको कुरा के गर्छौ भनी प्रश्न सोधे । उसले परिवारसँग बाँडेर उपभोग गर्ने कुरा बतायो । यस्तो काम गर्दा पाप लाग्ने बताई फेरि देवर्षिले त्यो पाप चाहिँ परिवारले बाँड्छन् कि बाँड्दैनन् भनी सोधे । परिवारलाई सोध्नुपर्ने बताई रत्नाकर देवर्षिलाई रुखमा बाँधेर गयो । परिवारबाट पाप नबाँड्ने उत्तर पाएको रत्नाकरले देवर्षिको पाउमा झुकी पापबाट मुक्ति प्राप्त गर्ने उपाय बताउन अनुरोध गर्यो । देवर्षिले ‘मरा’ मन्त्र दिएर जप्न लगाए । कालान्तरमा त्यो मरामरामराम हुँदै ‘राम’मा परिणत भयो । त्यसबाट नै रत्नाकरको उद्धार भयो । त्यही रत्नाकर ऋषि वाल्मीकि बन्यो ।
वाल्मीकि वल्मीक शब्दबाट बनेको हो । संस्कृतमा वल्मीक भनेको धमिराले बनाएको ढिस्को हो । यस्ता ढिस्काहरू जङ्गलमा धेरै भेटिन्छन् । रत्नाकर राम मन्त्र जप्दै तपस्यामा लीन हुँदा धमिराले वरिपरि ढिस्को बनाएछन् । त्यही बाटो पुनः देवर्षि नारद आउँदा रत्नाकरको तपस्या पूर्ण भएको भनी बाहिर बोलाएछन् । तपस्याले प्रदीप्त अनुहार लिएर वल्मीक अर्थात् धमिराको ढिस्कोबाट वाल्मीकि निस्किएछन् । देवर्षिले वल्मीकबाट निस्केर अर्को जीवनमा गएकाले वाल्मीकि नाम दिएको प्रसङ्ग पुराणहरूमा वर्णित छ ।
वाल्मीकि एकपटक तमसा नदीको किनारमा स्नान गर्न जाँदै थिए । त्यतिबेला क्रौञ्च पक्षी (कर्याङकुरुङ चरा) को जोडी एकआपसमा प्रेमासक्त थिए । एउटा व्याधाले तीमध्ये एउटालाई बाण हानेर मारिदियो । त्यो देखेर वाल्मीकिको हृदय विदीर्ण भयो र संस्कृत भाषाको पहिलो श्लोक (कविता) रचियो –
मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः ।
यत्क्रौञ्चमिथुनादेकमवधीः काममोहितम् ।।
त्यसपछि ब्रह्माबाट रामको कथा लेख्ने निर्देशन उनलाई प्राप्त भयो । उनले रामायण लेखे, जसमा सात काण्ड र २४००० श्लोक छन् । रामलाई भगवान् विष्णुको सातौँ अवतार र सीतालाई लक्ष्मीको स्वरूप मानिन्छ ।
वाल्मीकि आश्रम वाल्मीकि ऋषिले साधना गरेको ठाउँ हो, उनको घर हो । त्यहीँ सीताले लव र कुशलाई जन्म दिएकी हुन्, जसका पिता राम हुन् । लव र कुशको शिक्षादीक्षा पनि त्यहीँ भएको हो । वाल्मीकि आश्रम शान्त स्थल हो । अहिले त्यहाँ आश्रम छिर्ने ठाउँमा प्रवेशद्वार बनाइएको छ र वाल्मीकि आश्रमपरिसरका दर्शनीय स्थलहरूको सूची पनि बोर्डमा राखिएको छ :
सीताको पाताल प्रवेश स्थल
अमूल्य गौरीशङ्कर शङ्ख
हवनद्वार स्मारक
लवकुशको जन्मस्थल
सीताको सिलौटो
लवकुशले घोडा बाँधेको खम्बा
अठासी हजार ऋषिमुनिले हवन गरेको हवन–कुण्ड
सीताले फलपूmल खाने स्थल
वाल्मीकिको ब्रह्मज्ञान प्राप्ति स्थल
वाल्मीकिको अन्तध्र्यान स्थल
लवकुशको शिक्षाप्राप्ति स्थल
सगरमाथाको उचाइजति गहिराइ भएको अमृतकुवा
अमरबेल, अमरलता, अमरपौधा

रामायणका अनुसार सीतालाई दुई जिउ भएका बेला वाल्मीकि ऋषिले आश्रय दिएका थिए । त्यहीँ नै लवकुशको जन्म भई वाल्मीकिले उनीहरूलाई पढाएका थिए । रामायणको रचना पनि त्यहीँ भएको थियो । आफूले रचना गरेर उनले लवकुशलाई श्लोकहरू सिकाएका थिए । रामायणमा वर्णित स्थानहरूको प्रत्यक्ष दर्शन वाल्मीकि आश्रममा गर्न पाइन्छ । अश्वमेध यज्ञका लागि रामले छोडेका घोडालाई बाँधेको खम्बादेखि सीताले प्रयोग गरेको सिलौटो पनि वाल्मीकि आश्रमका आकर्षण हुन् ।
आश्रममा रामायणकालीन अवशेषहरू देख्न पाइन्छ । महत्त्वपूर्ण स्थलहरूमा नामाङ्कित गरिएको छ । श्रद्धालुहरूले सहजै ती स्थल र वस्तुको अवलोकन गर्न सक्छन् । यो पौराणिक महत्त्व भएको प्राचीन स्थल हो । यो भारतीय सीमाबाट पनि नजिकै रहेको छ । यसको प्रचार–प्रसारमा भने त्यति काम भएको पाइँदैन । यसलाई अझ व्यवस्थित गरी धार्मिक पर्यटन बढाउन सके राम्रो हुने देखिन्छ ।